अर्थ/बजारबिहीबार, भाद्र १९, २०७१

जिएमआरसँगको वार्ता तत्कालका लागि स्थगित

हिमालखबर

लगानी बोर्डको कार्यालय नयाँ बानेश्वरमा बोर्ड र जीएमआरबीच दुई दिनसम्म भएको वार्तामा सिँचाइ र कर छुटको विषयमा थप छलफल गर्नुपर्ने आवश्यकता देखिएपछि वार्ता तत्कालका लागि स्थगित गर्ने सहमति दुवै पक्षले जनाएको छ ।

माथिल्लो कर्णाली जलविद्युत परियोजनाका कारण तल्लोतटीय क्षेत्रमा हाल सञ्चालित रानी–जमरा–कुलरिया, राजापुर र सूर्यपटुवा तथा प्रस्तावित अन्य सिँचाइ आयोजनामा उपलब्ध गराउने पानीको विषयमा सिँचाइ मन्त्रालयसँग थप छलफल गर्नुपर्ने आवश्यकता भएको लगानी बोर्डले जनाएको छ ।

यस्तै, व्यवस्थापिका–संसद्मा चालु आर्थिक वर्षको बजेट वक्तव्यका विषयमा छलफल जारी रहेका कारण कर छुटका विषयमा समेत टुङ्गो नलागेका कारण दुवै विषयमा थप छलफल आवश्यक रहेकाले वार्ता तत्कालका लागि स्थगित गरिएको बोर्डका एक अधिकारीले जानकारी दिएका छन् ।

उत्पादकहरुबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि प्रतिमेगावाट रु ५० लाखका दरले एकमुष्ट अनुदान दिने र २०७४–७५ सम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उत्पादकहरुलाई त्यस्तो अनुदानमा १० प्रतिशत थप गर्ने घोषणा यस अघि नै सरकारले गरिसकेको सन्दर्भमा सो विषय बजेटमा समावेश गरिएकाले सदनबाट पास हुनु आवश्यक छ ।

सन् २०१३ देखि लगानी बोर्डले जिएमआरसँग पिडिए वार्ता गरेको हो भने पिडिए भएपछि उक्त कम्पनीले दुई वर्षमा वित्तीय स्रोतको व्यवस्था गर्नेछ । वित्तीय स्रोतको व्यवस्थापनपछि पाँच वर्ष निर्माण अवधि शुरु हुने र सन् २०२१ मा बिजुली उत्पादन प्रारम्भ हुनेछ ।

२५ वर्र्षसम्मको सञ्चालनपछि जिएमआरले उक्त परियोजना नेपाल सरकारलाई चालु अवस्थामा हस्तान्तरण गर्नेछ ।

आयोजनाको कुल क्षमता ९०० मेगावाट रहेको छ । आयोजनाबाट नेपालले १२ प्रतिशत निःशुल्क ऊर्जा र २७ प्रतिशत निःशुल्क सेयर पाउने सहमति भएको छ ।

परियोजनाबाट प्रभावित हुने सुर्खेत, अछामका तीन–तीन गाविस र दैलेखका छ गाविसका २३९ घरपरिवारको व्यवस्थापन र ४८.८५ हेक्टर निजी वन र २०७.७५ हेक्टर सार्वजनिक जग्गा अधिकरण गर्नुपर्नेछ भने ७५.९३ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>