टिप्पणीशुक्रबार, आश्विन ३, २०७१

पाठेघरको क्यान्सर

डा. सुमनराज ताम्राकार

पाठेघरको क्यान्सरसामान्य अवस्थामा शरीरमा कोषहरू बन्ने र निश्चित समयपछि आफैं नष्ट भइरहेको हुन्छ। कुनै कारण यो प्रक्रिया रोकियो भने अनियन्त्रित रूपमा कोष विभाजन भएर ट्युमर (क्यान्सर) हुन्छ। ट्युमरमा रक्त प्रभाव नहुने भएकोले अङ्ग विशेषले निश्चित आकार ग्रहण गर्न नसक्ने, कुहिने, वरिपरिको भागमा ट्युमर फैलिने र बाहय सतह छेडिने हुन्छ।

कतिपय ट्युमरले अनावश्यक रूपमा रासायनिक पदार्थ उत्पादन गरी थप जटिलता निम्त्याउँछ। कोष बन्ने, नष्ट हुने र डीएनए निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वंशाणु (जीन) मा खलल पुग्यो भने कोष निर्माण प्रक्रिया अनियन्त्रित भएर क्यान्सर हुन्छ। यसरी क्यान्सर हुने गरी जीनमा असर पुर्‍याउने तत्वलाई अन्को जीन भनिन्छ। कतिपय रेट्रोभाइरसहरूमा यस्तो अन्को जीन हुन्छ।

कारण, लक्षण र उपचार

महिलाहरूमा सबभन्दा बढी स्तन र त्यसपछि पाठेघरको मुखमा क्यान्सर हुन्छ। नेपालमा वर्षेनि कति महिलालाई पाठेघरको मुखमा क्यान्सर हुन्छ र कतिको मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क छैन। विश्वमा हरेक वर्ष पाँच लाख महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ। तीमध्ये दुई लाखको मृत्यु हुने गरेको तथ्याङ्क छ। साधारणतया यो रोग ४० वर्षपछि देखापर्ने भए पनि नेपाल लगायतका अविकसित देशहरूमा ३० वर्षभन्दा कम उमेरका महिलाहरूमा समेत यो रोग पाइने गरेको छ।

हयुमेन पापिलोमा भाइरस (एचपीभी) पाठेघरको मुखको क्यान्सरको मुख्य कारक हो। साधारण किसिमको मानिने यो भाइरस यौनकार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एक पटक संक्रमित हुने मानिन्छ। एचपीभी धेरै प्रकारको भए पनि १३ किसिमको भाइरसले मात्र पाठेघरको मुखको क्यान्सर निम्त्याउँछ। एशियामा एचपीभी १६ र १८ को संक्रमणले ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर भएको पाइएको छ। एचपीभी शारीरिक सम्पर्कको क्रममा छालाबाट छालामा फैलिन्छ। यो जीवाणुले गर्भाशयको मुखको कोषिकाको एचभीपी प्रोटिनसँग रासायनिक प्रक्रिया गरेर कोषिकाहरूमा परिवर्तन ल्याउँछ, जुन वर्षौंपछि क्यान्सरमा परिणत हुन्छ।

पाठेघरको क्यान्सरकम उमेरको यौन सम्पर्क, कम उमेरमा गर्भधारण, एक भन्दा बढीसँग यौनसम्पर्क राख्नु, उचित सरसफाइको अभाव, सूर्तीजन्य पदार्थ सेवन र गुप्ताङ्ग सम्बन्धी अन्य खाले दीर्घरोगी भएका महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने जोखिम बढी हुन्छ। यद्यपि, यसको मुख्य कारक भने एचपीभी नै हुन्छ।

महीनावारी रोकिइसकेका महिलामा फेरि रगत वा रगत मिसिएको योनीस्राव देखिनु, यौनसम्पर्कपश्चात् रगत आउनु र यौनाङ्गबाट असामान्य प्रकारको गन्हाउने स्राव निस्कनु पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छ। यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न, तर दुख्न थाल्दा क्यान्सर फैलिसकेको हुन्छ। यो रोग निकै फैलिसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि लक्षण देखिन्छ।

पाठेघरको मुखको क्यान्सर केही मिनेटमै पत्ता लगाउन सकिन्छ। यो परीक्षणमा न बेहोस् गराउनुपर्छ न त पीडा नै हुन्छ। यस्तो जाँच प्याप स्मियर, एसिटिक एसिड वा ल्युगोल आयोडिनको प्रयोगबाट गरिन्छ। पाठेघरको मुखको क्यान्सर अन्यत्र फैलिएको छ/छैन थाहा पाउन अल्ट्रासाउण्ड, सीटी स्क्यान, आईभीयू वा एक्सरे गराउनुपर्छ। २५ वर्ष कटेकी विवाहित महिलाले वर्षेनि प्याप स्मियर परीक्षण गराउनु बुद्धिमानी हुन्छ।

पाठेघरको मुखको क्यान्सर शुरूको अवस्थामा पत्ता लागे शतप्रतिशत निको पार्न सकिन्छ– मुखसहित पाठेघर निकाल्ने शल्यक्रियाबाट। रोग फैलिसकेको अवस्थामा भने रेडियोथेरापी वा केमोथेरापी (विशेष औषधि) गरिन्छ। एचपीभी संक्रमणको खासै उपचार नभए पनि भ्याक्सिन लगाउन सकिन्छ। सन् २००६ देखि प्रचलनमा आएको यो भ्याक्सिनले एचपीभी ६, ११, १६ र १८ विरुद्ध लड्ने क्षमता दिन्छ। ६ महीनाभित्र तीन पटक लिनुपर्ने यो खोप साधारणतया ११–१२ वर्षका किशोरीहरूका लागि सिफारिश गरिएको छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...