Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
म तपाईंको वास्तु मान्दिनँ - Himalkhabar.com

टिप्पणीशनिबार, भाद्र २१, २०७१

म तपाईंको वास्तु मान्दिनँ

केदार शर्मा

म अरू अतार्किक, तथ्यहीन कुरा जस्तै तपाईंको वास्तु पनि मान्दिनँ ।

“दक्षिण फर्केको जमीनमा बसोबास गर्नेको कहिल्यै प्रगति हुँदैन” टेलिभिजनमा राशिफल बताउने ज्योतिषीकै जस्तो परिधानमा सजिएका, आँखीभौंका बीचमा रातो टीका लगाएका ३०–३२ वर्षका युवकलेे भने।

“हजुरले यो जग्गा शुरूमै किन्न नहुने” उनले जग्गा मालिकतिर हेरेर थपे “हजुरहरू जस्तो पढेलेखेको व्यक्तिले वास्तुको विज्ञानलाई बेवास्ता गर्नु नहुने …!”

यो संवाद जग्गा खरीद–बिक्रीका सन्दर्भमा, भक्तपुरको एउटा गाउँमा भएको थियो। हालैका वर्षहरूमा राम्रोसित पैसा कमाएका खरीदकर्ताले त्यो जग्गा मन पराएका त थिए नै, पाँच वर्षअघि आनाको रु.५ लाखमा चलेको ठाउँको जग्गा सवा चार लाखमा पाउँदा हर्षित पनि थिए।

तर आफैंले ल्याएका ‘वास्तुविद्’ ले जग्गामा दोष देखाइदिंदा उनी खिसि्रक्क परे।

बसोबास गर्ने हिसाबले त्यो जग्गा राम्रो थियो। चौकोर मिलेको, अलिकति गरालो परेको, डोल क्षेत्रभन्दा ठ्याक्क माथि। मास्तिरको भल आइनपुग्ने, आफ्नामा परेको पानी सरक्क बगेर खोल्सातिर जाने, कतैबाट ढिस्को नलड्ने। दिउँसोको घाम कतैबाट नछेकिने। तर मात्र दक्षिणतर्फ फर्केकाले वास्तुविद् भनाउँदा युवकलाई मन परेन।

आफ्नो कुरालाई अझ् विश्वसनीय बनाउन उनले फेरि थपे, “नेपालको कहिल्यै प्रगति नहुनुमा दक्षिणाभिमुख हुनु नै हो। हेरिराख्नु होला, यो देश कहिल्यै उँभो लाग्दैन।”

उनको त्यो कठोर अभिव्यक्ति त्यहाँ उपस्थित कसैलाई चित्त नबुझ् पनि कसैले केही बोलेनन्।

जग्गा बिक्छ भनेर ढुक्क परेका व्यक्तिले भने वातावरणलाई केही हलुका बनाउन खोजे जसरी भने, “मलाई चाहिं वास्तुमा विश्वास लाग्दैन।”

गुरु उडाउने पारामा हाँसे र भने, “हजुरले विश्वास गर्नुहुन्न भन्ने मैले यो जग्गा हेरेरै बुझिसकें नि!”

ती गुरुले आफ्ना मान्छेलाई त्यो जग्गा किन्न दिएनन्। तर, जग्गा खरीद गर्नेले मन पराएको भए ‘वास्तुदोष’ हटाउने केही उपाय उनले बताउने थिए।

वास्तुदोष लागेको वा त्यो हटेको प्रमाण कसैले मागेको भए उनले दक्षिण, वास्तु, दोष जस्ता ‘की वर्ड’ भएको संस्कृतको एउटा श्लोक भनिदिने थिए। संस्कृतमा लेखिएका सबै कुरालाई देववाक्य वा कम्तीमा आर्षवचन मान्ने चलन छ।

वास्तु–विज्ञान
वास्तु प्राचीन हिन्दू निर्माण शास्त्र हो। भारतवर्षका मात्र होइन, कम्बोडिया (आङ्करभाट) र इण्डोनेशियाको बालीसम्मका कलात्मक र ठूल्ठूला मन्दिर र दरबारहरूको निर्माण वास्तुशास्त्र अनुसार भएको थियो।

नाप, अनुपात, सन्तुलन, पानीको उपलब्धता, बगैंचाको अवस्थिति तथा घाम, हावा, शीतलता जस्ता अनेक प्राकृतिक र दिशागत तत्वहरूका बारेमा त्यसबेला पनि ध्यान दिनुपर्थ्यो, अहिले पनि दिनुपर्छ।

लम्बाइ–चौडाइको अनुपात मिलेको, सन्तुलित घरलाई भूकम्पले कम असर गर्छ भन्ने वैज्ञानिक तथ्य त्यसबेला जस्तै अहिले पनि सत्य छ।

ती भवनहरूको आधार नक्सा (प्लान) र सिङ्गै संरचनाको वैज्ञानिक विश्लेषण गर्ने हो भने आश्चर्य लाग्छ। अहिले जस्ता यन्त्र उपकरण नभएको त्यस समयका भवन र मन्दिरहरूको सौन्दर्य, सन्तुलन र बलियोपनको कारण वास्तुशास्त्र नै हो।

तर म वास्तु मान्दिनँ। किनभने, तपाईं आफूलाई वास्तुविद् भन्नुहुन्छ तर दिशाको फाप–अफाप बाहेक अरू कुरा गर्नै जान्नु हुन्न। तपाईं विज्ञानको कुरा गर्नुहुन्छ, तर मान्छेका मनमा भय र अन्धविश्वासका जरा फैलाइदिनुहुन्छ। म तपाईंको रहस्यको विद्यालाई अध्यात्म र विज्ञानकै आधारमा अस्वीकार गर्छु।

म आफूलाई ‘नास्तिक’ को ड्याङमा उभ्याएर बोलिरहेको छैन। यो सम्पूर्ण चराचरमा विना कारण केही पनि हुँदैन र विना परिणाम केही पनि टुङ्गिदैन। ईश्वरका अवतारहरूले पनि विधिको विधान अर्थात् कार्यकारणको नियम अनुसार चल्नु परेका कैयन् दृष्टान्त हिन्दू वाङ्रुमयमा पाइन्छन्।

ईश्वरले कुनै दिशालाई पवित्र र कुनैलाई अपवित्र बनाएको छैन। अन्धविश्वासी हिन्दूहरू बस्ने ठाउँका लागि एउटा नियम र बाँकी संसारका लागि अर्को नियम अवश्य छैन।

‘दक्षिण फर्केको देश उँभो लाग्दैन’ भन्ने घोषणा गर्ने वास्तुविद्लाई सिङ्गै उत्तरी गोलार्द्ध दक्षिण फर्केको थाहा छैन। घाम दक्षिणबाट लाग्ने भएकाले ठाउँ मिलेसम्म यहाँका अधिकांश घरहरू दक्षिणको न्यानो लिन मिल्ने गरी बनाइएका हुन्छन्।

‘पानी दक्षिणतिर बग्नेलाई पो दक्षिणाभिमुख भनेको त’ भन्ने हो भने त्यस्ता ठाउँहरू पनि अनेक छन्। आल्पस् पर्वतको दक्षिणी पाटोमा रहेका देशहरू; इटली, फ्रान्सको केही भाग, स्पेन लगायतका धेरै युरोपेली देश दक्षिण नै फर्केका छन्।

अमेरिकाका धेरै नदी दक्षिणतिरै बग्छन् र अफ्रिकाका धेरै देश छिचोलेर नाइल नदी उत्तरतिर बग्छ।

संसारका विभिन्न देश, ती देशका विभिन्न शहर–बस्ती वा सडक अनुसार मोहोडा फर्केका घरहरू हेर्ने हो भने भन्न सकिन्छ, कुनै पनि दिशामा घर फर्केकै कारणले मानिसहरू सफल वा विफल हुँदैनन्। घर सजिला वा अप्ठ्यारा हुन्छन्। घर न्याना वा चिसा हुन्छन्।

घर बलिया र कमजोर पनि हुन्छन्। तर घर आफैंमा शुभ वा अशुभ हुँदैनन्। ती घरमा बस्ने मानिसका स्वभाव, आनीबानी, परिस्थिति, योग्यता जस्ता तारतम्यका कारण सिर्जित परिणामहरूलाई हामी पर्गेल्न नसकेर भाग्य भन्छौं।

वास्तुशास्त्रका विज्ञानसम्मत पक्षहरूको ज्ञान र त्यो ज्ञानलाई अनुसरण गर्ने क्षमता नभएका वास्तु व्यापारीहरू दिशाहरूको शुभ–अशुभ फल सम्बन्धी विश्वासका भरमा आफ्नो व्यवसाय चलाउँछन्।

हो, प्राचीन मन्दिरहरू वास्तुशास्त्र अनुसार बनेका थिए। त्यसबेला समाज, राजनीति र न्यायप्रणाली धर्मका आधारमा चल्थे। उपचार आयुर्वेद अनुसार चल्थ्यो। त्यसबेला पुरोहितहरूको बोलवाला थियो, उनीहरू मान्छेको सफलता र समृद्धिमा अनेक अनुष्ठानहरूको भूमिका रहेको विश्वास दिलाउँथे।

तर अहिले हाम्रो समाज त्यसबेला जस्तो छैन। समाज, राजनीति र न्यायप्रणाली अहिले अन्तर्राष्ट्रिय मान्यता अनुसार चल्छन्। मान्छेको उपचार पाश्चात्य विधि अनुसार हुन्छ र निर्माण आधुनिक इञ्जिनियरिङ अनुसार।

तर अहिले पनि पण्डित, पुरोहित, झाँक्री, जानपा, लामा, फादर, मुल्ला आदि ईश्वर र मान्छेका बीच मध्यस्थ वा दोभाषेका रूपमा सक्रिय छन्। यस्तै व्यक्तिहरूले वास्तुशास्त्रलाई पनि निर्माणको विज्ञानबाट तर्कहीन अनुष्ठान बनाएका छन्।

घर बनाउने मानिसहरू “यत्रो खर्च भइसक्यो यतिमा किन सानो मन गर्ने” भन्दै वास्तुविद्हरूको अनुसरण गरिरहेका छन्। कुनै पनि दिशामा भान्सा वा सुत्ने कोठा हुनुको परिणाम नदेखिने हुनाले उनीहरूको व्यापारमा प्रश्नचिह्न लाग्दैन।

तर्क र विश्वास
तर्कले प्रमाण खोज्छ र कार्यकारणको तारतम्य पर्गेल्ने प्रयत्न गर्छ। तर्कको उद्देश्य जटिल कुरालाई सरल बनाउनु हो। विश्वासमा तर्क, तथ्य, प्रमाण आदिको ठाउँ हुँदैन। दक्षिणबाट घाम लाग्छ भन्नु तथ्य हो, घडेरीको उत्तरपश्चिम कोणमा वास्तुपुरुषको शिर हुन्छ भन्नु विश्वास हो।

विज्ञानको आधार तथ्य हो, धर्मको आधार विश्वास हो। तर, हिजोआज विश्वासमा तथ्य मिसाउने अर्थात् आफ्नो धर्मलाई वैज्ञानिक सावित गर्न खोज्नेहरूको बोलवाला निकै बढेको छ।

ईश्वरलाई अनन्त शक्तिको पुञ्ज मान्ने शास्त्रीय हिन्दूहरूले त विभिन्न नाम र रूपमा आएर मान्छे अत्याउने पुरोहितहरूलाई सीधै ईश्वरलाई भ्रष्टीकरण गरेको अभियोग लगाए हुन्छ, किनभने उनीहरू ईश्वरलाई साह्रै सानो, छुद्र, लोभी र पितुर्के ‘जीव’ का रूपमा उभ्याउँछन् र त्यसकै छाया देखाएर मान्छेलाई अत्याउँछन्। उनीहरू भन्छन्, वास्तुपुरुष हुन्छन्, उनी जमीनको उत्तर–पश्चिम दिशातर्फ शिर पारेर बसेका हुन्छन्।

वास्तुपुरुषको परिकल्पित देहका फलाना फलाना अङ्गमा चोट लाग्नुहुँदैन। मानौं, देवताहरू मान्छेले कहिले गल्ती गर्छन् र तिनलाई दण्डित गरौं भनेर बसेका अख्तियारका कर्मचारी जस्ता हुन्छन्, जो कहिलेकाहीं ठीकसित क्षमा मागे वा नियम अनुसारका विधि विधान पूरा गरे खुशी भएर क्षमादान पनि दिइहाल्छन्।

विज्ञानका टाङमुनि आस्था
केही दशकयता हिन्दू धर्मका कतिपय विश्वासहरूलाई आधुनिक विज्ञानका कसीमा घोटेर ‘विज्ञानसम्मत’ सावित गर्ने लहड चलेको छ। यज्ञको धुवाँले वातावरण सफा गर्छ, शङ्खध्वनिको भाइब्रेशनमा व्याक्टेरिया मार्ने क्षमता हुन्छ, पीपल र तुलसी सबैभन्दा धेरै अक्सिजन उत्पादन गर्ने बिरुवा हुन् आदि यस्ता प्रमाणहीन विज्ञानका नमूना हुन्।

हिन्दू धर्म आध्यात्मिक हिसाबले एकदमै परिपक्व, विविध विचारलाई ठाउँ दिन सक्ने र एकदम लचिला नियम भएको धर्म हो। ब्रह्मचिन्तनदेखि कर्मकाण्डसम्मका अनेक कुरा यसभित्र अटाएका छन्।

तर हिजोआज यसको आध्यात्मिक गरिमा विज्ञानको गफबाट थिचिन थालेको छ। धर्मलाई विज्ञानबाट सावित गराउन खोज्नेहरू विज्ञानमा पनि प्रश्न गरेको रुचाउँदैनन्।

प्रमाण के छ भन्यो भने उनीहरू यो र ऊ साधुको नाम लिन्छन्। भन्छन्, “रामदेवले भनेको तुलसी र पीपलले बढी नै अक्सिजन दिने हो रे!”

म रामदेव हुन् वा कृष्णदेव, विना प्रमाण पत्याउन राजी हुन्न। अरू झ्ारजङ्गल टेक्दै हिंडे पनि म तुलसीपत्रलाई वा कुशलाई गोडाले छुन सक्दिनँ।

पीपलका रूखमा चढ्नु पर्‍यो भने ढोगेर मात्र चढ्छु। मेरी आमाले तुलसीलाई पानी चढाउनुभएको अक्सिजनको सिलिण्डर भनेर होइन। घरमा पूजा हुँदा मैले चरू हवन गरेको धर्ममा आधारित मेरो संस्कार र संस्कृतिको रक्षाका लागि हो।

म विज्ञानसम्मत हिसाबले सोच्नुपर्छ भन्ने मान्यता राख्छु, तर मेरो आस्थालाई विज्ञानका टाङमुनिबाट छिराएर प्रमाणित गराउन चाहन्न। म अरू अतार्किक, तथ्यहीन कुरा जस्तै तपाईंको वास्तु पनि मान्दिनँ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>