अन्तर्वार्ता/विचारशुक्रबार, आश्विन ३, २०७१

‘सभासदलाई नेल हत्कडी लगाउन मिलेन’

हिमालखबर

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग गरिएको कुराकानीः

‘सभासदलाई नेल हत्कडी लगाउन मिलेन’सभासद्हरूलाई विदेश नजान किन निर्देशन दिनुभएको हो?

संविधानसभाका प्रत्येक सदस्यको मूल जिम्मेवारी संविधान निर्माण हो। उहाँहरूले आफैंले तयार पार्नुभएको कार्यतालिका अनुसार संविधान जारी गर्न सकियोस् भनेर निर्देशन दिएको हुँ। विदेश मात्रै होइन जिल्ला पनि नजान भनेको छु। संविधानको मस्यौदा तयार भएपछि सुझाव संकलन गर्न मात्रै जिल्ला जानुपर्छ।

शीर्ष नेताहरूबीच सहमति निर्माण नहुँदा सभासद्हरू फुर्सदिला भएका हुन्?

संविधान निर्माण प्रक्रियामा हरेक सभासद्को पलपलमा आवश्यकता पर्छ। सभासद्हरूले आफ्नो र पार्टीको प्रतिनिधित्व गरेर धारणा राख्नु पर्छ। राजनीतिक संवाद तथा सहमति समिति र मस्यौदा समितिको काम जोडतोडले चलिरहेको छ। विभिन्न उपसमितिमा बसेर काम गर्नुपर्ने हुन्छ। मूल बैठकमा पनि उपस्थिति अनिवार्य छ।

बैठकमा नआउने र निर्देशन अटेर गर्नेलाई कारबाही किन नगरेको?

के कारबाही गर्ने? यो नैतिकताको प्रश्न हो र नैतिकता नै सबैभन्दा ठूलो कुरा हो। जनप्रतिनिधि आफैंले बनाएको नियम तोड्दै हिंड्छ भने कारबाहीको डण्डा घुमाउँदैमा केही होला जस्तो लाग्दैन।

जे गरे गर्दा पनि अध्यक्ष चूप लागेरै बस्न मिल्छ त?

के राम्रो के नराम्रो भन्ने थाहा भएकै मान्छे संसद्मा पुग्छन् भन्ने आम मान्यता छ। देश हाँक्ने मान्छेका लागि मूल काम छाडेर विदेश नजानुस् भन्ने कुरा नै पर्याप्त हो। यही कुरा नै नेल हत्कडी भन्दा कडा छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>