रमझमशनिबार, आश्विन १८, २०७१

भट्टाचार्य र पंचवटी

प्रकाश साय्मी

piदिलीपकुमार अघिल्लो चरणमा विमल रायका फिल्महरूबाट विख्यात भए। रायका तीन सहायक ऋषिकेश मुखर्जी, वासु भट्टाचार्य र गुलजार पछि स्वयम् ठूला निर्देशक भए।

उनीहरूले फरक–फरक धारका विशिष्ट शैलीका सिनेमा बनाए, जसलाई समानान्तर सिनेमा भनियो।मुखर्जी, भट्टाचार्य र गुलजार राजेश खन्नाको सुपर स्टारडमको युगमा निर्देशकीय छविमा आएका थिए। तिनै जनाले खन्नासित काम गरे।

भट्टाचार्यले खन्नासित बनाएका कुनै पनि सिनेमा व्यावसायिक रूपमा सफल भएनन्, तर ती अचाक्ली राम्रा थिए भन्ने मलाई लाग्यो। त्यो बेला मैले ‘धर्मयुग’ पत्रिकामा आफ्ना सिनेमा किन सफल भएनन् भन्ने भट्टाचार्यको लेख पनि पढेको थिएँ।

त्यतिवेला कम बजेटमा बन्ने भट्टाचार्यका समानान्तर सिनेमाहरू हेर्ने अवसर वटु, प्युखा र मिखाबहालका भिडिओ ‘होल’ हरूले दिएका थिए। उनका राम्रा–नराम्रा सबै सिनेमा हेरियो।

भट्टाचार्य निर्माता रहेको सई पराञ्जपे निर्देशित स्पर्श पनि त्यही समयमा हेर्ने मौका मिल्यो, जसले बम्बैमा रिलिज हुने भाग्य पाएको थिएन। साहित्य भन्दा साहित्यकारसित निकटता भएका भट्टाचार्यले फिल्माङ्कन गरेको आषाढ के एकदिन ले पनि रिलिजको दिन देख्न पाएन। त्यो सिनेमा प्रसिद्ध हिन्दी नाटककार मोहन राकेशको कृतिमाथि बनेको थियो। निर्देशकका रूपमा भट्टाचार्यको अभिव्यक्ति कतिपय ठाउँमा स्वतन्त्र/स्पष्ट हुन्थ्यो कतिपय ठाउँमा आश्चर्यप्रद।

स्कूले जीवनदेखि नै भट्टाचार्यका सिनेमा हेर्न थालेकोले उनीबारे प्रशस्त जानकारी राख्ने भइसकेको थिएँ, म। उनी र विमल रायका चर्चित फिल्म समीक्षक छोरी रिन्कीबीचको सम्बन्धबारे बलिउडका सिने खबरकागजमा केही न केही मसलादार शीर्षक आइरहन्थे। पछि भट्टाचार्य र रिन्की पति–पत्नी बने, तर विवाहेत्तर सम्बन्धमाथि सिनेमाहरू बनाउने भट्टाचार्यको वैवाहिक जीवन कहिल्यै राम्रो नभएको भन्ने पाठ्य सामग्री पनि हाम्रो हातमा आइसकेको थियो। यस्तै खबरहरूका बीच उनी काठमाण्डू आए।

भट्टाचार्यको सान्निध्य

ppppएक दिन भट्टाचार्य भद्रकाली मन्दिर छेउमा पंचवटी को छायाङ्कन गर्दै थिए। यसका नायक–नायिका अकबर खान र दीप्ति नवल थिए। क्यामेराम्यान अदीप टण्डन सिंहदरबार अगाडिको सडक खिच्न व्यस्त थिए। २०४१ सालको काठमाण्डूमा मध्यान्हको सिंहदरबार प्रायः जनहीन देखिन्थ्यो।

नेपाल–भारत संयुक्त लगानीको त्यो पहिलो फिल्मका निर्माता भारतका तर्फबाट शोभा डाक्टर र नेपालका तर्फबाट शाही नेपाल चलचित्र संस्थानकी महाप्रबन्धक टीका सिंह थिए। सिनेमा हिन्दीका प्रख्यात उपन्यासकार कुसुम अन्सलको ‘एक और पंचवटी’ मा आधारित थियो। दुवै देशमा छायाङ्कन हुने त्यो सिनेमामा नेपालका शान्ति मास्के, जयनेन्द्र चन्द ठाकुर, श्रीकृष्ण पौडेल, झ्लकमान गन्धर्व आदि कलाकार थिए।

पुष्करलाल श्रेष्ठ र म भट्टाचार्यको अन्तर्वार्ता लिन शंकर होटल पुग्यौं। उनी खैरेनीको शूटिङबाट थाकेर भर्खरै आएका रहेछन्, अन्तर्वार्तामा रुचि नै देखाएनन्। भट्टाचार्य र उनको समग्र सिनेमाबारे भव्य कुराकानी गर्ने मेरो रहर पूरा भएन। हामी सामान्य भेटघाट गरेर फर्कियौं। त्यसको केही दिनपछि नै उनी टोलीसहित बम्बई फर्र्किए, म पनि सिनेमा अध्ययनको लागि उतै लागें।

बम्बई पुगेको आठ–नौ महीनापछि होला, टीका सिंहले मलाई भेट्न खोजेको सूचना पाएर उनी बसेको होटल सी रक पुगें। उनी पंचवटी को नेपाली रूपान्तरणको कामका निम्ति आएकी थिइन्। उदीतनारायण झ्ा र मुरलीधर मभन्दा अघि नै त्यहाँ पुगेका रहेछन्।त्यहाँ क–कसले के–के काम गर्ने भन्ने छलफल चल्दा उदीतनारायणले अकवर खान र मुरलीधरले सुरेश ओवेरायको स्वरलाई नेपालीमा डब गर्ने जिम्मेवारी पाए।

म चाहिं वासु भट्टाचार्यको सहायक भएर दुई महीना खट्ने भएँ। तर, त्यो कुरा भट्टाचार्यसित भेटेपछि मात्र निश्चित हुने टीकाले बताइन्। नभन्दै, त्यही दिन त्यही होटलको प्रिभ्यू थिएटरमा भट्टाचार्यसित भेट भयो। यसपालि उनी मलाई नै पर्खिरहेका थिए। परिचय पछि उनले ‘हिन्दी बोल्न आउँछ?’ भनेर अंग्रेजीमा सोधे। “वासुदा, तपाईंकै फिल्म हेरेर हिन्दी सिकें”, मैले भने।

“त्यो ठीक छ, तर साहित्यको कति ज्ञान छ?”

“हि इज् भर्वल्ली अ पोय्ट, अल्सो”, टीका सिंहले बीचमै मेरो परिचय घुसाइन्।
“हामीलाई कविता किन चाहियो र? हिन्दीलाई नेपाली बनाउन भाषा हेर्नु पर्‍यो, बस्”, भट्टाचार्यले बम्बैया शैलीमा ‘कट टु कट’ कुरा गरे।

“वासुदा, म निर्देशनको विद्यार्थी हुँ”, मैले भनें, “तपाईंसित बसेर सिक्न पाउँछु भनें मात्रै यो काम गर्छु।”

उनले मलाई किन पत्याए कुन्नि, हाँ हाँ भन्दै बाँकी बात हिन्दीमा गरेर आफ्नो निर्माण नियन्त्रक कुकी सिंह र संवाद लेखक नवेन्दु घोषलाई भेट्न भने।
विदा लिएर ढोकामा के पुगेको थिएँ, उनले फेरि सोधे, “अनि अरू के गरिरहेका छौ?”

“इप्टामा काम गर्दैछु, वासुदा।”

“ए त्यो इन्डियन पिपुल्स थिएटर एसोसिएसन हामीले नै बनाएको हो। तिमी त्यहाँ छौ? भेरी गुड।”

मैले त्यही वेला एक–दुई कुरा थपें, जुन उनका निम्ति अप्रत्याशित थिए।
“अरे ये तो एलई है, वाह रे वाह!” उनी जुरुक्क उठेर म नजिक आइपुगे। एलईको अर्थ थियो– लिविङ इन्साइक्लोपेडिया।

अर्को दिनबाट भट्टाचार्यले मलाई एलई नै भनेर बोलाउन थाले। उनी मेरा वासुदा भए, चिरपरिचित गुरुजस्तै। म फाइल, कलम, टेप, स्पूल आदि बोकेर उनको पछि–पछि दौड्न थालें। मेरो व्यस्तता देखेर साथीहरू छक्क पर्न थाले। वासुदाको सान्निध्यमा म हरेक दिन केही न केही नयाँ कुरा सिकिरहन्थें। मलाई काममा राखेर ठीक निर्णय नगरेको उनलाई लाग्दो हो, तर म चाहिं लाभान्वित भइरहेको थिएँ। उनका दायाँ–बायाँका मान्छेहरू मलाई भन्थे, “तिमी दादालाई धेरै दुःख नदेऊ है।”

“ठीक छ, मलाई निकाली देऊ न त”, काम बीचमा पुगिसकेको हुनाले म पनि निहुँ खोज्थें। त्यो समयको बम्बईमा नेपाली कलाकारहरू नभएको होइन, तर भाषा हेर्ने, अनुवाद गर्ने र निर्देशकीय फाँट सम्हाल्ने कोही नभएको मलाई राम्ररी थाहा थियो।

एक दिन उदीतलाई वासुदाले सोधे, “तिम्री ‘फियान्सी’ एयर होस्टेस हो?”
“हो, दादा”, उदीतले भने।

“त्यसो भए यहाँ लिएर नआऊ, एयर होस्टेस मेरो कमजोरी हो।”
त्यसपछि उदीतले गीत रेकर्डिङ, डविङ्गतिर दीपालाई लिएर हिंड्न छाडे।

डब्बामा पंचवटी

पंचवटी को पोस्टप्रोडक्शनको सिलसिलामा वासुदासित म निकै आत्मीय भएँ। उनी फिल्मप्रति आदर राख्ने एउटा नेपाली विद्यार्थीसित भलिभाँती परिचित भए। “कसैले प्रिमियरमा बोलाए भने म कि कसैलाई लान्नँ, कि त मलाई एकदम मनपर्ने मान्छेलाई लान्छु”, एकदिन उनले भने, “आज तिमीलाई लान्छु।”

त्यसको केही घन्टामै म बलिउडका जानेमाने हस्तीहरूले प्रिमियर हेर्ने भव्य प्रेक्षालयमा थिएँ। मुज्जफर अलीले निर्देशन गरेको शबाना आजमी अभिनीत अञ्जुमन को प्रिमियर थियो, त्यो। “हाम्रो सिनेमा यत्ति मात्र हुन्छ”, शबानाको उमराव जान पछिको फिल्म अञ्जुमन हेरेर आएपछि वासुदाले भने, “तर, नेपालमा यत्तिको पनि चल्दैन।”

फिल्म निर्देशन र प्रविधिबारे अपार ज्ञान भएका वासुदालाई पंचवटी नेपालमा चल्छ भन्ने कुरामा पटक्कै विश्वास थिएन। भयो पनि लगभग त्यस्तै। नेपालीमा पंचवटी तयार भयो, तर टीका सिंहले नेपालमा रिलिज गर्न सकिनन्। जेठाजु–बुहारीको सम्बन्धलाई लिएर यो फिल्म चर्को विवादमा पर्‍यो। परिणाम, नेपालको कुनै हलमा झुल्किन पाएन, हाम्रो नौ लाख रुपैयाँ डुब्यो। एउटा राम्रो मेकरले बनाएको सिनेमा यसरी सदाका लागि डब्बा बन्द हुन पुग्यो।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...