ब्लगबिहीबार, भाद्र २६, २०७१

गीत–संगीतको समय

bulu mukarung

हाम्रो लोकभाकाले भन्छ–

आकाशै गर्छ लौ गड्याङगुडुङ झारपातमा पर्छ शीत,
जसको मनमा विरह चल्छ उसैले गाउँछ गीत।

विरह, वेदना वा दुःख–दर्दमा नपर्ने को नेपाली होला? यतिबेला बाढी–पहिरोले पीडित छन्, नेपाली। उहिले भए गाइने दाइहरूले कर्खा गाइसक्थे– सुनकोशी र सुर्खेतको। हिजोआज टेलिभिजनहरूले भन्न थालेका छन्, घटना–दुर्घटनाका ‘कर्खा’।

नेपाली नाट्य र गीत–संगीतको लामो परम्परा छ। लिच्छवि राजाहरूले संगीत संरक्षण–प्रवर्द्धनका लागि ‘वादित्र–गोष्ठी’, ‘पे्रक्षमण्डपी’, ‘ध्वज–गोष्ठीका’ आदि गोष्ठी–गुठी स्थापना गरेका थिए, जुन मल्लकालमा खल–खेल हुँदै दव–डबलीमा रूपान्तरित हुनपुगे। मल्ल राजाहरूले त ‘संगीतावर्णवपारग’ आदि उपाधि–अलङ्कार नै ग्रहण गरेका थिए। उनीहरू आफूले प्रचलनमा ल्याएका मुद्रा तथा ताम्रपत्रहरूमा समेत ती विशेषण छुटाउँदैनथे। अभय मल्लले ‘भरत नाट्यशास्त्रम्’ लेखाएर आफूलाई नाटक र गीत–संगीतका पारखी भएको प्रमाण दिए। ललितपुरका सिद्धिनरसिंह र काठमाडौंका अमर मल्ल ‘देवदेवीका नाच’ सँग जोडिए।

शास्त्रीय संगीतको जराले बुद्धकालीन समयसम्म छोएको छ। जंगबहादुर र वीरशमशेरले किन ल्याए भारतबाट उस्ताद, खलिफा, बाई, नानी, भँडेनी वा पातर आदि? यो प्रसंगसँग आधुनिक नेपाली संगीतको उठान जोडिएको मानिन्छ। यो परम्परासँग जोडिन आज गायक प्रेम परियारसम्मको नयाँ पुस्ता आइसक्यो।

समय–सत्ताको मार

शम्भुजीत बास्कोटाको संगीत र दीपक खरेलको स्वरमा सजिएको राजेन्द्र रिजालको ‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ…‘ भन्ने गीत तीसको दशकमा औधी लोकप्रिय थियो। समयले कसैलाई पनि क्षितिजतिर आफलिदिन सक्छ भन्ने सत्य यसले गाएको छ। न घरलाई घर कहिन्छ… बोलको गीतमा चन्द्रशमशेरलाई सत्तापलटको गन्ध आएपछि गायिका मेलवादेवी दरबारबाट लखेटिनु पर्‍यो। यसका रचनाकार शुक्रराज शास्त्री त्यसबेलाका चेतनशील राजनीतिकर्मी समेत भएकाले पछि शहीद नै हुनुपर्‍यो। समयले न घरलाई घर कहिन्छ... लाई चर्चा बाहिर पारे पनि यसका रचनाकार वर्षको एकाध पटक पुजिने गरेका छन्।

राजा महेन्द्र अहिले पुजिने पात्र होइनन्, तर गुलाम अलीले गाएका उनका ‘गाजलु ती ठूला ठूला आँखा‘ र ‘किन किन तिम्रो तस्वीर…‘ लोकप्रियताका ग्राफमा माथि नै छन्। रानुदेवीले गाएका तारिणीप्रसाद कोइरालाको ‘आज देशको क्रान्ति युद्धमा हाम्रो एक पुकारा होस्, लड्दा लड्दै मरौंला यो एउटै नारा होस्‘ लाई पञ्चायतले बन्दी बनायो। तर, पंचायतलाई नै समयले अफापसिद्ध सावित गरेपछि उन्मुक्त भएका यस्ता गीतहरूको सन्दर्भ सकिएको मान्छन्, आजका चालु रेडियोहरू।

पंचायतकालभरि बहुप्रचारित–प्रसारित विश्ववन्धु थापाको ‘पञ्चै हो यो देश बनाइदेऊ‘ गीतले २०४६ सालपछि पहिले ‘आज देशको क्रान्ति युद्धमा… ‘ ले भोगेकै नियति बेहोर्नु पर्‍यो– त्यसमा देश निर्माणको आह्वान भए पनि। यो मेसोमा चाँदनी शाह र जी शाहका गीतहरू पनि बन्दी बने। धर्मराज थापा, नारायणगोपाल, अम्बर गुरुङ, गणेश रसिक, हिरण्य भोजपुरे, मीरा राणा, ओमविक्रम विष्ट आदिका गीत–संगीत वा गायन पनि पटक–पटक बन्दी र फुकुवा भए।

रामेश–रायन, मञ्जुल, श्याम तमोट आदिका गीत–संगीत पंचायती बन्दमा नपर्ने कुरै आएन। त्यो बेला त महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘नाचूँ नाचूँ लाग्यो हजुर वृन्दावनमा‘ बोलको गीतलाई समेत बन्दी बनाइएको थियो, रामेश, रायन र मञ्जुलले गाएको कारण। पंचायतले भर्खरै दिवङ्गत सरोजगोपालले २०२९ सालमा गाएको ‘नक्कलीलाई भगाइलग्यो झिल्केले‘ लाई पनि केही समय बन्दी बनायो।

अहिले राजारानी, सिमाना वा भूमि लगायतका शब्द भएका गीतहरू ‘अछूत’ भएको देखिन्छ। क्रान्ति, मुक्ति, रगत, ज्वालामुखी, गरीब–गुरुवा जस्ता शब्दावली भएका गीतहरू पनि कुन बेला छायामा परे, थाहा भएन। राजा ज्ञानेन्द्रको ‘कु’ पछि प्रगतिशील गीतहरूसँगै सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले रचेको ‘आकाश मिल्छ धरती मिल्छ सिमाना मिल्दैन, मानिस सबको रगत छ रातै मन किन मिल्दैन‘ भन्ने गीत पनि प्रतिबन्धित भयो, रेडियो नेपालमै रेकर्ड भएको भए पनि।

आ–आफ्नो समयमा पंचायत, तानाशाही राजा र परिवर्तनकारी शक्ति सबैको कोपभाजनमा परेकै हो, नेपाली गीत–संगीत। तथापि, तीनैथरीले आ–आफ्नै रुचिका हिसाबले गीत–संगीतको अनुराग विस्तार पनि गरेकै हुन्। अहिले पनि नेपाली गीत–संगीतमा विभिन्न विचार–सिद्धान्तका नेताहरूको आक्रामक लाम–लर्को घटेको छैन। सिर्जनात्मक शक्तिको तीरले सफलताको तारो ताक्न भने कमै सफल छन्।

गीत–संगीतमा नेताको लर्को

नेपाली गीत–संगीतमा के पुराना के नयाँ धेरै राजनीतिकर्मीको योगदान छ। गीतकार राजनीतिज्ञहरूको लर्कोमा क्षेत्रप्रताप अधिकारी, लोकेन्द्रबहादुर चन्द, मदन भण्डारी, जीवराज आश्रित, दमननाथ ढुंगाना, झलनाथ खनाल, वामदेव गौतम, केशर विष्ट, मोहनविक्रम सिंह, मोदनाथ प्रश्रित, कमल थापा, लोकेन्द्र विष्ट मगर, सुनिल थापादेखि शेरधन राईसम्म उभिएका छन्। लेख्दै जाने हो भने नामको यो सूची धेरै लामो हुन्छ। पंचायतकालमा रवीन्द्र शाह, रमोलादेवी शाह, अजनवी शाह, रञ्जना शाह, हेलेन शाह, कमल राणा, सोनी शाह, सहदेवशमशेर राणा, शरदचन्द्र शाह आदि शाही नातेदारहरू गीतकारका रुपमा चर्चित थिए।

राजेन्द्र थापा, रुकमाङ्गद कटवाल, नीरशमशेर राणा, सुरेन्द्रबहादुर शाह, प्रज्ज्वलशमशेर राणा, प्यारजङ्ग थापा, गंगाराज मुकारुङ, आनन्द अधिकारी, गौरव गुरुङ, निरमान गुरुङ, रमीन्द्र क्षेत्री, कैलाश गुरुङ, डा. आशबहादुर तामाङ आदि सिपाही तथा विमला थापा, पार्वती थापा, ठूले राई, शशि गुरुङ, टेक तामाङ, किशोर खतिवडा, पद्मराज जोशी, ठाकुरमोहन श्रेष्ठ, दुर्जकुमार राई, शैलेन्द्र खनाल, सुरेश गैरे आदि प्रहरी कर्मचारी पनि गायक/गीतकारमा दरिए।

साहित्यकारहरू त साहित्यकार नै भइहाले, निजामती कर्मचारीहरूमा समेत गीत–संगीतप्रति ठूलो आकर्षण रहिआएको छ। विमल कोइराला, एस्पी कोइराला, भोजराज घिमिरे, गोविन्द कुसुम, तारानाथ गौतम, नरेन्द्रराज पौडेल, दिनेश थपलिया, उर्मिला श्रेष्ठ, शरदकुमार भट्टराई, विजयराज भट्टराई, दिनेशहरि अधिकारी, चेतबहादुर कुँवर, सुदनप्रसाद पोखरेल, दुबसु क्षेत्री यसका केही प्रतिनिधि नाम हुन्।

नेपाली गीत–संगीतको फाँट–फैलावटमा डाक्टर, इन्जिनियर जस्ता पेशेवरहरूको योगदान पनि उल्लेख्य छ। उद्योगी–व्यवसायीहरू पनि हिजो गाइने–गन्धर्व, गायक, डुम–दर्जी, नगर्ची वा नेगियार आदिको पेशा भनिएको यो क्षेत्रमा अग्रगामी हुन चाहेका देखिन्छन्। हिजो दमाई जातिको भनिएको ‘पञ्चै बाजा’ आज बाहुन युवाहरूले सिक्न थालेका छन्। यसले नेपाली समाजको घुर्मैलो सोचमा आधुनिकताको प्रकाश परेको देखाउँछ। नेपाली संगीतको साधना, सिद्धि र प्रसिद्धिमा सबैको लालसा जोडिनु आफैंमा सुखद् कुरा हो।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...