खेलकुदमंगलबार, भाद्र १७, २०७१

सफल साहसी सञ्जय

हिमालखबर

तस्वीर: बिक्रम राई

सगरमाथा आरोही २५ वर्षीय सञ्जयले अफ्रिकाको ५ हजार ८९५ मीटर अग्लो माउन्ट किलिमञ्जारोको शिखर पुग्न ६ घण्टा १३ मिनेट लगाए। रुसको ५ हजार ६४० मीटर अग्लो माउण्ट एब्रुल्सको शिखरमा त कम्मर माथिका कपडा विना नै ६ मिनेट ३ सेकेण्ड बिताए।

नयाँ–नयाँ कीर्तिमानका साथ अल्ट्रा म्याराथन दौड र हिमाल आरोहणमा सक्रिय दुस्साहसी सञ्जयको दौड कथा पनि कम चाखलाग्दो छैन।

सञ्जयका बुबा तेजप्रसाद ‘मिश्रण’ घरबाट ६० किलोमीटर टाढाको गौमुखी माध्यमिक विद्यालयका प्रधानाध्यापक र आमा शिक्षिका हुन्। गौमुखी पढ्ने सञ्जय साताको एक दिन बिहान चारै बजे उठेर घर आउजाउ गर्थे।

बुबाको भनाइ हुन्थ्यो– दौड्दा खेलाडी भइन्छ, त्यो नभए ज्यान दह्रो हुन्छ। यसरी उनी १० कक्षा नसकुञ्जेल बुबाको आदेशमा दौडिए।

एसएलसीपछि २०६१ सालमा राजधानी छिरेका उनले दशौं साफ गेमका पदक विजेता खेलाडीलाई बग्गीमा राखेर शहर घुमाएको देखे। “त्यो सम्मान देख्दा आफू भने त्यसै हराउन लागेको महसूस भयो”, सञ्जय सम्झन्छन्।

त्यसपछि उनी के गरौं, कसो गरौं भएर जावलाखेलको भलिबल प्रशिक्षण केन्द्रमा पुगे। तर, भलिबल प्रशिक्षण लिन मासिक रु.३०० तिर्नुपर्थ्यो, उनी आफूले जानेको र कसैलाई पैसा पनि दिनु नपर्ने दौडमा लागे।

केही दिनमा नै २८ किलोमीटरको चक्रपथ १ घण्टा ४० मिनेटमा पूरा गर्न थाले। उनी दौडेको दौड्यै दक्षिणकाली, गोदावरी, नगरकोट पुग्न थाले। २०६४ सालको पहिलो काठमाडौं खुला म्याराथनमा भने उनी १६औं स्थानमा मात्र आउन सके।

४२ किलोमीटरको त्यो अनुभवपछि उनले ख्यातिप्राप्त धावक वैकुण्ठ मानन्धरलाई भेटे। मानन्धरले कुरै कुरामा भने, “२०४५ मा मैले बनाएको काठमाडौं–खासा १४ घण्टे रेकर्ड कसैले तोड्न सकेको छैन, त्यसबेला तिमी जन्मेकै थिएनौ।”

२०६५ माघमा वैकुण्ठलाई नै संयोजक बनाएर दौडेका सञ्जयले ११ घण्टा २० मिनेटमा काठमाडौंबाट खासा पुगेपछि वैकुण्ठ उनका प्रशिक्षक बने।

त्यसपछिको समयमा सञ्जयले काठमाडौं–स्वर्गद्वारी, काठमाडौं–जिरी, काठमाडौं–रक्सौल, काठमाडौं–रसुवागढी, दाङ–प्युठान, नेपालगञ्ज–चिसापानी लगायतका अल्ट्रा म्याराथन दौड गरे।

१९ पटक सगरमाथा आरोहण गरेका आप्पा शेर्पाबाट प्रेरित भएर त्यता पनि आँखा लगाउँदा उनलाई प्युठान क्षेत्रका बासिन्दाले घरदैलो पैसा उठाएर रु.२७ लाख जम्मा गरिदिए। प्रशिक्षणको क्रममा उनले सामान्यतः नौ दिन लाग्ने आइल्याण्ड पीक डेढ दिनमै आरोहण गरे।

२०१२ को वसन्त ऋतुको सगरमाथा अभियान भने सोचे जस्तो भएन। प्राविधिक कारणले ८ हजार ६६५ मीटरबाटै फर्किनु पर्दा उनले जिल्लावासीको अगाडि लज्जित भएको अनुभव गरे।

त्यसको तीन महीनापछि ८ हजार १६३ मीटर अग्लो मनास्लुको शिखर चुमे र गत वर्षको जेठमा सगरमाथा शिखरमा पुगे। अहिले उनी सबै महादेशका अग्ला हिमालमा पुग्ने अभियानमा छन्।

अबको ८ महीनाभित्र बाँकी चार महादेशका अग्ला शिखर चुमेर विश्व रेकर्ड बनाउने उनको इच्छा छ। त्यसपछि उनी ८ हजार मीटरभन्दा अग्ला संसारका १४ हिमाल चढ्न चाहन्छन्, जसमध्ये दुई वटाको आरोहण पूरा गरिसकेका छन्।

“त्यसपछि भने सञ्जय पण्डित फाउण्डेसन खोलेर समाजसेवा गर्न चाहन्छु”, छात्रवृत्तिमा कान्तिपुर इन्टरनेशनल कलेजमा एमबीए पढिरहेका सञ्जय भन्छन्।

डम्बरकृष्ण श्रेष्ठ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>