ब्लगमंगलबार, भाद्र ३१, २०७१
झिलिक्–झिलिक् ट्युबलाइट
“पूरै बेठीक चाहिं होइन रहेछ”, क्रान्तिकारी मित्रले मुड्कीभिवादन गर्दै झसङ्ग बनाए।
“के भन्नुभो?”
“बेठीक होइन भने’सी कुरो ठीकै रहेछ भन्ने धरी जान्दैनौ, बेबकूफ? एकीकरण राम्रै कुरा रहेछ भन्या!”
“तपाईंहरूको पार्टी एकीकरण भइसक्यो र?”
“मान्छे त ल्वाँदे नै हौ”, मित्र चर्किए, “तिम्रा खप्पर नेपालको एकीकरण गरिनु ठीकै भएको भनेर हाम्रो मोर्चाले राष्ट्रिय एकता दिवसप्रति सकारात्मक हुने निधो गर्यो क्या!”
“अहिलेसम्म नेपाल भन्ने देश अस्तित्वमा आउनु नै बेठीक भन्ने लागिराथ्यो त?” मित्रको घुम्रेनजरबाट जोगिन म बबुरो ‘फ्ल्यासब्याक’ मा गएँ। निर्माण भन्दा विनिर्माणको बन्करपन्थका महारथी मित्रहरू इतिहासै बदल्ने उन्मादमा पृथ्वीनारानको सालिकमाथि खनिए। तालिवान जसरी ऐतिहासिक धरोहरहरू तोडान–फोडानमा जानुहुन्न भन्नेहरूलाई भेटेसम्म पाहा झैं पछारे। बाँकीलाई सामन्तीको भरिया, यथास्थितिवादीको मतियार, प्रतिगमनको हतियार आदि भन्दै थचारे।
अहिले आएर घैंटामा झलल्ल घामको किरण पर्न लागेछ। उसो त धर्मलाई ‘नारकोटिक्स डिपार्टमेन्ट’ मान्ने मित्रहरूले भैंसी पूजाको चटक नदेखाएका भने हैनन्। सास धान्न सक्दा हुँदी अनेक देख्न पाइन्छ भन्थे, नभन्दै नौटंकीमा मित्रहरू कम छिप्पट देखिएनन्!
“तर, अझै एउटा कैफियत बाँकी छ”, मित्रले कुरा जोडे, “भौगोलिक एकीकरण गर्नु ठीकै भए’नि सामन्ती शासन चलाउनु बेठीक भयो।”
“पृथ्वीनारान परलोक भएको सात दशकपछि मात्र कम्युनिस्ट मेनुफेस्टो लेखिएको थियो”, मैले हल्का दिएँ, “त्यतिबेला युरोप/अमि्रकामा मनुवाहरूलाई साङ्लोले बाँधेर मण्डीमा बेच्थे।”
“आच्या, हो र भन्या?”, मित्र तनिक गुर्राए, “तर, एकीकरणकर्ता भए’नि ती गोर्खाली युद्ध पिपासु, उपनिवेशवादी र विस्तारवादी थिए!”
“नेपाल एकीकरण शुरु भइसकेपछि भारतमा भएको प्लासीको युद्ध…”
“खलासीको युद्ध! लास्टै नजोत न यार, त्यतिबेला माइक्रो/ट्याम्पु चल्थ्यो र?”, मित्रले बीचमै टोके।
“खलासीको होइन, प्लासीको युद्ध हुँदासम्म भारतमा पाँचसय भन्दा बढी देश थिए भनेको। पडोसियाहरू पराइको पराक्रमलाई समेत ‘सारे जहाँ से अच्छा’ भन्छन्, आफ्नै बर्कतको एकीकरणलाई तुच्छ देख्दा अर्कोपल्ट जनताले बाँकी रहेको एउटा कच्छा पनि थुत्लान्!”
“ज्यास्ती नझयाँक, संस्कृतिमारा र जनजाति विरोधी भएकाले गोर्खाली एकीकरण राम्रो भइकन पनि चिनी कम थियो। अब हामी च्वाँक एकीकरण अभियान थाल्छम्।”
विस्मार्कले जर्मनीकरण गर्दा यहाँ गोर्खालीकरण अभियान छेडिएको थिएन। विस्मार्कले अल्पसंख्यक पोलिसहरूलाई सिध्याउनुपर्छ भने, पृथ्वीनारानले कुनै समुदायलाई सिरीखुरी पार्नुपर्छ भनेनन्। विस्मार्क जर्मनहरूमाझ् नायक छन्, यता पृथ्वीनारानलाई खलनायक साबित गर्न लङगोट कसेर लागेका छन्। नयाँ एकीकरणको हुइयाँ त्यसैको बतासे उत्पादन होला। यस्ताले बृहत् नेपालै बनाएर देखाएछन् भने पाइन् मानम्ला।
एकीकरण ठीक भएको आत्मज्ञान मित्रको मोर्चालाई मात्र पलाउनुको कारण चाहिं पोखरीमा कंकड मारेको अरे। छालको लागत–लाभ विश्लेषणमा राष्ट्रिय अनेकता दिवस मनाउनु वाञ्छनीय देखिए माउ पार्टीको केन्द्रले तदनुरुप नै गर्ने सम्चार पनि छ। हुन त, सबै पार्टपुर्जा छारष्ट हुनलाग्या घडीमा फुँक–फुँकके कदम चाल्नु शास्त्रोचित भए पनि अक्करमा परेर दनादन ठक्कर नभेटेसम्म मित्रहरू यस्ता गोलचक्कर मारिनै रहन्छन्। विदेशी पूँजी भगाउ, बिप्पा, सेनापति, पशुपति, राष्ट्रिय स्वाधीनतादेखि अरू के–के हो के–केसम्मको फेहरिस्त लामै छ।
र पनि, राष्ट्रिय पोशाक फ्याँक्नेदेखि झण्डा फेर्नेसम्मका उटपट्याङ्गमा तुलबुलाइरहेको मण्डलीले पृथ्वी जयन्तीबारे मगजमारी थाल्नु आफैंमा राम्रो हो। देरै सही मित्रहरूको ट्युबलाइट अँधेर छिप्पिनु अगावै झिलिक्–झिलिक् गर्न थालेको छ। यो शुभ संकेतका लागि ‘पानी और जवानी’ वाले बाबाको धर्म, संस्कृति र इतिहास सम्बन्धी प्रवचनको प्रशंसा गर्नै पर्छ। तर के गर्नु, १२ वर्षमा उन्यू फुल्दा गुहुको गन्ध आउँछ, बाँस फुलेपछि मासिन्छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट