अन्तर्वार्ता/विचारआइतबार, भाद्र २९, २०७१

बाबुरामले एमाओवादी फुटाउन खोजेका हुन्: श्रेष्ठ

हिमालखबर

राजनीतिक विश्लेषक श्याम श्रेष्ठसँग हिमालखबरले गरेको कुराकानी:

बाबुरामले नयाँ शक्ति भनेर के गर्न खोज्दैछन् ?

बाम विश्लेषण्क श्याम श्रेष्ठ

दोस्रो संविधानसभा चुनावमा एमाओवादीको हार र प्रचण्डको व्यक्तित्व खिइएदै गएकाले नयाँ शक्तिको कुरो उठेको हो । ०६५ जस्तै प्रचण्डको व्यक्तित्व भएको भए यो अवस्था आउने थिएन । नयाँ शक्तिको पृष्ठभूमी यही हो ।

पुरानो नेतृत्वप्रति जनताको आकर्षण छैन भन्ने बुझाईबाट बाबुरामले नयाँ पार्टीको नेतृत्व गर्न नयाँ शक्तिको कुरो उठाएका हुन् । उनले भनेजस्तो एमाओवादीलाई नयाँ बनाएर लैजाने नभई अलग पार्टी बनाउने तयारी नै हो ।

त्यसोभए बाबुरामले एमाओवादी फुटाउदैछन् ?

बाबुराम एमाओवादीबाट एउटा हिस्सा लिएर जाने र अरु पार्टीकालाई पनि आकर्षण गर्न खोज्दैछन् । त्यो प्रयत्न पूरा गर्न सक्छन् सक्दैनन् । तर बौद्धिक जमातमा वैकल्पिक शक्ति बन्ने प्रयत्नमा बाबुराम लागिपरेका छन् ।

तर बाबुराम यतिखेर संविधान निर्माण कार्यमा व्यस्त देखिन्छन् नि ?

संविधान निर्माणमा व्यस्त देखिनु बाबुरामको स्वभाव हो । उनी जे काममा लाग्छन्, पुरापुर लाग्छन् । अर्थमन्त्री र प्रधानमन्त्री हुँदा पनि त्यस्तो देखाउन खोजेका थिए । संविधान निर्माण प्रकृयासँग नयाँ पार्टी खोल्ने तयारीको कुनै सम्बन्ध गाँसिदैन ।

प्रचण्डसँग बाबुरामको विवाद विगतदेखि नै थियो, प्रचण्डले सँधै अन्तिममा मिलाउदै आएको देखिन्छ ?

विगत भन्दा यो पटकको सन्दर्भ फरक छ । विराटनगर सम्मेलनमा जिल्लाजिल्लाबाट प्रचण्डले बाबुराम पक्षलाई प्रतिनीधि हुनबाट रोके । त्यसपछि पार्टीमा आफ्नो पुरानै हिस्सा माग्दा कुरो नमिलेपछि बाबुरामले यो अवस्था सृजना गरेका हुन् ।

अहिले कुनै वैचारिक मतभद छैन, खाली हिस्सा र पदको झगडा हो । बाबुराम पार्टीमा आफ्नो हिस्सा बढाउन चाहन्थे, उल्टो घटेर आयो । त्यसपछि समानान्तर कमिटी गठन गरिदैछ । जुनजुन जिल्लामा बाबुराम बढारिए, त्यो जिल्लामा समानान्तर कमिटी गठन भइसकेको छ ।

यसको अर्थ बाबुरामले सबै जिल्लामा आफ्ना कमिटी तयार पारिसके ?

बाबुरामले आफ्नो उपस्थिति भएको जिल्लामा समानान्तर कमिटी बनाएका छैनन्, पाखा लगाइएको जिल्लामा समानान्तर कमिटी तयार पार्नुको अर्थ बाबुरामले नयाँ पार्टीको लागि ‘ब्याकअप’ तयार पारिसके ।

प्रचण्डले पदबाट राजिनामा दिएभने बाबुराम के गर्छ ?

प्रचण्डले राजिनामा दिनैपर्दैन । बाबुरामलाई निश्चित हिस्सा दिनासाथ उनको नयाँ शक्ति हराएर जान्छ । अहिले बाबुरामलाई पार्टीमा बलियो हिस्सा चाहिएको छ, नयाँ शक्ति होइन ।

यदि, नयाँ शक्तिकै कुरो हो भने नयाँ बिचार पनि आउनुपथ्र्याे । उल्टै चुनबाङ बैठकदेखि पार्टी नै बाबुरामको लाइनमा छ । पार्टी आफ्नो बिचारबाट चलेकाले नेतृत्वमा पुग्ने बाबुरामको सपना हो ।

बाबुरामले खोजेको हिस्सा दिन प्रचण्ड तयार भएनन् भने ?

एमाओवादी फुट्न सक्छ । त्यसको तयारी भित्रभित्रै बाबुरामले गरिसकेको छ । समानान्तर कमिटी गठन पार्टी फुट्नु अघिको अवस्था हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>