थप समाचारशनिबार, आश्विन १८, २०७१

नाता नपर्ने नाता

हिमालखबर

-रमेश कुमार

पछिल्लो १४ वर्षमा त्यस्ता दिन कमै छन्, जसमा प्रा.डा. अभि सुवेदी र डा. शिव रिजालको भेट नभएको होस्। हरेक साँझ्

प्रा. अभि सुवेदी र डा. शिव रिजाल (बायाँ)।

प्रा. अभि सुवेदी र डा. शिव रिजाल (बायाँ)।

प्रायःजसो ठमेलको हिमालयन जाभा कफी हाउसमा यो जोडी जम्छ। उमेरले बाबु–छोरा भन्न मिल्ने यी दुईको भेट त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कक्षामा भएको थियो, जुन अहिले अनौपचारिक पारिवारिक सम्बन्धमा आइपुगेको छ। “शिव मेरो विद्यार्थी, साथीहुँदै छोरा जस्तो बनेको छ”, प्रा. सुवेदी भन्छन्।

परम्परागत नाता नपरे पनि आत्मीयता बढ्दै गएपछि स्थापित हुने सम्बन्ध झ्न् बढी गहिरो हुन्छ। विवाह वा जन्मका आधारमा सोझो नाता नपरे पनि भावनाले बढाएको निकटताको गहिराइ ज्यादा हुने सुवेदी बताउँछन। गुरु–शिष्यको सम्बन्ध होस् या आफ्नो ठानेर सिर्जना गरिएका नाताहरू, यिनले सामाजिक एकीकरणलाई पनि सहयोग गरेका छन्। प्रत्यक्ष नाता–सम्बन्ध नजोडिए पनि साइनोले बोलाउने नेपाली चलनले आत्मीयताको अवसर सिर्जना गरिरहेको हुन्छ। अचिनारुलाई पनि आफ्नो परिवारजन सरहको सम्मान दिंदै निर्धक्क ‘हजुरबा’, ‘हजुरआमा’ ‘बा’, ‘बुबा’, ‘आमा’, ‘मुआ’, ‘काका’, ‘काकी’ ‘दाइ’, ‘भाइ’, ‘दिदी’, ‘बहिनी’ जस्ता साइनोले बोलाउने चलनले निकटताको एउटा तहमा पुर्‍याइसकेको हुन्छ।

नेपालका जनजाति समुदायमा सामान्य चिनेका र अचिनारुलाई समेत ‘सोल्टी’, ‘सोल्टिनी’ वा ‘मामा’, ‘माइजू’ ‘क्षामा’ ‘भान्जा–भान्जी’ भन्दै नजिक बनाउने चलन व्यापक छ। त्रिवि समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. ओम गुरुङ यस्ता सम्बोधनहरूले विस्तारित नाता–सम्बन्ध (एक्स्टेन्डेड किनसिप) बनाउने बताउँछन्। डा. गुरुङ भन्छन्, “यस्तो सम्बोधन र नाताले आत्मीय भाव सिर्जना गरेर समाजको गतिशीलता कायम राख्दै सामाजिक संगठन निर्माण गरिरहेको हुन्छ।”

आत्मीयताको साइनो

बसोबास, पेशा, आवद्धता लगायतका कारणहरूले मानिसलाई सामाजिक संगठन आवश्यक पर्छ। नाता–सम्बन्धले त्यस्तो आवश्यकता पूरा गरिरहेको हुन्छ। विकसित मानिने पश्चिमी समाजमा नाता–गोताको अर्थ नेपालमा जति बृहत् छैन, भूमिका पनि उत्तिकै खुम्चिएको छ। ती समाजमा नातागोता जनाउने शब्द नै कम छन्। जस्तो, त्यहाँको अंकल वा कजन शब्दले हाम्रो समाजका धेरै नाताहरूलाई जनाउँछ। समाजशास्त्रका प्राध्यापक रामबहादुर क्षेत्री ती समाजमा नातागोताको सम्बन्ध नै कम हुने बताउँछन्। “त्यहाँ ससुरालाई नामले बोलाउनु पनि अनौठो हँुदैन”, प्रा.डा. क्षेत्री भन्छन्, “आत्मीयता कमै हुन्छ।”

समाजद्वारा रचित साइनो सम्बन्धले सम्बोधनबाटै आफ्नोपन विस्तार गरिरहेको हुन्छ। बाबुले भाइ भनेका सबैलाई

गोविन्द र मौसमी

गोविन्द र मौसमी

काका भन्ने, गाउँका चेलीबेटीका छोराछोरीलाई सबैले भान्जाभान्जी भन्ने वा साथीको मामालाई मामा भनेर बोलाउनु नेपाली समाजको परम्परा नै हो। ‘सोल्टी’, ‘सोल्टिनी’, ‘मामा’, ‘भान्जा’, ‘भान्जी’, ‘भाइबहिनी’ जस्ता सर्वस्वीकार्य नाताले कतैबाट नजोडिने सम्बन्धलाई समेत थाहै नपाई निकट बनाइरहेको हुन्छ। शहरमा कसैलाई भेटिंदा थातथलो र गाउँको नाता केलाएर सम्बन्ध जोड्ने चलन पनि पुरानै हो। यसले निकटताको भाव सिर्जना गरेर सामाजिक सुरक्षा प्रदान गर्ने समाजशास्त्री डा. डिल्लीराम बताउँछन्।

गाउँ–ठाउँ सोधेर शुरू भएको प्रा. अभि सुवेदी र डा. रिजालको सम्बन्ध अहिले पारिवारिक तहमा आइपुगेको छ। रिजाल अहिले सुवेदी पारिवारका सदस्य जस्तै भएका छन्, त्यस्तै सम्बोधन गर्छन्। विचार र भावनाको सम्मिलन, रुचिमा समानता, सहभागितामूलक र अन्तरक्रियामूलक सम्बन्ध, न्यून इगो र दोहोरो सम्मानले संगत–सम्बन्ध बढाएको सुवेदी बताउँछन्। रिजाल चाहिं लिने–दिने भन्दा पनि सद्भाव, सम्मान, प्रेम र आत्मीयताले सम्बन्धको गाँठो कसिलो पारेको ठान्छन्।

नेपाली समाजमा विवाह वा जन्मको नाता सरहको र कहिलेकाहीं अझ् गहिरो अरू थुप्रै सम्बन्ध छन्। धर्मपुत्र, धर्मपुत्री, धर्मदिदी, गुरु–शिष्य लगायतका सम्बन्ध भावनाको गहिराइमा बनेका हुन्छन्। चलचित्रका नृत्य–निर्देशक गोविन्द राई र नायिका मौसमी मल्लबीच दुई दशकदेखि दिदी–भाइको सम्बन्ध छ। दशैंको टीका र तिहारको भाइटीका उनीहरूका लागि विशेष दिन हुन्छ। नृत्यनिर्देशक राई र नायिका करिश्मा मानन्धरबीच निकै पुरानो स्नेहपूर्ण सम्बन्ध छ। दुःखका दिनहरूमा करिश्माले दिएको साथबाट यस्तो सम्बन्ध विकास भएको राई बताउँछन्। “गोविन्दसँग चलचित्रभन्दा निकै परको सम्बन्ध छ”, मानन्धर भन्छिन्, “हामी कतिपय चाडपर्व सँगै मनाउँछौं। अञ्जली श्रेष्ठसँग पनि मेरो त्यस्तै विशेष नाता छ।”

लेखक धु्रवचन्द्र गौतमले बालसखा मणि शर्मासँगको मित्रतालाई आजपर्यन्त प्रतिष्ठा गरिरहेका छन्। वीरगन्ज कुमारटोलमा सँगै हुर्किएका यी दुईको पारिवारिक तहको आत्मीय सम्बन्ध अहिले ७०औं वर्षमा चलिरहेको छ। लेखकहरू गौतम, नगेन्द्रराज शर्मा, विनोद दीक्षित, धु्रव सापकोटा, रोचक घिमिरेको मित्र मण्डलीले कुनै समयमा पाँच पाण्डवको उपमा पाएको थियो।

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को तीन दशक लामो सम्बन्धलाई उदाहरणको रूपमा लिइन्छ। कलाले बनाएको यी दुईबीचको आत्मीय सम्बन्धमा दुवैको परिवार जोडिएका छन्। ‘दाइ’ र ‘भाइ’ को सम्बोधन चल्ने यो जोडीले इगो र लोभको मूल्यमा मित्रताको वृक्ष हुर्काएका हुन्।

 

मन जोड्ने कडी

‘गोरु बेचेको साइनो’ को निहितार्थ नभएको नाता गाँसेर सबैसँग हेलमेल गर्नुमा छ। त्यसैले, फरक धर्म, सम्प्रदाय वा जातिका नेपालीबीचको सम्बोधन पनि नामबाट होइन, नातैबाट शुरू हुन्छ। नाताले अप्ठ्यारो, सजिलो सबै परिस्थितिको सुख–दुःखमा साझ्ेदारी गराएर सामाजिक जीवन्तता कायम गरेको छ। “नेपालीहरू नातै नपरेकासँग पनि साइनो जोडेर सामाजिक सद्भाव बढाउँछन्”, समाजशास्त्री डा. क्षेत्री भन्छन्, “यस्तो बेजोड संस्कार संसारका अन्य समाजमा छैन।”

समाजशास्त्री डा. दाहाल पश्चिमा समाज कामसँग सम्बन्धित नातामा बढी निर्भर रहेको, तर नेपाली समाज ‘नाफा र घाटा’ हेर्ने बजार अर्थतन्त्रभन्दा टाढै रहेको बताउँछन्। त्यसैले, मर्दापर्दा र अरू कतिपय आपत्विपत्का बेला पैसाका आधारमा भन्दा नाता–सम्बन्धका आधारमा काम गरिने चलन भएको उनी बताउँछन्।
पूर्वीय सभ्यतामा गुरु–शिष्यको सम्बन्धलाई यशस्वी मानिन्छ। गुरुले नयाँ पिंढीसम्म आफ्नो ज्ञान र प्रज्ञा विस्तार गर्ने magarगुरुकुलीय परम्परा अहिले नभए पनि गुरु–चेला सम्बन्धको आयाम बाँकी नै छ। त्यसैले ‘गुरुब्रह्मा, गुरुविष्णुः, गुरुदेवो महेश्वरः’ भनिएको डा. वासुदेवकृष्ण शास्त्री बताउँछन्। विभिन्न पेशा, व्यवसायको क्रममा पनि गुरु–शिष्यको जस्तै विशेष नाताहरू विकसित हुने गरेका छन्। जस्तो, बीपी कोइराला परिवार बाहिर पनि ‘सान्दाजु’ को रूपमा रहे। नेपाली गीत–संगीतको क्षेत्रमा गोपालयोञ्जन र माणिकरत्नसँग नारायणगोपालको तथा अम्बर गुरुङ र शंकर लामिछानेबीच उच्चस्तरको मित्रता रहेको चलचित्र निर्देशक प्रकाश साय्मी बताउँछन्। २०७१ को एनसेल नेपाल साहित्य महोत्सवमा गीतकार विश्वम्भर प्याकुरेलले नारायणगोपालसँग कुनै बारबन्देज नभएको सम्बन्ध रहेको बताएका थिए।

धर्मपुत्र वा पुत्रीबारे त चर्चित गीतै छ–

जन्मेर कोखमा कसैको

हुर्कन्छ काखमा कसैको

भाग्यको लेखा कस्तो

भावीले के लेखिदियो…।

विचार, रुचि, संस्कार र आकर्षणले व्यक्तिहरूबीच सम्बन्ध विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। चलचित्र निर्देशक साय्मी नाभि, मस्तिष्क र हृदयका आधारमा तीन थरी सम्बन्ध हुने र त्यसमध्ये हृदयले जोड्ने नाता अमर हुने बताउँछन्। उनका अनुसार, सम्बन्धलाई बलियो बनाउन व्यक्तिगत अहंको न्यूनता, स्मृति र समयको अवस्था महत्वपूर्ण हुन्छ। लेखक ध्रुवचन्द्र गौतम चाहिं सोचको उदारता, हार्दिकता, दृष्टिकोणको समानता र उपलब्धता आदिले सम्बन्ध विकास हुने बताउँछन्। “आपसी द्वन्द्वलाई जति कम गर्‍यो उति सम्बन्ध स्थायी हुन्छ”, गौतम भन्छन्।

(साप्ताहिक खबरपत्रिका हिमालबाट)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...