खेलकुदशनिबार, भाद्र २८, २०७१

बाइक रेसर विक्रम

हिमालखबर

ललितपुर, बालकुमारीका २० वर्षीय विक्रम ७ भदौमा जापानको मोटेगीमा ‘एफआईएम रोड रेसिङ एशियन च्याम्पिएनसीप– २०१४’ को पहिलो चरणको प्रतियोगितामा सहभागी भए।

यो स्तरको प्रतियोगितामा भाग लिने खेलाडीलाई उसको देशले ‘स्पोन्सर’ गर्छ, तर त्यस्तो संयन्त्र त के तालीम, ट्रयाक, खेल नै नभएको देशका नागरिक भएकोले उनले निजी प्रयास र खर्चमा यो सहभागिता सम्भव बनाएका हुन्।

‘नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन’ (नासा) ले गत वर्षदेखि रेसमाण्डू आयोजना गर्न थाले पनि नेपालमा यस्तो खाले प्रतियोगिता ‘बाइक स्टन्ट’ मा सीमित छ।
सानैमा साइकल, स्कुटर र कार चलाउन थालेका विक्रमले लाइसेन्स पाउन धेरै कुर्नु पर्यो – १६ वर्ष पूरा नभई नपाइने कानूनी व्यवस्थाले गर्दा।
तीन वर्षअघि कक्षा ११ पढ्दा मोटरसाइकल चलाउने लाइसेन्स पाएपछि उनको रेसिङ सपनाले मूर्तरुप लिन पायो। एक वर्ष बाइक स्टन्टमै सीमित भएका उनी गत वर्षको पहिलो रेसमाण्डूबाट ‘प्रोफेसनल रेसिङ’ मा लागेका हुन्।

“रेसमाण्डू–१ को पहिलो र दोस्रो चरणमा प्रथम भए पनि अन्तिम चरणमा अर्को बाइकसँग ठोक्किएकाले पाँचौं भएँ”, विक्रम भन्छन्, “र पनि, उत्कृष्ट पाँचसहित आठ जनाले भारतको चेन्नईमा अर्को प्रतिस्पर्धा गर्न पायौं।”
चेन्नईमा सबै असफल भए पनि रेसिङ सुट लगाएर ट्रयाकमा रेसिङ गर्ने मौका पाएको उनी बताउँछन्। गएको २४ फागुनमा भएको दोस्रो रेसमाण्डूमा विक्रम दोस्रो भए।

जापानको प्रसिद्ध ट्वीन विङ मोटेगी मोटर स्पोर्टस् रेस ट्रयाकमा ‘एफआईएम च्याम्पियनसीप’ हुँदैछ भन्ने सुनेपछि उनले सहभागिताका लागि इमेल लेखे। व्यापारी बाबु जापानमै रहेकाले उनलाई भिसाको लागि कठिनाइ भएन, तर जापान पुग्दा प्रतियोगितामा सहभागिताका लागि फर्म भर्ने म्याद गुज्रिसकेको रहेछ।

तर, उनले पहिल्यै पठाएको इमेल आयोजकले टिपिराखेका रहेछन्– ‘प्रोफेसनल रेसर’ होला भनेर।

‘प्रोफेसनल रेसर’ हुन त्यसको लाइसेन्स, ट्रयाकमा रेसिङको अनुभव, रेस सुट, एयर ब्याग लगायतका खेल सामग्री हुनुपर्थ्यो।

विक्रमसँग भने नेपालको यातायात व्यवस्था विभागले दिएको मोटरसाइकल चालक लाइसेन्स बाहेक केही थिएन। नेपाल र भारतमा भाग लिएका प्रतियोगिताका कागजपत्र देखाएपछि उनलाई आठ घण्टाको तालीम दिन एमएफजे तयार भयो।

“त्यसरी तालीमको सर्टिफिकेट, लाइसेन्स र गेट पास पाएपछि प्रतियोगितामा भाग लिने बाटो खुल्यो”, विक्रम भन्छन्, “ट्रयाकको अनुभव नभएकाले बारम्बार लड्दा पनि पहिलो चरणका २४ जनामा २०औं भएँ।”
एफआईएमको दोस्रो र तेस्रो चरण क्रमशः ताइवान र थाइल्याण्डमा हुँदैछ। तर, फेरि व्यक्तिगत खर्चमा त्यहाँ जान सजिलो छैन, विक्रमलाई।

त्यसमाथि, बाइक वा कार रेसिङ अन्य प्रतियोगिता भन्दा महँगो र जोखिमपूर्ण हुन्छ। विक्रमले जापानमा तालीम र खेल सामग्रीका लागि मात्र रू.८ लाख खर्च गरेका थिए।

उनी नेपालमा तालीमको व्यवस्था सहित एउटा मात्रै भए पनि रेसिङ ट्रयाक बनाउनुपर्ने बताउँछन्। “ट्रयाकमा तालीम लिन पाए आत्मविश्वास बढ्छ”, उनी भन्छन्, “चेन्नईमा ट्रयाकमा कुदेकै कारण ममा जापान जाने आँट पलाएको थियो।”

तुफान न्यौपाने

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...