थप समाचारबिहीबार, आश्विन २३, २०७१

चिसोको साथी

हिमालखबर

minaनेपालीका मुख्य चाडपर्वहरू घरदैलोमा प्रवेश गर्दै गर्दा चिसो मौसम पनि सँगै भित्रिंदैछ। त्यसैले, चाडबाडसँगै मानिसलाई चिसोबाट बच्ने बन्दोबस्त मिलाउने चटारोले पनि छोपेको छ। बिहानदेखि राति सुत्ने बेलासम्म प्रयोग गर्नुपर्ने पानी तातो पार्ने व्यवस्था मिलाउनु जाडोका लागि सबैभन्दा आवश्यक हुन्छ। त्यसैले पानी तताउने प्रविधि र सामग्री जोहो गर्न अहिलेदेखि नै मानिसहरु थालिसकेका छन्।

गाउँघरमा भने अहिले पनि जाडोमा नुहाउने पानी तताउँदा दाउरा वा गुईंठाको प्रयोग गर्ने गरिन्छ। घरमा विद्युत्को सुविधा हुने कतिपयले पानी तताउन विद्युतीय तार पनि प्रयोग गर्छन्। तर, एक दिनमा १२ घण्टाभन्दा धेरै लोडसेडिङ हुने भएकाले विद्युत्बाट पानी तताएर नुहाउन सम्भव छैन। दाउरा सहज रुपमा पाइने ग्रामीण भेगमा जाडोबाट बच्न आगो ताप्न र पानी तताउन धेरै गाह्रो नपर्ला। तर, शहरमा यो सम्भव छैन। शहरमा दाउरा महँगो पर्छ भने बाल्ने ठाउँ पनि हुँदैन। सोलार वाटर हीटरको आवश्यकता यस्तै ठाउँमा पर्ने हो।

सोलार वाटर हीटर जडान गर्ने हो भने दाउरा, ग्याँस र विद्युत् नभए पनि चिसोबाट बच्न वा पानी तताउन सकिन्छ। हिमाल, पहाड, तराई तथा शहर वा गाउँ घाम लाग्ने जुनसुकै ठाउँमा यो जडान र उपयोग गर्न सकिन्छ। सोलार वाटर हीटर अहिले लोकप्रिय हुनुको कारण पनि यही हो।

जाडोबाट बँच्न पाँच वर्षअघि घरमा वाटर हीटर सिस्टम जोडेका काठमाडौं लाजिम्पाटका माधव अधिकारी अहिले पनि सन्तुष्ट छन्। रु.१ लाख २० हजार खर्च गरेर जडान गरेको २४ प्यानलको यो सोलार सिस्टमले घरमा बस्ने १५ जनालाई २४ सै घण्टा तातोपानी उपलब्ध गराएको छ। सोलार वाटर हीटर सिस्टम जोडेपछि पहिला जस्तो बिजुली लाइन पर्खने झण्झट बेहोर्नु नपरेको उनी बताउँछन्। यो सिस्टमले तीन घण्टा घाम लाग्दा पनि २४ घण्टा पानी तताउन सक्ने भएकाले तातोपानीको अभाव कहिल्यै भोग्नु नपरेको पनि उनको भनाइ छ। ग्यास गिजरको प्रयोग जोखिमपूर्ण हुने भएकाले सोलार वाटर सिस्टम जडान गर्न उनी सबैलाई सुझाव दिन्छन्।

सोलार वाटर हीटर वातावरणीय हिसाबले पनि निकै उपयुक्त छ। यसले वन विनाश रोक्छ, गुईंठा र आगो बाल्नु नपर्दा वातावरण दूषित हुँदैन भने अरु खालको झण्झट पनि बेहोर्नुपर्दैन।

प्रस्तुतिः मीना शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...