ब्लगमंगलबार, भाद्र २४, २०७१
काजी मन्त्र
“मेरो मन–मस्तिष्कले लामो समयदेखि ढिकिच्याउँ– ढिकिच्याउँ भइरहे पनि लास्टाँ मुश्किलले नै सही, ख्वात्तसँग गोल गरें”, काजी साहेबबाट मर्जी भयो।
“भकुण्डो भुक्याउन छाडेको जुग बिते’नि तपाईंलाई गोल गर्न खासै मुश्किल त नहुनुपर्ने हो!” मैले हल्का सोडा हालें।
“फुपा र भ्रातामध्ये एकको चयन साह्रै सकसदायक थियो। तथापि, ‘गाई भए गोरस र भाइ भए भरोस’ भन्ने शास्त्रीय वचनलाई गम्भीर रूपले मनन् गर्दै काम फत्ते गर्या हुम्”, काजीले लामो उच्छ्वास छाडे।
“रोकडा भए’सी गोरस त आजकाल पोकामा हालेर ढोकाँ पुर्याउन आउँछन्, भरोस कहाँ पाइन्छ र?” मैले लोली मिलाएँ।
“सहज र कठिनमध्ये मैले कठिन बाटो रोजें”, काजी बोले।
ऊ बेला मण्डले भएर हिंड्दा होस् या पछिल्लो समय एक्लै कमण्डलु बोकेर डुल्दा, साक्षात् राजकुमार दिक्पाल झै देखिएका काजीले सदा ‘सर्टकर्ट’ बाटो रोजे। नभन्दै, ‘मुसे काजी’को उपमा दिने बडागुरुहरू पनि अहिले काजीका सामुन्ने रुझेको मुसो बनेका छन्। काजी अचेल आफूलाई नेपाली राजनीतिको ‘वैकल्पिक धार’ भएको दाबी गर्ने हैसियतमा जो छन्।
सत्तारूपी हात्ती चढ्न नपाएको बेस्वादलाई उच्चस्तरीय राजनीतिक संयन्त्र नामक वैतरणीमा बाँकटे हानेर भए’नि थोरबहुत स्वादमा परिणत गर्न उद्यत प्रमुख प्रतिपक्षीय तिकडमको तुलनामा जस्तोसुकै प्रतिकूल राजनीतिक हावापानीमा पनि फस्टाउन सक्ने खसोखास खुबीदार काजीको दागाधराइमा कुछ दम देखिन्छ पनि।
काजीबाट मर्जी भएको छ, “पार्टीको राजनीतिक दस्तावेज र मूल सिद्धान्तमा परिवर्तन भए’नि अजेन्डालाई कुनै हालमा विसर्जन गर्दैनौं।”
त्यसपछि यो मर्जी भयो, “एक वर्षभित्र संविधान निर्माणका लागि हामीबाट राजतन्त्र र हिन्दुत्वको विषयमा सम्झाैता गर्ने कुरामा पनि खुट्टी कमाउने काम हुने छैन।”
त्यसलगत्तै अर्को प्रतिबद्धता आएको छ, “संवैधानिक राजतन्त्रको जिरह गरे’नि हामी राजावादी भने होइनम्। प्यारा देशवासीले हामी के हम् र के होइनम् भन्ने घनचक्करमा पर्नु आवश्यक छैन।”
“तर काजी साहेब, हजुरको यो नौझाले सिद्धान्तबाट अतासिएर पार्टीबाटै लावतीको लस्कर निस्क्यो नि!” मेरो छुसी जिब्रो चिलायो।
“लावती, यत्रउत्र धावती, लास्टाँ यतै आवती!” निष्पि्कक्री काजीबाट विदूषक बन्नुभयो, “जानिफकारहरू एक जना दिक्क, दुई जना ठिक्क, तीन जना तानातान, चारजना हानाहान् भन्छन्। कोही ठुस्केर मेरो रौं हल्लने वाला छैन। भाइ फुट्दा गँवारले लुट्ने हो, यहाँ त गँवार नै फुटेको छ।”
काजीले अलि लामै सास तानेर दनक दिनुभयो, “आज देशलाई नरेशविहीन बनाउने, नातावाद, कृपावाद, छाडापन र बेथितिमा डुबाउने हिजोका अराष्ट्रिय तत्वहरू विधिको शासन फिराउने भीष्मप्रतिज्ञा गरेको मलाई के–के, के–के भन्छन्। मैले आफ्नो होनहार अनुजलाई ताननीय बनाउँदा एन्फा घोटालाको बात निकाल्छन् मानौं, तिनीहरू कानून भन्दा माथि छन्। भाइलाई कानूनले केही भनेको छैन। मैले कानूनको बाटो अवरुद्व गरेर उसलाई कानून बनाउने ठाउँमा तानेको पनि होइन क्यारे!”
“अरू दलकालाई चाहिं अदालतले डामिसकेका मर्जी भा’को छ। आफ्ना भाइलाई चाहिं कानूनले डाम्नु अघि नै कानून बनाउने अखडामा उतार्नु कसरी मनासिब हो त?” मेरो बिना हाडको अटोमेटिक जिब्रो फेरि चल्यो।
काजीको मुहारमा किञ्चित क्लेश गोचर भयो, “त्यही वापत मैले अनुजको मनोनयनलाई लिएर भएका सारा क्षुद्र टिप्पणीहरूलाई भोलेनाथले कालकूट निले जसरी खिर्लिप्प पारेको हुम्, त्यसरी रापसाफ भएको छ। गणेशलाई अघि नसार्दा हरेक शुभ कार्जेको थालनी ‘श्री गणेशायनमः’ बाटै गर्ने हिन्दू परम्परा अनुसार निर्देशित भएको कुरा पनि बुझनु पर्यो। नरेश नरहेर टुहुरो बनेका जनताका लागि गरलपान गर्न उद्यत नीलकण्ठमाथि फत्तुर लाउनु अघि प्रधानमन्त्रीले ख्यातिप्राप्त व्यक्तिको नाम ल्याउनु भनेको कुरालाई पनि बिर्सन मिल्दैन। घपलावाजीमा भाइ गणेश राष्ट्रिय त के, अन्तर्राष्ट्रिय मिडियामा समेत राम्रैसँग छाएका व्यक्तित्व हुन् भन्ने कुरा उनीहरूले नै स्वीकारेका हुन्। गँवारहरूको पीर के मात्र हो भन्देखुनलाई दुई क्षेत्रमा फुटेका हामी दाजुभाइ एक भँगालो हुन लाग्या छम्।”
साप्ताहिक खबरपत्रिका हिमालबाट