ब्लगमंगलबार, आश्विन ७, २०७१
तनाव नाशको सुझाव
घरमा बिजुली देखिन्न, धारामा पानी भेटिन्न। यो तनावका बीच हामी संविधान बनाउने र च्यात्ने धन्दामा डिउटी कसेर लागेका छौं। तर, साँढे तनाव दूर हुनु त परै जाओस्, गिनिज बुकले हाम्रो नाम कतै संविधान टोकुवा मुलुकमा दर्ज गरिदिने हो कि भन्ने तनाव थपुवा भएको छ।
नाङ्लेश्वर ठटाएर हात्ती खेदे झैं सुशासन मन्त्र फुकेर जनताको तनाव छुमन्तर पार्ने वाचासहित वाचालहरू दनदनाएर सत्ता सुन्दरी समात्छन्, तर ‘सु’लाई ‘कू’ ले प्रतिस्थापन गरेको भाउँटो आइलागे’सी एक अक्षरको फेरोमा मान्यवरहरू डुङडुङ्ती गन्हाएर कर्मचारीलाई धारे हात लाउँदै बाहिरिन्छन्। लुच्चाले लुच्याइँ गरुन् वा छुच्चाले छुच्याइँ, जसले जे गरे’नि कर्मचारीकै टाउकाँ ट्वाक!
सुशासनको रोडा हटाउन यसपालि भने सरकारले बरा कर्मचारीहरूलाई तनाव व्यवस्थापन तालीम दिने भएछ। वरिष्ठका मुखिन्जेल गड्यौला माफिक घस्रने र कनिष्ठका अघिल्तिर ‘श्री ३ महाराज’ पल्टिनेहरूले तनाव भगाउने कस्तो तालीम सिफारिश गर्लान् भन्ने उत्सुकता मेट्न मन्त्रालयका बडाहाकिमसँग सोधें, “घरमा श्रीमतीले भकुरेको भडास निकाल्न हाकिमले झ्पार्दा उत्पन्न तनावलाई कसरी ठेगान लाउने?”
“ङिच्च दाँत देखाएर बस्ने, लाफ्टर इज द बेस्ट मेडिसिन!” उनले रामवाण बताए। “त्यो ओखतीको म्याद गुजि्रसक्यो भन्नुस्। ङिच्च गर्दै बत्तीसी देखायो, हाकिम झ्न् चर्केर खिच्चो झैं भुक्छन्।”
“चुत्थो मुख लाग्नु भन्दा ढिठ भई मुस्कान सहितको सेवामा डट्ने। खिच्चो भन्दा खिच्चो हाकिमको मुख पनि कुनै न कुनै दिन थाक्दछ!”
“ओके। अनि उपियाँ झैं कनिष्ठ फड्किंदा आफू भ्यागुताको मीता भई एउटै पदको भुईंमा थच्चिनु पर्दाको टेन्सन चाहि क्यारी धपाउने?”
“मरिलानु के छ र? ‘रीस खा आफू, बुद्धि खा अरू’ भन्छन्, अँठ्याएरै बस्नु बेस!”
सामान्य प्रशासन मन्त्रालयले सामान्य कर्मचारी कणका लागि तनाव व्यवस्थापनको बोक्रे तरकिव सुझ्ाए पनि हामी जस्ता उत्पाते कर्मचारी गणको तिर्ताले समस्याको भेट्नो छाम्न सकेजस्तो लाग्दैन। महँगीले हिमालचुली नाघिरहेको बेला शिवालिक पर्वतको फेदीतिर हिकिर–हिकिर घसि्ररहेको तलबले दशैं कसरी मान्ने भन्ने सवालमा धार्मिक भावले व्रत, उपवास आदि बस्ने जुक्ति फुराइएला। आफू त कर्मचारी मान्छे, साधु परिएन! लागेको बानी कसरी छाड्नू? खाम् भने अख्तियारको शिकार, नखाम् भने महँगीले हाहाकार! यस्तो दोधारे तनाव व्यवस्थापन गर्न पनि सिकाइयोस्।
हाकिम नरिझ्ाई टिक्न खान दिन्नन्। कृपादृष्टि पाउन हाकिमको गोडा मोलें, बजार जाँदा हाकिम्नीको झोला बोकें। हाकिम्नी परिछन् सर्वमङ्गला! हाकिमभन्दा पहिला उनी पो रिझिइन्। मौका पाएसम्म म पनि ‘सर्वहिताय’ गरी पुण्य लुँड्याउन किन खुट्टी कमाउँथे? तर, हामी दुई मंगलको मेलजोलले महामंगल हुने बेलामा हाकिम सा’बले राहु–केतु बनेर दुर्गम धपाए। यस्तो दोहोरो तनाव एकसाथ सहनुपर्दा के पो गर्ने होला?
कामको बोझ्ले तनाव हुने बुझाइ बेठीक नभए’नि विदेशीको नक्कल गर्दै विना अक्कल एक महीना डुलन्ते विदा दिने बेसारे नुस्खा अजमाउने गल्ती नहोस्। खल्तीमा लक्कु हुनेहरू डुलेर/घुमेर मूड फ्रेस पार्न देशाटन मात्र नभई विदेशाटन पनि गर्छन्, हामी जस्ता खल्ती खलाँसहरूले घरबूढीसँग दन्तबझान् गर्दै करेसा पर्यटनमा दिन कटनी गर्नुपर्यो भने कुन दशा होला? कामको सिलसिलामा लामो समय घरवालीसँग विछोडिनु पर्दा तनाव हुने कुरा मनासिवै हो, तर डाम्या साँढे झैं मैमत्त भई चरन चर्दा भेट भएका बाहरवालीको वियोगमा उत्पन्न भइरहने तुफानी तनाव तुर्ने मन्त्र पनि ‘सिलेबस’ मा नछुटोस्।
जुलूम कुरो त यो छ कि नैतिकताको तालीम पनि सँगसँगै दिने रे! दूरबिन लाएर खोज्दा पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी भेट्न नसक्या बेला त्यस्तो गुणी तालीमे गुरु चाहिं कुन लोकबाट ल्याउने रहेछन्? उसो त सिला खोजेको दश थान उत्कृष्ट कर्मचारीमध्येबाटै एक जना सर्वोत्कृष्ट हुनुपर्ने। अर्को चर्को कुरा, सर्वोत्कृष्ट बन्न नसक्ने निम्छरा उत्कृष्टहरूको लहरमा हाम्लाई पनि उभ्याइद्या’भे कसका पिताजीको के लछारिन्थ्यो?
तनाव भगाउ अभियान सकारात्मक भए’नि ‘अछेतापाती धामीलाई, बेथा जति हामीलाई’ थोपरेर तनावको माखो नमर्ने पक्षमा ध्यान जाओस्। मन्त्रालयले एक होइन, भाँतीभाँतीका तनाव दूर गर्न भलिभाँती तालीम चलाओस्, देशमा सुशासनको भल छुटोस्!
साप्ताहिक खबरपत्रिका हिमालबाट