रमझममंगलबार, आश्विन १४, २०७१
सफलतातिर अन्तिम पाइला

सेभेन समिट वुमन टीमलाई झण्डा हस्तान्तरण गर्दै लायन्स क्लब इन्टरन्याशनलका अध्यक्ष जोसेफ प्रेस्टन (भादगाउँले टोपीमा)।
२०९ मुलुकबाट आएका प्रतिनिधिबीच सात जना नेपाली चेली मञ्चमा देखिए– जो भर्खरै उत्तरी अमेरिकाको सर्वोच्च शिखर डेनाली आरोहण गरेर फर्केका थिए।
संसारका सातै महादेशका सर्वोच्च शिखरमा पाइला राख्ने अभियानमा जुटेका ‘सेभेन समिट वुमन टीम’का यी सदस्यहरुले १५ हजार जनाको सहभागिता रहेको उक्त सम्मेलनमा आफ्नो आरोहण अनुभव प्रस्तुत गरे।
टोरोन्टो सम्मेलनमा सर्वोच्च शिखर सगरमाथासहित ६ महादेशका उच्च शिखर टेकिसकेको नेपाली चेलीहरुको प्रेरणादायी सफलता र साहसिक कथाको खुलेर प्रशंसा गरेका लायन्स अध्यक्ष जोसेफ प्रेस्टनले ७ असोजमा नेपालमै आएर टोलीलाई हौसला दिएका छन्।
आफ्नो अन्तिम गन्तव्य अन्टार्टिकाको भिन्सन म्यासिफ (४८९२ मीटर) आरोहणको तयारीमा रहेको यो टोलीलाई प्रेस्टनले आफ्नो क्लबको झ्ाण्डा दिंदै भने, ”संसारका उच्च शिखरहरु टेकिरहेको यो टोली वास्तवमै गज्जबको छ, अब यो झण्डा भिन्सन शिखरमा फहराउनु अर्काे गर्वको कुरा हुनेछ।”
सन् २००८ मा सगरमाथाको सफल आरोहणबाट शुरु भएको ‘सेभेन समीट वुमेन टीम’ ले आगामी डिसेम्बर २०१४ मा भिन्सन शिखर पुगेर अभियान पूरा गर्नेछ।
यो टोलीले ‘शिक्षा, सशक्तिकरण तथा वातावरण’को सन्देश लिएर अष्ट्रेलियाको कोजिअस्को (२,२२६ मीटर), युरोपको एल्बु्रस (५,६४५), अफ्रिकाको किलिमञ्जारो (५,८९५), दक्षिण अमेरिकाको अकन्कागुवा (६,९३६) र उत्तर अमेरिकाको डेनाली (४,६२९) हिमालको सफल आरोहण गरिसकेको छ।
टोलीले हिमाल आरोहणसँगै सम्बद्ध मुलुक तथा नेपालका २०० भन्दा बढी विद्यालयमा गएर विद्यार्थीहरुसँग प्रेरक संवाद गरेको छ। टोलीमा शैली बस्नेत, आशाकुमारी सिंह, माया गुरुङ्ग, चुनु श्रेष्ठ, निम्डोमा शेर्पा, पूजन आचार्य र पेमादिकी शेर्पा छन्।
सइन्द्र
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
