Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पुरानो सुगन्ध - Himalkhabar.com

ब्लगबिहीबार, आश्विन ९, २०७१

पुरानो सुगन्ध

मिलन बगाले

दैनिक कुनै न कुनै कार्यक्रम भइरहने प्रदर्शनीमार्गस्थित सभागृहमा यो दशैंताका पनि कुनै जमघट हुने छैन– आगामी १०–११ मंसीरमा हुने १८औं सार्क शिखर सम्मेलनका लागि भवनको मर्मत–सम्भारका कारण। सन् २००२ को ११औं सार्क सम्मेलनस्थल वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संविधानसभा भवनको रूपमा उपयोग गरिएकोले यसपालि सभागृहले सिंगारिने अवसर पाएको हो।

साप्ताहिक खबरपत्रिका हिमालबाटसमाचारहरूका अनुसार, शहरी विकास विभाग अन्तर्गतको भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयले सभागृह मर्मत, रंगरोगन र नयाँ विश्राम कक्ष बनाउन रु.२४ करोड ३१ लाख ९२ हजार खर्च गर्दैछ। मूल भवनको पूर्वतिर सुविधासम्पन्न विश्राम कक्ष बनाइनेछ। हलका ७७६ वटा पुराना कुर्सी हटाएर ४४० वटा नयाँ राखिंदैछ। पुराना एसी र शौचालय हटाइसकिएको छ।

अरनिकोदेखि गंगाधरसम्म

आर्किटेक्चरमा पहिलो नेपाली स्नातक स्व. गंगाधर भट्टको वास्तुकृति हो– राष्ट्रिय सभागृह। अरनिको पछि रनसुर बिष्ट, जोगलाल स्थापित (भाजुमान), कुमार–किशोरनरसिंह राणा र गंगाधर भट्ट श्रद्धाका साथ सम्झिइने पुरानो पुस्ताका कुशल नेपाली वास्तुकार हुन्।

अरनिको हाम्रा भए पनि उनको वास्तुकृति हामीसँग छैन। सत्यमोहन जोशीको पुस्तक कलाकार अरनिको का अनुसार, अरनिको तिब्बतका संघनायक पाहसपा र चिनियाँ सम्राट कुबला खानको निमन्त्रणामा ८० जना नेपाली कलाकारको नेतृत्व गर्दै सन् १२६० मा त्यता गएका थिए। उनले तिब्बतमा सुवर्ण चैत्य र पेकिङ (तातू) मा श्वेत चैत्य बनाए, जसलाई १९९१ मा चीन सरकारले अमूल्य सम्पदाको सूचीमा राखेको छ।

इतिहासकार पुरुषोत्तमशमशेर राणाको राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू का अनुसार, जंगबहादुर राणाको पालामा रनसुर बिष्टले थापाथली दरबार, थापाथली वैद्यखाना, चाँद कुँवरको चारबुर्जे घर, गोलबैठक आदिको डिजाइन गरेका थिए। यसैगरी, भाजुमानको डिजाइनमा वीरशमशेरको सेतो दरबार, टंगाल दरबार, जावलाखेल दरबार, पानीपोखरी दरबार, लालदरबार, फोहोरादरबार लगायतका भवन बने भने कुमार–किशोरनरसिंह राणा दाजुभाइले चन्द्रशमशेरको पालामा सिंहदरबार, लक्ष्मीनिवास, केशरमहल, शीतलनिवास आदिको डिजाइन गरेका थिए।

चीनमा अरनिको जस्तै लामो समय नेपालमा वास्तुकलाको अभ्यास गरेका स्वीस नागरिक रोबर्ट वाईजे १९९६ मा यतै बितेका थिए। स्वीस फरवार्ड मिसनमा सन् १९५७ मा नेपाल आएका उनले त्रिभुवन विश्वविद्यालय परिसरको गुरुयोजनाका साथै सैनिक मुख्यालय, अन्नपूर्ण होटल, होटल येल्लो प्यागोडा, ठिमीको एसओएस स्कूल, चीज कारखाना आदिको डिजाइन गरेका थिए। उनको अफिसमा धेरै नेपाली आर्किटेक्टले सिक्ने मौका पाए।

रोबर्ट वाईजे नेपालमा मन भिजाइरहेको बेला १९६१ मा कलकत्ता विश्वविद्यालयबाट आर्किटेक्चरमा स्नातक उपाधि हासिल गरेर फर्केका गंगाधर भट्टले नारायणहिटी दरबार सचिवालय, दशरथ रंगशाला, राष्ट्रिय पञ्चायत भवन, सोल्टी होटल, महेन्द्र पुलिस क्लब आदिको समेत डिजाइन गरे।

सभागृहको कथा

आठ वर्षअघि दिवंगत भट्टले २०२२ सालमा भवन विभागमा जागीरे छँदा सभागृहको डिजाइन गरेका थिए। चीन सरकारको सहयोगमा यो भवन बनाइसक्न पाँच वर्ष लागेको थियो। यसको निर्माण थाल्दाताका भट्टले निकै अप्ठ्यारो झेल्नुपरेको थियो। २००५ जुलाईमा स्पेस म्यागेजिनसँग भट्टले भनेका थिए, “त्यसताका नयाँ वास्तुशैलीको नक्शा बुझने मान्छे असाध्यै कम थिए।”

पंचायती व्यवस्था धपक्क बल्न थालेको त्यो समयमा राजधानीका कतिपय शक्तिशालीहरूले ‘अनावश्यक रूपमा ठूलो भवनमा धेरै खर्च गराउने भयो, हलको स्टेज पनि त्यस्तै ठूलो बनायो’ भन्ने चर्चा चलाएछन्। त्यो तनावमा भट्टले बालकृष्ण समलाई बोलाएर नक्शा देखाएछन्। समले निर्माणाधीन भवनको तारिफ गरेपछि बल्ल चैनको सास फेर्न पाएको भट्टले स्पेस म्यागेजिन लाई बताएका छन्। नौ वर्षमै सरकारी जागीरको झयाउलो छोडेका उनले निजी परामर्शदातृ संस्था खोलेर लामो समय नेपालको वास्तुकलामा काम गरे।

सार्क सम्मेलनस्थल हुने भएपछि पुरानो सभागृह सुविधासम्पन्न बन्न लागेको समाचार आफैंमा सुखद् छ। अत्याधुनिक बनाउने नाममा पहिलो नेपाली आर्किटेक्टको डिजाइनमा बनेको भवनलाई बढी नै तोडमोड भने गर्नुहुँदैन। सार्क राष्ट्र/सरकार प्रमुखहरूलाई सम्मेलन हलमा प्रवेश गराउनुअघि विश्रामका लागि नयाँ विश्राम कक्ष बनाउँदा मूल भवनको पुरानो वास्तुशैलीमा आवश्यक ध्यान दिनुपर्छ। रंगरोगन पनि पुरानोसँग मिल्दोजुल्दो गर्नु उत्तम हुनेछ। जस्तो, राणाकालीन दरबारहरूको रंग फेरेर राता, पहेंला, नीला बनाइएका छैनन्। मर्मत सम्भारको क्रममा सभागृह परिसरमा गंगाधर भट्टको स्मृति झ्ल्कने कुनै शिलालेख सहितको चिन्ह राखिदिए सुनमा सुगन्ध हुनेछ। इतिहासप्रति कृतज्ञ बन्दै अगुवा नेपाली आर्किटेक्टको वास्तुकृति जोगाउनेको जय होस्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>