टिप्पणीबुधबार, आश्विन १, २०७१
मिसनको तागत
मलाई ७८ वर्षको यो उमेरमा पनि तपाईं संविधानसभा, पार्टी कार्यालय र अन्य कार्यक्रमहरूमा किन? अब आराम गरेर बस्ने बेला भएन र? भन्नेहरू थुप्रै हुन्छन्, तर म केही नगरी बस्नै सक्दिनँ। मैले नवौं महाधिवेशनबाट पार्टीको कार्यकारिणी समिति र कुनै पदमा बस्दिनँ भनेर स्वेच्छिक अवकाश लिए पनि राजनीतिक अवकाश लिएको हैन।
यो उमेरमा व्यस्त हुनुको मुख्यतः दुई कारण छन्। पहिलो, जीवनमा केही गर्नुपर्छ भन्ने मिसनले मानिसलाई क्रियाशील बनाउँछ। म अहिले संविधान मस्यौदा समितिमा क्रियाशील छु। बिहान ३/४ घण्टा मीटिङ, दिउँसो संविधानसभा हुन्छ। म नेपालको आर्थिक समृद्धिको मुद्दामा पनि केन्द्रित हुन चाहन्छु। ३० लाख नेपाली रहेको वैदेशिक रोजगारीलाई सरकारले व्यवस्थित गर्न सकेको छैन। वर्षेनि आउने रु.५ खर्ब रेमिट्यान्सको सदुपयोग हुनसकेको छैन।
म दोस्रो मिसन पुस्तक लेखनमा पनि लागिरहेको छु। पाँच वर्षअघि ‘जीवन यात्रा केही सम्झ्ना’ र ‘नेपालको औद्योगीकरणको समस्या’ पुस्तक लेखें। अहिले जीवन यात्राको दोस्रो भाग र ‘जनताको बहुदलीय जनवाद (जबज)को अर्थशास्त्र’ लेखिरहेको छु। यसबाहेक जेष्ठ नागरिक, अपाङ्गता, बालबालिका र सहकारीको विषयमा पनि कुरा उठाइरहेको छु। उमेरले गर्दा म सकभर बेलुकी ९/१० बजे सुत्न चाहन्छु। सुत्नुभन्दा अगाडि सधैं आधा घण्टा हिंड्छु। बिहान साढे ४ बजे उठिसकेको हुन्छु। दम, मुटुरोग, ग्यास्टिक, उच्च रक्तचाप सबैले भेटेको छ। औषधिहरू खाएपछि बिहान आधा घण्टा हिंड्छु। दैनिक सरदर तीन वटा कार्यक्रममा पुग्छु।
सरकारले ५८ वर्षमै कर्मचारीहरूलार्ई अवकाश दिने हुँदा त्यसपछिको समय निष्त्रि्कय रहनेहरू बढेका छन्। अवकाश पाएपछि हाम्रा सचिवहरूको दिन तास खेलेर बितिरहेको छ। पशुपतिनाथमा रहेको वृद्धाश्रममा सबै जना आर्यघाट जाने पालो कुरेर बसिरहेको जस्तो लाग्छ। तर, जीवन त अन्तिम समयसम्म उपयोग गर्ने चिज पो हो त। त्यसको लागि अरूले गरेर हुँदैन, आफैंले कम्मर कस्ने हो, आत्मविश्वास बढाउने हो।
मरण सबैको लागि अनिवार्य छ, तर मान्छेले आफूलाई निष्क्रिय नठान्दा मृत्युतिर ध्यान जाँदैन र कमजोर बन्दैन। आफूलाई परिवार, समाज र देशका लागि काम नलाग्ने ठानेपछि मानिसका लागि कुनै काम बाँकी रहँदैन अनि कमजोर बन्न थाल्छ। म बेला बेला रेडियोहरूमा बोल्न जान्छु, कार्यक्रमहरूमा भाषण गर्छु। मान्छेहरू ‘तपाईंको भाषण सुन्दा २० वर्ष अगाडिको भरतमोहन अधिकारीलाई सुने जस्तो लाग्यो’ भन्छन्। यो सब कुरा आत्मविश्वास र जीवनको मिसनले गरेको हो।
म सबैलाई भन्छु– जीवन अमूल्य बरदान हो, प्रत्येक दिन यसको उपयोग गर्नुस्। समाज र राष्ट्रको लागि राम्रो काम गर्नुस्। जीवनमा धेरै काम छ गर्नलाई। समाजसेवा गर्नुस्, पुस्तकालय चलाउनुस्, सिर्जनामूलक काममा लाग्नुस्, तर म काम नलाग्ने भएँ भनेर कहिल्यै नठान्नुस्। बहुमूल्य जीवनको अधिकतम सदुपयोग हुनुपर्छ।
जेष्ठ नागरिकलाई भत्ता
२०५१ मंसीरमा मनमोहनजी प्रधानमन्त्री हुनुभयो। अल्पमतको त्यो नौ महीने सरकारमा म अर्थमन्त्री भएँ। पुसको पूरक बजेटमा ‘आफ्नो गाउँ, आफैं बनाउँ’ कार्यक्रम ल्याएँ। २०५२ को बजेटमा वृद्ध–वृद्धाको लागि रु.१०० दिने नागरिक भत्ता शुरू गरें। ७० वर्ष माथिकालाई भत्ता दिने सोच आएर मैले अर्थसचिव राजविनोद भट्टराईलाई भन्दा उहाँले ‘एकदम राम्रो विचार हो, तर नेपालमा अहिले कति जेष्ठ नागरिक छन् भन्ने रेकर्ड नै नभएकाले कति रकम छुट्याउने, तोक्न गाह्रो हुन्छ’ भन्नुभयो। मैले ‘जेष्ठ नागरिक भत्ताबापत रु.२५ करोड लेख्नुस्, नपुगेको पैसा मेरो सम्पत्ति बेचेर दिन्छु’ भनेपछि त्यो कार्यक्रम आयो।
मैले नै जेष्ठ नागरिक भत्ता शुरू गरेपछि नेपालमा सामाजिक सुरक्षा अवधारणा शुरू भएकोमा मलाई गर्व लाग्छ। यसरी विधवा, अपाङ्ग र कर्णालीवासीले पनि केही रकम पाउन थाले। ललितपुरमा तीनतले घर, गाडी र डाक्टर छोराछोरी भएका आमाबाबुलाई वृद्धाश्रम लगिएछ। चाडपर्वमा घरमा झुम्मिने नातिनातिनाको लागि चकलेट किन्ने पैसा नपाएका हजुरबुबा–आमाको कथा पनि सुनें, मैले। भत्ताको सोच त्यहींबाट आएको थियो। त्यो बेला बजेट भाषण हुनुअघि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई लगेर राजालाई सुनाउने चलन थियो। सुनाउँदा राजा वीरेन्द्रले ‘७० हैन ७५ वर्ष बनाउनुस्’ भन्नुभयो। फर्केर आएपछि सोंचे– म त भर्खर मन्त्री भएको, राजा त २० वर्षदेखि सबै बुझिरहेका छन्, केही सोचेरै भनेका होलान्भनेर त्यही अनुसार गरें। त्यसरी शुरू भएको वृद्धभत्ता अहिले रु.५०० पुगिसक्यो, तर यो पर्याप्त होइन।
वृद्धा भत्ता शुरू भएको २० वर्षमा एमाले पार्टीको लागि त यो जनतासामु भोट माग्ने गतिलो मुद्दा नै बनेको छ। भत्ताको घोषणा भएपछि एमालेका कार्यक्रमहरूमा वृद्धवृद्धाको भीड लाग्न थाल्यो। पार्टी कार्यक्रमहरूमा मनमोहनजीले बूढाबूढीहरूलाई भेट्ने छुट्टै ठाउँ बनाउनुपर्ने भयो। एक पटक पाँचथरको आमसभामा लट्ठी टेक्दै आएकी ८४ वर्षकी लिम्बूनीले ‘त्यो मनमोहन बूढा कहाँ छ?’ भनेर सोधिछन्। कार्यकर्ताले अगाडि पुर्याएपछि उनले मनमोहनजीको हात समातेर ‘हामी बूढाखाडालाई भत्ता दिने बूढालाई भेट्न पाएँ’ भन्दै खुशी व्यक्त गरिछन्। कम्युनिष्टले बूढाबूढी मार्छन्, मन्दिर भत्काउँछन् भन्ने कुप्रचारलाई यसले तोडिदियो। म पनि यसै वर्षदेखि आफ्नो भत्ता लिने तयारीमा छु र यस्तो राम्रो कामको सुरुआत गर्ने श्रेय पाएकोमा इतिहास कायम गरेको गर्व गर्छु।
अब हरेक मन्त्रालय र सरकारी कार्यालयहरुमा जेष्ठ नागरिकका लागि छुट्टै डेस्क बनाउनुपर्छ। आज २६ लाख जेष्ठ नागरिक छन्, १५ वर्षपछि यो संख्या दोब्बर हुन्छ। संयुक्त राष्ट्रसंघले १ अक्टुबरलाई जेष्ठ नागरिक दिवसका रूपमा मनाउन थालेको छ। हाम्रो योजना आयोगले पनि यस्ता कार्यक्रमहरू ल्याउनु पर्यो। कानूनमा भएको यातायातमा ५० प्रतिशत सुविधा लागू भएको छैन। स्वास्थ्यमा अस्पताल सुविधा छैन।
राज्यको उपेक्षा
वृद्धवृद्धालाई परिवार, समाज र राज्यले उपेक्षा गरेकै हो। हाम्रो बोलीचालीको भाषाले छोराहरूमा अंशबण्डा हुँदा ‘आमालाई कसले पाल्ने? बाबुलाई कसले हेर्ने?’ भन्छ, ‘सेवा गर्ने’ भन्दैन। गाईवस्तु पालेको जस्तो व्यवहार गरिन्छ। बाबुआमा नपाल्ने छोरालाई समात्ने कानून छैन, छोरालाई अंश दिएन भने कानून लाग्छ। तर विस्तारै परिवर्तन भइरहेको छ। जसले जन्मायो, हुर्कायो, सम्पन्न बनायो उसैलाई हेलाँ गर्ने कुसंस्कार हटाउनै पर्छ।
राज्य र समाजले त वृद्धवृद्धाहरूको क्षमता र अनुभवबाट लाभ लिने हो। हामीले दुर्ई वर्षअघि राष्ट्रिय जेष्ठ नागरिक महोत्सव गर्दा ७०० वृद्ध–वृद्धा भेला भएका थिए। त्यो बेला थाहा भयो, ९०/१०० वर्ष बाँच्नेहरू पनि धेरै रहेछन्। अब सरकारले वर्षको एक दिन जेष्ठ नागरिक दिवस मनाउने व्यवस्था गर्नुपर्छ। त्यो १ अक्टोबर हुन सक्छ। त्यसलाई बुबाआमालाई माया गर्ने दिवस बनाउँ। त्यसो गर्दा बुबा–आमालाई सम्मान महसूस हुन्छ र केही गर्नुपर्छ भन्ने भावना आउँछ।
साप्ताहिक खबरपत्रिका हिमालबाट