टिप्पणीशनिबार, भाद्र २८, २०७१
महिलामा निसन्तान समस्या
खराब डिम्बाशयजन्य तत्व, पाठेघर, पाठेघरको मुख, डिम्बवाहिनी नली, योनी, इन्डोक्राइन (अन्तस्राव) ग्रन्थिको गडबडी र इन्डोमेटि्रओसिस महिला निसन्तान (बाँझोपन) का कारण हुन्।
३५ वर्ष नाघेका महिलामा अपर्याप्त सहवास, पीडादायी सहवास, मासिक चक्रमा गर्भ रहने समयको अज्ञानता, अत्यधिक चिन्ता, उदासीपन, जेल वा क्रिमको प्रयोग (योनीमार्ग चिप्लो बनाउन प्रयोग हुने जेल वा क्रिमले शुक्रकीटलाई असर पुर्यादउँछ) लगायतका कारणले पनि गर्भ रहन नसकिरहेको हुन्छ।
निसन्तान महिलाको जाँच
पुरुषमा हुने बाँझोपन पत्ता लगाउन तुलनात्मक रूपमा सजिलो हुने भएकोले महिलाको परीक्षणको क्रममा पनि शुरूमै उनका श्रीमान्को वीर्य जाँच गरिन्छ।
पुरुषमा जस्तै महिलाको उमेर, विवाहित समयावधि, पहिले बच्चा पाइसकेकी छन्/छैनन् एवं यौनरोग, मधुमेह एवं जनेन्द्रिय वरिपरि कुनै संक्रमण भएको थियो या थिएन भनेर जानकारी लिइन्छ।
त्यसैगरी, तल्लो पेटमा पहिले गरिएको शल्यक्रियाले पनि महिलामा बाँझोपन ल्याएको हुन सक्छ।
महिलाहरूमा महीनावारी, बच्चा पाइसकेको भए गर्भावस्था तथा सुत्केरी सम्बन्धी जानकारी, परिवार नियोजनको अस्थायी साधनको प्रयोग तथा यौन सम्पर्कका बेला पीडा वा अनिच्छाबारे राम्रो जानकारी हुनुपर्छ।
गर्भ नरहनुको कारण पत्ता लगाउने शारीरिक जाँच पड्तालको क्रममा अधिक मोटोपना वा दुब्लोपना, यौनाङ्गहरूको विकास र यौनाङ्ग वरिपरि तथा काखीका रौंको वितरण पनि लिइन्छ।
अन्तस्राव ग्रन्थिको गडबडी, साना तथा अपरिपक्व डिम्ब, गालामा रौं पलाउने, स्तनबाट असामान्य स्राव निस्कने समस्या छ भने गर्भ रहँदैन।
योनी तथा पाठेघर जाँचको क्रममा हल्का रूपमा रगत मिसिएको गन्धयुक्त योनीस्राव वा चिलाउने समस्या छ/छैन भनेर हेरिन्छ।
साथै सामान्य तरीकाले नियमित डिम्ब निष्काशन हुन्छ या हँदैन, दुवैतर्फको डिम्बवाहिनी नली खुल्ला वा बन्द के छ, पाठेघरको भित्री तहमा मासु पलाएको वा टाँसिएको पो छ कि, पाठेघरको बनावटमा जन्मजात खराबी तथा पाठेघरको मुख साँघुरिएको वा वरिपरिको वातावरण शुक्रकीट अनुकूल छ/छैन भनेर हेरिन्छ।
निसन्तान महिलामा मधुमेह, थाइराइड ग्रन्थिको गडबडी, रगतमा डिम्ब उत्पादन गर्ने, परिपक्व बनाउने एवं निष्काशन गर्ने हर्मोनहरूमा गडबडीका कारण गर्भ नरहेको थाहा पाउन रगत परीक्षण गर्नुपर्छ।
उपचार प्रक्रिया
निसन्तान महिलाको उपचारको क्रममा, उनको श्रीमान्को स्वास्थ्यस्थिति बुझनैपर्छ। त्यसपछि महिलाको शारीरिक जाँचसँगै मानसिक परामर्श, मासिक चक्रको उर्वरा (गर्भ रहन सक्ने) समयको जानकारी तथा खानपिनमा परहेज, वजन नियन्त्रण, धूमपान–मद्यपान त्याग्न सल्लाह दिइन्छ।
निसन्तानको समस्यामा रहेका महिलासँग महीनावारी सम्बन्धी विस्तृत सोधपुछ एवं उनको पार्टनरको वीर्य जाँच पछि योनीमार्ग, पाठेघरको मुख, पाठेघरको बनावट, डिम्बवाहिनी नली छ/छैन भनी जाँच्न एक प्रकारको रङ्ग प्रयोग गरी हिस्टेरोसाल्पिङ्गोग्राफी (विशेष एक्सरे) गरिन्छ।
योनीमार्गदेखि डिम्बवाहिनी नलीसम्म कुनै खराबी छैन भने हरेक महीना एकभन्दा बढी डिम्ब उत्पादन तथा निष्काशन हुने (चिकित्सकको निगरानीमा) औषधि/सुई दिइन्छ।
औषधि वा सुई लिएपछि डिम्ब परिपक्व हुँदै गइरहेको छ/छैन भनी अल्ट्रासाउण्डबाट जाँचिन्छ।
डिम्ब परिपक्व भएको प्रमाण देखिएपछि गर्भधारणका लागि प्राकृतिक रूपमा यौन सम्पर्क राख्न वा श्रीमान्को वीर्य निकाली सामान्य सरसफाई पछि क्याथेटरको माध्यमबाट पाठेघरमा राख्न दिने वा अन्य पुरुषको वीर्य (श्रीमान्को वीर्य छँदै छैन भने) राखिदिने कृत्रिम उपाय गर्न सकिन्छ।
यस्तो उपचार अगाडि सम्बन्धित महिलाको महीनावारी भने हुनैपर्छ। मधुमेह, अधिक मोटोपना तथा शरीरमा बढी प्रोल्याक्टिनको समस्या छ भने तीन–चार महीना औषधि तथा कतिपय अवस्थामा पिल्स प्रयोग गर्दा राम्रो हुन्छ।
इन्डोमेटि्रओसिस, स्त्री जनेन्द्रियको माथिल्लो भागको संक्रमण, पाठेघरको मुख साँघुरिएको, पाठेघरभित्र मासु पलाएको, भित्री तह टाँसिएको, डिम्बवाहिनी नली टाँसिएको, पाठेघरको बनावटमा जन्मजात खराबीको उपचार कठिन कुरा छैन।
दुवै डिम्बवाहिनी नली थुनिएको वा जनेन्द्रिय संक्रमणको पुरानो समस्या वा शल्यक्रियाबाट उपचार नलाग्ने छ भने थप जाँच पड्ताल र औषधोपचारमा समय खेर नफाली कृत्रिम गर्भाधान (टेस्टट्युब) विधितर्फ लाग्नुपर्छ।
महीनावारीको बेला डिम्बवाहिनी नली हुँदै थोरै रगत पेटतिर फर्किने अवस्थाबाट सिर्जिने डल्लोको लागि बाहेक महिला बाँझोपनमा शल्यक्रियाको भूमिका कमै छ। शल्यक्रिया पछि पनि चाहेको सफलता हात नलाग्न सक्छ।
यो पनि पढ्नुहोस: