थप समाचारबिहीबार, भाद्र १९, २०७१

हङकङः नेपाली तरकारी–फलफूलको बजार

हिमालखबर

तुलसी गौतम, हङकङबाट फर्केर

हङकङवासीले खाने तरकारी र फलफूल सफा र लोभलाग्दा हुन्छन्। ठूला आँप, मौसम, जुनार, अनार, राता र हरिया स्याउ, दाग नभएका केरा, मेवा, स्ट्रबेरी, किवी जस्ता फलफूलले त्यहाँका डिपार्टमेन्ट सजिएका हुन्छन्। तर, मूल्य भने निकै बढी पर्छ।

बेलुकीपख लाग्ने गल्लीका बजारमा पनि नेपालीमा हिसाब गर्ने हो भने तरकारी र फलफूल निकै महँगो लाग्छ। त्यहीको आम्दानी अनुसार भने सर्वसाधारणलाई गल्लीको बजार र राम्रो आम्दानी हुनेलाई डिपार्टमेन्ट स्टोर उपयुक्त छ।

समुद्रले घेरेको हङकङमा एक ठाउँबाट अर्कोमा जान जहाज/डुंगा चढ्नुपर्छ। स–साना पहाड र समुद्र किनारामा बनेका गगनचुम्बी भवन, तिनका बीचमा रहेका जंगल र जंगलभित्रका भवनहरूले हङकङलाई सुन्दर बनाएका छन्। अझ् राति त भव्य भवन र सडकका बत्तीको उज्यालोले शहरलाई अरू मनमोहक बनाउँछ।

विश्वका प्रमुख व्यापारिक केन्द्रमध्ये एक मानिने हङकङको जनसंख्या सन् २०१३ मा झण्डै ७२ लाख थियो। प्रतिव्यक्ति आय ५५,३८३ अमेरिकी डलर रहेको यो शहरका मानिस अत्यन्त व्यस्त छन्।

हङकङमा प्रायः नेपाली कामदारले दश हजार हङकङ डलर कमाउँछन्। जुन, त्यहाँको फलफूल र तरकारी बजारमा गएर आरामले किनमेल गर्न पुग्ने रकम हो। १ हजार १०४ वर्ग किलोमिटर क्षेत्रफल रहेको हङकङमा खेतीपाती गर्ने जमीन ७ वर्ग किलोमिटर मात्रै छ। त्यसैले त्यहाँ खपत हुने ९८ प्रतिशत तरकारी, फलफूल र खाद्यान्न बाहिरबाट ल्याउनुपर्छ।

स्रोतः जोर्डनस्थित खुद्रा बजारमा पंक्तिकारले टिपेको मूल्य । नोटः एक हङकङ डलर नेपाली रुपैयाँमा १२.५० ले हिसाब गरिएको।

तर, यहीं पनि सेतो बन्दा, पालुङ्गो, मूला, काँक्रो, लौका, गोलभेंडा, काउली, गाजर, कागती, सुन्तला, अम्बा, मेवा, केरा उत्पादन हुन्छ। यहाँ दैनिक सरदर ५६ टन तरकारी र फलफूल उत्पादन हुने गर्छ। हङकङमा अमेरिका र अष्ट्रेलियाबाट स्याउ, न्यूजिल्याण्डबाट किवी र वर्गरमा राखिने हरियो खाले प्याज, थाइल्याण्डबाट खुर्सानी र चीनबाट मौसमी फलफूल र तरकारी ल्याइन्छ।

हङकङमा नेपालमा जस्तो विषादी मिसाइएको तरकारी बजारमा आउँदैन। सरकारी कर्मचारीहरूले बारीमै गएर अनुगमन गर्छन् र विषादी नमिसाइएको प्रमाणित भएपछि मात्र बजारमा ल्याउने अनुमति दिन्छन्। यस्तो गर्न सन् १९९४ देखि थालिएको हो। सन् २०१३ को अन्तसम्म सरकारबाट बजारमा फलफूल र तरकारी आपूर्ति गर्न २९७ फार्मलाई अनुमति दिइएको छ।

हङकङमा फलफूल र तरकारीको थोक बजार केनेडी टाउनमा छ। त्यहाँबाट खुद्रा व्यापारीले शहरका ठाउँठाउँमा पुर्‍याउँछन् र बेलुकीपख सडकछेउ स्टल बनाएर बेच्छन्। वान चाई, यो माति, मङकक्, जोर्डन, चंचा चुई, चुंगी मेनान्लाई तरकारी र फलफूलको प्रमुख बजार मानिन्छ। ती बजारमा प्रायः आधा किलो र गोटामा तरकारी फलफूल किन्न पाइन्छ।

हङकङको बजार भाउ हेर्ने हो भने नेपालको तरकारी र फलफूलले पनि त्यहाँ अवसर पाउने देखिन्छ। नेपाली र भारतीय मूलका मानिसहरूले चलाएका होटल, रेस्टुरेन्टमा त्यहाँका आपूर्तिकर्ता मार्फत पुर्‍याउने हो भने नेपाली कृषि उपजले पनि राम्रो भाउ पाउन सक्छन्। तर गुणस्तर भने त्यहींको अनुसार हुनुपर्दछ। शिक्षित र युवा वर्गलाई कृषिमा लगाउने हो भने यो असम्भव पनि छैन।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>