रमझममंगलबार, आश्विन १६, २०६९
‘लेस्बियन बनें, बन्दूक बोकें, सिरिञ्ज पनि हानें’
अहिलेकी व्यस्त नायिका भन्छन्, त्यस्तै हो ?
भर्खरै पद्मिनी फिल्मको सुटिङ सकियो, धुवाँ यो नशाको डबिङ भइरहेको छ । एकैपटक धेरै फिल्ममा काम गरें । तीजले पनि व्यस्त बनायो । गरेका कामले संख्या मात्रै बढायो भने चाहिं व्यस्त हुनुको अर्थ छैन ।
पलायन भएका पुराना नायिकाहरूको ठाउँ लिन पाउँदा कस्तो महसूस हुन्छ ?
प्रतिभाशाली नायिकाहरू अहिले यो क्षेत्रमा नहुनु नेपाली फिल्मकै कमजोरी हो । गौरी मल्ल, निरुता सिंह जस्ता नायिकाहरूलाई टिकाइराख्नुपथ्र्यो । भारतीय फिल्म उद्योगमा अमिताभ बच्चन बुढेसकालसम्म काम गरिरहेका छन् । हाम्रोमा चाहिं यो अभ्यास नहुनु दुःखको कुरा हो ।
यो क्षेत्रले पहिलेका नायिकाहरूको क्षमता बुझन नसकेको हो ?
कति वर्षपछि तृप्ति नाडकर नेपाली फिल्ममा आउँदा दर्शकले मज्जैले रुचाए र उहाँले लगातार निक्कै फिल्ममा काम गर्नुभयो । दर्शकले पुरानालाई सम्झ्न्छिन् तर यो क्षेत्रले माया मारेको छ ।
नयाँ फिल्मकर्मीको आगमनले यो क्षेत्रका सोच र शैलीमा परिवर्तन आइरहेको छ, हैन ?
कागवेनी, सानो संसार, मिशन पैसा जस्ता फिल्मले नयाँ शैली ल्यायो र लूट ले यसलाई झ्न् फैलायो । आधुनिक प्रविधिसँगै शैली बदलिंदै गएको छ ।
तर, बोलवाला त पुरानै ढर्राको देखिन्छ नि !
नयाँको आगमन र पुरानाको सोच परिवर्तन एकैसाथ भइरहेको छ । तर, महिलाकेन्द्रित फिल्म पहिले धेरै बन्थे । बीचमा राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट आदिसँगै एक्सन प्रधान फिल्म आए । अहिले यथार्थपरक फिल्महरू बन्न थालेका छन् । मैले काम गरेको सुनगाभा मा लेस्बियनहरूको कथा छ । पद्मिनी पूरै नारी प्रधान फिल्म हो । दशकौंदेखि चलिआएको शैली दर्शकले नै रुचाउन छाडेका छन् ।
नयाँ नायिकाहरूमाथि आर्थिक, मानसिक, शारीरिक शोषण भएको कुरा उठिरहन्छ नि ?
नेपालमा कुन क्षेत्रमा शोषण छैन र ? महिलामाथि यौनशोषण फिल्मको मात्रै हैन नेपाली समाजकै मुद्दा हो । फिल्मकर्मीहरू यही समाजका सदस्य हुन् । यहाँ राम्रो–नराम्रो दुवै कुरा छन् ।
सुनगाभा फिल्ममा ‘लेस्बियन’ बन्दा कस्तो महसूस भयो ?
हाम्रो समाजलाई उति थाहा नभए पनि मैले जर्मनीमा ६ कक्षा पढ्दैखेरी लेस्बियनहरूबारे पढेकी थिएँ । फिल्ममा अभिनय गर्ने क्रममा ४० वर्षका छोराछोरी भएका लेस्बियनहरू पनि भेटें । हाम्रो धर्मशास्त्र र समाजमा होमोसेक्सुआलिटी विद्यमान रहे पनि उनीहरू अझ्ै खुल्न सकेका छैनन् । सुनगाभा हेरेपछि दिया मास्के र मलाई धेरैले ‘तिमीहरू नै लेस्बियन हौ’ भन्न पनि सक्छन् । चुनौतीपूर्ण भूमिका गरेकी छु । यसमा लेस्बियन बनें, मिशन पैसा मा बन्दूक चलाउने एक्सन भूमिका छ भने धुवाँ मा ड्रग एडिक्ट बनेकी छु । यथार्थ देखाउन सिरिञ्ज नै हानेकी छु ।
स्क्रिन बाहिर पनि नशामा डुबिएको छ ?
चुरोटको धुवाँ मलाई मनै पर्दैन, तर ‘ट्राई’ गरेको छु, वाइन खाएकी छु । नशाको अनुभव मलाई छ ।
भिडियो जक्की, मोडलिङ हुँदै फिल्मको नायिकासम्म आइपुग्दाको अनुभव कस्तो छ ?
उमेरले पनि परिपक्वता आयो । २० वर्षको उमेरबाटै मैले मिडियामा काम गर्न थालेकी हुँ । टेलिभिजन र फिल्ममा धेरै फरक छ । ठूलो लगानीमा बन्ने फिल्ममा जिम्मेवारी पनि ठूलै हुन्छ, चुनौती पनि धेरै हुने रहेछ । फिल्म निर्माणमा समेत रुचि भएकाले यो क्षेत्रबाट धेरै सिकिरहेकी छु ।
६ वर्षअघि हिमाल सँगको कुराकानीमा ‘ग्ल्यामर क्षेत्रमा फिट भइनँ भने ३० वर्ष कटेपछि टेलिभिजन समाचारवाचक बन्छु, टक शो चलाउँछु’ भन्नुभा’थ्यो । अब के योजना छ ?
फिल्म निर्देशन–निर्माणका लागि अझ्ै धेरै सिक्नु, बुझनु छ । अमेरिका गएर पनि फिल्मकै अध्ययन गरें । समाचार भन्ने, टक शो चलाउने चाहना पनि मरेको छैन ।
कमाइ चाहिं कस्तो छ ?
यहाँ रु.१२ हजारको मासिक कमाइले चार जनाको परिवार पाल्ने र रु.५० हजार कमाएर एक्लै सिध्याउने पनि छन् । मैले आम्दानी भन्दा बचत ठूलो कुरा हो भन्ने सिकेकी छु । राम्ररी बचत गर्न सक्ने हो भने अरू क्षेत्रमा भन्दा फिल्म क्षेत्रमा राम्रो पैसा छ । कमाइ राम्रो छ, सन्तुष्ट छु । बेला बेला रियल स्टेटको मार्केटिङ पनि गर्छु, त्यताबाट पनि राम्रै कमाइ हुन्छ । अविवाहित छु, बुबाआमासँगै बस्छु । खर्च पनि कमै हुन्छ ।