ब्लगशनिबार, आश्विन १८, २०७१
सम्झना मात्रै!
२०३०–३५ सालमा मोरङको लेटाङ–१, कमलपुरका कुल २६ घरमध्ये १२ घर लाहुरेका थिए, दुई भारतीय र बाँकी ब्रिटिश गोर्खाका। र, तीमध्ये ११ घर मेरो मामाघर थिए। ती घरका घरबूढीहरू मेरी आमाभन्दा कम उमेरका भए क्षामा हुन्थिन्, नत्र माइजू। उनीहरू खोटाङ र सोलुका राई भएकोले होइन, पल्टने साइनोले मेरा मामा, माइजू र क्षामा परेका थिए।
पल्टनेहरूले आफूभन्दा सिनियरलाई गुरुजी, एकै ब्याचकालाई नम्बरी र जुनियरलाई आर्मी नम्बरबाट बोलाउँथे– ८४, ३८, ४२ भन्दै। आर्मी नम्बर २११४२३३९ लाई बोलाउँदा ३३ भनिन्थ्यो। लाहुरेहरू अरू लाहुरेनीहरूलाई उमेर हेरी दिदी वा बहिनी भन्थे। लाहुरेनीहरू अरू लाहुरेलाई दाजु भन्थे।
कति भाइ पनि पर्थे। दशैंमा दशेरा पार्टी र हिउँदमा वनभोज आयोजना हुन्थ्यो। त्यस्तो अवसरमा हाम्रा ८४ ब्याचका मामा ‘गुरुजीहरू…, दिदीबहिनीहरू…, नम्बरीहरू…, भान्जाभान्जीहरू…’ भन्दै कार्यक्रम शुरू गर्नुहुन्थ्यो।
कमलपुरमा बाँकी घर बाहुन, तामाङ, नेवार, विश्वकर्मा र परियारका थिए। हामी भुरा उनीहरूलाई पनि ‘मुक्तान मामा, चौलागाई मामा, कोइराल्नी माइजू’ भन्दै पल्टने साइनो लगाउँथ्यौं। उनीहरू पनि सहजै भान्जाभान्जी भन्दै माया गर्थे।
हाम्रा बा–आमा पनि तिनका छोराछोरीका मामामाइजू परिहाले। नेपालबाट धेरै टाढा गोर्खा पल्टनका फ्यामिली लाइनहरूमा रचिएका यस्तो साइनो–सम्बन्ध र तिनलाई धान्न गरिने हार्दिक उपक्रमहरू बेजोडका हुन्थे।
२०३५ सालमा हाम्रो परिवार कमलपुरबाट बसाइँ सर्ने भएपछि एक महीना अघिदेखि बिदाइ भोज शुरू भयो। चैतको एक दिन घर अगाडि डगरमा एउटा पुरानो फोर्ड ट्रक र रसियन जीप खडा भयो।
हामीलाई सुविस्ता होस् भनेर गाउँभरिका मामा–माइजूले जीपको व्यवस्था गरिदिएका थिए। खलासीले जीपको नाकमा ह्याण्डल घुसारेर जोडले घुमायो। तोप पड्के जसरी जीप स्टार्ट भएपछि भीडमा एक चरण रुवावासी चल्यो। हामी चैते धूलो र पत्कर उडाउँदै चारकोसे झाडी काटेर पूर्वपश्चिम राजमार्ग दक्षिणको रमाइलो झोडा झ्र्यौं।
त्यो त पूरै पूर्वाञ्चलको सबै जातका भूपू लाहुरेहरूको संगम रहेछ। हामी बानी बसेको पल्टने साइनो–सम्बन्धमा रमाइहाल्यौं। २०५० को दशकसम्म पनि झापादेखि बाँकेसम्मका मधेशका देहातहरूमा पल्टने लयमा चल्ने टोलहरू थुप्रै थिए।
सन् १९४७ मा भारत र ब्रिटेनले गोर्खा पल्टन बाँडेपछि मलायाको सुंगइपटनी र जोहोर बारु तथा हङकङदेखि बेलायतको चर्चक्रुक्हामसम्म फ्यामिली लाइनहरू बने। ‘जहाँ आइमाई, त्यहाँ साइनो’ भन्ने नेपालका कुनाकन्दराबाट त्यहाँ पुगेका सरल महिलाहरूले हामी जस्ता लाइन छोकराहरू पैदा मात्र गरेनन्, नेपाली साइनो सम्बन्धमा नयाँ आयाम थपे– फ्यामिलीवालहरूलाई दाजु र मुकलिसेहरूलाई भाइ बनाएर।
उनीहरूका लागि दशैं, तिहार जस्ता पर्व र जन्म, पास्नी, छेवर, गुन्यूँचोलो दिने कार्यक्रमहरू नयाँ साइनोलाई मजबूत बनाउने अवसर हुन्थ्यो। साइनो सम्बन्धको पालनाले दूरदेशको पल्टनघरमा रम्न त सघायो नै, सँगसँगै सामाजिक अनुशासन पनि कायम गरायो। अफिसरहरूका हुर्केका चञ्चले छोरीहरू पनि युवा मुक्लिस्हरूको भान्जी जो पर्न गए।
अहिले त सिंगापुरको माउन्ट भर्नन क्याम्पदेखि बु्रनाइको सेरिया र बेलायतको शर्नक्लिफ्सम्मका गोर्खा फ्यामिली लाइनहरू नेपालमै अंग्रेजी काइदाले ‘अंकल’, ‘आन्टी’ भन्न जानेका भान्जाभान्जीहरू लाहुरे–लाहुरेनी भएर पुगेका छन्।
त्यसमाथि बसाइँ पनि बहुराष्ट्रिय किसिमको मिसमासे छ भन्ने सुनिन्छ। भनेपछि अब पल्टनघरमा पुरानो भाका हराइसक्यो। हिजोआज कोही–कोही बेला आरडी राना मामाले ‘भान्जा’ भन्दै फोन गर्दा मलाई रमाइलो झ्ोडाका ती २८, ३०, ३ आदि मामा र अट्ठाइस्नी, तिस्नी, तिन्नी माइजूहरूको सम्झ्ना हुन्छ, जो एउटा हार्दिक संस्कार धानेर बितिसके।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
