टिप्पणीबुधबार, भाद्र २५, २०७१

लाइफ लाइन सकिएपछि…

केदार शर्मा

म ‘कौन बनेगा करोडपति’ हेर्दैछु। करीब ६० वर्षका, तिलचामले मान्छे ‘हटसिट’ मा छन्। मध्यप्रदेशको कुनै ठाउँका सामान्य आर्थिक पृष्ठभूमिका वत्स थरका ती व्यक्ति शिक्षक रहेछन्। उनले केही प्रश्नको जवाफ अलिअलि रमाइलो समेत गर्दै भटाभट दिए।

दर्शकमा चाँडै नै उनी राम्रै रकम जितेर मात्र बाहिरिऊन् भन्ने भावना जाग्यो।

दोस्रो विश्रामसम्म आइपुगेर तीन लाख बीस हजार रुपैयाँ पाउने निश्चित भइसकेपछि उनको आत्मविश्वास निकै बढेको देखियो। केही पटक त दर्शकलाई उनले प्रश्नको उत्तर जानेको छैन भन्ने परिसकेपछि पनि उनी आँट गरेर बोले, उत्तर मिलाए।

लाइफ लाइनहरूको पनि प्रयोग गर्दै गए। एघारौं प्रश्नको जवाफ दिंदा भने उनको अन्तिम लाइफ लाइन पनि खर्च भयो। बाह्रौं प्रश्न जानेकै परेछ, उनले एक करोड रुपैयाँ जिते।

तेह्रौं प्रश्नको उत्तर मिलाउँदा हातको एक करोड तीन करोड हुन्छ। अर्को पनि जिते सात करोड! तर प्रश्न उनले नजानेको परेछ।

दक्षिण एशियाकै सर्वाधिक लोकप्रिय टीभी कार्यक्रमका सञ्चालक महानायक अभिताभ बच्चन आफ्नो सुपरिचित सहानुभूतिशील स्वरमा भन्छन्, “तपाईंले कुशलतापूर्वक र आँटिलो गरी खेल्नुभयो।

धेरैजसो ज्ञानले, कति वटा आँटले र केही त संयोगले पनि मिलाउनुभयो। लाइफ लाइनहरूको सदुपयोग गर्नुभयो, तर अहिले तपाईं जोखिममा हुनुहुन्छ। लाइफ लाइन बाँकी छैनन्। तपाईंलाई प्रश्नको उत्तर पनि थाहा छैन, अनुमान गर्दै हुनुहुन्छ।

जित्नुभयो भने त तपाईं तीन करोडमा पुग्नुहुन्छ, हार्नुभयो भने तीन लाख बीस हजारमा र्झ्नुहुन्छ। तपाईंसित यतिमै खेल छाड्ने स्वतन्त्रता पनि छ…!”

अमिताभ बच्चन सधैंभरि; सबै सहभागी सकभर धेरै पैसा जितेर बाहिरिऊन् भन्ने चाहन्छन्।

एउटा अंग्रेजी उखान― झाडीमा भएका दुइटा चराभन्दा हात परेको एउटै चरो धेरै हो।

तर, मिष्टर वत्स अल्मलिन्छन्। आफूले दुस्साहस नगरेको भए यहाँ आइपुग्ने नै थिइनँ भन्ने उनलाई थाहा छ र त्यत्तिको दुस्साहस गर्ने आँट उनीसित अझै पनि रहेको देखिन्छ। उनको मनोभावना बुझे झैं अमिताभ बच्चन भन्छन्, “मलाई थाहा छ, पहिले पनि तपाईंले जोखिम लिनुभएको हो।

हातमा केही नभएका बेला जोखिम लिन सजिलो हुन्छ। तर अहिले त तपाईंले धेरै जितिसक्नुभएको छ। एक करोड रुपैयाँ भनेको धेरै हो।”

पहिले उनीसित हार्नलाई केही थिएन। अहिले हार्नु आर्थिक, मनोवैज्ञानिक दुवै रूपमा ठूलो घाटाको खेल हो।

मिष्टर वत्स आत्तिन्छन्।

दर्शकलाई लाग्छ, यसले खेल छाडोस्। दर्शक दीर्घामा रहेकी, सामान्य गृहिणी जस्ती देखिने उनकी पत्नीको अनुहार निर्विकार हुन्छ। झिल्के–झिल्के परेको छोरोको अनुहारमा बाबुले अझ् खेलून् र धेरै जितून् भन्ने चाहना देखिन्छ।

मिष्टर वत्स अझै अन्योलग्रस्त छन्। उनले एकैछिन अघि आफूसित हुँदै नभएको एक करोड रुपैयाँ जितिसकेका छन्। अगाडिको तीन करोड जिताउन सक्ने प्रश्नको जवाफ भने उनलाई थाहा छैन। अन्दाजी उत्तर दिए पनि हुन्छ, तर तथ्याङ्कगत हिसाबले त्यो मिल्ने सम्भावना २५ प्रतिशत मात्र हुन्छ।

दुइटा सुयोगले उनलाई महाकरोडपति बनाउँछ। स्टेजमै पुष्पवर्षा हुन्छ। उत्तर मिलेन भने (जसको सम्भावना बढी छ) झ्ण्डै तीस गुणा झ्रेर, जम्मा तीन लाख बीस हजार रुपैयाँमा टाक्सिनुपर्छ।

जिते तीन गुणा बढी, हारे तीस गुणा कम।

शायद उनले आफ्नो जवानीका दिनहरू सम्झे, आफूले लिएका भङ्ज्याहा निर्णयहरूले काम गरेको सम्झे। शायद आफ्नो बलियो भाग्यमा विश्वास गरेर खेल्ने निर्णय गरे।

अमिताभ बच्चनले करुणा मिश्रित स्वरमा उनलाई शुभकामना दिए अनि उत्तर सुने। ‘कम्प्युटर जी’ ले उत्तरमा ताला लगाएपछि खेल सकियो।

अमिताभ बच्चनले यसोउसो गफ गरेर कार्यक्रम अलि लम्ब्याए। सबैलाई परिणामको व्यग्र प्रतीक्षा थियो, मिस्टर वत्सको जवाफ मिलेन।

उनले आफूलाई सन्तुलित राख्न धेरै प्रयास गरे, तर आँखाका आँसु क्यामेराले देखिहाले। उनी खल्तीमा तीनलाख बीस हजारको चेक र अनुहारमा पराजयको बादल बोकेर रजतपटबाट बाहिरिए।

***

मलाई अघिदेखि नै मिष्टर वत्स परिचित जस्ता लागेका थिए। एक करोड जित्दा उनको परिस्थितिको आकलन गरेपछि, उनकी श्रीमती र छोरो पनि देखेपछि मलाई ती मान्छे ठ्याक्कै ‘प्रचण्ड’ जस्तो लाग्यो। रूपमा पनि, सारमा पनि।

कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राजनीतिक हटसिटमा लामै समयसम्म बसेका हुन्। उनलाई त्यहाँ कति आफ्नो योग्यताले र कति आफ्ना प्रतिस्पर्धीहरूको अयोग्यताले पुर्या्यो, त्यसको मूल्याङ्कन कुनै दिन होला।

उनीसित सहमति–असहमतिको कुरा आफ्नै ठाउँमा छ, उनले आफ्नो विचार, नीति र भूमिका अनुसारै ‘पर्फर्म’ गरेका हुन्। युद्ध र राजनीतिको रणभूमिमा उपलब्ध लाइफ लाइनहरूको पनि राम्रै उपयोग गरेका हुन्।

तर, खेलको यस चरणमा आएर राजनीतिले उनलाई जुन निर्णायक प्रश्न सोधेको छ र त्यसको जवाफमा उनले वयान दिने कुरा सही होइन भन्ने उनैलाई पनि थाहा छ।

एउटा पनि लाइफ लाइन बाँकी छैन ‘प्रचण्ड’ सँग। र, समय पनि बाँकी छैन। टेलिभिजनका वत्सजीले छाड्नुपर्ने समयमा खेल छाड्न मानेनन् र पाएको कुरा पनि गुमाए। दाहालले पनि यसभन्दा धेरै हार्नुभन्दा अघि संविधान निर्माण विथोल्ने खेल छाडे भने अहिलेसम्म आर्जन गरेको सबै जश उनकै हुन्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>