रमझमबिहीबार, आश्विन १८, २०६९
फुजेलदेखि ताक्लाकोटसम्म
पत्रकार तथा वृत्तचित्र निर्देशक मोहन मैनालीले रिपोर्टिङ र छायाङ्कनको क्रममा भेटेका मानिस, देखेका ठाउँ र गरेका अनुभवहरूको संश्लेषणबाट आएको पुस्तक उपल्लो थलो को कथा कविवर माधव घिमिरेको ‘मालती मङ्गले’ गीति नाटक जस्तै गोरखाको फुजेल गाउँबाट शुरू हुन्छ। किताबले चैतको उखरमाउलो गर्मीमा घैयाले पहेंलपुर फुजेल छिचोल्दै तिब्बतको मानसरोवरसम्मको साहसिक यात्रा गराउँछ। २०५१–२०५९ सालबीचमा मैनालीले गरेको यात्राबाट सिर्जित किताबले बूढीगण्डकी र महाकाली किनारका जनजीवन समेटेको छ, त्यस भेकको कथा–व्यथा केलाएको छ।
२०५१ को मध्यावधि निर्वाचनबाट ८८ सीट जितेको एमालेका अध्यक्ष मनमोहन अधिकारी मुलुककै पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्दा दलित समुदायमा छाएको उत्साह हेर्दाहेर्दै निराशामा परिणत भएको प्रसङ्गलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ, पुस्तकमा। कैलालीवासीले खेपेको कहर कहन लेखकले कर्रा खोलामा फँसेको गाडीको बयान गरेका छन्। महाकाली नदी पूर्वको वनबासास्थित भारतीय भन्सार कार्यालयमा घुस नदिन हाकिमलाई कथा हाल्नुपरेको घटनाले तीतो यथार्थलाई मीठो तरिकाले पस्केको छ ।
खुट्टा अडिने गोरेटो नहुँदा भीरबाट लडेर अकालमै मर्नु परेको, भात पकाउने पानी नहुँदा नानीहरूले समेत भुटेको मकैले छाक टार्नु परेको, शिक्षकहरूले नपढाएरै तलब हजम गरेको जस्ता विषयलाई मैनालीको वर्णनशिल्पले अविस्मरणीय बनाएका छन्। तर, व्यथै–व्यथाको संग्रह भने होइन, उपल्लो थलो। यसमा दलबहादुर कुमालले उखु खेतीबाट मनग्ये आम्दानी गरेका छन्। सिप्चेतवासी बाटो खन्न जुटेका छन्। रानागाउँमा जाँडरक्सी कटौती अभियान चलेको छ।
पुस्तक पढ्न थालेपछि छोड्न मन लाग्दैन, यसको रोचक प्रस्तुति र औसतमा हरेक पाँचौं पेजमा आउने नयाँ पाठका कारणले। पचभैया, करु, जगत, अभिषेक आदित्यादि नयाँ शब्दहरूको अर्थ पढ्दापढ्दै खुल्दै जान्छ। लेखककै भनाइमा, यसमा दैनिक रिपोर्टिङ र साहित्यबीचको यस्तो ठिमाहा विधाको उपयोग भएको छ, जसमा न काल्पनिक कुराको गन्ध आउँछ न त समाचार लेखनको टर्रोपना नै। उपल्लो थलो सबैका लागि पठनीय र पत्रकारहरूका लागि विशेष उपयोगी छ।
सन्त गाहा मगर