रिपोर्टशनिबार, भाद्र २१, २०७१

परिवारकै बर्बादी

हिमालखबर

-देबकी बिष्ट

पनौती–२, काभ्रेका आठ सन्तानका बाबु ९ भदौमा बुबाको मुख हेर्ने दिन प्रहरी खोरमा पुगे– १९ वर्षीया आफ्नै छोरीमाथि बलात्कारको आरोपमा।

१० वर्षकी छँदा हजुरबुबाबाट बलात्कृत हुन थालेकी साधनाले बाबुबाट समेत त्यही अपराध दोहोरिन थालेपछि ३० साउनमा आत्महत्याको असफल प्रयास गरेकी थिइन्। अहिले उनी गैर–सरकारी संस्था रक्षा नेपालको आश्रयमा छिन्।

पापको परिणाम
दुई वटी विवाह गरेका कार्की थरका आरोपी सात छोरी र एक छोराका बाबु हुन्। उनले मकाउमा काम गर्दा अर्की महिलाबाट पनि एक छोरी जन्माएको गाउँलेहरू बताउँछन्।

२०६३ सालमा विदेशबाट फर्केका उनले आफू नहुँदा कान्छी श्रीमतीले अर्कै व्यक्तिसित सम्बन्ध राखेको थाहा पाउँछन् र उनीपट्टिकी ठूली छोरीलाई बलात्कार गर्न थाल्छन्। छोरीबाटै यो कुरा थाहा पाएकी आमा भने श्रीमान्ले आफ्नो पोल नखोलिदिउन् भनेर मौन बस्छिन्। यो चक्रव्यूह चलिरहन्छ– परिवारकै बर्बादी नहुञ्जेलसम्म।

साधनाले हजुरबुबाबाट पटक–पटक बलात्कृत हुँदा सानो उमेरको डर–त्रासले कसैलाई भन्न सकिनन्। विदेशबाट बुबा फर्केपछि हजुरबुबा नजिकैको अर्को घरमा बस्न गए, जहाँ उनीमाथि जेठी बुहारीसँग लसपस गरेको बात लाग्दा गाउँमै मिलाइएको थियो।

यता पनौती–२ को घरमा कार्कीले विभिन्न डरत्रासका साथ छोरीलाई गर्भ निरोधक चक्की खुवाउँदै बलात्कार जारी राखे। त्यस्तो मानसिक र शारीरिक अत्याचार खेपिरहेको लक्षण पीडितमा नदेखिने कुरै भएन।

९ कक्षाकी होनहार छात्राको गतिविधिमा आएको परिवर्तनबाट अचम्मित भएको हाइल्याण्ड अंगे्रजी बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल श्रीराम थापा बताउँछन्। त्यतिबेला स्कूलले अभिभावकलाई बोलाएर साधनालाई चिकित्सककहाँ जँचाउन सुझाव दिएको थापाले बताए।

यस्तो तनावका बीचमा पनि साधनाले २०६७ सालमा ८३ प्रतिशत अंकका साथ एसएलसी उत्तीर्ण गरिन्, तर विज्ञान विषयमा कक्षा ११ राम्ररी पढ्न सकिनन्। घरमा बाबुको अत्याचार कायम थियो।

बुबाले ‘जे किन्न जति पैसा चाहिन्छ भन्, तर घरको कुरा बाहिर भने दुनियाँले तँलाई नै बढी थुक्छ’ भनेर धम्क्याउँथे भने आमा कुरै सुन्न चाहन्नथिन्। “यसरी बुबाको श्रीमती भएर बाँच्नुभन्दा मर्नु वेश भनेर धुलिखेलको जङ्गलमा गएर मेटासिड खाएँ”, साधनाले हिमाल सँग भनिन्।

सिकिस्त अवस्थामा साथी पूर्णिमालाई फोन गरेपछि भएको उद्धारले उनलाई धुलिखेल अस्पताल पुर्यालयो। विष सेवन गर्नुअघि उनले ‘सुसाइड नोट’ लेखेर बाबु र हजुरबुबाको पाप खोलेकी थिइन्, जुन घटनास्थल पुगेका स्थानीय नारायण थापाले पढेर सबैलाई सुनाएका थिए। त्यसलाई पछि आरोपी कार्कीले च्यातेर फालिदिए।

तीन दिन आईसीयूमा रहेकी साधनाले अस्पतालमा पनि विष खानुको त्यही कारण बताएकी थिइन्। डाक्टरहरूले रिपोर्टमा त्यही कुरा लेखेको थाहा पाएपछि आत्तिएका कार्कीले त्यसलगत्तै पनौतीका बस्नेत थरका एकजना युवकसँग यो केसलाई जसरी भए पनि दबाउन सहयोग माग्दै मर्नुभन्दा बहुलाउनु वेश भनेर छोरीको उपचार खर्च बेहोरेको बताएका थिए।

कार्कीले ‘त्यस्तो रिपोर्ट लेख्ने डाक्टरलाई जिउँदै जलाउँछु’ भनेको ती युवकले रेकर्ड गरेका छन्।

मोबाइल रेकर्डमा कार्कीले ‘मेरो पाँचखालतिरकी प्रेमिका पनि भएकोले अब साधनालाई केही गर्दिनँ, जसरी पनि उसलाई सम्झ्ाएर यो केस मिलाऊ, जति माग्छौ त्यति खर्च गर्छु’ भनेको सुनिन्छ।

कार्कीको दाउ
आरोपी कार्की यो अपराधबाट चोखिन साधनाको बयान फेराउने कोशिश असफल हुने देखिएपछि अब उनलाई पागल प्रमाणित गराउने प्रयासमा छन्।

उनले परिवारका सदस्यहरूलाई पनौतीको केटासँग सम्बन्ध रहेको साधनाको मानसिक स्थिति समेत ठीक नभएको भन्न लगाएका छन्। तर, साधना मानसिक रूपमा स्वस्थ रहेको चिकित्सकको परीक्षणबाट पुष्टि भएको रक्षा नेपालकी अध्यक्ष मेनुका थापा बताउँछिन्।

परिवारले प्रेम सम्बन्ध रहेको भनेका पनौतीका युवकले भने साधना र आफूबीच दाजुबहिनीको सम्बन्ध रहेको बताए। “हाम्रो सम्बन्धको सीमा उनको आमालाई राम्ररी थाहा छ”, उनी भन्छन्।

साधनाले रेकर्ड गरेको मोबाइल संवादमा बाबुआमा दुवैले घुमाउरो गरी आ–आफ्नो पाप स्वीकारेका छन्। आमाले छोरी बलात्कार भएको कुरा सुने पनि आँखाले नदेखेको बयान दिएको बताउँदै काभ्रे जिल्ला प्रहरी कार्यालयका डीएसपी जनक भट्टराई भन्छन्, “कार्कीले भने साधनाले रेकर्ड गरेको स्वर आफ्नो नभएको दाबी नछोडेकाले प्रयोगशाला परीक्षण हुँदैछ।”

परिवारभित्रको यौन अपराध छताछुल्ल भएपछि साधनाका ७५ वर्षीय हजुरबुबाले १० भदौमा विषसेवन गरी आत्महत्या गरेका छन्। हजुरबुबाले ज्यान गुमाउनुमा मूल दोषी रहेको भन्दै साधनाका भाइले साधना र रक्षा नेपाल विरुद्ध उजुरी दिएको डीएसपी भट्टराईले बताए।
(पीडित युवतीको गोपनीयताका लागि उनको वास्तविक नाम तथा पूरा ठेगाना दिइएको छैन भने परिवारका सदस्य तथा आफन्तको थर मात्र खुलाइएको छ।)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>