टिप्पणीआइतबार, आश्विन १९, २०७१

नाताका गोता

कमल दीक्षित

नाता’ मात्र पनि छ हाम्रो भाषामा तर ‘नातागोता’ पनि छ र धेरैजसो यस कुराका लागि पछिल्लो शब्द नै प्रयोग हुने गर्छ। त्यो भनेको के? विचार गरूँ। कुनै पनि नाता लिनुस् त्यसले गोता नै दिन्छ भन्न खोजेको होइन? विश्लेषण गरी हेरूँ। पैले, मान्छेको पहिलो नाता नै लिऊँ, ‘आमा’ लाई।

‘आमा’ भन्ने नाता कमाउन एउटी आइमाईले कति गोता खानुपर्छ त्यो हिसाब गरूँ। नौ महीनाको सकसपछि प्रसवपीडा! त्यस पीडालाई ‘प्राणान्त’ भन्ने गरिन्छ। भोग्नेले बुझलान् प्राण जाँदा कति कष्ट हुन्छ। त्यो पीडा त्यस विचरीका लागि ‘गोता’ नै होइन र? आमाका लागि त्यो गोता हो भने जन्मने सन्तानका लागि पनि कम्ती गोता होइन। त्यो बच्चो छोरा होस् कि छोरी उसका लागि त आमा धेरै कालसम्म गोता नै भएर रहन्छिन्। मैले बढ्ता बोलेको छैन। मनन गरूँ।

जन्मेपछि तुरुन्त आमाले बुबु नखुवाए त्यो बच्चो बाँच्दैन, मान्छे नै बन्दैन। त्यो पूरा शिशुकाल र बालावस्थासम्म पनि सन्तानका लागि आमा ‘गोता’ नै भएर रहन्छिन्, नभई नहुने, अनिवार्य वस्तु। युवावस्थामा पुगेपछि, बिहे भएपछि ती आमाहरू फेरि अझ् ठूलो प्रकारले गोता बन्छन्। किनभने त्यस बेला उसकी स्वास्नी थपिन्छे त्यो गोतालाई सघाउन। त्यसपछि बाबु। ‘दशवर्षाणि ताडयेत्’ भन्छ नीतिशास्त्रले नै। बाबुले दश वर्षसम्म कज्याएर राख्नुपर्छ रे छोराछोरीलाई अर्थात् अनुशासनमै राख्नुपर्छ रे! त्यो अनुशासन भनेको गोता नै होइन?

अब अर्को नाता लिऊँ लोग्नेस्वास्नीको, मनुष्यका निमित्त सबभन्दा महत्वपूर्ण सम्बन्ध। पैले पतिलाई हेरूँ। एक्लो छँदा पुरुषलाई कुनै ‘प्रोब्लेम’ नै थिएन रे! बाइबल भन्छः ईश्वरले आफूले बनाएको (आदम) मान्छेलाई छचण्डाएर हिंडेको, जथाभावी गर्दै गरेको देखेर त्यसलाई कज्याउन उसैको देब्रेपट्टिको एउटा करङ झिकेर एउटी आइमाई बनाइदिए रे, ईभ।

भनेपछि स्वास्नी भन्ने कुरा परमेश्वरले नै लोग्नेलाई नियन्त्रणमा राख्न सृष्टि गरेको नाता रहेछ भन्ने बुझिदैन? यो पनि गोता नै होइन र? अब, पत्नीका तर्फबाट हेरूँ। हिन्दूका लागि एकप्रकारको ‘मुलुकी ऐन’ मनुस्मृति भन्ने ग्रन्थ छ। त्यसलाई अचेल नारीवादीहरू ‘प्रतिगामी’, ‘संकीर्ण’ इत्यादि भनी भर्त्सना गर्छन्, सराप्छन् तापनि अनादिकालदेखि त्यसले यो दक्षिणएशियाका नरनारीहरूलाई पथप्रदर्शन गर्दै आइरहेको छ भन्ने तथ्य विदितै छ।

त्यसले भनेको छ लोग्नेले स्वास्नीलाई सदैव रक्षा गर्नुपर्छ र आफ्नो नियन्त्रणमा राखिराख्नुपर्छ। त्यो भनेको नारीहरूलाई सकेसम्मको गोता होइन र?

अब अर्का प्रकारका नाताहरूतर्फ फर्कूं भाइ र भतिजाहरू तर्फ। जगदम्बा प्रकाशनले २०२७ सालमा निकालेको ‘उखान संग्रह’ भन्ने कितापमा यौटा उखान यस्तो छः ‘भाइ भतिजा भान्जा भाँड भाट…/इनीहरूसँग नगर तिमी कुनै पनि व्यवहार’। यस श्लोकभित्र परेका तीनोटा नातालाई लिएर कुरा गरूँ। भाइ अर्थात् दाजुभाइ, भतिजा र भान्जा यी नाताहरू महाभारतकालदेखि नै झ्गडा र वैमनस्यका द्योतक भएर आएका छन् हाम्रो समाजमा।

महाभारतको युद्ध नै दाजुभाइ र भतिजाहरूका बीच भएको थियो, ज्यानका दुस्मन भएर! मामा भएका कंस र शकुनिहरू दुष्टताका प्रतीकै भैहाले। ती नाताको के कुरा गर्नु? यी सबै गोता नै गोता भैहाले! तर, दाजुभाइ जस्तो नकारात्मक रूपमा नेपाली समाजमा दिदीभाइ अथवा दाजुबैनीका नातालाई लिंदैनन्।

पवित्र नाता मानिन्छन् यी चाहिं गोता होइन। पुराणका यमुना र यमराजको उदाहरण दिइन्छ र भाइटीका मनाइन्छ। तर त्यही पवित्र सम्बन्धलाई पनि विषाक्त पार्ने गरी केही वर्षअघि ‘छोरीअंश’ विधेयक ल्याइएको थियो क्यारे! तर किन र कसोरी हो त्यो ऐन बनेन क्यारे। बनिसकेको भए मैले थाहा पाएको छैन।

नेपाली समाजमा मीठो र रसिलो सम्बन्ध पनि छन् एक दोटा। बीचबीचमा तिनलाई पनि गोता बनाउने प्रयास नहुने होइन, तर साधारणतः त्यस्ता प्रयास सफल भएका छैनन्। ती ‘स्वीट’ सम्बन्ध भनेको साली र सोल्टिनीका हुन्। सालीका निमित्त नेपालीमा चलेका दुइटा उखान नै उदाहरणका रूपमा हेरूँ।

भन्छन् ‘साली कसकी? भेनाकी’ अनि भन्छन् ‘गुन्द्रुकलाई पकाउनु पर्दैन, सालीलाई फकाउनु पर्दैन’ रे! सोल्टी र सोल्टिनीका नाताका त उखानभन्दा पनि गीत र लोकगीतहरू बढी चल्छन्। तर ती उछिल्या र फोहोरी समेत हुने हुँदा यहाँ चर्चा गर्नु उचित लाग्दैन।

अन्त्यमा, तीतो पनि होइन मीठो पनि होइन, तर नेपाली समाजमा मात्र चलेको र नेपालको समावेशी पाराको एउटा विशेष नाताको चर्चा गरेर यो नाताको गोतालाई टुंग्याऊँ। त्यो नाता हो ‘मीत’ को। यो मीत भन्ने नाता मौलिक र र्झ्रो नेपाली हो। संसारमा अन्यत्र कतै यस्तो नाता प्रचलित भएको मैले पढेको छैन।

यो नातामा जातिको बन्धन छैन न जातको तगारो छ। एकै लिङ्गका जुन जातले जुनसुकै जातकासँग मीत लगाउन सक्छन्। अनि तत्काल दुइटा मीतका सबै परिवार र नातागोता एकापसका त्यही त्यही नातामा सम्बद्ध हुन्छन्, त्यसै परिवारमा जन्म लिएसरह। नेपालका दुर्गम हिमाली क्षेत्रदेखि तराईका फाँटसम्म समान रूपले फैलिएको छ यो प्रथा।

मीतको नातालाई धार्मिक हिसाबले हाम्रा अड्डा अदालतले पनि सन्मान गरेको देखिन्छ।

अलि हल्का किसिमले र ठट्यौली पाराले भने पनि यही हो मैले देखेको पारिवारिक सम्बन्ध― नातागोता।

 

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...