Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भागबण्डाले गुम्यो ख्याति - Himalkhabar.com

रिपोर्टमंगलबार, भाद्र १७, २०७१

भागबण्डाले गुम्यो ख्याति

हिमालखबर

तुफान न्यौपाने

झलनाथ खनाल प्रधानमन्त्री हुँदा २३ साउन २०६८ मा एमाले कोटाबाट मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को उपकुलपति नियुक्त भएका प्रा. डा. पदमलाल देवकोटाले रजिष्ट्रार, डीन, सेवा आयोगका सदस्य लगायतमा पनि भागबन्डा रोक्न सकेनन्।

तस्वीरः तुफान न्यौपाने

त्यसपछि एमयूमा ‘भान्से’ समेत भागबन्डाबाट नियुक्त हुन थाल्यो। अहिले तिनै उपकुलपति सहित पदाधिकारीलाई कर्मचारी नियुक्ति र सामग्री खरीद लगायतमा अनियमितता गरेको तथा एमयू कोषको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले हिरासतमा राखेको छ।

भागबन्डाको पराकाष्ठा

एमयूमा फागुन २०६८ मा डीन र एकेडेमिक डाइरेक्टर कांग्रेस, एमाले र एमाओवादीबीच भागबन्डामा नियुक्त गरिएको थियो। एमाओवादीबाट लालमणि आचार्य शिक्षा, कांग्रेसबाट केशरसिंह राना विज्ञान र पीताम्बर ढकाल मानविकी तथा एमालेबाट मस्तबहादुर गरन्जा व्यवस्थापन संकायको डीन नियुक्त भएका थिए। गरन्जा एमालेको केन्द्रीय लेखा समिति सदस्य छन्।

एकेडेमिक डाइरेक्टरमा कांग्रेसबाट वीरबहादुर पौडेल व्यवस्थापन, एमाओवादीबाट नारायण अधिकारी शिक्षा र एमालेबाट लीलाधर पौडेल मानविकी संकायमा नियुक्त भएका थिए। एमाओवादीबाट नियुक्त भएका अधिकारीले छाडेपछि सोही पार्टीका लक्ष्मीप्रसाद आचार्य नियुक्त भए। भागबन्डा नमिलेकाले सहायक डीनहरू भने नियुक्त भएका छैनन्।

देवकोटाले भागबन्डा मिलाउन प्राध्यापक इन्जिनियर रामचन्द्र अर्याललाई नेकपा–माओवादीको कोटाबाट इन्जिनियरिङ संकायको डीन बनाए भने राप्रपा कोटाबाट चन्द्रा भारतीलाई परीक्षा अभिलेखालय प्रमुख बनाए। देवकोटा स्थानीय भएकाले सबै पार्टीमा उनका आफन्त रहेको तथा सबैलाई भाग पुर्‍याउनुपर्ने उनको बाध्यता रहेको एक उप–प्राध्यापक बताउँछन्।

देवकोटाले वसन्ता योगी, पुष्पा वंशी, जीवनकुमार थापा र राधिका पुनलाई सुब्बा सरहको वरिष्ठ सहायकमा नियुक्त गरी केही महीनामा अधिकृतमा बढुवा गराएका थिए। उनले सुब्बासरहको लेखापालमा कमल केसीलाई नियुक्त गरेको केही महीनामा लेखा अधिकृत र त्यसपछि लेखा नियन्त्रक बनाए।

अहिले अख्तियारले एमयूको कोषको रकम हिनामिना गर्नेमा केसीलाई पनि दोषी ठहर्‍याएको छ। उनी फरार छन्। पीएमा प्रशासनतर्फको अधिकृत राख्नुपर्नेमा उपसचिवस्तरको तलब दिन उनले पीए सुधन गौलीलाई उप–प्राध्यापकमा नियुक्ति दिए। गौली पनि अख्तियारको हिरासतमा छन्। देवकोटाले छोरा सुनिललाई पनि उप–प्राध्यापक बनाएका थिए।

प्रा.डा. पदमलाल देवकोटा, पीताम्बर ढकाल।

पहिलेदेखि नै अवसर लिन माहिर रजिष्ट्रार डा. ठकेन्द्रप्रकाश गिरी वाम पृष्ठभूमिको भएर पनि नेपाली कांग्रेसको कोटामा पर्न सफल भए। तर कर्मचारी नियुक्त गर्ने क्रममा उपकुलपति देवकोटासँग उनको मनमुटाव बढ्यो। उनले नातामा साला पर्ने पारसराम गिरीलाई पहिले भान्से र लगत्तै अनुसन्धान अधिकृत बनाए। गिरी पनि अख्तियारको हिरासतमा छन्। रजिष्ट्रार गिरीले गगनसिंह बोहरालाई पहिले वरिष्ठ सहायक हुँदै सहायक प्रशासक बनाए भने गणेशबहादुर केसीलाई वरिष्ठ सहायकमा नियुक्त गरे। अहिले यी दुवै हिरासतमा छन्।

गुम्यो ख्याति

भूगोलका गोल्डमेडलिष्ट देवकोटाले २०३२ मा सुर्खेतको जन व्यावसायिक माध्यमिक विद्यालयबाट अध्यापन थालेका थिए। त्यसको चार वर्षपछि शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारतको पुना विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर गरे। त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा समाजशास्त्र/मानवशास्त्र विभागको संस्थापकमध्येका एक उनले लामो समय अध्यापन गरेपछि भारतको दिल्ली विश्वविद्यालयबाट मानवशास्त्रमा पीएचडी गरे। ‘डेभलपमेन्ट एन्थ्रोपोलोजी’ लगायत केही किताब लेखेका र क्यानडाको एक विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर रहेका उनी पीएचडी गरेपछि पनि त्रिविमै रहे।

प्रा. डा. नवराज कँडेल, प्रा.डा. श्रीरामप्रसाद उपाध्याय ।

६० वर्ष नाघेका उपकुलपति देवकोटाको जिन्दगीभरको मिहिनेतबाट आर्जेको ख्याति गुमेको छ। उनी सहित विगतमा कुनै अनियमितता नगरेका विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. नवराज कँडेल र सदस्य प्रा. डा. श्रीराम उपाध्यायको सामाजिक प्रतिष्ठा पनि गुमेको छ। मानविकी संकायका डीन पीताम्बर ढकालको पनि सुर्खेतमा राम्रो छवि थियो। उनी अध्यक्ष रहेको नागरिक सरोकार संघ नामको गैरसरकारी संस्था र ट्रान्सपरेन्सी इन्टरनेशनलबीच सहकार्य थियो। विश्वविद्यालयका एक उप–प्रध्यापक पदाधिकारीहरू अब शिर उठाएर हिंड्न नसक्ने बताउँछन्।

एमयूका नवनियुक्त निमित्त उपकुलपति कालीप्रसाद पाण्डे भने देवकोटा लगायतका पदाधिकारी राजनीतिक भागबन्डा र हस्तक्षेपको शिकार भएको बताउँछन्। “एमयू आउनुअघि प्राज्ञिक कामबाहेक अन्यत्र ध्यान नदिने देवकोटाको छवि निकै राम्रो थियो”, उनी भन्छन्।

अधिवक्ता कुमार रेग्मी प्राज्ञिक संस्थाका जिम्मेवार पदमा हुने भागबन्डाले उक्त पदकै मर्यादा र गरिमा गिराउने बताउँछन्। “भागबन्डाबाट नियुक्त हुने राम्रो व्यक्तिले पनि काम गर्न सक्दैन”, उनी भन्छन्, “भागबण्डा हुँदा नराम्रोले राजनीतिक संरक्षण पाउँछ भने संस्थाले पनि ‘डेलिभरी’ गर्न सक्दैन।”

एमयूमा द्वन्द्व र शान्ति विषयको स्नातकोत्तर तहका विद्यार्थी रहेका नेपाली कांग्रेस सुर्खेतका कोषाध्यक्ष गोविन्द कोइराला यी पदाधिकारीहरू यसअघि अनियमिततामा नफसेका, प्राज्ञिक क्षेत्रमा योगदान दिएका र योग्यता पुगेका भए पनि नियुक्त गर्ने पार्टीको निर्देशन अनुसार काम गर्नुपरेकोले असफल भएको बताउँछन्। “प्राज्ञिक हैसियत बिर्सेर पार्टीको कार्यकर्ता बन्न खोजेका उनीहरू आर्थिक अनियमिततामा फसे” उनको भनाइ छ।

उपकुलपति सहित सबै पदाधिकारीलाई अख्तियारले हिरासतमा राखेपछि सरकारले एमयूको नियमित कामकारबाही सञ्चालन गर्न उपकुलपतिमा कालीप्रसाद पाण्डे र रजिष्ट्रारमा महेन्द्रकुमार मल्ललाई नियुक्त गरेको छ। उनीहरू दुवै कांग्रेस निकट हुन्।

—————————————————————————————————————————————————

जो हिरासतमा छन्

** प्रा.डा. पदमलाल देवकोटा– उपकुलपति

** डा. ठकेन्द्रप्रकाश गिरी– रजिष्ट्रार

** प्रा. डा. नवराज कँडेल– अध्यक्ष, विश्वविद्यालय सेवा आयोग

** प्रा.डा. श्रीरामप्रसाद उपाध्याय– सदस्य, विश्वविद्यालय सेवा आयोग

** केशरसिंह राना– डीन, विज्ञान प्रविधि संकाय तथा कार्यकारी परिषद् सदस्य

** पीताम्बर ढकाल– डीन, मानविकी तथा सामाजिक संकाय

** मस्तबहादुर गरन्जा– डीन, व्यवस्थापन संकाय

** लालमणि आचार्य– डीन, शिक्षा संकाय

** गणेशबहादुर रावत र सुधन गौली– उप–प्राध्यापक

** पारसराम गिरी– अनुगमन अधिकृत

** जीवन कुमार थापा र गगन सिंह बोहरा– सहायक प्रशासक

** गणेशबहादुर केसी– वरिष्ठ सहायक

फरार रहेका

** प्रा. इन्जिनियर रामचन्द्र अर्याल– डीन, इन्जिनियरिङ संकाय

** कमल केसी– लेखा नियन्त्रक

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>