टिप्पणीआइतबार, भाद्र १५, २०७१

संघीयताको जोखिम

फणिराज नेपाल

संघीयता एकाकार हुने प्रक्रिया हो । यसले छुट्टै रहेका इकाइ तथा छरिएका राज्यलाई एक ठाउँमा ल्याउँछ । यसले राज्यको शक्तिलाई केन्द्रित नगरेर विकेन्द्रित गर्छ । यो प्रणालीमा लोकतन्त्रलाई धेरैले उपभोग गर्न पाउँछन् । यसले नयाँ नेतृत्वलाई अवसर दिन्छ र विभिन्न इकाइबीच प्रतिस्पर्धाको भावना विकास गराउँछ । विविधतालाई समेटेर सन्तुलन र नियन्त्रण गर्ने हुनाले यो प्रणालीमा जनता बलियो हुन्छन् ।

उपनिवेश र विभिन्न राजा, रजौटा, भाषा, धर्म रहेको भारत, अमेरिका, अष्ट्रेलिया, क्यानाडा, दक्षिण अफ्रिकालाई संघीयताले नै जोडेको हो । संघीय प्रणाली हुँदैनथ्यो भने देशहरूको संख्या अहिले भन्दा निकै बढी हुनेथिए ।

तर, पहिले एकीकृत रहेको देशमा भने संघीय प्रणाली सफल छैन । नाइजेरिया, इथियोपिया, सुडान जस्ता देशहरू संघीयता लागू भएपछि झन् समस्यामा परेका छन् ।

नेपाल एकीकृत राष्ट्र बनेको २५० वर्ष पुग्दैछ । यो क्रममा धेरै जात, भाषा, धर्म, संस्कृति र व्यवहार एकापसमा नजिक आएका छन् । पुरानो व्यवस्थाले सृजना गरेका बेथिति, विकृति, असमानता, अशिक्षा, बेरोजगारी, गरीबी पनि कम हुँदैछन् । यस्तो अवस्थामा नेपाल जस्तो सानो देशलाई प्रान्तहरूमा विभाजन गर्न खोज्नु केहीको शासक बन्ने सोच कारण हुन सक्छ । नभए, अर्थतन्त्र बलियो नभएको गरीब देशलाई धेरै राज्यमा विभाजन गर्नासाथ जनताले कसरी राहत पाउन सक्छन् ?

एकीकृत मुलुकलाई जातीय पहिचानका नाममा राज्यहरूमा बाँड्दा खर्च बढ्ने, अधिकार सदुपयोगमा समस्या पर्ने, राज्यका शासकमा शासकीय मानसिकता पलाउने र जनतासँग राम्रो व्यवहार नगर्ने, नयाँ प्रणालीमा अभ्यस्त हुन समय लाग्ने जस्ता समस्या आउन सक्छन् । त्यस्तो अवस्थामा शासक र जनताबीच द्वन्द्व बढेर मुलुक अरू पछि धकेलिन सक्छ ।

भारतमा भाषा र संस्कृतिको द्वन्द्वले १६ राज्य बढेर २९ पुगेको छ भने काश्मिर, नागाल्याण्ड जस्ता राज्यमा पृथकतावादी आन्दोलन चलेका छन् । आसाम र नागाल्याण्ड तथा आसाम र मेघालयबीच सीमा विवाद छ । गोर्खाल्याण्ड राज्य बन्न खोज्दैछ । त्यो स्थिति नेपालमा पनि नआउला भन्न सकिन्न । भारतमा मूलभूत अधिकार केन्द्रमा हुँदा त त्यस्तो स्थिति छ भने नेपालमा राज्यलाई पूरै अधिकार दिंदा के होला ?

यस कारण संघीयता बहुसंख्यक नेपालीको माग हो कि होइन भन्ने बुझ्न आवश्यक छ । क्षेत्रीय दलहरूले माग्दैमा तथा अन्तरिम संविधानमा संघीयता थपिंदैमा यसलाई सम्पूर्ण नेपालीको माग भन्न मिल्दैन ।

देशका गरीब जनता शान्ति, विकास र अधिकार चाहन्छन् । तर स्रोत विनाको राज्य दिने र नदिनेमा पार्टीहरूबीच लडाइँ छ । सबै धर्म, भाषा र संस्कृतिको संरक्षक हुनुपर्ने सरकार पार्टीहरूको दबाबमा जातीय द्वन्द्वमा मुछिंदैछ । जातीय पहिचानसहितको संघीयताको अर्थ, प्रभाव र परिभाषा स्पष्ट छैन । राज्यभित्र जात हुने कि जातिभित्र राज्य हुने तथा जातीय पहिचानसहितको संघीयता कि राष्ट्रिय पहिचान सहितको राष्ट्र जस्ता विषय अहिले प्रष्ट पारिनुपर्छ । एउटा जातिको नाममा राज्य बन्दा अरू जातले पनि पहिचान खोजे के गर्ने भन्ने पनि स्पष्ट हुनुपर्छ ।

संघीयता हुँदा समावेशी र जनसहभागिता बढ्छ भनेका छन्, पार्टीहरूले । तर, उनीहरू नै कोही चितवन अलग राज्य हुनुपर्छ भन्छन् भने कोही अखण्ड सुदूरपश्चिममा सहमति दिन्छन् । लिम्बूवान तथा तराईका मधेशीलाई प्रतिनिधित्व गर्छाैं भन्ने मधेशी पार्टीसँग मधेश प्रदेश दिने सम्झौता गर्ने पनि उनीहरू नै हुन् ।

यसले राजनीतिक दलहरूले संघीयताबारे राम्ररी नबुझेको तथा बुझउन नसकेको देखाउँछ । दलहरूले संघीयताको विस्तृत व्याख्या पनि गरेको देखिंदैन भने निर्वाचन घोषणापत्रमा पनि यो विषय उठाइएको पाइँदैन । यसले दलहरू त्यसै कुदेको देखाउँछ ।

समग्रमा भन्दा, सानो राष्ट्र, कमजोर अर्थतन्त्र, कर्मचारी पाल्न अप्ठ्यारो पर्ने राज्यको स्रोत, दलहरूको लोभी संस्कार, एक अर्काेबीच अविश्वास र दलबदलु प्रवृत्तिले संघीयतालाई जोखिममा पार्ने देखिन्छ । संघीयतामा जाँदा आर्थिक स्रोत कहाँबाट जुटाउने, प्रादेशिक सन्तुलन कसरी मिलाउने, राज्यहरूलाई आफ्नो खुट्टामा उभिन सक्ने कसरी बनाउने, राज्यहरूको सचिवालय, कर्मचारी र अन्य एकाइसँगै मुख्यमन्त्री, मन्त्री, सांसदहरूलाई कसरी पाल्ने जस्ता प्रश्नको उत्तर पनि खोजिनुपर्छ ।

त्यसैले, नेपाललाई संघीयता सुहाउँदैन । नेपाललाई सुहाउने भनेको विकेन्द्रीकरण हो । पंचायतकालमा विकेन्द्रीकरण लागू भए पनि राम्ररी कार्यान्वयन भएन । २०४६ सालपछिका सरकारहरूले पनि जनतालाई अधिकार दिन संकोच माने । विकेन्द्रीकरणलाई राम्रोसँग कार्यान्वयन गर्ने हो भने संघीयताको जोखिम मोल्नै पर्दैन, जनताले अधिकार पनि पाउँछन्, देश विकास पनि हुन्छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>