Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वास्तुः न अविश्वास न अन्धविश्वास - Himalkhabar.com

ब्लगशनिबार, भाद्र २८, २०७१

वास्तुः न अविश्वास न अन्धविश्वास

मिलन बगाले

हिजोआज घडेरी किन्दा नक्शा अनुसारको जग्गा छ/छैन, क्षेत्रफल के कसो छ भनेर बुझन सर्भेयर (अमिन) बोलाउने होइन, त्यसको शुभ–अशुभ थाहा पाउन ‘वास्तुशास्त्री’ को पछाडि लाग्ने कामले प्राथमिकता पाएको छ। वर्षौंदेखि शान्त कतिपय घरभित्र ‘वास्तु बिग्रिएको अनर्थ’ पसेको छ।

आर्किटेक्ट अथवा सिभिल इन्जिनियरले मिहिनेतसाथ कोरेको नक्शा फेरि तन्त्रविद्कोमा पुग्न थालेको छ। यस्तो ‘आपत्मा’ विशेषगरी टीभी हेरेर आत्तिएकाहरू धेरै छन्।

रातो मसीले कोरिएर हेरिनसक्नु बनेको आफ्नो घरको नक्शा हातमा लिएका उनीहरू ‘लौ, इन्जिनियर भनाउँदोले त धन–विद्या नाश हुने, बाथ–क्यान्सर–चोर लाग्ने घर पो बनाइदिएछ’ भन्दै आत्तिएका हुन्छन्। यसरी शान्ति हराएको घर ‘भूतघर’ बन्न पुग्छ, जतिसुकै भव्य किन नहोस्!

वास्तुशास्त्रको पछिलागेर प्राविधिकलाई अन्धाधुन्द गाली मात्र होइन, वास्तुविद्यामाथि खनिनेहरू पनि कम छैनन्। उनीहरू वास्तुविद्यालाई फटाहाहरूको ठगी खाने भाँडो भन्छन्।

पश्चिमा विद्वान् र प्राविधिकको कुरो नमानेर हामी विकासमा पछिपरेको र रुढिवादमा फँसेर समाजलाई ध्वस्त पारेको उनीहरूको आरोप हुन्छ। भवनहरूको डिजाइनमा वैदिक वास्तुशास्त्रबारे अविश्वास राख्नेहरू बाक्लै भेटिन्छन्। यसैगरी, विश्वास मात्र होइन, अन्धविश्वासै राख्नेहरू पनि कम छैनन्।

खासमा, आयुर्वेद वा ज्योतिष विज्ञान जस्तै वास्तुशास्त्र पनि वैदिक विज्ञान हो, तर शुभ–अशुभ बाहेक अर्थोक नजान्ने र अपव्याख्यामा रमाउनेहरूका कारण समस्या भएको छ। आस्था–संस्कारलाई फित्ताले नापेर, मेशीनले जाँचेर ठीक―बेठीक भन्न मिल्दैन, हुँदैन।

धार्मिक आस्था समेत जोडिएको प्राचीन हिन्दू संस्कार र निर्माण सभ्यता हो– वास्तु। ‘वास्तु’ मिलेको मन्दिर र ‘आर्किटेक्चर’ मिलेको घर राम्रो हुन्छ।

वास्तुशास्त्र र वास्तुपुरुष
‘आर्किटेक्चर’ अहिलेको युग सुहाउँदो विज्ञान हो भने वास्तुतन्त्रले मठ–मन्दिरलाई थप पवित्र र सुन्दर बनाउने मानिन्छ। देउताको स्थान उनी अनुकूल हुनुपर्छ, घर मानिसका लागि बनाइने हुनाले मानिस अनुकूल नै हुनुपर्छ।

आर्किटेक्चर पढ्दाताकाका मेरा गुरु प्रा.डा. मोहनमूर्ति पन्त भन्नुहुन्थ्यो, “घर सबैखाले संस्कृति थन्क्याउने ठाउँ हो। घर निर्माणको संस्कृति मासिए मान्छेले आर्जन गरेका सबै संस्कृति मासिन्छन्।”

यजुर्वेदको स्थापत्य अध्यायको मूल वास्तु शिल्पशास्त्रको एक अंग हो– वैदिक वास्तुशास्त्र।

वास्तु शिल्पशास्त्रलाई देवशिल्प र मानवशिल्प गरी दुई भागमा बाँडिएको छ। देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदिको निर्माणविधि सुझ्ाइएको छ भने मानवशिल्पमा आवासका विभिन्न कक्ष बनाउँदा ख्याल गर्नुपर्ने दिशा–कोणबारे विस्तारमा उल्लेख छ।

गरुडपुराण, अग्निपुराण, मत्स्यपुराण आदि धर्मग्रन्थमा पनि वास्तु मिलाएर बनाइएका दरबार, शहर, किल्ला, मठ–मन्दिर, रथ, पुल आदिको वर्णन छ।

विश्वकर्मा, मय आदिलाई बृहस्पति, भृगु, कश्यप आदि ऋषिद्वारा लिखित वास्तुशास्त्र अनुसारको संरचना निर्माण गर्ने वैदिक वास्तुतन्त्रविद् मानिएको छ।

वास्तुपुरुष (वास्तुदेवता) लाई भूमिदेव पनि भनिन्छ। अन्धक राक्षसलाई मार्दा आएको भगवान शिवको पसिनाबाट वास्तुपुरुष उत्पत्ति भए, भन्छ पौराणिक कथा।

अन्धक राक्षसको रगत पिएका र शिवबल पाएका वास्तुपुरुषले स्वर्गमा आतंक मच्चाएपछि ८१ देवदेवीले उनलाई समातेर पृथ्वीमा पठाई भूमिदेवता बनाइदिएको उल्लेख छ।

त्यसपछि भूमिदेवता बनेका वास्तुपुरुषलाई पूजा गरेर उनको शिर, पाउ, नाभी, खुट्टा, हात आदि स्थानमा बसेका देवताको आराधना गरी संरचना निर्माण गर्ने संस्कृतिको सुरुआत भयो।

भारतमा धेरै पहिलेदेखि अभ्यासमा रहेको वास्तु अहिले नेपालमा बौरिएको हो। राणाहरूले भवन निर्माणमा बेलायती शैली अपनाएकाले नेपालमा यो विद्या ढिलो आएको हो।

ऋषिमुनिको पालामा जे–जे गरियो, अहिले त्यही दोहोर्यालउन खोज्नु भनेको २०० वर्षअघि भानुभक्तले लेखेको बधू शिक्षा अनुसार घर र समाज चलाउन खोज्नु जस्तो हो।

डा. वासुदेवकृष्ण शास्त्रीले लेखेको ‘वास्तु―शास्त्र ज्ञान’ नामक पुस्तकका अनुसार, वास्तुशास्त्रले माटोको रंग अनुसार घडेरीको वर्गीकरण गरेको हुन्छ– ब्राह्मणी, क्षेत्रीय, वैश्य र शूद्र भनेर। ब्राह्मणी घडेरीको माटो छुँदा नरम, मीठो स्वाद आउने, सेतो कमेरो जस्तो सफा हुन्छ भन्दोरै’छ त्यो वास्तुशास्त्र। यस्तो घडेरी सर्वोत्तम रे!

रातो, कठोर, चाम्रो र डल्ला परेको माटो भएको क्षेत्रीय घडेरी उत्तम रे! यसैगरी, अमिलो स्वाद आउने पहेंलो अथवा हरियो रंगको माटो हुने वैश्य घडेरी रे! अरर्र परेको, कालो र स्वाद नमीठो माटो हुने शूद्र घडेरी आवासका लागि नराम्रो रे!

वास्तुशास्त्रमा पलाएको यस्तो ऐंजेरु मनको फेदबाटै उखेलेर फाल्न लायक छ। यस्तो व्याख्याले वास्तु बिटुलिन्छ।

नेपालीको मौलिक वास्तुशास्त्र
सानो टुक्रा जग्गामा वैदिक वास्तु अनुसार घर बनाउनु त्यसै पनि गाह्रो काम हो। त्यसमाथि, दक्षिणलाई अशुभ भन्ने वास्तुशास्त्र काठमाडौं जस्तो चिसो उपत्यकाका लागि अनुकूल छैन। र पनि, मानिसहरू दक्षिण–पूर्वी मोहडाको जग्गा खोजिरहेका हुन्छन्।

दक्षिण र पूर्व खुला भएको घर न्यानो बन्छ। गर्मी ठाउँमा भने वैदिक वास्तुशास्त्र अनुसार घर बनाउन सजिलै हुन्छ। दक्षिणपट्टि दिनभर घामले पोल्ने हुँदा त्यता भर्यावङ, स्टोर, ग्यारेज आदि राखेर उत्तरतिर शयनकक्ष, पढ्ने कोठा, बैठक बनाउने चलन छ।

यस्तो वास्तुसँग पश्चिमा विज्ञान पनि मिल्छ। काठमाडौं लगायतका एकाध ‘कुचुक्क’ परेका शहर बाहेकका ठाउँमा जग्गाको समस्या खासै नभएकोले फुकेर घर बनाउन जसरी पनि मिलिहाल्छ।

हाम्रा पुर्खाले लामो समयको अभ्यासबाट यहींको हावापानी सुहाउँदो मौलिक वास्तुकला सिर्जना गरेको छँदैछ। थारू लगायतका तराईवासीले मधेशको गर्मीमा स–साना र शीतल घर बनाउने विद्या जानेका छन्।

हिमालवासीले चिसोबाट बचाउने कलात्मक घर बनाएका छन्। पहाडतिरका घुमाउने घर र काठमाडौं उपत्यकाका काष्ठकला सहितका पाखायुक्त छानाका घरहरू नेपाली पहिचान बनेका छन्।

भूकम्पीय जोखिमबारे पढेका आजका इन्जिनियरहरू सम्म परेको लाम्चो या वर्गाकार जग्गामा त्यही आकारका घर बनाउनु भन्छन्। घर बनाउँदा शुभ–अशुभको घेरोबाट माथि उठेर शीतल, न्यानो, सफा र स्वस्थकर हुने उपाय अपनाऔं।

पूर्वीय सभ्यताको वास्तुविज्ञानलाई अविश्वास र अन्धविश्वासको घेरोबाट बचाउनेहरूको जय होस्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>