रमझमशुक्रबार, आश्विन १०, २०७१

आयो गोपालय

हिमालखबर

सरला गौतम

आयो गोपालयसन् ६० देखि ९० को दशकबीचको समयलाई नेपाली सुगम संगीतको स्वर्णिम युग बनाउनमा मीतज्यूहरू गोपालयोञ्जन र नारायणगोपालको अतुलनीय योगदान छ। त्यो समयका यी दुई अविभाज्य साधकमध्ये नारायणगोपाल स्वरका सम्राट थिए भने योञ्जन शब्द, संगीत र स्वरका त्रिवेणी। स्वतन्त्रता, स्वाभिमान र प्रणय योञ्जनको गीतका मूल भावहरू हुन्।

ती महान् संगीतकर्मीको सम्झनालाई ताजा बनाउने गीतहरूको सँगालो गोपालय आउनु नेपाली गीत–संगीत प्रेमीहरूका लागि खुशीको कुरा भएको छ। अल्बममा समेटिएका ‘आज मेरो मनको तार’, ‘जीवनको हरेक मोडमा’, ‘वनकी चरी’ बोलका गीतदेखि कृष्ण भजनसम्मले योञ्जन कति भर्साटाइल थिए भन्ने देखाउँछ।

अल्बमका २० गीतमध्ये नौ वटा पहिले कतिपय समारोहमा गाइए पनि रेकर्ड भएका थिएनन्। योञ्जनका हराएर जान सक्ने सिर्जनाहरूलाई नयाँ ‘फ्लेवर’ मा रेकर्ड गर्नु आफैंमा सराहनीय काम हो। पहिल्यै रेकर्ड भएर आजसम्मै रुचाइएका कतिपय गीतहरूलाई पनि रि–रेकर्ड गरिएको गोपालय की प्रस्तुतकर्ता रिन्छेन योन्जनको भनाइ छ। रेडियो नेपाल लगायतका संस्थाहरूले योञ्जनका सिर्जना संरक्षणमा ध्यान नदिएका कारण रि–रेकर्ड गर्नु परेको उनी बताउँछिन्।

रि–रेकर्डको विवाद

आयो गोपालयलोकले रुचाएको स्रष्टाहरूको सिर्जनाको रिमेक वा रि–रेकर्ड जहाँ पनि विवादास्पद हुने गरेको छ। गोपालय का प्रस्तुतकर्ताहरू पनि यसबाट अछुतो रहन सकेनन्। नेपाली गीत–संगीतका पारखीहरूले गोपालयोञ्जनको संगीत र नारायणगोपालको स्वर भनेपछि ‘पर्फेक्सन’को तहमा बुझ्ने गरेका छन्।

उनीहरूको गीत–संगीत भन्नासाथ श्रोताको दिल–दिमागमा माधुर्य र समर्पणभाव आउँछ। श्रोताले यी दुई कलकारलाई एकअर्काका प्रतिस्पर्धी नभई परिपूरकको रुपमा बुझेका र उनीहरूको सहकार्यलाई आधुनिक नेपाली संगीतमा वरदानको रुपमा लिएका छन्। तर, अल्बमको ‘यति चोखो यति मीठो दिउँला तिमीलाई माया…’ गीतमा नारायणगोपालको स्वर विस्थापित गरिएको छ।

पहिले रेकर्ड नभएका गीतको कुरा बेग्लै हो, तर आजसम्म लोकले योञ्जन र नारायणगोपालको सिर्जनाको रुपमा आत्मसात गरेको गीतमा नारायणगोपालको आवाज नअटाउनु खेदजनक भएको छ। युग बोकेको गीतको मूल लयमै प्रहार गर्ने रि–रेकर्डको मारमा परेको यो गीतबाट ‘ओरिजिनल फ्लेवर’ गुम हुँदा न योञ्जन रहे, न त नारायणगोपाल।

प्रस्तुतकर्ताहरूको दाबी झै, पुरानै जस्तो छ भने नयाँ किन चाहियो? नयाँ फ्लेवरमा हो भने त्यसले मूल स्रष्टालाई आत्मसात गर्नुपर्छ कि पर्दैन? रि–रेकर्ड होस् कि रिमेक, सबभन्दा पहिला त्यसको आवश्यकता र मन–मस्तिष्कमा गीतको शब्द–लय बोकिहिंड्ने श्रोताको संवेदनशीलतालाई हेरिनुपर्थ्यो। आगामी दिनको दिशानिर्देशका लागि यो अल्बमको उदाहरण उपयोगी होला।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>