टिप्पणीशुक्रबार, भाद्र २७, २०७१

पुष्पकमलको खस्कँदो व्यक्तित्व

रघु पन्त

समय र परिस्थितिले कहिलेकाहीं व्यक्तिहरूलाई अप्रत्यासित अवसर दिन्छ। बुद्धिमान र दूरदर्शीहरूले त्यो मौका सदुपयोग गरेर जनता र देशको हितमा काम गर्छन् र आफ्नो सुनाम बढाउँछन्। त्यसले उनीहरूको उपयोगिता र औचित्य पुष्टि गर्छ। त्यसो हुँदा उनीहरूको लोकप्रियता पनि बढ्छ।
राजनीतिमा अर्काथरी मान्छेहरूले भने मौका पाउँदा पनि आफ्नो औचित्य पुष्टि गर्न सक्दैनन्। अवसरलाई देश र जनताको हितमा प्रयोग गर्न नसक्ने त्यस्ता पात्रहरूले आफ्नो नेतृत्व र संगठनलाई राजनीतिक खेलमा च्याँखे थाप्छन्। राम्रो काममा सहयोगी बन्नुको साटो खोजे जस्तो भूमिका नपाउनासाथ काम नै भाँडिदिन्छन्।

यस्ता पात्रहरू विभिन्न दलमा भए पनि उनीहरूको ‘नेता’ का रूपमा भने एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल देखा परेका छन्। उनले नेपाली राजनीतिमा सम्भवतः सबैभन्दा छोटो कालखण्डमा धेरै अवसर पाए। तर केटाकेटीहरूले हातको बेलुन तुरुन्तै फुटाए जस्तै उनले पनि ती अवसर गुमाउँदै गए।

नेपाली कांग्रेस र एमालेले सत्ताको उपयोग गर्न नसकेका बेला उनले सशस्त्र क्रियाकलाप शुरू गरे। कांग्रेस र एमालेका नेताहरूलाई तह लगाउन राजा वीरेन्द्र र ज्ञानेन्द्रले सेना परिचालन गर्न नदिंदा दाहाललाई गतिविधि विस्तार गर्न अरू सजिलो भयो। नेपालमा प्रभाव र प्रभुत्व बढाउन भारतले पनि उनलाई सहयोग गर्‍यो। दुवैको सहयोग पाए पनि सशस्त्र क्रियाकलाप निल्नु न ओकल्नु भएको बेला वार्ता मार्फत शान्तिपूर्ण राजनीतिमा आउन उनलाई एमाले–कांग्रेसले सहयोग गरे। सशस्त्र द्वन्द्वले हैरान भएका नेपाली जनताले नृशंस, अमानवीय र अराजक गतिविधिलाई बिर्संदै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा स्वागत गरे। एमाले, कांग्रेसले पनि निर्वाचन नलडेको माओवादीलाई संसदमा उल्लेख्य संख्यामा मनोनीत गरिदिए। यसरी सबैले साथ सहयोग दिनुमा दाहाललाई खुला राजनीतिमा आउन सजिलो बनाइदिनुथियो।

त्यो बेला तीव्र रूपमा भएका ती घटनाहरूले दाहालको व्यक्तित्व निर्णायक र प्रभावकारी बनायो। उनले अघि सारेका गलत विषय पनि राजनीतिक अजेण्डा बने। त्यसले उनका सामु अवसर सिर्जना गर्‍यो। निर्वाचनमा भाग लिन डराइरहेको माओवादी संविधानसभा निर्वाचनमा पहिलो शक्ति हुने गरी विजयी हुनु त्यही कारण थियो। जबकि, उनीहरूले नै त्यत्रो विजय हुन्छ भन्ने सोचेका थिएनन्। तर, त्यो आकस्मिक र अस्वाभाविक विजयलाई दाहाल र एमाओवादीले न बुझ्यो न त आत्मसात् नै गर्‍यो।

यसरी, खुला राजनीतिमा आएको सात–आठ वर्षकै अवधिमा विद्रोही नेतादेखि प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेता बनेका दाहालले अवसरहरू खेर फालिरहे। लोकतान्त्रिक राजनीतिमा नेताले योग्यता, क्षमता र प्रतिभा देखाउने भनेको प्रधानमन्त्री वा प्रमुख प्रतिपक्षी दलको नेता हुँदा नै हो। तर, कहिले पशुपतिका भट्टसँग त कहिले सेनापतिसँग पौंठेजोरी खेलेका दाहालले प्रधानमन्त्री हुँदा एउटा पनि सम्झनलायक काम गर्न सकेनन्।

आफ्नो दल संविधानसभामा सबैभन्दा ठूलो रहेको बेलामा संविधान बनाएर जश लिने स्वर्णिम अवसर पनि उनले गलत राजनीतिक विचार, असहिष्णु र अलोकतान्त्रिक कार्यशैली र अहंकारका कारण गुमाए। अहिले प्रमुख प्रतिपक्षी दलको नेता भएको बेला उनलाई फेरि संविधान निर्माणमा सकारात्मक भूमिका खेल्ने नयाँ अवसर आएको छ। तर, यो अवसर पनि उनी गुमाउँदै छन्। प्रतिपक्षी नेताको जिम्मेवार, तार्किक, प्रभावशाली र सत्तापक्षलाई नियन्त्रण गर्ने भूमिकालाई उनले आत्मसात् गर्न सकेको देखिएको छैन।

यस्तोमा नेपाली राजनीतिले दाहाललाई छिटो परीक्षण गरेर असफल बनाउन खोजेको त होइन? या आफ्नै अदूरदर्शी क्रियाकलापले उनले प्रभाव र शक्ति गुमाउँदै गएका हुन्? जस्ता प्रश्नको उत्तर राजनीतिक विश्लेषकहरूले भन्दा उनले नै खोज्नु र दिनु आवश्यक छ।

राजनीतिमा एउटै नेताको भूमिका सधैं समान हुँदैन। फरक परिस्थितिले राजनीतिक नेताहरूसँग फरक भूमिकाको माग गर्छ। कमजोर, अदूरदर्शी र स्वार्थी नेताहरूलाई परिस्थितिले चलाउँछ भने दृढ, दूरदर्शी र जनताप्रति समर्पित नेताहरूले परिस्थितिलाई मोड्ने सामर्थ्य राख्छन्।

दाहाल प्रधानमन्त्री हुँदा जनताले आफ्नो जीवनमा आर्थिक र सामाजिक समृद्धि थप्ने क्रान्तिकारी सुधारहरूको आशा गरेका थिए, बौद्धिक समुदायले आर्थिक भ्रष्टाचार र सामाजिक विसंगति नियन्त्रण गर्न ठोस कदम चाल्नेछन् भन्ने अपेक्षा गरेका थिए र राष्ट्रवादीहरूले नेपाल राष्ट्रको गिर्दो स्वाभिमान बचाउने र बढ्दो विदेशी हस्तक्षेप रोक्ने अपेक्षा गरेका थिए। तर, उनले ती कुनै काम गर्न नसकेको मात्र नभएर प्रयत्न गरेको पनि देखिएन। उनको आर्थिक गतिविधि निरन्तर आशंकाको घेराभित्र रह्यो। व्यापारीहरूसँगको उठबस र शंकास्पद सम्बन्ध उनकै पार्टीभित्र विवादको विषय बन्यो र सञ्चारमाध्यमबाट सार्वजनिक पनि भयो। विदेशी गुप्तचर एजेन्सीहरूसँगको उनको गोप्य भेटघाट र अपारदर्शी सम्बन्धले स्वाभिमानी नेपालीको शिर निहुरियो। भूतपूर्व प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा कूटनीतिक मर्यादा र स्वाभिमान नराखेकोमा उनको पटक–पटक आलोचना भयो।

त्यस्ता क्रियाकलापले उनलाई नै सबैभन्दा ठूलो नोक्सान पुग्नु स्वाभाविक थियो। प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताका रूपमा उनले आफ्नो वचनको मान र विश्वसनीयता बचाउन सकेनन्। जोसँग जस्तो कुरा गर्दा सजिलो पर्छ त्यही गरे। दल र व्यक्तिहरूसँग फरक फरक कुरा गर्ने, अरूलाई लडाएर आफू ठीक देखिन खोज्ने उनको शैली रहयो। उनको यी सबै तरीका थाहा पाएपछि उनको विश्वसनीयता कतै रहेन।

उनको राष्ट्रवाद सत्ता प्राप्तिको लागि रहेछ भन्ने उनकै गतिविधिले पुष्टि गर्‍यो। उनले आज ‘जनयुद्ध’ शब्द प्रयोग गर्दा पूर्व लडाकूहरूले व्यङ्ग्य ठान्ने स्थिति बनेको छ। यस्तो स्थितिमा उनी संविधान निर्माणमा फेरि अप्ठ्यारो उत्पन्न गर्न खोज्दैछन्, जसले उनको अविश्वसनीयता र अलोकप्रियता अरू बढाउनेछ। संविधानसभाको पहिलो निर्वाचनमा ठूलो दल भए पनि एमाओवादीले बहुमत पाएको थिएन। दोस्रो निर्वाचनमा एमाओवादी तेस्रो दल भएको छ। त्यसैले, दुवै निर्वाचनमा नेपाली जनताले आफ्नो अजेण्डालाई बहुमत नदिएको तथ्य बुझेर दाहालले जनताको भावनाको सम्मान गर्नुपर्छ र आफ्ना कतिपय नीति र मान्यताहरूमा पुनर्विचार गर्नुपर्छ। जनताबाट अस्वीकृत मान्यताहरूलाई संविधानमा सामेल गर्न दबाब दिनु भनेको लोकतन्त्रको मर्मलाई अस्वीकार गर्नु हो। बाधा उत्पन्न गरेर ब्ल्याकमेल गर्ने राजनीतिले कहिल्यै सकारात्मक परिणाम दिंदैन।

अहिले झट्ट हेर्दा दाहालको निर्णायक भूमिका समाप्त भए जस्तो देखिन्छ। तर, संविधान निर्माणमा खलनायक बन्नुको साटो सहनायक बन्ने हो भने उनको उपादेयता र महत्व नेपाली राजनीतिमा अझै रहनेछ। यसका लागि उनले आफ्नो भूमिका मोहन वैद्यको सहयोगीको रूपमा नभएर संविधान निर्माताका रूपमा स्थापित गर्नुपर्छ। उनीसँग अझै पनि अवसर, भूमिका र सम्भावना छ– प्रयोग गर्न सक्दा। नभए, उनको राजनीतिक महत्व अरू खस्किने निश्चित छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>