Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सार्क सम्मेलनः स्वरुप फेर्ने अवसर - Himalkhabar.com

रिपोर्टमंगलबार, आश्विन ७, २०७१

सार्क सम्मेलनः स्वरुप फेर्ने अवसर

हिमालखबर

रमेश कुमार

१०–११ मंसीरमा काठमाडौंमा हुने दक्षिणएशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनअघि भौतिक पूर्वाधार निर्माण, मर्मतसम्भार र सरसफाइको काम गर्न सरकारी निकायलाई भ्याई–नभ्याई छ। सार्क मुलुकका राष्ट्रप्रमुखहरूलाई स्वागत गर्न काठमाडौं उपत्यकाका केही मुख्य सडकहरूलाई नयाँ स्वरुप दिइनेछ भने नयाँ पार्क निर्माण, सडक बत्तीको व्यवस्था, वृक्षरोपण, भवन र संरचनाहरूको पुनर्निर्माण हुँदैछन् । सार्क सम्मेलन आयोजना हुने साढे चार दशक पुरानो राष्ट्रिय सभागृह भवनले पनि यही मौकामा काँचुली फेर्दैछ। प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदी यो अवसरलाई सरकारले ‘सुन्दर काठमाडौं निर्माण’ मा उपयोग गर्न चाहेको बताउँछन्।

सार्क सम्मेलनः स्वरुप फेर्ने अवसरसडक मर्मतसम्भार, वृक्षरोपण, सरसफाइ, रंगरोगन, सिंगारपटारमा सडक विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिका लागेका छन्। रु.६८ करोड ७० लाख खर्च लाग्ने अनुमान गरिएको यो सार्क सम्मेलनमा राष्ट्रिय सभागृहलाई मर्मतसम्भार गर्न र सजाउन भवन निर्माण तथा सम्भार डिभिजन कार्यालय लागेको छ। शहरी विकास विभाग अन्तर्गतको यो कार्यालयले सभागृहमा करीब रु.२० करोड खर्च हुने अनुमान गरेको छ।

पूर्वाधार प्रयास

चीन सरकारको सहयोगमा २०२७ सालमा निर्माण भएको सभागृहको भित्री र बाहिरी सजावटलाई प्राथमिकतामा राखिएको छ। भित्रका पुराना कुर्सी हटाएर नयाँ कुर्सी राखिंदैछ भने एयरकन्डिसन फेर्ने र नयाँ शौचालय निर्माणको काम गरिंदैछ। सभागृहको पूर्वपट्टि नयाँ ‘होल्डिङ रुम’ अर्थात् अतिथिहरूको विश्राम कक्ष बन्दै गरेको भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयका इन्जिनीयर कृष्ण अधिकारी बताउँछन्।

६७६ जना अट्ने हललाई पुनर्संरचना गरेर ४४० जना अटाउने गरिको ‘कम्फर्टेबल’ बनाउन लागिएको र हलको मञ्चमा आठ राष्ट्रका प्रमुखहरू बस्ने व्यवस्था मिलाइने उनको भनाइ छ। हलमा सार्क राष्ट्रका राष्ट्रप्रमुखका परिवार, मन्त्री र सचिवहरूका लागि पनि बस्ने छुट्टै ठाउँ बनाउन लागिएको उनी बताउँछन्। सभागृह परिसरबाहेक अतिथिहरूको सवारी पार्किङका लागि नेपाल प्रहरी क्लब, भृकुटीमण्डप लगायतका स्थान प्रयोग गरिने छन्। सिंहदरबारभित्रको ग्यालरी बैठकले पनि यही मौकामा सिंगारिने अवसर पाउँदैछ। भोजको आयोजना तथा अन्य बैठकका लागि यसलाई प्रयोग गरिन लागिएको प्रधानमन्त्री कार्यालयका सचिव सुवेदी बताउँछन्।

यो अवसरमा त्रिभुवन विमानस्थलदेखि सिंहदरबार, राष्ट्रप्रमुखहरू बस्ने होटल, राष्ट्रपति भवन जस्ता ठाउँका बाटो मर्मतसम्भार गरिंदैछ। पुतलीसडक, बानेश्वर, महाराजगञ्ज, रत्नपार्क, कमलपोखरी, मैतिदेवी, सिनामंगल, नक्साल लगायतका ठाउँ यिनमा पर्छन्। काठमाडौंका करीब ८० किलोमीटर सडकको खाल्डाखुल्डी पुर्ने, सम्याउने र थप कालोपत्रे गरेर सडक चिल्लो पार्ने काम गरिनेछ। ती सडकको छेउमा वृक्षरोपण गरिनेछ भने सडकपेटी मर्मत र फ्ल्याग पोल (झण्डा स्तम्भ) निर्माण र रंगरोगन पनि हुनेछ।

लाजिम्पाट–नारायणगोपाल चोक, राष्ट्रपति भवन–डिल्लीबजार–सिंहदरबार, जयनेपाल–कमलपोखरी–गौशालाको सडकमा सिंगारपटार गर्ने जिम्मा काठमाडौं उपत्यका विकास प्राधिकरणले पाएको छ। प्राधिकरणले नारायणचौर नक्साल र कमलपोखरीमा अत्याधुनिक पार्क निर्माण गर्दैछ। सम्मेलनको बेला सडक पानीले पखाल्ने तथा सफा नभएमा भ्याकुम लगाएर धूलो सफा गर्ने पनि तयारी छ।

महानगरपालिकासँग अहिले सडक पखाल्ने चार वटा गाडी छन्। सडकको धूलो सफा गर्ने रोड स्वीपर दुई वटा रहेकोमा महानगरपालिकाले थप एक रोड स्वीपर र चार वटा फोहोर सफा गर्ने गाडी खरीद गर्दैछ। सडकको डिभाइडर, जेब्राक्रसिङ लगायत सडक चिह्नको पुनर्लेखन, सडकका भित्ता, सडकमा पर्ने पुल र रेलिङलाई रंगरोगन पनि गरिंदैछ। महानगरपालिकालाई रंगरोगन गर्न राष्ट्रिय वाणिज्य ब्याङ्क, बीमा संस्थान र बर्जर पेन्ट्सले सहयोग गर्दैछन्। विद्युत् प्राधिकरणसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले सडकमा दर्जनौं स्थानमा सोलार बत्ती जडान गर्दैछ। महानगरपालिकाले सडकमा ६१२ वटा फ्ल्याग पोल पनि राख्दैछ। पोलमा सार्क राष्ट्रका झ्ण्डा सहित लोगो रहनेछन्। सम्मेलनका लागि सिंहदरबारभित्रका सडक पनि फराकिलो पारिंदैछ।

सम्मेलनका लागि रानीपोखरीमा आकर्षक पानीको फोहोरा निर्माण गर्ने योजना रहेकोमा पुनः बोलपत्र गर्नुपरेकाले त्यो अन्योलमा छ। खुलामञ्चमा वृक्षरोपण गर्ने, चौरमा आकर्षक घाँस रोप्ने, रत्नपार्कलाई सिंगार्ने कामका लागि सम्झ्ौता प्रक्रिया शुरू भइसकेको महानगरपालिका वातावरण विभाग प्रमुख तथा सार्क सम्मेलन तयारी समितिका सदस्य सचिव रविनमान श्रेष्ठ बताउँछन्। उनका अनुसार, त्रिपुरेश्वरदेखि सोल्टीमोड, बानेश्वर लगायतका स्थानमा सडक वरिपरि करीब ६ फीट अग्ला ७०० बिरुवा रोपिनेछन्। त्यसका लागि ४७० वटा ट्री गार्ड राखिने तथा सडकछेउमा ५०० वटा गमलामा मौसमी फूल राखिने छन्।

भद्रकाली, घण्टाघर, रानीपोखरी, शहीदगेट लगायतका स्थानमा सरसफाई र रंगरोगन गर्न बोलपत्र आह्वान भइसकेको छ भने सुन्धारा, तीनकुने, जमलमा पार्क निर्माण गर्ने योजना छ। तर, तीनकुनेमा स्थानीय अवरोध रहेकाले पार्क निर्माण हुनेमा आशंका छ। यी कामका लागि महानगरपालिका मार्फत रु.१८ करोड खर्च गर्न लागिएको छ। सन् २००२ मा सार्क सम्मेलन हुँदा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले मर्मत सुधार र सजावटको मौका पाएको थियो।

शहरी विकासका जानकार पूर्व सचिव किशोर थापा विदेशी पाहुनाहरूलाई देशको प्रगति, सभ्यता, परम्परा र समाज देखाउने यो मौकालाई प्रयोग गर्नुपर्ने बताउँछन्। अहिले बनेका र बन्ने संरचनालाई राम्रो राख्न सके काठमाडौंको अव्यवस्थित मुहार फेरिने उनको विश्वास छ। काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारी पनि सार्क सम्मेलनको अवसरलाई शहरको कुरुपता हटाएर सुन्दर बनाउन प्रयोग गरिने बताउँछन्। प्राधिकरणले कमलपोखरी, नारायणचौरमा सार्क सम्मेलनअघि बगैंचा बनाउन नभ्याए पनि बनाइरहने बताएको छ। प्राधिकरणले यो अवधिमा सडक विस्तार गर्न नयाँ घर र संरचना भत्काउनुभन्दा भत्काएका संरचनाको निर्माणलाई प्राथमिकता दिने बताएको छ।

संसारभरि नै विशेष सम्मेलन, कार्यक्रम वा खेल आयोजनालाई शहरको अनुहार फेर्न प्रयोग गर्ने चलन छ। सन् २०१० मा भारतमा राष्ट्रमण्डल खेलका लागि भारु १ खर्ब १५ अर्ब बराबरको संरचना र पूर्वाधार निर्माण गरिएको अनुमान छ। दिल्लीमा त्यही बेला चार लेनको फ्लाई वे, दिल्ली मेट्रो, विभिन्न सडक र पूर्वाधार निर्माण भएका थिए। तर, नेपाल जस्तो स्रोत सीमित भएको देशले पूर्वाधारमा धेरै खर्च गर्न नसक्ने शहरी विकासका जानकार पूर्व सचिव किशोर थापा बताउँछन्। यस्तो बेला पूर्वाधारलाई चिटिक्क पारेर आकर्षक बनाउन र शहर सरसफाइ गर्न लाग्नुपर्ने उनको भनाइ छ।

सम्मेलनमा आउने पाहुनालाई सोल्टी, हयात, याक एण्ड यती सहितका होटलमा राखिनेछ भने उनीहरूका लागि बुलेटप्रूफ गाडी विदेशबाट भाडामा ल्याउने तयारी गरिएको छ।

छलफलका विषय

सार्क शिखर सम्मेलन (मंसीर १०–११) को अंगस्वरुप ७–८ मंसीरमा विदेश सचिवस्तरीय र ९ गते विदेश मन्त्रीस्तरीय बैठक हुनेछ भने ६ मंसीरमा सार्क देशका सहसचिव स्तरीय प्रोग्रामिङ कमिटीको बैठक हुनेछ। सम्मेलनको निम्तो दिन परराष्ट्रमन्त्री महेन्द्र पाण्डे सदस्य राष्ट्रहरूको भ्रमणमा निस्किइसकेका छन्। यता, मन्त्रालयले सम्मेलनमा छलफल गरिने अजेण्डाहरूको तयारी गरिरहेको छ।

सम्मेलनमा नेपालको तर्फबाट गरिने प्रस्तुतिका लागि परराष्ट्रले विभिन्न मन्त्रालयसँग सेक्टरल छलफल गरिरहेको प्रधानमन्त्री कार्यालयका सचिव सुवेदीले बताए। परराष्ट्र मन्त्रालयले सदस्य राष्ट्रहरूसँग छलफल गरेर अजेण्डा, प्रस्तुतिहरूको टुंगो लगाउने तयारी भइरहेको परराष्ट्रका कायममुकायम सचिव शंकर वैरागी बताउँछन्। उनका अनुसार, सदस्य राष्ट्रहरूसँग छलफल गरेर परराष्ट्रले ‘डिपर इन्टिग्रेसन फर पिस एण्ड प्रोस्पिरिटी’ भन्ने आयोजनाको थिम तयार पारेको छ। छलफलका प्राथमिकताको विषयमा टुंगो नलागे पनि ऊर्जा, वाणिज्य, वातावरण, गरीबी निवारण, सुरक्षा, आपसी कनेक्टिभिटी जस्ता विषय प्राथमिकतामा पर्न सक्ने उनको भनाइ छ।

परराष्ट्र मामिलाका जानकार निश्चलनाथ पाण्डे सार्क सम्मेलनको अवसरलाई सदुपयोग गर्न सक्दा नेपालको हित हुने बताउँछन्। सार्क सदस्यमध्ये नेपाल नै सबैका लागि मान्य र सजिलो सम्पर्क भए अनुसार अवसर प्रयोग गर्नुपर्ने उनको भनाइ छ। यो पटक सार्कको महासचिवमा नेपालका अर्जुनबहादुर थापा छन् भने सार्कको सचिवालय पनि नेपालमै छ। आयोजक राष्ट्र भएकाले सम्मेलनमा आफू अनुकूलका अजेण्डालाई छलफलमा प्रवेश गराउने सुविधा पनि यो पटक नेपाललाई रहेको विज्ञहरूको भनाइ छ। सार्क सम्मेलनमा आउने सदस्य राष्ट्रका प्रमुखहरूसँग प्रत्यक्ष द्विपक्षीय र बहुपक्षीय छलफल गरेर त्यसो गर्न सकिने पाण्डे बताउँछन्।

यस्तो अवस्था भए पनि सार्क सम्मेलनले सम्बन्ध पुनर्ताजगी गर्ने बाहेक घोषणापत्रहरू पनि कार्यान्वयन गर्न नसकेको उदाहरण छ। पाण्डे पनि प्रतिबद्धताहरू सदस्य देशहरूले बिर्सिने गरेको बताउँछन्। सार्कको सचिवालयमा सदस्य देशहरूले उपसचिव, सहसचिव पठाउने र ठोस काम भन्दा ब्युरोक्र्याटिक जमघट मात्र गर्ने प्रवृत्ति देखाएको पनि उनको भनाइ छ। “कार्यान्वयनको संयन्त्र नभएको मात्र होइन, सचिवालयको हैसियत नै दयालाग्दो छ”, पाण्डे भन्छन्।

यो सम्मेलन मार्फत भने प्रतिबद्धता र सहमतिहरू कार्यान्वयनका लागि बलियो संयन्त्रको व्यवस्था, सचिवालयलाई शक्तिशाली बनाउने, सार्कलाई जीवन्त बनाउन यसका विभिन्न अंगलाई चलायमान बनाउनुपर्ने एवं पूर्व महासचिवहरूबीच उपलब्धिहरूका बारेमा ठोस छलफल गर्ने संयन्त्र बनाउन ध्यान दिनुपर्ने उनको सुझाव छ। नेपालमा यसअघि सन् १९८७ (तेस्रो) र २००२ (एघारौं) सार्क शिखर सम्मेलन भएका थिए।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>