टिप्पणीशुक्रबार, आश्विन १०, २०७१

मोटाइको मार

डा. सुमनराज ताम्राकार

अनियन्त्रित रक्तचाप (ब्लडप्रेसर) तथा मधुमेह (डाइबिटिज), धूमपान, मद्यपान, शारीरिक व्यायामको कमी, मानसिक तनावग्रस्त जीवनशैली, तारेको, पोलेको, भुटेको खानेकुरा, अधिक चिल्लो, गुलियो, जङ्क फूडका कारण बढेको शारीरिक मोटोपना र त्योसँगै आएको मुटुको समस्याले पिरोल्न थालेको छ। जबकि, यी चिजबस्तुबाट जोगिंदा शारीरिक तौल तथा मुटुको अवस्था सन्तुलित हुनुको साथै युरिक एसिड, कोलेस्टरल, नसा, आँखा, मिर्गौला लगायतका थुप्रै खाले नसर्ने रोगबाट बँचिन्छ।

बीएमआई गरौं

मोटाइको मारमोटोपना आज विश्वकै जल्दोबल्दो स्वास्थ्य समस्या हो। विकसित, विकासोन्मुखका साथै दक्षिणएशियाली मुलुकहरूमा पनि मोटोपनाको समस्या बढ्दो छ। मानव शरीरको लम्बाइ र संरचना अनुसार तौल हुनुपर्छ। बडी मास इन्डेक्स (बीएमआई) बाट सजिलै आफ्नो शरीरको तौल ठिक्कको छ, छैन भनेर थाहा पाउन सकिन्छ। शरीरको तौल (किलोग्राम) लाई उचाइ (सेेन्टिमीटर) ले दुई पटक भाग गर्दा आउने अंक बीएमआई हो। बीएमआईलाई १८.५ देखि २४.९ सम्म सामान्य, २५ देखि २९.९ सम्म बढी तौल र ३० भन्दा माथि मोटोपनको रूपमा वर्गीकृत गरिन्छ। १८.५ भन्दा कम हुनुलाई पनि राम्रो मानिंदैन।

तौल घटाउन थाल्ने सवालमा बीएमआईका साथै कम्मरको घेराको नापमा ध्यान दिनुपर्छ। महिलाको कम्मरको घेरा ३२ इन्च र पुरुषको ३५.६ इन्च भन्दा कम छ भने चिन्ता लिनु पर्दैन। मोटोपना कम्मर भन्दा माथि र कम्मर मुनिको गरी दुई खाले हुन्छ। पेटमा बोसो लागेर हुने कम्मर भन्दा माथिको मोटोपना बढी हानिकरक हुन्छ। पेटको आकार भन्दा पुट्ठाको आकार ठूलो हुनु राम्रो हुन्छ। तौल हेर्ने अर्को सजिलो तरीका पनि छ। त्यस अनुसार, सेन्टिमिटर स्केलबाट आफ्नो शरीरको उचाइमा सय घटाउँदा आउने शेष आफ्नो लागि सही तौल हुन्छ। बीएमआई सामान्य भएसम्म कोलेस्टरल बढ्दैन, मधुमेह लाग्दैन, रक्तचाप नियन्त्रणमा आउँछ र पक्षघातबाट पनि बँचिन्छ। महिलामा पाठेघर, स्तन तथा पुरुषमा प्रोस्टेट जस्ता क्यान्सर लाग्दैन। सन्तुलित तौलले आयु बढ्नुका साथै वास्तविक उमेर लुकाउँछ।

मोटोपनाको व्यवस्थापन

परम्परागत रेसादार खानालाई मेनुबाट हटाउनु, कम व्यायाम र स्थिर दैनिकी मोटोपनाको मुख्य कारण हुन्। असन्तुलित भोजन तथा मानसिक तनावका साथै गर्भावस्थामा छँदै पनि मोटोपना आउँछ। यस्तै गरी, फास्टफूड, जंक फूड र गुलिया अनि अभिभावकको करकापले बढ्ता खाने बालबालिकामा मोटोपनाको समस्या आउँछ।

खानाको मात्रा र शरीरको शक्ति खपतमा सन्तुलन मिलेन भने मोटोपना आइहाल्छ। आजकल चल्तीको परिकार मम, चाउमिन, फ्राइड फूड आदि बाहेक ‘एप्पेटाइजर’का रूपमा गरिने मद्यपानबाट पनि यो समस्या उब्जिन्छ। टेलिभिजन सेट अगाडि थ्याच्च बसेर खाने र बिहान–बेलुका एकैपटक धेरै खाने बानी पनि अन्ततः मोटोपनको समस्यासँग जोडिन्छ। लामो अन्तरालमा भन्दा पटक–पटक, थोरै–थोरै र चबाई–चबाई खाइराख्ने बानी राम्रो हो। कतिपयमा ब्रत र डाइटिङले उल्टो असर हुन सक्छ।

मुटुको चाल २५ प्रतिशतले बढ्ने गरी छिटो–छिटो हिंड्नु, नाच्नु, घरको सरसफाई गर्र्नु, लुगा धुनु, करेसाबारीमा काम गर्नु, साइकल कुदाउनुलाई कोलेस्टरल कम र सुगर नियन्त्रण गर्ने उपक्रमका रूपमा लिनुपर्छ। दैनिक एक घण्टाको ‘मर्निङ वाक्’ ले त्यो काम गर्छ। स्वस्थ रहने हो भने शरीरको तौललाई उचाइसँग मिलाउनै पर्छ र शारीरिक सक्रियता हुनैपर्छ।

यूरोप लगायतका विकसित देशहरूमा भोजन भन्नासाथ सलादको थुप्रो लगाइन्छ। त्यस्तै गेडागुडी र फलफूललाई पनि उत्तिकै महत्व दिइन्छ। र पनि त्यहाँ फास्टफूड (तयारी खाना) को बढ्दो प्रयोगले मोटोपनको समस्या बढाएको छ। त्यसकारण, कहिलेकाहीं स्वाद फेर्नु बेग्लै कुरा हो, तर फास्टफूडबाट जोगिनै पर्छ। बेलाबेला रक्तचाप, धड्कन, कोलेस्टरल, सुगर, क्रियटिनको जाँच गरिरहनुपर्छ। त्यसो गर्दा ईसीजी, इकोकार्डियोग्राफी, हल्टर, ट्रेड मिल टेस्ट र एम्बुलेटरी ब्लड प्रेसर जाँचको आवश्यकता पनि थाहा पाइन्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>