अन्तर्वार्ता/विचारबिहीबार, भाद्र २६, २०७१
उँधो झर्दै पुष्पकमल
चलिरहेको समयको चक्रमा पात्रले परिक्रमा गरिरहेको हुन्छ। तर कहिलेकाहीं समयले नै पात्रको परिक्रमा गरिरहेको हो कि भन्ने भ्रम पनि उत्पन्न हुने गर्छ। त्यस्तो बेला घटना, पात्र र प्रवृत्ति यति प्रभावशाली हुन्छन् कि सामान्य मानिसले समय बदलिएला भन्ने अनुमान समेत गर्न सक्दैनन्।
प्रसंग, इतिहासको सानो कालखण्डमा प्रभावशाली विद्रोही नेताको छवि निर्माण गरेका र त्यसको आधारमा मुलुकको प्रधानमन्त्री भइसकेका एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको हो। चालीसको दशकमा राजनीतिमा प्रवेश, पचासको दशकमा शक्ति आर्जन र साठीको दशकमा मुलुकको राजनीतिको निर्णायक स्थानमा पुगेका दाहालको आजको राजनीतिक स्थान निर्धारण गर्न गाह्रो छ। तर पहिलो संविधानसभाको निर्वाचनदेखि दोस्रो संविधानसभासम्म आउँदा उनको बलवान् व्यक्तित्व स्खलित भएर बँचेको कमजोर आभाले उल्टो दिशातर्फ परिक्रमा गरिरहेको तथ्य भने प्रष्टसँग देख्न सकिन्छ।
त्यतिबेला असाधारण भूमिकाले किचिएका र गह्रौ मालाको थाकले थिचिएका दाहालको गलामा अहिले मालाहरू देखिंदैनन्। तर माला नभएर हलुङ्गिएका उनलाई त्यसको चिन्ता त्यति छैन होला जति वर्तमान संविधानसभामा आफ्नो भूमिका नगण्य हुँदा उनी चिन्तित छन्। संविधानसभाको पहिलो निर्वाचन अघि नै चर्चित विद्रोही नेताको रूपमा विष्मयकारी मिथक निर्माण गरेका उनको दल निर्वाचनबाट सबैभन्दा ठूलो शक्ति भएपछि उनको राजनीतिक उँचाइले पनि अन्तिम सीमा छोएको थियो। आफ्नै निजी सेना सहितको सबैभन्दा ठूलो राजनीतिक दल, त्यसको ‘सर्वोच्च’ नेता र प्रधानमन्त्री समेत बनेपछि उनको व्यक्तित्वलाई चुनौती दिन सक्ने अवस्था थिएन। जसले गर्दा तात्कालीन समयमा उनले संविधानसभाको वास्ता गर्न आवश्यक ठानेनन्, संविधान र संविधानसभाले आफ्नै परिक्रमा गर्ने ठानेर।
अहिले समय र राजनीतिक परिस्थिति बदलिएको छ। पहिलो संविधानसभा विघटन भएपछि एमाओवादी विभाजन भएर दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो दलमा सीमित बनेको छ। त्यसपछि क्रमशः ओरालो लागेको दाहालको व्यक्तित्व धेरैले कल्पना गरेभन्दा होचो कदमा रूपान्तरित भएको छ। हिजो संविधानसभाले आफ्नो परिक्रमा गर्दा उनी मतलब गर्दैनथे भने आज संविधानसभालाई जतिसुकै परिक्रमा गर्दा पनि उनी भूमिकाविहीन हुनुपरेको छ। उनको स्थितिमा आएको यो १८० डिग्रीको फन्कोलाई सामान्यतया यसरी विश्लेषण गर्न सकिन्छ।
सफलताको उकालो
वैशाख २०६५ मा भएको संविधानसभा निर्वाचन लगत्तै ‘हिन्दुस्तान टाइम्स’ का पत्रकार अनिर्वन रोयले दाहालको जीवनीमा आधारित एउटा पुस्तक सार्वजनिक गरेका थिए। जतिबेला दाहालको राजनीतिक उँचाइ जीवनकै उच्चतम बिन्दुमा थियो। पत्रकार रोयले भूमिकामा महत्वका साथ लेखेका छन्, ‘मैले तत्कालै के अनुभव गरेंे भने नेपालको राजनीतिक वृत्तको प्रचण्ड एक नयाँ केन्द्रबिन्दु हुन्। त्यसअघिसम्म, बीपी कोइराला र उनका भाइ गिरिजाप्रसाद कोइराला नेपालका अग्ला नेताहरू रहेका थिए।’ माथिको वाक्यांश पढ्दा त्यतिबेला म त्यसरी नै छक्क परेको थिएँ जसरी अहिले अनिर्वन रोय परेका होलान् भन्ने म कल्पना गर्छु। किनकि, त्यति नै बेला मद्वारा सम्पादित एउटा मासिक पत्रिकामा मैले दाहालको लामो अन्तर्वार्ताको पृष्ठभूमिमा लेखेको थिएँ, ‘तीव्र महत्वाकांक्षा, संस्थागत पार्टी जीवनप्रतिको अरुचि र पार्टीको नियन्त्रण भन्दा माथि उभिएको व्यक्तिवादले प्रचण्डको नेतृत्वलाई दीर्घकालीन हुन दिने छैनन्।’
तर मैले त्यसो लेख्दैमा दाहालले सफलताको उच्चतम सिंढी चढेका थिएनन् भन्ने होइन। नेपाली राजनीतिक इतिहासको एउटा सीमित खण्डमा उनको सफलताको चर्चा भई नै रहला। तर मेरो अभिप्राय के थियो भने उनको सफलता उनको निजी जीवनको चर्चा र परिवर्तनमा मात्र सीमित रहनेछ। मुलुकले प्राप्त गर्ने ठोस उपलब्धिको आधारमा मूल्यांकन गर्दा त्यसको कुनै अर्थ रहने छैन। साँचो कुरा के हो भने प्रक्रियागत रूपले मात्र हेर्दा उनले निकै ठूलो उपलब्धि हासिल गरेको देखिनेछ तर परिणामको हिसाबले हेर्दा केही उपलब्धि देखिने छैन। पार्टीभित्र होस् वा बाहिर– उनले हासिल गरेको उपलब्धि उनको निजी जीवनको आरोह/अवरोह र परिमाणको अधीनस्थ छ, परिणामको होइन। माओवादी आन्दोलन र उनको सफलताको कथाको मूल्यांकन गर्दा यही सीमा भित्रबाट गर्नु वस्तुवादी हुन्छ।
दाहालको सफलताको मुख्य कडी भनेको संगठनलाई मात्र शक्ति देख्ने उनको विशेषता हो। उनले पार्टीभित्र होस् वा बाहिर संगठित शक्ति निर्माण गरेर नै विजय हासिल गर्न सकिन्छ भन्ने मान्यता राख्थे र राख्छन्। अहिले पनि आफू कमजोर हुनासाथ वैद्य माओवादी र मधेशी मोर्चासँग गठबन्धन निर्माण गर्ने उनको अभियान त्यसैको उपज हो। एउटा सानो वामपन्थी घटकबाट राजनीतिक यात्रा थालेका उनले जहिले पनि संगठनात्मक शक्तिलाई पहिलो प्राथमिकतामा राखे। विभिन्न स–साना समूहहरूलाई एकताबद्ध पार्ने, आफ्नो नेतृत्वमाथि कुनै पनि हालतमा चुनौती नआओस् भनेर बहुमत बनाइराख्ने, नेतृत्वलाई अधिक केन्द्रीकृत गरेर आफ्नो शक्ति बढाउने, आफ्ना प्रतिस्पर्धी नेताहरूलाई सन्तुलनमा राख्न विभिन्न गुटगत संरचनाहरू तयार पार्ने उनको विशेषता हो। स्रोत र साधनलाई एकलौटी रूपमा परिचालन गर्न सक्ने पार्टी ढाँचाको निर्माण गरेर आफ्नो नजिकको क्षमताहीन व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिने पनि उनको शैली हो।
संगठनात्मक सवालमा एकमनावाद, स्वेच्छाचारिता र व्यक्तिवादलाई दाहालले माओवादी आदर्शवादको रूपमा अर्थ्याए। केन्द्र अर्थात् आफूलाई नमान्ने र आलोचना गर्नेलाई नेतृत्व विरोधी, क्रान्ति विरोधी तथा प्रतिक्रान्तिकारी ठान्ने उनले जहिले पनि आफैंलाई केन्द्रमा राखे। पार्टीका अन्य अवयवहरूलाई आफ्नो व्यक्तित्व विकासमा प्रयोग गरे। जसको परिणाम उपयोगितावादमा पनि उनी पोख्त हुँदै गए। कसको विरुद्धमा कसलाई उभ्याउँदा आफूलाई फाइदा हुन्छ भनेर उनले बनाएको योजना अनुसार सापेक्षित रूपमा कम चेतना भएका पार्टीभित्रका महत्वाकांक्षी युवाहरू सामेल भए। उता पुराना तर आफूलाई बुझिसकेका नेताहरूलाई भने उनले नयाँको सहयोगमा मानमर्दन गर्दै जिम्मेवारीविहीन बनाउँदै गए। निर्वाचित हुनु नपर्ने, कसैप्रति जवाफदेही हुनु नपर्ने र दाहालको आँखामा परेपछि पुग्ने संगठनात्मक संरचना भएकाले पार्टीमा टिक्न उनको तावेदारी गर्नैपर्ने भयो। जसले गर्दा उनलाई प्रशंसाबाहेक आलोचना सुन्नै नसक्ने बनायो।
अर्कोतिर वैचारिक रूपमा पनि दाहालले दुई वटा समानान्तर धु्रवको बीचमा बसेर आफ्नो भूमिकालाई निर्णायक बनाउने सफलता पाए। बाबुराम भट्टराई र मोहन वैद्यका वैचारिक सोचाइहरू नितान्त भिन्न थिए। तर उनीहरू दुवैको कमजोरी वैचारिक मान्यता अनुकूलको संगठन निर्माण गर्न नसक्नु थियो। त्यसकारण दुवैलाई आ–आफ्नो वैचारिक सोचाइ पार्टीभित्र प्रभावकारी बनाउन दाहाल जस्तो संगठनात्मक पकड र वाक्पटुता भएको व्यक्ति चाहिन्थ्यो। उनीहरू दुवै दाहाललाई अघि सारेर आफ्नो वैचारिक दुनो सोझयाउन चाहन्थे। आफ्नो विचार संगठनमा गएपछि जसले लगे पनि आफू ‘नेता’ भइन्छ भन्ने दुवैको मान्यता थियो। तर, त्यस्तो हुनु सम्भव थिएन। जसको विचार भए पनि पुर्याउने व्यक्तिलाई नेता मान्ने भएकाले वैद्य र बाबुराम प्रतिस्पर्धामै उत्रिए दाहाललाई महान् नेता भन्नमा। जसबाट दाहालको व्यक्तिवाद र महत्वाकांक्षाले बेलगाम फक्रने अवसर प्राप्त गर्यो। यसले एकातिर सांगठनिक र वैचारिक रूपमा बाबुराम र वैद्यको उपादेयता कमजोर बनायो भने अर्काेतिर दाहाललाई अरू शक्तिशाली बनायो।
संघर्षको विधिलाई अवैधानिक बनाएर माओवादी सिद्धान्तको आलोकमा शक्ति आर्जन गर्ने मान्यताले दाहाललाई सफलताको उकालो चढ्न अरू सहज बनाएको थियो। हिंसात्मक संघर्षको बलमा राज्यसत्ता कब्जा गर्ने रुमानी नारा नेपाल जस्तो गरीब, पछौटे र बेरोजगारीले आक्रान्त समाजमा डढेलो जस्तै सल्किनु अस्वाभाविक थिएन। हिंसात्मक संघर्षको वकालत गर्ने कम्युनिष्ट शिक्षा पहिलेदेखि नै मुलुकमा व्याप्त छँदैथियो, त्यसलाई उनले व्यवहारमा लगिदिए। बाबुरामसँगको उनको एकताले त्यसलाई अरू सजिलो पार्यो। हिंसात्मक संघर्षको जगमा शक्तिशाली पार्टी निर्माण गर्ने र फौजी कारबाहीद्वारा सापेक्षित रूपमा कमजोर नेपालको राज्यसत्तालाई सत्ता साझ्ेदारीमा ल्याउन सक्ने त्यो बेला दाहाल र बाबुरामको समान बुझाइ थियो। तर, दाहाल जोसुकैसँग सत्ता साझेदार गर्ने पक्षमा थिए भने बाबुराम राजनीतिक दलहरूसँग सत्ता साझेदार गर्नु दीर्घकालीन रूपमा फाइदा हुने ठान्थे। अन्ततः बाबुरामको मान्यता बमोजिम १२ बुँदे सहमति मार्फत माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको थियो।
ओरालो यात्रा
संगठनलाई शक्तिको आधार मान्ने दाहाल अन्त्यमा संगठनकै कारण शक्तिहीन बन्न पुगे। आज उनलाई सबैभन्दा कडा चुनौती र प्रहार संगठनबाटै भइरहेको छ। किनभने, उनले निर्माण गरेको संगठन आकारमा विशाल भए पनि संस्कृति र अनुशासनमा कमजोर थियो। उनको महत्वाकांक्षामा निर्माण भएको संगठनका उत्तराधिकारीहरू पनि व्यक्तिवादी र महत्वाकांक्षी हुनु अस्वाभाविक थिएन। द्वन्द्वकालमा बनेको भद्दा र भीमकाय सांगठनिक ढाँचालाई शान्तिकालमा पनि दाहालले कटौती गरेनन् बरु राज्यद्वारा रकम असुल्न सकिने लोभमा त्यसलाई कथित फौजी संरचनामा रूपान्तरण गरे, वास्तविक फौजी शक्तिको ठूलो पंक्तिलाई बाहिर राखेर। कालान्तरमा दुवै निर्णय दाहालका लागि प्रत्युत्पादक सावित भए।
शान्ति प्रक्रियामा आइसकेपछि पनि उनले पार्टीभित्रको अराजकतालाई नियन्त्रण गरेनन् बरु सरकार र पार्टीका पदहरूको बाँडफाँडद्वारा आफ्नो गुटलाई बलियो बनाउने प्रयत्न गरिरहे। तर शान्ति प्रक्रियामा आएपछि अरू नेताहरू पनि उनलाई उपयोग गर्न चाहन्छन् भन्ने उनले बुझन सकेनन्। पार्टी र सरकारका पदहरू सीमित थिए भने आकांक्षीहरू असीमित। त्यसकारण पार्टी निरन्तर असंगतिमा फस्दै गयो। उनी आफैं गुटवादका प्रवर्तक भएकोले त्यसको व्यवस्थापन गर्न सक्ने कुरै थिएन। परिणाम; पार्टी गुटबन्दी, अराजकता, अवसरवादमा फस्दै विभाजनसम्म पुग्यो। तर, विभाजन पश्चात्को पार्टीमा पनि दाहालको समस्या भने ज्यूँका त्यूँ रह्यो। किनकि, जतिसुकै समूहमा विभाजित बने पनि गुटबन्दी, अवसरवाद र उपयोगिता एमाओवादीको संस्कृति बनिसकेको थियो।
राज्यसत्ताको वर्तमान चरित्रको हिसाबले नेपाली राजनीतिबाट अहिले दाहालको उपादेयता समाप्त भएको देखिन्छ। संविधान निर्माणमा पनि उनको उल्लेख्य भूमिका देखिंदैन। तर उनी आफ्नो भूमिका अझै पनि प्रभावकारी रहेको देखाउन चाहन्छन्। तर, त्यस प्रकारको मनोगत इच्छाको राजनीतिक आधार अहिले छैन। उनले आफ्ना गल्तीको समीक्षा गरे पनि परिस्थिति यति पर गइसक्यो कि चाहेर पनि उनको भूमिका पुनर्स्थापना हुन संभव छैन। पार्टी विभाजनको लगत्तै वा निर्वाचनमा पराजय भोगेपछि पार्टी अध्यक्षबाट उनले राजीनामा दिएका भए पुनः सच्चिन सक्ने आधारभूमि भेट्टाउन सक्थे। तर उनले आफूलाई झ्न्–झ्न् निरंकुश बनाउँदै लगे। यसो गर्दा पनि कमजोर पार्टीमा उनको निरंकुशता लागू हुन सक्ने अवस्था भएन। फलतः उनी दोस्रो तहका केही उद्दण्ड, अराजक र महँगा नेताहरूको लाचार छायामा रूपान्तर भए।
पार्टीको कमजोर अवस्था र संभावित खतरनाक परिणामको बारेमा दाहालले पार्टीभित्र छलफल नगरेका पनि होइनन्। पटक–पटक ‘पार्टी विघटन गरौं त’ भन्ने आक्रोश पनि पोखेकै हुन्। तर बाबुरामलाई जति पार्टी छोडेर भाग्न उनलाई सजिलो छैन। किनकि बाबुरामले पार्टी छोडेर अर्को बनाउँदा उनलाई माओवादी कार्यकर्ताहरूले त्यसै छोडिदिन सक्छन्। तर दाहाललाई उनका अनुयायीहरूले छाड्ने छैनन्। यो सत्य राम्रोसँग बुझ्ेका दाहाल यही कारण पनि बाबुरामलाई छोड्न चाहँदैनन्। अहिलेको एमाओवादीका सम्पूर्ण गुटहरूको ध्याउन्न ‘माओवादी’ धरोहरबाट भाग्नु रहेको देखिन्छ। तर दाहाल बाहेक अन्य गुटहरू अन्तिमसम्म पनि माओवादी नामबाट लिन सकिने फाइदा लिने लोभमा त्यहाँ अडिएका छन्। दाहालको राजनीतिक अवसानको बारेमा अब त्यहाँ कसैलाई भ्रम छैन, तर अझै उनीबाट फाइदा लिन सक्ने आशा गर्ने जमातको भ्रम भने बाँकी छ।
यसरी नेपालको राजनीतिमा विष्मयकारी ढंगबाट उदाएका दाहालको छोटो समयमा नै राजनीतिक उपयोग समाप्त भएको प्रतीत हुन्छ। तीव्र महत्वाकांक्षा, विवेकपूर्ण निर्णयको अभाव, आफ्नो निर्णयमा अडिन सक्ने क्षमताको कमी, आर्थिक पारदर्शिताको अभाव, अत्यन्तै गुटवादी व्यवहार आदि जस्ता अवगुणले गर्दा अत्यन्त चलाख, कार्यकर्ताको मनोविज्ञान बुझने क्षमता, जोखिम लिन सक्ने साहस, वाक्पटुता जस्ता गुण भएर पनि दाहालको नेतृत्वले मुलुकलाई सोचे जस्तो सकारात्मक प्रतिफल दिन नसकेको भने अहिलेको सत्य हो।
साप्ताहिक खबरपत्रिका हिमालबाट