Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गुल्जार बजार - Himalkhabar.com

अर्थ/बजारमंगलबार, आश्विन १४, २०७१

गुल्जार बजार

हिमालखबर

– रमेश कुमार

bazar

भाटभटेनी सुपरमार्केट, पाटनमा १० असोजको किनमेल।

अहिले त्यस्ता धेरै परम्परा फेरिए पनि किनमेल गर्ने प्रवृत्ति भने उस्तै छ। आय बढेकाले पहिले जस्तो वर्षको एकपटक मात्र बजार छिर्नुपर्ने अवस्था नरहे पनि अहिले पनि दशैं किनमेल गर्ने अवसर बनेकै छ।

त्यही कारण लत्ताकपडादेखि गरगहना, मोटरगाडीदेखि भाँडाकुँडा, घरायसी विद्युतीय सरसामान, मरमसला, माछामासु, फलफूलको कारोबार यही बेला बढी हुन्छ। अत्यावश्यक बाहेकका सरसामान किन्न दशैं पर्खने चलन पनि अहिले शुरू भएको देखिन्छ।

असनका गल्ली, भृकुटीमण्डपका छाप्रे बजार, न्यूरोडका पसल वा चमकधमक सुपरमार्केट जहाँसुकै जहान परिवार लिएर किनमेल गर्नेको भीड दशैंमा थामिनसक्नु देखिन्छ। अरू बेला खासै चहलपहल नहुने बजारमा पनि ग्राहकको भीडले छोपेको देखिन्छ।

छूट र उपहारले किनमेललाई अरू प्रोत्साहित गरेको छ। शहरी संस्कृतिले अहिले किनमेललाई आवश्यकताभन्दा ‘शपिङ’ बनाएको पनि देखिन्छ। रेमिट्यान्स लगायतका विभिन्न कारण आय बढेकाले किनमेल अहिले नेपालीको सोख र मनोरञ्जन बन्दै गएको छ।

जताततै रौनक

जागीरेले थप एक महीनाको तलब भत्ता पाउने, रेमिट्यान्सका कारण नगद प्रवाह बढ्ने तथा घरका लागि केही जोड्न पनि दशैं पर्खने प्रवृत्ति दशैंमा कारोबार बढ्नुको महत्वपूर्ण कारण हो। सरकारी क्षेत्रका करीब ६ लाख कर्मचारीले दशैंमा झ्ण्डै रु.११ अर्ब भत्ता पाएका छन्।

निजी क्षेत्रमा कार्यरत अरू लाखौं कर्मचारीले पनि दशैंमा भत्ता पाएका छन्। राष्ट्र ब्याङ्कले दशैंका लागि रु.२५ अर्बको नयाँ नोट वितरण गर्दैछ। यी सबै तथ्यले दशैंमा बढ्ने नगद प्रवाहको आकार देखाउँछ। रु.१ खर्च गर्दा बजारमा रु.३.५० पैसा बराबरको गुणात्मक प्रभाव पार्ने अर्थशास्त्रीय मान्यता छ।

दशैं–तिहारको अवसरमा विभिन्न ब्राण्डका उपभोग्य वस्तुको अफर।

 मासु खाने चाडका रूपमा चिनिएको दशैंमा काठमाडौंमा मात्रै करीब ४५ हजार खसी–बोका बिक्री हुने अनुमान छ, जसको मूल्य रु.५० करोडको हाराहारी हुन आउँछ।

मोटरसाइकल, मोटर, पेन्ट्स, सुनचाँदी, लत्ताकपडा र घरायसी उपभोग्य वस्तु पनि दशैंमै बढी बिक्री हुन्छ। यूरोप अमेरिकामा क्रिसमसअघिको ब्ल्याक फ्राइडेले वर्षभरिको सुस्त कारोबारलाई धानेजस्तै नेपालमा पनि दशैं–तिहारले त्यस्तै गर्छ।

देशभरिमा ९ वटा शाखा भएको ठूलो ‘चेन डिपार्टमेन्ट’ भाटभटेनीका अपरेसन हेड पानु पौडेल घटस्थापनादेखि नवमीसम्मको कारोबार अरू बेलाभन्दा दोब्बर हुने बताउँछन्। भाटभटेनीमा यो दशैंमा दैनिक ५० हजारभन्दा बढीले किनमेल गर्ने तथा ९ दिनमा रु.४५ करोडको कारोबार हुने उनको अनुमान छ।

भाटभटेनीमा दशैंको बेला ३०–३५ प्रतिशत लत्ताकपडा, ३० प्रतिशत खाद्यान्न, १२–१५ प्रतिशत जति घरायसी एवं बाँकी अन्य सामानको कारोबार हुने उनको भनाइ छ।

आमरूपमा परिवारलाई वर्षभरि पुग्ने नयाँ कपडा किन्ने चलन रहेकाले दशैंमा सबैभन्दा बढी लत्ताकपडाकै कारोबार हुन्छ। हिमालय सीमापार व्यापार संघका अध्यक्ष नीलकण्ठ चौलागाईं दशैं र जाडोका लागि चीनबाट मात्रै रु.१० अर्बभन्दा बढीको सामान आउने बताउँछन्।

तातोपानी नाकाबाट अहिले दैनिक ४० देखि ५० कन्टेनर सामान भित्रिइरहेको उनको भनाइ छ। चीनबाट इलेक्ट्रोनिक्सदेखि, लत्ताकपडा, जुत्ता, फलफूल आउने गर्छ। सस्तो हुने भएकाले सबै वर्गको पहुँच पुग्ने चिनियाँ सामानको अहिले शहरदेखि दूरदराजसम्म झ्ण्डै एकछत्र राज छ।

मध्यम र निम्नमध्यमवर्गले चिनियाँ जुत्ता–चप्पल, परिधान र फेशन सामग्रीकै कारण आधुनिक देखिने मौका पाएका छन्।

पहिले विलासी वस्तु मानिने सवारी अहिले शहरिया मध्यम र उच्च वर्गको आवश्यकता बन्न थालेका छन्। आकर्षक छूट हुने भएकाले दशैंमा मोटरसाइकल र चारपाङ्ग्रे सवारी साधन बढी बिक्री हुने गरेको देखिन्छ।

सवारीसाधनको कारोबार अरू बेलाभन्दा दशैंमा दोब्बर हुने गरेको सवारी व्यवसायमा आवद्ध तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा बताउँछन्। सवारी बिक्रेताहरूले दशैंलाई लक्षित गरेको नाडा अटो शोमा ६०० वटा चारपाङ्ग्रे र ६५० भन्दा बढी दुईपाङ्ग्रे सवारी बुकिङ भएको छ।

अरू दशैंमा सुनचाँदीको कारोबार बढ्ने गरेकोमा यो पल्ट भने बढेन। अरू बेला दैनिक २० किलो सुनको कारोबार हुने गरेकोमा दशैंमा ४० किलो बिक्री हुने अनुमान गरिएको थियो। तर, त्यस्तो नभएको सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन्। सुनको मूल्य घट्दै गएकाले ग्राहक पर्ख र हेरको मनस्थितिमा पुगेको उनको भनाइ छ।

‘कन्ज्युमर इलेक्ट्रोनिक्स गुड्स’ भनिने रेफ्रिजेरेटर, टेलिभिजन, वासिङ मेशीन, माइक्रोवेभ मेशीन किन्न पनि धेरैले दशैं पर्खने गरेका छन्। टीसीएल र गोदरेज ब्रान्डका घरायसी उपकरणका बिक्रेता तथा चौधरी समूहका सेल्स र मार्केटिङ म्यानेजर ललितकुमार मिश्रको विचारमा छूट पाइने भएकाले ग्राहकहरूले दशैंलाई सामान खरीद गर्ने अवसर बनाएका हुन्।

एलजी ब्रान्डको सामान बिक्री गर्ने चौधरी समूहका सेल्स म्यानेजर विष्णु भण्डारी पनि विद्युतीय घरायसी सामान दशैंमा अरू बेला भन्दा ४० प्रतिशत बढी बिक्री हुने बताउँछन्।

दशैंमा कमेरो र रातोमाटोले घर सिंगार्ने गरिएकोमा अहिले रंग लगाउने गरिन्छ। जसले गर्दा दशैंमा पेन्ट्सको कारोबार २५ प्रतिशतले बढ्ने व्यवसायीहरूको अनुमान छ। वर्षभरि नेपालमा रु.७ अर्बको पेन्ट्सको कारोबार हुने गरेकोमा भदौ―मंसीरमा मात्रै झ्ण्डै आधा कारोबार हुने गरेको छ।

दशैंमा नेपालभरिमा झ्ण्डै रु.२ अर्बको खसी, कुखुरा, बंगुर, राँगा, माछाको कारोबार हुने नेपाल चौपाया खरीदबिक्री सेवा संघको अनुमान छ।

छूट र उपहारको बहार

न्यूरोडस्थित आरके ज्वेलर्समा खरिदारी।

सामान बिक्री हुने भएकाले वस्तु र सेवाका उत्पादक तथा वितरकहरूले दशैंमा छूट र उपहारका अनेकौं योजना सार्वजनिक गर्छन्। व्यवसायीहरूका अनुसार, यस्तो छूट र उपहार योजनाले ग्राहकहरूलाई आकर्षित गर्ने गरेको छ।

सीजी ब्राण्डको सामान बेच्ने चौधरी समूहका सेल्स म्यानेजर विष्णु ज्ञवालीको भनाइमा पनि ग्राहकको हातमा अरू बेलाभन्दा दोब्बर तेब्बर रकम हुने भएकाले उपहार र छूट योजना ल्याइएको हो।

यही क्रममा भाटभटेनी सुपरमार्केटले विभिन्न सामानहरूमा १० देखि २५ प्रतिशतसम्म छूट दिने घोषणा गरेको छ, जसमा लत्ता कपडामा १० प्रतिशत छूट छ।

चाइना टाउन व्यापार संघले १५–२० प्रतिशत, काठमाडौं मलले ५–३५ प्रतिशत छूट दिने घोषणा गरेका छन्। बिग मार्ट, सिटी सेन्टर, वर्ल्ड टे्रड सेन्टर, सेलवेज, सिभिल मलले पनि छूट र उपहार घोषणा गरेका छन्।

यस्तोमा छूटलाई ग्राहक झ्ुक्याउने योजना ठान्ने उपभोक्ता पनि छन्। वस्तुको मूल्य बढाएर छूट भन्दै बेच्ने र ‘सेल’ का नाममा कमसल गुणस्तरका सामान भिडाउने गरिएको उनीहरूको आरोप छ।

बढी बिक्री हुने बेला सामानको मूल्य घट्नुपर्नेमा बढ्नुले उपभोक्ताको आशंका सत्यको नजिक पनि देखाउँछ। वाणिज्य विभागले गत साता गरेको अनुगमनमा विशाल बजारमा वस्तुको खरीद मूल्यभन्दा बिक्री मूल्य १० गुणासम्म बढी राखिएको भेटिएको थियो।

व्यापारीहरू दशैंमा स्टक सामान बिक्री गर्ने दबाबमा पनि हुन्छन्। छूट दिएर ग्राहक तान्न खोज्नुमा त्यसलाई पनि एउटा कारण मानिन्छ। तर, व्यवसायीहरू ग्राहकसँग बढी रकम भएको बेला बिक्री गर्न छूट र उपहार योजना ल्याउनु नराम्रो नभएको बताउँछन्।

यस्तोमा, बर्जर पेन्ट्सले यो दशैंमा धुमधाम गृह प्रवेश, एशियन पेन्ट्सले ‘अनलिमिटेड इलेसन’, पशुपति पेन्ट्सले ‘दशैं तिहार खुशीको बहार, पशुपति पेन्ट्स खरीदमा पक्का उपहार’, नेरोल्याक पेन्ट्सले ‘घर रंग्याऔं’ योजना ल्याएका छन्।

इलेक्ट्रोनिक्स सामानमा पनि सबै कम्पनीहरूले छूट र उपहार घोषणा गरेका छन्। सामसुङको बिक्रेता हिम इलेक्ट्रोनिक्सले ‘द बिग डिल’ योजना ल्याएको छ। यो योजनामा सामसुङका उत्पादन खरीद गर्नेले ‘क्यास ब्याक अफर’ पाउने छन्। एलजीको बिक्रेता सीजी इलेक्ट्रोनिक्सले एलजी रेड फेस्टिभल अफर ल्याएको छ। यो अन्तर्गत, एउटा सामान खरीद गर्दा अर्को सामान निःशुल्क पाइनेछ।

त्रिवेणी समूहले दशैं–तिहार उमंग योजना सार्वजनिक गरेको छ, जसमा यी ब्रान्डका सामानको खरीद गर्दा छूट र उपहार पनि पाइनेछ। होण्डा मोटरसाइकलको बिक्रेता स्याकार ट्रेडिङले वाटा योजना (हो खुशीमा देश) योजना ल्याएको छ, जसमा निश्चित छूटका साथै अन्य उपहार समावेश छन्।

हिरो मोटरसाइकलको बिक्रेता नेपाल जनरल मार्केटिङले पनि क्यासमा क्यास अफर ल्याएको छ, जसमा उपभोक्ताले मोटरसाइकल खरीदमा निश्चित छूट र अन्य उपहार पाउने छन्।

डिसहोम नेटवर्कले ‘स्वर्ण उत्सव’ योजना ल्याएको छ। हुण्डाई गाडीको बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भारी छूट एवं गाडीदेखि विदेश घुम्न जानेसम्मको उपहार योजनासहित ‘मिस्सी, बास्सा, एक्का’ अफर सार्वजनिक गरेको छ।

महिन्द्रा टू ह्वीलर्सले बम्पर उपहार विजेताले महिन्द्रा बोलेरो गाडी पाउने दुई दुना चार उपहार योजना घोषणा गरेको छ। यामाहा मोटरसाइकलले पनि ‘विजय यात्रा’ उपहार योजना ल्याएको छ।

दशैंमा जुत्ता किन्नेलाई छूटको अफर दिइएको छ। फिटराइट शूजले हात खाली नजाने अफर सार्वजनिक गरेको छ भने, रन शूजले जुत्ता खरीदमा टी–सर्ट र स्क्र्याच कार्ड समावेश ‘साँवा भन्दा व्याज ठूलो’ उपहार योजना ल्याएको छ।

रेडबुलले रेडबुल क्यासफुल नामक उपहार योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत थुप्रै नगद उपहार छन्। ब्याङ्क तथा वित्तीय संस्थाले समेत दशैं–तिहार केन्द्रित अफरहरू घोषणा गरेका छन्। सिभिल ब्याङ्कले सिभिल गोल्ड एण्ड सिल्भर अफर सार्वजनिक गरेको छ। विभिन्न हाउजिङ र अपार्टमेन्टले पनि दशैं–तिहारका अवसरमा छूटमा घर तथा फ्ल्याटको अफर ल्याएका छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>