रिपोर्टबिहीबार, आश्विन १६, २०७१
नाता–सम्बन्धको शक्ति
नेपाली बृहत् शब्दकोश का अनुसार, नाता भनेको ‘एउटै कुलमा जन्मनाले वा विवाह आदिले जोडिएको पारस्परिक सम्बन्ध, जन्म वा विवाह आदिबाट भएको सम्बन्ध, गोत्र वा कुटुम्बको सम्बन्ध’ हो।
जन्म वा विवाहका आधारमा नाता पर्ने व्यक्ति, नातेदारवर्ग, नातागोता, बन्धुवर्ग, इष्टमित्रलाई नै शब्दकोशले नाताकुटुम्ब मानेको छ। यो आधारमा हेर्दा पनि नेपालीको नातागोताको दायरा यति बृहत् छ, जुन अन्यत्र कतै पाइँदैन।
एउटै बाबुआमाबाट जन्मेका तीन चार पुस्ता मात्र हैन, त्यहाँभन्दा परसम्मका पुस्ता एउटै ‘सर्कल’ मा अटाएको नेपाली समाज नै हो, जुन अन्यत्रको समाजमा छँदै छैन।
नेपाली समाजमा बाबुआमा हुँदै छोरा र छोरी, बुहारी र ज्वाईं, नाति र नातिना, पनाति र पनातिनासम्म पुग्ने नातालाई यति नजिक मानिन्छ कि यसलाई आधुनिकीकरणसँगै भित्रिएका थुप्रै अभ्यास र चलनहरूले विस्थापन गर्न सकेका छैनन्। यो चार पुस्ताबीचको फैलावटले देखाउँछ, नेपाली नाता–सम्बन्धको दायरा। हिमाल, पहाड र तराई जहाँसुकैको समाज, जुनसुकै जाति, भाषा र सम्प्रदायको होस्; नाता–सम्बन्धको आयाममा खासै
भिन्नता पाइँदैन।
चौथो–पाँचौं पुस्तासम्मको यो नातालाई निर्वाह गर्ने तत्परता पनि यथावत् नै छ। चाडपर्व आदि उत्सव मनाउन होस् या आपत्विपत्को सहयोग–भरथेगमा, सबै जना सम्भव भएसम्म दिल खोल्छन्। फेरिंदो आर्थिक–उत्पादन सम्बन्ध, त्यसका लागि अपरिहार्य बनेको शिक्षा आर्जन लगायतका कारणले गाउँघरबाट निकै टाढा शहर वा विदेशमा पुगेकाहरू पनि त्यस्तो बेला आइपुग्छन्।
मध्य तराईको वीरगञ्जमा बसेर राजनीतिक–सामाजिक अध्ययन–विश्लेषण गर्दै आएका पत्रकार चन्द्रकिशोर भन्छन्, “मेरो हजुरबाको मावलीबाट अहिले पनि बिहे, ब्रतबन्ध, पूजा आदिको निम्तो आउँछ, समाजमा यस्तो नाता र व्यवहार धेरै हदसम्म कायमै छ।”
पश्चिमा समाजमा श्रीमान्–श्रीमती र उनीहरूबाट जन्मेको एक पुस्ताभित्र मात्र निकटको नाता–सम्बन्ध हुन्छ। सामान्यतः १८ वर्ष पुगेपछि छोराछोरी पनि बाबुआमाको घरमा बस्दैनन्। बाबुआमा पनि छोराछोरी घरमा आओस्, बसोस् भन्ने अपेक्षा उतिसाह्रो राख्दैनन्। नेपालमा भने चार–पाँच पुस्ता परका नातेदार पनि घरमा आइदिए हुन्थ्यो भन्ने अपेक्षा र प्रतीक्षा हुन्छ। नागरिकता लगायतका सरकारी कागजातदेखि कामकाजसम्म तीनपुस्ते विवरण उल्लेख गर्नुपर्ने व्यवस्थाले पनि हाम्रो नातासम्बन्धको महत्व बुझाउँछ।
नेपाल नातामा समृद्ध समुदाय–समाजको धनी देश हो। जन्मका आधारमा जोडिने बाबु (बा, बुबा), छोरा, बूढाबा (बाजे, हजुरबा/बुबा), काका, बडाबा, दाजु, भाइ, नाति, पनाति तथा आमा, छोरी, बूढीआमा (बज्यै, हजुरआमा), काकी, फुपू, दिदी, बहिनी, नातिनी जस्ता नाता मात्र होइन, वैवाहिक सम्बन्धबाट जोडिने पति (श्रीमान्, लोग्ने), ससुरा, जेठान, भिनाजु, जेठाजु, देवर, सालो, सोल्टी तथा पत्नी (श्रीमती, स्वास्नी), सासू, फुपाजु, बुहारी, आमाजू, जेठानी, देवरानी, आमाजू, जेठानी दिदी, नन्द, साली, सोल्टिनी जस्ता साइनोले समान महत्व पाउँछ।
यस्ता साइनोसँगै जोडिएर आउँछन्, भान्जा, भान्जी, भदा, भदै आदि नाता पनि। उत्सवमा होस् या दुःखमा यी सबै नाताको सहभागिता महत्वपूर्ण बन्न पुग्छ।
बहुजातीय र बहुभाषिक नेपाली समाजमा समुदायपिच्छे नाताको नाम बेग्लाबेग्लै भएकाले यो अझै बृहत् हुन जान्छ।
मानवशास्त्री सुरेश ढकाल अंकल, आण्टीमा मात्र होइन ड्याड्, मम, ग्राण्डफादर जस्ता अंग्रेजी शब्दहरूले समेत बाबु–आमा, हजुरबा/हजुरआमा जस्ता हाम्रो परिवेशका साइनोका गहनता र आत्मीयता नबोक्ने बताउँछन्।
जनसंख्या नियन्त्रणका लागि साढे तीन दशकअघि चीनमा लागू गरिएको एक सन्तान नीतिले त्यसयता जन्मिएका अधिकांश चिनियाँहरू दाजु–भाइ–दिदी–बहिनीको सम्बन्धबाट टाढिएका छन्। उनीहरूका सन्तान काकाकाकी, ठूलोबुबा–आमा, मामा चेला/चेली, फुपू चेला/चेली जस्ता आत्मीय नाता–सम्बन्धबाट समेत वञ्चित भएका छन्। परिवार र नाता–सम्बन्धमा आएको यस्तो समस्या बुझेरै हुनसक्छ, चीन सरकारले पछिल्लो समय अघोषित रूपमै भए पनि पति–पत्नी दुवैको वा एउटाको सहोदर दाजुभाइ, दिदीबहिनी नभएमा थप एक सन्तान जन्माउने छूट दिएको छ। सरकारी नीति वा स्वेच्छिक नियन्त्रणको कारणले थोरै सन्तानमा अभ्यस्त विकसित देशहरूको अवस्था पनि लगभग यस्तै हो।
नेपालमा भने ४० वर्षअघि एक जना महिलाले औसत ६.२ सन्तान जन्माउने गरेकोमा अहिले त्यो संख्या २.४ मा झ्रे पनि नाता–सम्बन्धमा असर पर्न थालेको छैन। नाता–सम्बन्धको स्थायित्वकै कारण पुस्ता दरपुस्ताका नेपालीहरूले आत्मीय भेटघाटको अवसर पाइरहेका छन्, जुन विश्वका थुप्रै समाजमा सम्भव छैन। समाजशास्त्रीय हिसाबमा ढीलो शुरू भएको एकल परिवारको ढाँचा र विश्वका अन्य समुदायको तुलनामा न्यून बसाइँसराइका कारण पनि नेपाली नाता–सम्बन्धहरू दीगो बनेका हुन्। नेपालमा बसाइँसराइ हुँदा पनि समूल किसिमले नै भयो।
“हिजोका दिनमा होस् या अहिले, नाताले हामी भन्ने अनुभूति ल्याउँछ, त्यो अनुभूतिले आपसमा बाँधेर राख्छ, मर्दापर्दा पनि नातागोतै चाहिन्छ”, मानवशास्त्री सुरेश ढकाल भन्छन्, “हामी कति फैलिएका छौं भनेर देखाउने मुख्य आधार पनि नाता–सम्बन्ध नै हो।”
रक्त र वैवाहिक सम्बन्ध बाहिरका पनि अनेक नाता–सम्बन्ध छन्, जसले सामाजिक सम्बन्धलाई झ्न् गाढा बनाएका छन्। मितेरी साइनो तिनैमध्येको एक सम्बन्ध हो। नेपाली समाजमा उहिल्यैदेखि चलिआएको मितेरी साइनोले अन्तरजातीय हार्दिकतालाई सम्बन्धित परिवारहरूको नाताकुटुम्बसम्म फैलाइदिन्छ। मितेरी त्यस्तो नाता हो, जसले धर्म वा वर्ग (आर्थिक अवस्था) पनि मान्दैन। ‘अरू नाता सातपुस्ता, मीतको नाता १४ पुस्ता’ भन्ने उक्तिले मितेरी सम्बन्धमा निहित निस्वार्थीपनको बोध गराउँछ।
नेपाली समाजमा दाजुभाइको सम्बन्धलाई सबैभन्दा शत्रुतापूर्ण ठान्ने सोच अद्यापि कायमै छ। पुर्ख्यौली सम्पत्ति यसको मूल कारण हो। जगदम्बा प्रकाशनले २०२७ सालमा निकालेको ‘उखान संग्रह’ को एउटा उखानले त भतिजा र भान्जासँग व्यवहार नगर्नु भन्छ।तर, उत्पादन सम्बन्ध फेरिंदै जाँदा कृषि तथा पुर्ख्यौली सम्पत्तिको दायराबाट बाहिर निस्केर आत्मनिर्भर हुनथालेपछि दाजुभाइबीच देखिने सम्पत्ति वैमनस्य न्यून हुँदै गएको छ।
रक्तसम्बन्धको कुनै लहरोले नछुने व्यक्तिहरूबीच आत्मीय सम्बन्ध भएकाहरू पनि समाजमा थुप्रै भेटिन्छन्। पूर्वीय सभ्यतामा यशस्वी मानिने गुरु–शिष्यको सम्बन्ध नेपाली समाजमा जीवितै रहेको प्रमाण गुरुपूर्णिमा लगायतका अवसरमा देखिने परिदृश्यहरूले देखाउँछन्। धर्मपुत्र, धर्मपुत्री, धर्मपिता, धर्ममाता, धर्मदिदी–बहिनी, धर्मदाजु–भाइ जस्ता भावनात्मक सम्बन्धमा बाँधिएर समाजलाई हार्दिक बनाउने चलन पनि छँदैछ, नेपालमा। विभिन्न किसिमका नाता–सम्बन्ध देशको सीमारेखाभित्र सीमित छैन।
अर्को उदाहरणीय नाता हो, छिमेकीको। ‘ज्यूँदाको जन्ती, मर्दाको मलामी’ भनिने छिमेकीको नाताले सिंगो समाजलाई एकताबद्ध बनाउन सघाएको छ। बढ्दो शहरीकरणले केही असर पारे पनि छिमेकीको महत्व र औचित्य कम भएको छैन। इतिहासविद् डा. राजेश गौतम रक्त वा वैवाहिक सम्बन्ध नजोडिए पनि छिमेकीको नाताले समाजलाई नै एकत्रित बनाएको बताउँछन्।
तराई, पहाड, हिमाल सबैतिरका गाउँघरमा औपचारिक नाता–सम्बन्ध नभए पनि छिमेकीलाई बा, आमा, काका, काकी, दाइ, भाउजू, दिदी भनेर बोलाउने चलन कायम छ। मधेशीले पहाडीलाई होस् या पहाडीले मधेशीलाई, बाहुनले जनजातिलाई होस् या अरू कसैले जो–कोहीलाई, रक्तसम्बन्धकै जस्ता नाताले सम्बोधन गरिन्छ। छर–छिमेकमा सम्बोधन अनुसारकै सम्मानजनक र मायालु व्यवहार हुन्छ। “नेपालीहरूको पारिवारिक संरचना त उच्चस्तरको हो नै, भाषा पनि धेरै समुन्नत छ”, इतिहासविद् दिनेशराज पन्त भन्छन्, “भाषाको भाव र साइनोका नाम नै छिमेकीलाई आफ्नो बनाउने खालको छ।”
गाउँघरमा नाता–सम्बन्धको दायरा कति व्यापक छ भने एउटा परिवारसँग जोडिएको नाताले त्यो टोल, गाउँ वा समाजलाई नै नातेदार बनाइदिन्छ। इतिहासकार ज्ञानमणि नेपाल ‘ससुराली गाउँमा सबै ससुराली, मावली गाउँका सबै मावली’ मान्ने मौलिक नेपाली चलन यथावतै रहेको बताउँछन्। “हाम्रो परम्परा नै त्यसैगरी बसेर आयो”, नेपाल भन्छन्, “ससुराले ज्वाईंसाब भनेपछि त्यो गाउँमा सबैले नाम काढेर बोलाउँदैनन्, ज्वाईंसाब नै भन्छन्, मावली गाउँमा सबैको भान्जा भइन्छ।”
२४ वर्षअघि नाता–सम्बन्धको नकारात्मक पाटो उजागर गरेका समाजशास्त्री डोरबहादुर विष्टले पुस्तकमा लेखेका छन्– “पछिल्ला वर्षमा केही विदेशी स्वयम्सेवक, विश्वविद्यालय तथा कलेजका विद्यार्थीहरू समेत नेपाली परिवारसँग बस्न थालेका छन् र तिनका ‘आफ्नो मान्छे’ को दायरामा समेटिएका छन्।
करिअर प्रोफेसनलहरूले समेत आफ्नो औपचारिक कामका दौरान यो तहको इन्टिमेट र निकट व्यवहार कहिल्यै पाउँदैनन्…।” हुन पनि काम, अध्ययन–अनुसन्धान तथा घुमघामका लागि आउने र नेपालीका घरमा ‘पेइङ/ननपेइङ गेष्ट’ का रूपमा बस्ने विदेशीहरूले घरपरिवारको जस्तै व्यवहार पाउँछन्।
मानवताको साइनो समेत उत्तिकै दह्रो छ, नेपाली समाजमा। माओवादी युद्धकालमा मारिएका र बेपत्ता पारिएकाहरूको सम्झ्नामा हरेक वर्ष ‘सधैं सम्झ्िरहनेछौं’ भनेर गरिने दीप प्रज्वलन त्यसको उदाहरण हो। मारिने र बेपत्ता पारिनेहरू जो जहाँका भए पनि तिनलाई सबै नेपालीले सम्झ्न्छन्।
पछिल्लो समय दलीय राजनीतिले समेत नाता–सम्बन्धको दायरालाई फराकिलो भएको छ। दार्चुलाको कांग्रेस कार्यकर्तालाई ताप्लेजुङ पुग्दा विरानो बन्नुपर्दैन, झापाको एमाले कार्यकर्ता कञ्चनपुर पुग्दा अलपत्र पर्दैन। राजधानीमा विभिन्न क्षेत्र, अञ्चल र जिल्लाका नाममा चलेका दलहरूका सम्पर्क कमिटी र मञ्चहरूले त्यस्तो राजनीतिक नातालाई मजबूत पार्ने काम गरेका छन्। यहाँ सम्बन्धका अनेक पाटा छन्, जसले समाजलाई आ–आफ्नै ढंगले बलियो बनाइराखेका छन्।
सामाजिकीकरण र सुरक्षा
नाता–सम्बन्धले व्यक्ति, परिवार, समाज र समग्रमा तिनको आर्थिक–सामाजिक पाटोमा के कति भूमिका खेलेको छ भन्ने पनि उत्तिकै महत्वपूर्ण हुन्छ। मानवशास्त्री ढकाल व्यक्ति–परिवार–समाजका भौतिक तथा मनोवैज्ञानिक आवश्यकताहरू पूरा गर्दासम्म मात्र नाता–सम्बन्ध रहने बताउँछन्। त्यस्तो आवश्यकता पूरा भएकैले विभिन्न किसिमका नेपाली नाता–सम्बन्ध दीगो रहेको उनको विश्लेषण छ।
बुढेसकालको सहारा होस् या आपत्विपत् पर्दा, हेर्ने छिमेकी र नातागोता नै हुन् भन्ने धारणा अहिले पनि निकै बलियो छ। परेको बेला छिमेकी र नातागोताबाट त्यो आवश्यकता पूरा भइरहेकै पनि छ।
“पश्चिमा समाजमा एक्लै बस्न, बाँच्न सिकाइएको छ, हाम्रो समाज र राज्य दुवैले सँगै बस्न सिकाएका छन्” समाजशास्त्री डिल्लीराम दाहाल भन्छन्, “हाम्रो संस्कारले पनि एक्लै बस्न, खान सिकाउँदैन, पश्चिमाको व्यवहार व्यक्तिकेन्द्रित छ भने हाम्रो सामूहिक।”
समाजमा धेरैजसो जिम्मेवारी पनि नातागोताकै हुन्छ। त्यही भएर विभिन्न प्रकारका नाता–सम्बन्धलाई प्राथमिकतामा राखिन्छ। त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र/मानवशास्त्र विभागका उप–प्राध्यापक नीति अर्याल खनाल व्यक्तिवादी प्रवृत्ति केही बढे पनि नाता–सम्बन्ध नै नेपाली समाजको प्रमुख चरित्र भएको बताउँछिन्। पश्चिमा मुलुकमा आफ्नो कफिनको लागि आफैं पैसा जम्मा गरेर राख्ने चलन भए पनि नेपालमा मलामी कमाउने चलन भएको बताउँदै खनाल भन्छिन्, “त्यसकारण हामीकहाँ जिन्दगीमा सकेसम्म धेरै सम्बन्धहरू ‘मेन्टेन’ गर्ने कुराले महत्व पाउँछ।”
हामीकहाँ परिवार, नाता र इष्टमित्रको बलमा उद्योग–व्यवसायमा सफल भएको उदाहरण पनि धेरै भेटिन्छन्। ठूला औद्योगिक घराना हुन् या उदीयमान व्यवसायी, उनीहरूको उन्नतिको कारण खोतल्ने हो भने नाता–सम्बन्धमै पुगिन्छ। इतिहासकार दिनेशराज पन्त सामूहिक भावनाको महत्वले नाता–सम्बन्धको भूमिका बढाएको बताउँछन्।
त्यस्तै सामाजिकीकरणको सबभन्दा बलियो अस्त्र पनि नाता–सम्बन्ध नै हो। नामी शिक्षण संस्थाबाट राम्रो शिक्षा पाइन्छ, तर संस्कार र नैतिक शिक्षा नातागोताबाटै पाइन्छ। इतिहासविद् राजेश गौतम पूर्वीय समाजको संयुक्त परिवारलाई पश्चिमाहरूले सम्मान गर्नुको कारण यही रहेको बताउँछन्।
बालबच्चाले संयुक्त परिवार अर्थात् धेरै नातागोताबाट पाउने लालनपालन र संस्कार एकल परिवारमा नपाउने बताउँदै गौतम भन्छन्, “बालबच्चाले ठूला मान्छेबाट सिक्ने भनेको नैतिक शिक्षा नै हो, नातिनातिनाले जुन स्नेह, प्रेम र स्याहार बाजेबज्यैबाट पाउँछन्, त्यस्तो स्याहार र संस्कार पाउने ठाउँ अरू कतै हुँदैन।”
संस्कृतमा एउटा भनाइ छ– आफ्नो नामले प्रख्यात भए ‘उत्तम’, बाबुको नामले प्रख्यात भए ‘मध्यम’, मामाको नामले प्रख्यात भए ‘तेस्रो’….। व्यक्तिको उन्नति स्वयम्को भूमिकामा बढी निर्भर रहे पनि नाता–सम्बन्धको पनि उत्तिकै महत्व हुने यो भनाइको मजबून हो। नातासम्बन्धले भाषा र संस्कृति संरक्षणमा पनि ठूलो सघाउ पुर्याएको छ। संस्कृतिविद् सत्यमोहन जोशी नाता–सम्बन्धले मौलिक परम्परा र भाषा जोगाइरहेको बताउँछन्।
ह्रासोन्मुख परम्पराको जगेर्ना
पछिल्लो समय नाता–सम्बन्धका स्वरुप फेरिंदै गएकाले यसको महत्वमा पनि धेरथोर कमी आएको छ। आर्थिक–उत्पादन सम्बन्ध बदलिंदै जाँदा तीव्र बनेको बसाइँसराइ र बढ्दो शहरीकरणसँगै शुरू भएका गतिविधिले नाता–सम्बन्धलाई केही हदसम्म पहिलेकै अवस्थामा यथावत् रहन दिएको छैन।
नेपालीहरू रोजगारी र अध्ययनका सिलसिलामा देशका शहर तथा विदेश जान थालेपछि संयुक्त परिवारहरू टुक्रिएका छन्। मानवशास्त्री सुरेश ढकालका अनुसार परम्परागत कृषि पेशामा आधारित श्रम संरचनामा परिवार र नातागोता नै श्रम संगठन हुन्थ्यो। “त्यस्तो उत्पादन सम्बन्ध फेरिंदै गएकाले नाता–सम्बन्धमा पनि त्यही खालको बदलाव आएको छ”, ढकाल भन्छन्।
समाजशास्त्री चैतन्य मिश्र चाहिं पश्चिमा (यूरोप र अमेरिकाको) समाजभन्दा नेपाली समाजलाई भिन्न रूपमा हेर्न नहुने मत राख्छन्। अहिलेको नेपाली समाज सय वर्षअघिको पश्चिमा समाज जस्तै रहेको उनी बताउँछन्।
उत्पादन सम्बन्धले नै नाता–सम्बन्ध बनाउने बताउने मिश्रका अनुसार कृषि पेशामा निर्भर हुँदासम्म मानिसहरूसँग आफ्नै जमीन थियो। “कृषि प्रमुख पेशा हुँदासम्म युरोप होस् या अमेरिका, त्यहाँको समाजको पनि परिवार संरचना र नाता–सम्बन्ध हाम्रै जस्तो थियो” मिश्र भन्छन्, “यसखाले उत्पादन सम्बन्धमा पारिवारिक नाता–सम्बन्धले यति कसिलोसँग समात्छ कि फुत्केर कतै जान दिंदैन, अहिलेको पुस्ता बाबुआमाको जग्गाजमीन–सम्पत्तिको दायराबाट टाढिन थालेको छ।”
समाजशास्त्री मिश्र नेपालमा उच्चवर्ग र धनीमानीको परिवार मात्र संयुक्त रहेको मान्छन्।सन् १९६५ को भूमिसुधारअघि पश्चिम तराईमा धेरै श्रमशक्ति हुनेलाई नै जमीन कमाउन दिइने हुँदा थारू परिवार मात्र संयुक्त रहेको तर अरू परिवार चाहिं त्यस्तो नरहेको उनको भनाइ छ।“हामी परिवार मिलेर एउटै उत्पादन सहकार्यमा लाग्छौं, पश्चिमाहरू चाहिं अलग–अलग काम गर्छन्, उपभोगमा मात्र सहकार्य गर्छन्” मिश्र भन्छन्, “अर्थतन्त्र कसरी चलेको छ, जीविकोपार्जन कसरी गरिन्छ भन्ने कुराले यसलाई निर्धारण गर्छ।
आर्थिक विस्तार जति छिटो भयो, यो प्रक्रिया पनि उति छिटो बढ्छ। जुन बाटोमा पहिले उनीहरू थिए, हामी त्यही बाटोमा छौं।”
तर, आर्थिक अनिश्चितताले कतिपयलाई पुरानै संरचनामा फर्काएको अमेरिकामा देखिएको छ। १७–१८ वर्षमै घरबाट निस्कने कतिपय अमेरिकी युवालाई पछिल्लो आर्थिक मन्दीले बाबुआमासँगै फर्काएको छ।
नेपाली समाजमा त्यो प्रक्रियाको सुरुआत नै भएको छैन। केही उपाय नभएर बाबुआमासँगै फर्कनु पर्दा पनि हामीकहाँ अमेरिकामा जस्तो ग्लानि हुँदैन। विदेश वा शहरबाट छोराछोरी फर्कंदा आमाबाबु पनि खुशी नै हुन्छन्। विदेशबाट फर्केर गाउँमा कृषिकर्म गर्नेहरू समाजमा राम्रो उदाहरण मानिन्छन्।
कतिपय छोराछोरीले आफ्नै बाबुआमालाई नहेर्ने वा अलपत्र छाडिदिने जस्ता समस्या देखिए पनि त्यो केही व्यक्तिविशेषमै सीमित छ।
त्रिविकी उप–प्राध्यापक नीति अर्याल खनाल अध्ययन तथा रोजगारीका सिलसिलामा पनि नेपालीहरूले नयाँ–नयाँ सम्बन्ध बनाउँदै लगेको तर कतिपय सम्बन्धहरू बाध्यता र बोझ् पनि बन्न थालेको बताउँछिन्।
उनका अनुसार, पहिले वर्षौं भेट नभए पनि आफ्नो मान्छेलाई सहयोग गर्नुपर्छ भन्ने भावना हुन्थ्यो, तर अहिले कुन ‘सर्कल’ लाई कसरी ‘मेन्टेन’ गर्ने भन्ने चिन्ता बढेको छ। अर्याल भन्छिन्, “पहिले नाता–सम्बन्धको निकटता समाजले नै निर्माण गरेको हुन्थ्यो, अहिले व्यक्तिगत इच्छा र चाहना हावी हुँदै गएको देखिन्छ।”
आज हरेकले फलानाको छोरा, छोरी, बुहारी भनेर चिनिनुको साटो आफ्नै पहिचान बनाउँदै गएको असर नाता–सम्बन्धमा परेको छ। त्यसमाथि महँगो शिक्षा प्रणाली, स्वास्थ्य लगायतका कुराले आर्थिक दबाब (भोक) बढाउँदा मान्छेमा तनाव र रीस पनि बढेको छ।
सम्बन्धहरू सम्पर्क–भेटघाट कत्तिको हुन्छ भन्ने कुरामा निर्भर हुन थालेको छ। नाता–सम्बन्धमा आएका यस्ता प्रतिकूलता हटाउँदै नवीकरण गर्ने उपाय पनि उत्तिकै छन्। तीमध्ये दशैं सम्बन्धहरूलाई ताजा बनाउने सबभन्दा ठूलो अवसर हो। मानवशास्त्री ढकाल भन्छन्, “बदलिंदै गएको नाता–सम्बन्धलाई दशैं लगायतका चाडपर्वहरूले पुनरुत्थान गर्छन्।”
इतिहासकार ज्ञानमणि नेपाल पनि दशैं लगायतका ठूला चाडबाडलाई नाता–सम्बन्धमा ताजगी ल्याउने अवसरको रूपमा अर्थ्याउँछन्। जस्तो, ९६ वर्षका संस्कृतिविद् सत्यमोहन जोशीको घरमा भाइ र भतिजाका गरी ९ परिवार भेला हुने अवसर दशैं नै हो।
त्यो अवसरमा बुहारीसँग नमिल्ने सासूले टीका लगाएर आशीर्वाद दिन्छन्, सासूसँग बोलचाल बन्द भएका बुहारीले पनि खुट्टा ढोग्छन्। संस्कृतिविद् जोशी भन्छन्, “दशैंले रीसराग सबै बिर्सेर सम्बन्ध जोड्ने सिमेन्टको काम पनि गर्छ।”
दशैंको बेला हजारौं नेपाली राजधानीलाई सुनसान बनाएर नाता–सम्बन्धलाई नवीकरण गर्न गाउँ फर्कन्छन्। माओवादीको दशक लामो हिंसात्मक विद्रोहका बेला राजधानी यति सुनसान हुँदैनथ्यो। दशैं मान्न गाउँ जान चाहनेहरू पनि त्रासले जान सक्दैनथे।
एक किसिमले नाता–सम्बन्ध जोगाउनै गाह्रो पार्ने अवस्था थियो, त्यसबेला। अहिले दशैंताका राजधानी सुनसान बन्नु त्यसबेला संकटमा परेको नाता–सम्बन्ध जोडिंदै जानुको प्रमाण पनि हो।
विदेशमा रहेका नेपालीहरूले सबभन्दा बढी घर आउन प्रयास गर्ने समय पनि दशैं नै हो। विदेशिएका नेपालीहरूको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त आफ्नो वार्षिक सम्मेलन नै दशैंको आसपासमा पर्ने गरी गर्दै आएको छ।
दशैंकै कारण सम्मेलनमा बढीभन्दा बढी एनआरएनहरूको सहभागिता जुट्ने अनुभव सम्बद्धहरूको छ। दशैंमा नयाँ कलाकारले पुराना कलाकारसँग टीका थाप्ने जस्ता चलनले बन्दै गरेका नयाँ नयाँ सम्बन्धको परिचय दिन्छन्। हिन्दूको दशैं र तिहार मात्र हैन, नाता–सम्बन्धलाई ताजगी दिने हरेक धर्म, जाति र सम्प्रदायको आ–आफ्नै चाडपर्व छन्।
आर्थिक–उत्पादन सम्बन्ध फेरिएर देश–विदेशमा छरिएका नेपालीहरूको सम्बन्धलाई प्रविधिले पनि नवीकरण गरिरहेको छ। ‘ग्लोबल भिलेज’ को काम गरिरहेका इमेल/इन्टरनेट, फेसबूक–ट्वीटर–स्काइप जस्ता सञ्जालले नाता–सम्बन्धका भौगोलिक दूरी हटाएका छन्।
“हाम्रो पालामा जागीर खान पाल्पा पुगेको भोजपुरका मान्छेलाई दशैंमा भारतीय बाटो भएर घर आउन १२ दिन लाग्थ्यो। अहिले अमेरिकामा भएको छोरो आज हिंड्यो भने भोलि आइपुग्छ” इतिहासकार नेपाल भन्छन्, “नआउँदा पनि प्रविधिले ऊसँगको सम्बन्ध ताजै राख्छ।”
नयाँ वर्ष, बिहे, ब्रतबन्ध, भोजभतेर आदिले पनि नाता–सम्बन्धलाई प्रगाढ बनाउन सघाउँछन्।
यस्तो अवसरमा खर्च हुने धन र त्यसबाट नवीकरण हुने सम्बन्धको तुलनै हुन सक्तैन। यद्यपि, अनावश्यक तडकभडकबाट जोगिनु आफैंमा राम्रो कुरा हो। समाजशास्त्री मिश्र भन्छन्, “मध्यमवर्गीय परिवारमा बिहे गर्दा सहकर्मीदेखि पार्टीका नेतासम्मका एक हजार मान्छे बोलाउनुपर्ने अवस्था देखिएको छ।”
समाजशास्त्री दाहाल नाता–सम्बन्धलाई तडकभडकबाट जोगाउँदै दीगो बनाउन परम्परागत सामाजिक संस्कार र ‘सोसल नेटवर्किङ’ महत्वपूर्ण हुने बताउँछन्। सामाजिक संस्कार बिर्संदा नाता–सम्बन्धले आत्मीयता गुमाउने उनको भनाइ छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट