Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अवसानपथमा 'प्रचण्ड' - Himalkhabar.com

रिपोर्टबुधबार, भाद्र २५, २०७१

अवसानपथमा ‘प्रचण्ड’

हिमालखबर

– रामेश्वर बोहरा

“हामी नेपालमा पाँच वर्ष होइन, ४० वर्षसम्म शासन गर्ने नीति र योजना सहित आएका छौं। कांग्रेस र एमालेहरूले अब सरकार चलाउने सपना नदेखे हुन्छ।”

हिंसात्मक विद्रोह छाडेर शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादी २८ चैत २०६४ मा भएको संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेपछि प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा यस्तो भनेका थिए।

अकल्पनीय जीत हात लागेपछि उन्मादी देखिएका दाहालका निम्ति प्रधानसेनापति रुकमाङ्गद कटवालको बर्खास्तगी प्रकरणमा ९ महीनामै सरकार छाड्नुपर्ला भन्ने त्यतिबेला कल्पना बाहिरको कुरा थियो। पाँच वर्षपछिको निर्वाचनबाट तेस्रो पार्टीमा खुम्चिनुपर्ला भन्ने पूर्वाभास भएको भए उनमा त्यस्तो उन्माद र दम्भ शायद देखिने थिएन।

४ मंसीर २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनको पूर्वसन्ध्यासम्म त्यही उन्मादमा रहेका उनले धेरै ठाउँको चुनावी प्रचारमा भनेका थिए, “हामी १५ वर्षमा गरीबी अन्त्य गर्ने, २० वर्षमा नेपाललाई दक्षिण एशियामा नमूना देश बनाउने र ४० वर्षमा विश्वकै धनीमध्येको देश बनाउनेछौं।”

उनले त्यसो भन्नुमा समयको वेगलाई ठम्याउन नसक्नु कारण रहेको देखिन्छ। निर्वाचनको नतीजा सोचेभन्दा फरक आएपछि त मुलुकको राजनीतिको ‘इपिसेन्टर’ रहेका दाहालले प्रमुख नेतामा हुनुपर्ने सुझ्बुझ् र सन्तुलन नै गुमाए।

उनले चुनावी परिणाम स्वीकार नगर्ने दम्भ देखाउनुको कारण त्यही थियो। तर, लोकतान्त्रिक प्रक्रियामा सामेल भएको दल त्यस्तो दम्भ धेरै दिन टिक्न सक्दैनथ्यो, टिकेन पनि।

तर, त्यसअघि भएको पार्टी विभाजन, निर्वाचनमा पराजय, बाबुराम भट्टराई समूहले समानान्तर संरचना चलाउनु र संविधान निर्माणमा आफ्नो निर्णायक भूमिका नहुने महसूस गर्नु जस्ता कारणले उनमा असन्तुलन आएको अरू घटनामा पनि देखिरह्यो।

पछिल्लो समय राष्ट्रिय राजनीतिमा निष्प्रभावी बन्न लागेको ठानेर दाहालले मधेशी र जातीय पार्टीहरूसँगको मोर्चाबन्दी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी लगायतका ‘कम्युनिष्ट घटक’ हरूसँग कार्यगत एकता गरेका छन्।

अंकगणितमा एमाओवादीको आकार सानो भए पनि दाहाल संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता हुन्। शान्ति प्रक्रियाको पनि एउटा हिस्सेदार भएकाले संविधान निर्माणमा उनको भूमिका अझै महत्वपूर्ण रहनेछ। तर, पछिल्ला गतिविधिले दाहाल आफैंलाई यो भूमिकामा ‘फिट’ रहेको महसूस हुन छाडेको देखाउँछ।

विश्लेषक नीलाम्बर आचार्य पनि भन्छन्, “भनाइ र गतिविधि हेर्दा उहाँले आफूलाई राष्ट्रिय राजनीतिमा भूमिकाहीन बन्न पुगेका स–साना पार्टी र तिनका नेता जस्तो कमजोर ठान्न थालेको, आफूलाई कम आँक्न थालेको हो कि भन्ने देखिन्छ।”

दोस्रो संविधानसभा निर्वाचनमा दाहाल काठमाडौं–१० मा पराजित भए भने सिरहा–५ मा थोरै मतान्तरले विजयी भए। यसपछि पार्टी बाहिर मात्र होइन, भित्रै पनि उनलाई ओरालो लागेको मृगलाई झैं लखेट्न थालेको देखियो।

राजनीतिक दल र नेताले चुनावमा विजय र पराजय भोग्नु स्वाभाविक भए पनि दाहाल आफैंले राजनीति नै सिद्धिए जसरी व्यवहार देखाउन थाल्नु भने अनौठो छ।

जसले मुलुकको राजनीतिमा उनको उपादेयता सकियो भन्नेहरूलाई नै बल पुर्यानउँछ। वामपन्थी विश्लेषक मुमाराम खनाल पनि दाहालमा अब आफ्नो दिन सकिएको र केही गर्न सकिन्न भन्ने मनस्थिति विकास भएको बताउँछन्।

“पार्टीभित्र मोहन वैद्य र बाबुराम भट्टराईले आफ्ना विचार दाहालकै मुखबाट अगाडि सार्ने गरेको स्थिति नरहेकाले दुवैको विचारलाई मिलाएर नेता बन्ने उहाँको अवस्था छैन” खनाल भन्छन्, “शान्ति प्रक्रियामा आउँदा बनेको लोकतान्त्रिक छविलाई बलियो बनाउनुको साटो दाहालले सरकारमा पुगेपछि मुलुकका संस्थाहरू भत्काउन थालेकाले मध्यमवर्ग बिच्कियो, बाहिरबाट उनले बढी खेदाइ भोग्नु र दोस्रो संविधानसभा निर्वाचनमा त्यस्तो परिणाम आउनुको कारण पनि त्यही हो।”

पहिलो संविधानसभा रहँदासम्म संविधानका मुद्दामा कांग्रेस–एमाले सहमत नभए उनीहरूलाई नत्थी लगाएर सहमतिमा ल्याउने हुँकार गर्ने दाहालको स्वर अहिले सुकिसकेको छ। अहिले उनको हैसियत कांग्रेस–एमालेले भने अनुसार मान्नुपर्ने बनेको छ।

झण्डै दुईतिहाइ बहुमत रहेका कांग्रेस–एमालेले चाहे जस्तो संविधान बन्ने सम्भावना बुझेर दाहाल अहिले संविधान निर्माणमा पनि भाँजो हाल्ने प्रयत्नमा रहेको केहीको बुझाइ छ। तर, त्यसो गर्दा नोक्सानी व्यहोर्नुपर्ला भन्ने दाहालले नबुझेको अनुमान गर्नु भने परिपक्व हुने छैन।

उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वका लागि हदैसम्मको रडाको मच्चाउनुले पनि दाहालको कमजोरी देखाउँछ। ‘मलाई समितिको नेतृत्व चाहिन्छ नै भन्ने होइन, त्यो कांग्रेस र एमालेले बुझने कुरा हो’ दाहालले अहिले भन्ने गरेका छन्।

द्वन्द्वकालमा माओवादी छाडेका राजनीतिक विश्लेषक खनाल भन्छन्, “अहिलेको प्रक्रियालाई रोक्न सक्ने हिम्मत पनि उनमा छैन, यो प्रक्रियाबाट जश पाउने सम्भावना पनि उनले देखेका छैनन्, त्यसैले न बिगार्न सक्ने, न चुपचाप बस्न सक्ने अवस्थामा उनी पुगेका छन्।”

दुई दशकको ‘क्लाइमेक्स’
२ असार २०६३ मा ‘भूमिगत’ बाट पहिलो पटक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सार्वजनिक हुँदा दाहालको चमकधमक र आकर्षण हेर्नलायक थियो। उनको सटिक ढंगले कुरा राख्ने क्षमता, क्रान्तिकारिता देखाउन सक्ने खुबी, अनि हाउभाउ र लवाइखवाइले धेरैको ध्यान खिचेको थियो।

त्यस्तो खुबी भएका नेताको अभाव रहेको बेला दाहाल छिट्टै राजनीतिको केन्द्रमा पुग्न सफल भए। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर र अन्तरिम व्यवस्थापिका–संसद्मा प्रवेश हुँदै संविधानसभा निर्वाचनसम्म पुग्दा मुद्दा, नारा र व्यक्तित्वका कारण उनी धेरैको आशा–भरोसा बने।

५२ वर्षको उमेरमा हिंसात्मक विद्रोहको बाटो छाडेर शान्तिपूर्ण राजनीति गर्न काठमाडौं आइपुगेका दाहाल पार्टीका समकालीन नेता र अन्य पार्टीका शीर्ष नेतृत्वभन्दा कम उमेरका थिए। त्योभन्दा पनि महत्वपूर्ण, काठमाडौं आउँदा उनले पार्टीमा नेतृत्वदायी हैसियत बनाएको करीब डेढ दशक भइसकेको थियो।

२०२८ सालमा क्याम्पस पढ्दापढ्दै राजनीतिमा सहभागी भएका र २०३५ देखि सक्रिय राजनीतिमा लागेका उनी ‘सेक्टर काण्ड’ का कारण तत्कालीन महामन्त्री मोहन वैद्यले नेतृत्व छाडेपछि २०४६ मा नेकपा मशालको महामन्त्री बनेका थिए।

२०४८ मा उनी अरू दुई वटा साना कम्युनिष्ट पार्टी मिसिएर बनेको नेकपा (एकता–केन्द्र) को महामन्त्री बने। २०५१ मा सशस्त्र विद्रोह शुरू गर्ने उद्देश्यले गठन भएको नेकपा (माओवादी) ले पनि उनलाई नै महामन्त्री बनायो।

२०५७ मा माओवादीको अध्यक्ष बनेपछि ‘प्रचण्डपथ’ समेत लागू गराएका दाहालको प्रगति तीव्र रहेको शान्तिपूर्ण राजनीतिमा आएको दुई वर्षमै प्रधानमन्त्री बन्नुले देखाउँछ।

तर, त्यो अवसर सदुपयोग गर्न नसकेपछि उनको ओरालो यात्रा उस्तै तीव्र गतिमा शुरू भयो। हिंसात्मक विद्रोह सकिने बेला माओवादी छाडेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापा राजनीतिमा विरलै देखिने यस्तो ‘क्लाइमेक्स’ दाहालको जीवनमा देखिएको बताउँछन्।

थापा भन्छन्, “राजनीति गर्ने मान्छेका लागि दुई दशकको अवधि सामान्य हो, तर उनले यही अवधिमा सबै भोगे।”

हिंसात्मक विद्रोहकालमा बाबुराम भट्टराईसँग ।

हुन पनि, कार्यकर्ता, समर्थक र केही हदसम्म तटस्थ जनतामाझ् ‘क्रान्तिकारिता’ का ‘आइकन’ बनेका दाहालको अहिले त्यो छवि छैन। दाहालको दुई दशकको यो उतारचढाव र ओरालोतर्फको यात्राका कारण थुप्रै छन् र हरेक कारणमा उनी नै जिम्मेवार देखिन्छन्। वामपन्थी विश्लेषक श्याम श्रेष्ठ पछिल्लो समय संसदीय अंकगणित दाहाललाई कमजोर देखाउने कारण बने पनि त्यसमा मूलतः उनकै दोष देख्छन्।

“उनको आफ्नै काम गर्ने र बोल्ने शैली तथा चरित्र र आचरण यसमा मूल रूपमा जिम्मेवार छ, धेरै बोल्ने, बोलेको कुरामा नटिक्ने, चारित्रिक स्खलन देखिने खालका व्यवहार देखिए” श्रेष्ठ भन्छन्, “यो नेपालको कल्चर पनि हो, सबैले बलेको आगो ताप्छन्, दोस्रो संविधानसभा चुनावपछि राप र ताप हराए जस्तो बनेकाले पनि उनलाई नपुछेका हुन्।”

कांग्रेस–एमाले लगायत तत्कालीन सात दलसँग १२ बुँदे समझ्दारी गर्दै दशक लामो हिंसात्मक विद्रोहलाई थान्को लगाएर शान्ति प्रक्रियामा आउँदा दाहालले लोकतन्त्र र शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति अँगाल्ने प्रतिबद्धता जनाएका थिए। शान्ति प्रक्रियामा आएपछि जालझेल र उपयोगितावादलाई आचरण र व्यवहार बनाएका दाहालले पुरानो प्रतिबद्धता कुल्चँदै गए।

यसलाई दाहालको राजनीतिको रणनीतिक पराजय ठान्ने वामपन्थी विश्लेषक डा. सुरेन्द्र केसी उनमा न लोकतान्त्रिक न त कम्युनिष्ट नेताकै चरित्र देखिएको बताउँछन्।

डा. केसी भन्छन्, “उदार र लोकतान्त्रिक नेताका रूपमा उनमा जवाफदेहिता देखिएन, कम्युनिष्टको त चरित्र देखिएन नै, जबर्जस्तीपन मात्र देखियो।”

शान्तिपूर्ण राजनीतिमा आएपछि पनि माओवादीलाई युद्धकालीन पार्टीकै धङधङीमा राख्न खोज्नु र पार्टी निर्माणको प्रक्रियामा लैजान नसक्नु पनि दाहालले पछिल्लो अवस्था भोग्नुको कारण देखिन्छ।

“युद्धरत पार्टी शान्ति प्रक्रियामा आयो, तर उनले शान्तिकालमा पनि पार्टीलाई आन्दोलन ठाने, विद्रोहका मात्र कुरा गरे, पार्टी बनाउन र नेता बन्नतिर लागेनन्” क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापा भन्छन्, “शान्तिकालमा आएर जस्तो खालको पार्टी र राजनीतिक लाइन बनाउन खोजे, त्यो नै सबैभन्दा ठूलो गल्ती भयो।”

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै दाहाल।

पछिल्लो समय दाहालमा आफूले थुप्रै गल्ती गरेको र धेरै अवसर गुमाएको बोध हुँदै गएको र हिजो गरेका सबै गल्ती सुधार्ने तत्परता देखिएको थापाको बुझाइ छ। पछिल्लो समय दाहालसँग भेटिरहेका उनी हिजो बाघ जस्तो देखिने दाहाल अहिले अरूका कुरा सुन्ने र ‘रियलाइजेशन’ गर्ने स्वभावका भएको बताउँछन्।

गुमाएका अवसर
“अब माओवादीका शब्द होइन, व्यवहारको परीक्षण गर्नुपर्ने बेला आएको छ। प्रजातान्त्रिक परिदृश्यमा प्रवेश गरेर त्यस अनुसार अगाडि बढ्नु उनीहरूका लागि कम्ती चुनौतीपूर्ण छैन। प्रजातान्त्रिक मूलधारमा आउनु राम्रो कुरा हो, आइसकेपछि त्यसका आधारभूत मान्यताबाट भाग्ने प्रयत्न गर्नुहुँदैन। त्यसो गर्न खोजियो भने अप्ठेरो हुनसक्छ।

दक्षिण एशियाका जनताले धेरै ठूल्ठूला क्रान्तिकारी नेतालाई रूपान्तरण गरेका छन्। त्यसकारण प्रचण्ड र बाबुराम भट्टराई मात्र अपवाद हुने छैनन्।”

संविधानसभाको पहिलो निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बनेपछि नेपाल आएका नयाँदिल्लीस्थित ‘सेन्टर फर द स्टडी अफ डेभलपिङ सोसाइटिज’ मा आबद्ध राजनीतिक मनोविज्ञ प्रा. आशिष नन्दीले हिमाल सँगको कुराकानीमा यस्तो भनेका थिए (हे. हिमाल, १६–३१ वैशाख २०६५)।

प्रा. नन्दीले त्यतिखेरै सुझाएको बाटोमा हिंडेको भए शायद यतिखेर दाहाल अहिलेको हालतमा पुग्ने थिएनन्। त्यसबेला प्रा. नन्दीले भनेका थिए, “दक्षिण एशियामा राजनीतिक सिद्धान्तले कहाँ काम गरेको छ र? सिद्धान्तका कुरा हँसिमजाक बन्ने गरेका छन्।

पहिलो संविधानसभा निर्वाचनमा विजयी भएपछि हाँसो ।

त्यसकारण एमालेले आफूलाई समाजवादी दलका रूपमा विकास गर्न चाहेको होला। ज्योति वसुले बेलायतमा पढे, प्रकाश करातले अमेरिकाको राम्रो विश्वविद्यालयमा मार्क्सवादको अध्ययन गरे। उनीहरू भारतमा उदार संसदीय राजनीति गरिरहेका छन्।

प्रचण्डले भारतका मार्क्सवादी नेताहरूले भन्दा कम मार्क्सवाद पढेका छैनन्। त्यसैले उनी बदलिंदो विश्व परिस्थिति अनुसार अगाडि बढ्दैनन् भन्न सकिन्न।”

तर, दाहालले प्रा. नन्दीले सुझाए झैं लामो राजनीति गर्ने सही र सहज बाटो हिंड्न चाहेनन्। बरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई ख्याल नगरी आफू अनुकूल बनाउने दम्भ मात्र देखाइरहे। १२ बुँदे समझ्दारी गरेर आएका कांग्रेस–एमाले लगायतका दलहरूसँग सहकार्य गर्नुको साटो उनीहरूभित्र खेल्ने र नेताहरूको मानमर्दन गर्ने काम गरे।

लोकतान्त्रिक प्रक्रियामा आएको यथार्थ भुलेर ‘जनसंविधान’ बनाउने दम्भ देखाए। यहाँसम्म कि, ‘पहिचान’ र ‘अधिकार’ का नाममा जातीय र क्षेत्रीय नारा उराल्दै सामाजिक सद्भाव विथोल्न खोजे।

आफ्नो पार्टी संविधानसभामा सबैभन्दा ठूलो रहेको र आफूले नै सरकारको नेतृत्व गरिरहेको बेलामा संविधान बनाएर जश लिने स्वर्णिम अवसर गुमाए।

अहिले आफ्ना निकटस्थहरूसँगको भेटमा दाहालले आफूले धेरै गल्ती गरेको र तिनै गल्तीका कारण थुप्रै अवसर गुमाएको बताउने गरेका छन्।

‘हामी पूरै विजयको मानसिकतामा पुग्यौं सम्झौता गरेर आएका हौं भन्ने सोचाइ राख्न सकेनौं, राजनीति कम र कूटनीति बढी गर्यौं , वर्गप्रतिको निष्ठा जोगाउन सकेनौं र राष्ट्रियता बारेमा पनि ढुलमुल नीति लिएकाले भित्र बाहिर सबैतिर चिप्लियौं भन्ने उहाँको बुझाइ देखिन्छ’ आफूसँग दाहालले भनेका कुरा उद्धृत गरेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापा भन्छन्, “वैद्य–बाबुरामहरूले यस्तो रियलाइजेशन गर्दैनन्, उहाँ चाहिं बाटो बिराएँ, परिस्थिति बिग्रियो, अब जहाँबाट बिग्रिएको हो त्यहींबाट सपार्नतिर लाग्छु भन्नुहुन्छ।”

कथनी र करनीमा हदैसम्मको विरोधाभास देखाएका दाहालको यस्तो रियलाइजेशनमा कत्तिको इमान्दारिता छ भन्ने परीक्षण हुन बाँकी छ। तर, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर धोका दिनु गल्ती भएको उनैले सार्वजनिक रूपमा स्वीकार गरिसकेका छन्।

त्यहीबेला नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि राष्ट्रपति बनाउने वचन पूरा नगरेकोमा पनि उनले आत्मालोचना गरेको सुनिएको छ।

२ जेठ २०६९ मा एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाबीच संविधानका आधारभूत विषयमा सहमति भएपछि संविधान बन्ने आधार तयार भएको थियो। त्यसबेला बाबुराम भट्टराई नेतृत्वको सरकार थियो।

त्यो आधारमा संविधान निर्माण हुँदा एमाओवादी र दाहालले नै जश पाउँथे। तर, सहमतिको मसी नसुक्दै दाहालले त्यसलाई लत्याएर विभिन्न जनजाति संगठनहरूलाई सहमति विरुद्ध सडकमा ओर्लन आह्वान गरे, जसले गर्दा समाजमा जातीय–क्षेत्रीय सद्भाव खल्बलिने अप्रिय स्थिति देखापर्योन।

दोस्रो संविधानसभा निर्वाचनमा पराजयपछि परिणाम नस्वीकार्ने घोषणा गर्दै दाहाल।

१४ जेठ २०६९ मा कांग्रेस–एमाले लगायतका दलहरूले संविधान नबन्ने स्थितिमा संविधानसभा नरहने भए पनि संविधान संशोधन गरेर व्यवस्थापिका–संसद् कायमै राख्न गरेको प्रस्ताव स्वीकारेको भए एमाओवादीको पहिलो दलको हैसियत कायमै रहन्थ्यो।

जनप्रतिनिधिमूलक निकाय कायमै रहँदा सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने थिएन, जसले निर्वाचनपछि सहज रूपमा सत्ता हस्तान्तरण गर्ने थियो। तर, आफूलाई संविधानसभाको जननी दाबी गर्ने बाबुरामकै नेतृत्वको सरकार हुँदा दाहाल संविधानसभाको अवसान गराउन तयार भए।

त्यही कारण नयाँ निर्वाचनका निम्ति संविधान मिच्दै प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्योत। जुन प्रस्ताव पनि दाहालले नै गरेका थिए, माघ २०६९ मा हेटौंडामा भएको महाधिवेशनमा।

दोस्रो संविधानसभा निर्वाचनमा नराम्रो पराजय व्यहोरेपछि दाहालले रेग्मीको नेतृत्वमा सरकार बनाउनु पनि ठूलो भूल भएको बताए। आफ्ना हरेक कदमलाई पछिबाट गल्तीका रूपमा स्वीकार गरे पनि सुधार्ने प्रयास भने दाहालले गरेको देखिंदैन।

यस्ता घटनाहरूले दाहाललाई उचाल्ने र थचार्ने काम अरूले नै गरिरहेको पनि देखाउँछन्। प्रा. एसडी मुनीले आफ्नो पुस्तक मार्फत दाहालले भारतीय प्रधानमन्त्रीको कार्यालयमा बिन्तीपत्र हालेको खुलासा गरेका र विद्रोहकाल तथा शान्ति प्रक्रियामा आइसकेपछि पनि भारतीय गुप्तचर एजेन्सीसँग उनको साँठगाँठ रहेको तथ्य सार्वजनिक भएकाले पनि त्यस्तै देखाउँछ।

वामपन्थी विश्लेषक डा. सुरेन्द्र केसी माओवादी पार्टी नै शक्तिकेन्द्रको मोहराका रूपमा देखिएकाले दाहालको भूमिकालाई पनि त्यही रूपमा हेर्नुपर्ने बताउँछन्।

“त्यो शक्तिको स्वार्थ जे छ, उनले पनि त्यही गर्ने हुन्” डा. केसी भन्छन्, “त्यसैले उसको रणनीति र दाहालको रणनीतिमा हिजो पनि फरक थिएन, अहिले पनि छैन।”

परिवार, पार्टी र मुलुक
२०५२ सालमा ‘जनयुद्ध’ शुरू गर्नुभन्दा केही समयअघि क्यान्सरले थला परेकी आमा भवानीदेवीलाई वीर अस्पतालमा भर्ना गरिंदा दाहाल कुरुवा बसेका थिए, तर केही समयपछि आमाको निधन भएपछि उनी भाइलाई दाहसंस्कार गर्ने व्यवस्था मिलाएर किरिया नगरी हिंडे।

२६ मंसीर २०११ मा कास्कीको लेवाडी ढिकुरपोखरीमा जेठो छोरा दाहाल जन्मँदा भवानीदेवीले ठूलो पीडा व्यहोरेकी थिइन्। प्रचण्डः एक अज्ञात विद्रोही पुस्तकमा भारतीय पत्रकार अनिर्वन रोयले लेखेका छन्, “ती बालकको जन्म तनावबीच भएको थियो।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी लगायतका दलहरुसँग कार्यगत एकता गरेपछि।

उनका परिवारजन चिन्तित र त्रस्त थिए। जसै भवानी दाहाल समयपूर्व नै ७२ घण्टादेखि प्रसव वेदनाले प्रताडित भइन्, गाउँका पाका मान्छेले भवानीलाई पीडामुक्त गर्न मुक्तिरामलाई कविराज (वैद्य) बोलाउन सल्लाह दिए। चिन्ताग्रस्त मुक्तिराम तीन किलोमिटर परको नौडाँडासम्म मन्त्रहरू फुकिएको पानी लिन दौडिए।”

आमा बित्दा बाबु मुक्तिराम पनि सँगै थिए। त्यहाँबाट हिंडेका दाहालले त्यसपछि बाबुलाई शान्ति प्रक्रियामा आएपछि २०६३ मा मात्र भेटे। २०६८ मा मुक्तिरामको मृत्यु हुँदा कोट–प्यान्ट लगाएरै दाहसंस्कारमा गएका दाहालले बाबुको काजकिरिया गरेनन्। छोराको रूपमा उनी कति जिम्मेवार थिए/थिएनन् भन्ने बुझन यी प्रसंग काफी छन्।

न्वारानको नाम छविलाल भएका र स्कूल पढ्दापढ्दै बदलेर पुष्पकमल बनाएका तीन छोरी र एक छोराका बाबु उनले असल बाबुको छवि पनि बनाउन सकेको देखिंदैन। एक मात्र छोरा प्रकाशले पहिलो बिहे असफल भएपछि भित्र्याएकी दोस्री श्रीमती घरमा हुँदै पार्टीकै कार्यकर्ता वीना मगरलाई भगाए।

तीनमध्ये दुई छोरीको पनि घरबार सफल भएन। जेठी छोरी ज्ञानुको केही समयअघि क्यान्सरबाट मृत्यु भयो। दाहालको परिवारसँग राम्ररी परिचित एमाओवादीका एक नेता भन्छन्, “राजनीतिमा माथिल्लो मुकाम प्राप्त गरे पनि उहाँले आफ्नै गृहस्थ चलाउन सक्नुभएन, न छोराको भूमिका राम्रोसँग निभाउनुभो, न त बाबुकै।”

दशक लामो हिंसात्मक विद्रोहको सञ्चालन र त्यसलाई चलाखीपूर्ण ढंगबाट शान्तिपूर्ण राजनीतिमा पदार्पण गराउन सफल भए पनि पार्टी राजनीतिमा दाहाल सफल देखिएनन्। शान्तिपूर्ण राजनीतिमा आइसकेपछि उनले पार्टी नै जोगाउन सकेनन्, पार्टीका वरिष्ठ नेता मोहन वैद्यको नेतृत्वमा ठूलो पंक्तिले अर्को पार्टी खोल्यो। २२ वर्षपछि भएको हेटौंडा महाधिवेशनको म्याण्डेट केही महीना पनि टिकेन, एक वर्ष बित्दा नबित्दै विराटनगरमा राष्ट्रिय सम्मेलन गर्नुपर्योक।

राष्ट्रिय सम्मेलनमा बाबुराम पक्षले बहिष्कार गरेर समानान्तर संगठन चलाउन थालेपछि विशेष महाधिवेशन गर्ने तयारी गरिंदैछ। नेतृत्वको विलासितापूर्ण जीवनशैली, पार्टीमा प्रष्टै देखिन थालेको वर्गीय असमानता, व्यक्तिगत लाभका निम्ति मौलाएको आर्थिक अराजकतामा आफैं संलग्न तथा त्यसको संरक्षण गर्नाले पार्टीको तल्लो पंक्तिसम्म उनको छवि धमिलिएको छ।

‘जनयुद्ध’ का शहीद, बेपत्ताका परिवार, अपाङ्ग तथा पूर्वलडाकूहरूले नै उनको विश्वास गर्न छाडेका छन्। पूर्वकेन्द्रीय सदस्य एवम् लडाकूका पूर्व डिभिजन सहकमाण्डर जीवन बुढा भन्छन्, “हिजो युवाहरू गोली खान तयार थिए, केही घण्टामै हामी गोली खान तम्तयार हुने दर्जनौं युवाको पंक्ति तयार पार्थ्यौं। अब हामी त्यसो गर्न सक्दैनौं, युवापंक्तिलाई कन्भिन्स् गर्ने आधार हामीसँग छैन।”

पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकसँगै आम नेपालीमाझ् पनि दाहालको परीक्षण हुन बाँकी छैन। मुलुकको प्रमुख कार्यकारीको पद सम्हालिसकेका दाहालले औसत सरकार प्रमुखभन्दा राम्रो छाप छाड्न सकेनन्।

विद्रोहकालमा आफैंले उठाएका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक असमानतालाई सम्बोधन गर्ने विषय त परै जाओस्, जनजीविकाका सवाललाई समेत छोएनन्। बरु ‘विद्रोही’ को ह्याङओभर बिम्बित हुने कतिपय कदमले उनीप्रति आशातीत पंक्तिलाई भड्काउने काम गर्योि।

१५ हजार बढीको मृत्यु, हजारौं अंगभंग र बेपत्ता, समाजमा कहिल्यै नमेटिने पीडाको घाउ र मुलुकलाई दशौं वर्षपछि धकेल्ने गरिको ‘जनयुद्ध’ बाट लाभ के भयो त?

वामपन्थी विश्लेषक डा. सुरेन्द्र केसी भन्छन्, “दाहालले जीवन पाए नि!”

अन्तिम मौका

पहिचान पक्षधर भन्दै मधेशी तथा जातीय दल–संगठनहरुसँग गरिएको मोर्चाबन्दी।

दुई दशकभित्रै सबैखाले ‘क्लाइमेक्स’ बेहोरेका दाहालको राजनीतिक जीवनको ओरालो यात्रा शुरू भएको टिप्पणी हुन थालिसकेको छ। लोकतान्त्रिक व्यवस्थामा यस्तो उतारचढाव स्वाभाविक हुने भएपनि दाहालको हकमा चाहिं पुनरागमन सहज नहुने धेरैको आकलन छ।

यद्यपि, शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण पक्ष भएकाले शान्ति प्रक्रिया नटुङ्गिदासम्म उनको भूमिका प्रभावी नै रहनेछ। तर, त्यसो भइराख्न पनि अरूभन्दा उनकै भूमिका जिम्मेवार हुने देखिन्छ। वामपन्थी विश्लेषक श्याम श्रेष्ठ दाहालले युद्ध नै हारेको नभई एउटा चुनाव मात्र हारेकाले उनको सान्दर्भिकता सकिएको मान्दैनन्।

“यद्यपि अब फेरि राजनीतिमा पुनरागमन गर्ने वा सिद्धिने भन्ने चाहिं उहाँले के गर्नुहुन्छ भन्नेमै निर्भर छ” श्रेष्ठ भन्छन्, “त्यसका लागि उहाँले पार्टीलाई एकजुट बनाउने, आफ्नो चारित्रिक र व्यवहारजन्य स्खलनलाई सुधार्ने र जनतामा अनुभूति हुने गरी केही काम गरेर देखाउनुपर्छ। प्रतिपक्षकै भूमिकामा पनि उहाँले त्यो गर्न सक्नुभएको चाहिं छैन।”

मधेशी तथा जातीय पार्टी–संगठनसँग मोर्चाबन्दी गर्नुले भने दाहालको चेत फिरेको देखाउँदैन। यो संविधानसभाबाट आफूले भने जस्तो संविधान नबन्ने भएकाले त्यो मोर्चाबन्दी मार्फत संविधान निर्माण पर धकेल्ने उनको उद्देश्य देखिन्छ, भलै पार्टीका वरिष्ठ नेता बाबुरामले उनलाई साथ दिइरहेका छैनन्।

कांग्रेस–एमाले करीब दुईतिहाइ बहुमतको सुविधाजनक स्थितिमा रहेकाले दाहालको अवरोधले अब लोकतान्त्रिक संविधान निर्माणलाई रोक्न सक्ने पनि देखिंदैन। त्यसकारण संविधानलाई सकेसम्म प्रगतिशील बनाउन दबाब दिंदै कतिपय मुद्दामा फरकमत राखेर पनि लोकतान्त्रिक संविधान निर्माणमा सहयोग पुर्यादउनु उनका लागि हितकर हुने देखिन्छ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापा संघीय लोकतान्त्रिक गणतन्त्रको लाइनमा आएका दाहालले अहिलेको सम्पूर्ण प्रक्रियादेखि अन्तर्राष्ट्रिय समुदाय र मान्यताहरूलाई स्वीकारेकाले अब यसलाई सुदृढ गर्दै समृद्ध बनाउनतिर लाग्दा हितकर हुने बताउँछन्। यसभन्दा फरक बस्न खोज्दा थप क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ।

“अब संविधान बन्छ, बन्नुपर्छ, संविधान आएपछि न हामीले गर्ने राजनीति पनि सुरक्षित हुन्छ” थापा भन्छन्, “अब एमाओवादी र प्रचण्डको विकल्प भनेको २०४७ सालको संविधानमा एमालेले आलोचनात्मक समर्थन गरे जस्तै गरी स्वीकार्ने नै हो।”

विश्लेषक नीलाम्बर आचार्य पनि आफूलाई लोकतान्त्रिक परिधिभित्र राखेर क्रमशः तिखार्दै जानुमै दाहालको हित जोडिएको बताउँछन्। आचार्य भन्छन्, “तर, यो भूमिका नबुझेर अनेकन् मोर्चाबन्दी र कार्यगत एकता गर्नु ठीक हुँदैन। अहिले जनक्रान्तिकारी संविधान चाहिएको पनि छैन र त्यो बनाउन सम्भव पनि छैन।”

चौतर्फी प्रतिकूलता हुँदाहुँदै पनि कांग्रेस र एमाले नेतृत्वको असक्षमता र अकर्मण्यता चाहिं दाहालका निम्ति गतिलो अवसर पनि बन्न सक्छ।

“एमाओवादीको अकर्मण्यताको फाइदा हिजो कांग्रेस–एमालेले उठाए, तिनको अकर्मण्यताको फाइदा एमाओवादीले पनि उठाउँछ” वामपन्थी विश्लेषक डा. केसी भन्छन्, “दाहालसँग सम्भावना बाँकी नरहे पनि उनी त्यसमै खेल्न पाइरहेका छन्, ती पार्टीहरूमा उनी जस्तो नेता पनि छैन, तिनकै अकर्मण्यताको फाइदा उनलाई भइरहेको छ।”
साथमा सन्त गाहा मगर र तुफान न्यौपाने

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>