Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'मेरो अरमान दिलमा बन्द छ...' - Himalkhabar.com

साहित्य विशेषमंगलबार, आश्विन २१, २०७१

‘मेरो अरमान दिलमा बन्द छ…’

सरला गौतम

“परिचय गरौं न” राकेशले भन्छ, “उहाँ सम्झ्ना बस्नेत, फिल्मको कथा लेख्नुहुन्छ, घर हेटौंडा।”“म पुनम, राकेशजीको श्रीमती”, ऊ आफैं अघि सर्छे।

राकेश नवलपुरमा कार्यरत टेलिभिजन पत्रकार। उसको पत्रकार साथी सजलसँग हिजो म यहाँ आएको। मैले जिस्क्याउँदै भने, “हिजो त खाना खाइयो, आज ती परिकार बनाउने हात पनि समाउन पाइयो”, दुवै मुस्कुराए।

सिनेमाको कथा खोज्ने धुनमा बरालिंदै म मधेशको यो गाउँमा आइपुगेको थिएँ। सजल भन्थ्यो, “मान्छेहरू जाती छन्, दुई–चार दिन गाउँ घुमेर काम गर्न केही समस्या हुँदैन।”

म कथाको खोजीमा छु। कोही नौलो मान्छे देख्यो कि पात्र बन्ला कि! भन्ने लोभ पलाउँछ। पुनमसँग केहीबेर कुरा गर्न खोज्छु। राकेश बाहिर निस्किसकेको छ। खास लजालु त देखिन्न, तर धेरै नबोली “म चिया बनाउँछु है” भन्दै जान्छे। सलक्क परेकी पुनम, थोरै बोले पनि उसको बोलीको मिठास मन पर्‍यो।

मलाई चिया दिएपछि उसलाई खानाको हतार शुरू हुन्छ। खाना खाइवरी राकेशसँग गाउँ डुल्न निस्कन्छु उसको भटभटेमा बसेर। पुनम काखमा छोरी लिएर हामी हिंडेको हेर्छे।

उसका ठूल्ठूला चञ्चल आँखा, मलार्ई देख्नासाथ मुस्काए। मलार्ई ऊ बसिरहेको अँगेनाछेउमै जान मन लाग्यो। आज उसको काममा मन देखिंदैन। छठ भर्खर सकिएको छ र सँगै उसको धपेडी पनि। घरमा मान्छे पनि कम छन्। सासू आजै माइती लखनऊ हिंडिन्। ससुरा बगलको कोठामा होलान्। राकेशसँग ऊ खास धक मान्दिनँ तर पनि खै किन हो, ऊ वरिपरि नभएकै जाती जस्तो गरेकी छ। एकछिनमा राकेश छोरी बोकेर छिमेकमा पूजाको निम्तो मान्न हिंड्यो। पुनमलाई सोधें, “तिमी किन नगएको?”

उसले भनी “हाइ बा! यस्तो चलन छैन नि!”

उसको उत्तरले मेरो मनमा अनेक प्रश्न उठ्छन्। तर प्रश्न त ऊ मलाई गर्न थाल्छे। “तपाईं कहाँ कहाँ गएर आउनुभयो?” उसको लवजमा नेपाली त्यति अप्ठ्यारो लाग्दैन।

बिहानसम्म गुमसुम देखिएकी पुनम अहिले मसँग यसरी बोल्न खोजेकी छ मानौं उसलार्ई बोल्नको लागि निषेध गरिएको छ। र, ऊ त्यो तोड्ने मौकाको पर्खाइमा थिई। प्रश्नसँगै उसको नजरमा कौतुहलका धर्सा समेत देखिन्छन्।

“साम की चाय”, पुनमले चिया दिई। मंसीरको हल्का चिसोमा अँगेनामा बसेर तात्तातो चिया सुर्काउँदाको मजै बेग्लै। दिनभरिको थकानपछि साँझ्मा यति आत्मीय पर्खाइ होला भन्ने मैले सोचेकै थिइनँ।

आफू घुमेका ठाउँ र भेटेका मान्छेहरूबारे बताउन थाल्छु। दाउरा चुलोमा सार्दै ऊ भन्छे, “कहाँ कहाँ, के के छ म सबै भनिदिन सक्छु, कुन बाटो कता जान्छ, त्यो पनि बताउन सक्छु।”

अलि जिस्किए जस्तो लाग्छ। तर छक्क पर्छ’। सोच्छु, आठ वर्षदेखि बसेको गाउँबारे बताउन सक्नु कुन नयाँ कुरा भयो!

ऊ बोल्दै जान्छे, “तपाईंले आँखाले हेरेर यो गाउँ देख्नुभयो, मैले नदेखिकन नै देखिरहेकी छु।”

म वाल्ल पर्छ’।

“बुझनुभो दिदी, म राति–राति घरको छतबाट यो गाउँको अन्दाजा लगाउँछु। सासूआमासँगै छतमा पुगेर गाउँको बारेमा सोध्छु। अँध्यारोमा म हुन्छु, हल्का उज्यालोमा देखिएको गाउँ नियाल्छु। रातको थरीथरी आवाजबाट गाउँको धड्कन छाम्छु। यसरी नै गाउँको बारेमा धेरै कुरा थाहा पाएकी छु।”

ऊ यस्तरी बोलिरहेकी छ, लाग्छ भरिएर एकैपटक पोखिन खोज्दैछे। “दिनमा छतमा जान मिल्दैन, झयालबाट चियाउँछु। यहाँ बुहारी पुरानी भएपछि मात्र घर बाहिर निस्कने चलन छ।” स्तब्ध हुन्छु। उसको कुरामा दुःखी हुने कि सामान्य रूपमा सही थाप्ने? भेउ पाउँदिन।

म मधेश आएदेखि घुम्टो फालेका कथा मनग्ये सुने। आज पुनमको घुम्टोभित्रको कथा सुन्दैछु। ऊ छिमेकीको पूजाको निम्तोमा किन गइन बल्ल पो बुझदैछु।

उसका ससुरा आएका हुन् कि, ऊ सतर्क बन्छे। चाल हराएपछि फेरि बोल्न थाल्छे, “आफ्नै आँगन बाहिरको धारामा समेत म जान्न। चिसो पानी खान मन लागे पनि जान्न। मेरो संसार यो आँगनदेखि कोठासम्म मात्र हो।”

आगोको रापले तातिएका निधारका पसिना धोतीको सप्कोले सोहोरी। तर उसको भित्रैदेखिको राप निस्कँदै थियो। “एक दिन धारामा परेवालाई कुकुरले झ्म्टिंदै गरेको देखें। बचाउन बाहिर निस्कन खोजेको ढोकामा बाहिरबाट कुण्डी लगाएको रहेछ। परेवा बचेन। भन्नुस् त दिदी, मेरो जीवनको के अर्थ रह्यो?”

आडैको गोठमा बाँधिएको गाई देखाउँदै ऊ भन्छे, “त्यसमा र ममा फरक छैन। उसले पनि दिएको खान्छ, भनेको मान्छ, म पनि त्यही हो। मलार्ई चाहिं पगाहा लगाइएको छैन, बस्।”

पुनमको यो सत्यलाई कसरी स्वीकार गरुँ? हामी एउटै भूगोलको दुई फरक सत्य यो सुनसान साँझ्मा दुई अलग अलग सत्यलाई चिरिरहेका छौं। उसको सत्यले मलाई विचलित बनाइरहेको छ। ऊ भने हात परेको यो मौकामा मसँग मज्जाले पोखिन खोजिरहेकी छे। पुनमका लागि यस्तो क्षण पनि एउटा तमन्ना हो। म उसको तमन्नाको एक टुक्रा हुन पाएकोमा यो समयप्रति नतमस्तक छु।

शुरू नहँुदै झ्ाङ्गिएको हाम्रो मित्रता मलार्ई पनि मन परेको छ। आफूभन्दा चार वर्ष कान्छी केटीको परिबन्द देखेर माया पलाउँछ। ऊ पनि हिजोभन्दा गाढा मायामा मेरा लागि रोटी बनाउने तरखर गर्छे। तर उसका कुरा रोकिएका छैनन्।

ऊ भन्छे, “हेर्नु दिदी, माइतमा म एकदम बेफिक्र हुर्केको। जिन्स लगाउँथें, फिल्म हेर्न जान्थें, विराटनगरमा यो सब सामान्य कुरा थियो। अहिले पनि साथीहरू सम्झ्न्छु, भेट्न मन लाग्छ। तर, उनीहरूले मलार्ई चौखटभित्रकी घुँघटवाली भएर बसेको देखे भने, कस्तो मान्लान्?”

मेरो जवाफ खोजेकी हो कि! मतिर पुलुक्क हेर्दै फेरि भन्न थाली, “कपालमा मेहन्दी लगाउँथें, स्टेपकट मिलाएर काट्थें, अब यो सब किन गर्ने? चौबीस घन्टा छोप्नुपर्ने कपाल किन स्याहार्ने? मेरा हातका मिलेका लामा नङ, ल हेर्नुस् त कहाँ गए! किन पाल्ने नङ, किन लगाउने पालिस्? सुन्दर हुनु र नहुनुको के नै अर्थ रह्यो र?”

तर आफूलाई नस्याहारेकै बेला पनि ऊ सुन्दर छे।

पुनम झा उसको पूरा नाम। २५ वर्षकी भई। सर्लाहीको पिपरिया, उसको बिहे भएको गाउँ। सम्पन्न परिवारकी छोरी, त्यस्तैकी बुहारी। र पनि ऊ परम्परा–संस्कारको बन्दी। मनमा अटाई–नअटाई भएका उसका कुरा। मैले केही सोधेकै छैन, मात्र ऊ बोलिरहेकी छ। म अजनवीसँग सप्पै पोखिएकी छ। ऊ आफ्नो बन्दी जीवनसँग रिसाएकी छ। उसलार्ई म बटुल्न खोज्छु र भन्छु, “बीए पास गरेकी छ्यौ, कुनै जागीर खाएर बाहिर आउन सक्छ्यौ।”

“दिदीको मुखमा घि–सख्खर। यही त हो मेरो दिलको अरमान” पहेंलो आगोको रापमा ऊ चहकिलो देखिई, “तपाईं कति ठाउँमा जानुहुन्छ, सबकुछ आफ्नो आँखाले देख्नुहुन्छ। यस्तो जीवन पो जीवन!”

उसले यसो भन्दा मलार्ई न गर्व न त खुशी नै लाग्छ। बरु उसलार्ई अँगालेर भन्न मन लाग्छ– ल हिंड मसँग, हामी मन लागे जति यो संसार हेरम्, र हाँसम् जोड जोडले– तर, भन्न सक्दिनँ।

मेरो सोच भंग गर्दै ऊ पुनः सोध्छे, “हाम्रो देश निकै राम्रो भन्ने सुनेकी छु साँच्ची कस्तो छ?”

“निकै सुन्दर। एउटै देश डुल्दा पनि अनेक देश डुलेजस्तो। थरी–थरीका भाषा र खानेकुरा, अनि रमाइला र मायालु मान्छेहरू।”

“मेरो पनि तमन्ना छैन, मात्र आँगन छिचोल्ने मन छ। अहिले त म यो चौखटमा बन्द छु, र मेरो अरमान दिलमा बन्द छ” मेरो जवाफ नसक्दै ऊ फेरि भन्न थाल्छे, “ल दिदी वादा भयो, अर्को पटक आउँदा तपाईंलाई म घुमाउनेछु यो गाउँ र सुनाउनेछु मान्छेहरूका कथा।”

तर, कसरी? त्यो सोधेर उसको उत्साह मार्न चाहिनँ मैले। गढेर नियालें– ऊ बेजोड सुन्दर र दृढ देखिई। राकेश र छोरी पनि आइपुगे।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>