ब्लगशनिबार, आश्विन २५, २०७१

कथामा सम्भावना

तुफान न्यौपाने

पुस्तक: अब्बा लेखक : श्याम साह सम्पादक : सङ्गीतश्रोता प्रकाशक :फोनिक्स बुक्स पृष्ठ: २१०+४ मूल्य; रु.२७५

पुस्तक: अब्बा
लेखक : श्याम साह
सम्पादक : सङ्गीतश्रोता
प्रकाशक :फोनिक्स बुक्स
पृष्ठ: २१०+४
मूल्य; रु.२७५

मधेशको यो नयाँ कलमले मूलधारको नेपाली साहित्यमा यसअघि भवानी भिक्षुले बनाएको बाटोलाई अझ फराकिलो पार्ने ल्याकत देखाएको छ।

अब्बा का १२ कथामध्ये अधिकांशले मधेशी जनजीवनको ढुकढुकी छामेका छन्। संग्रहमा मधेशमा माओवादी द्वन्द्वका असर र पहाडको गरीबीदेखि राजधानीमा वेश्यावृत्ति गर्न विवश युवतीको मनोदशासम्म अटेका छन्। अर्थ र संकेतहरुले ओजनदार सबै कथा सरल छन्।

प्रयोगात्मक शैलीको ‘तेह्र हजार दुई सय छयालीस’ कथाको पनि अर्थ बुझ्न बल गरिरहनुपर्दैन। विषय छनोटका हिसाबले पनि प्रखर लाग्ने कथाहरुमा वैचारिक पक्ष शक्तिशाली छ। पाठकलाई विषयको गहिराइमा पुर्‍याउन सक्षम कथाकारले नेपाली समाजका निमुखाहरुको खुल्ला पक्षपोषण गरेका छन्। कथाहरुमा थिचिएका–पिसिएकाहरुको आक्रोश छन्। कथाकारले तिनलाई नारा हुनबाट जोगाउने कुशलता देखाएका छन्।

शीर्ष कथा अब्बा मा माओवादी द्वन्द्वले तराईमा पारेको प्रभावको दुर्दान्त चित्र छ। कथामा एक जना सरल ग्रामीण अस्लमको परिवारलाई द्वन्द्वले ध्वस्त बनाउँछ। राज्य र सशस्त्र विद्रोहीबीचको द्वन्द्वको बाछिटाले गाउँलाई छुन थाल्दा अस्लमका निर्दोष बाबु मारिन्छन्।

अस्लमकी पत्नी सरकारी फौजको बलात्कार पछि बेपत्ता हुन्छिन्। अस्लमको पक्षमा आवाज उठाउने सांसद्को हत्या हुन्छ। न्याय खोजिरहेका अस्लम पनि मारिन्छन्। श्यामले अस्लमलाई तराईका ती सयकडौं अस्लमहरूको प्रतिनिधि पात्र बनाएका छन्, जसलाई द्वन्द्वसँग कुनै लेनादेना थिएन, तर पनि उनीहरु मारिए वा बेपत्ता पारिए। उनीहरूको परिवार तहसनहस भयो।

संग्रहको पहिलो कथा ‘लाटीको छोरो’ ले नेपाली समाजका कथित ठालुहरूलाई कठोर व्यङ्ग्य गरेको छ। कथामा एउटी गर्भवती लाटी युवती र मजदूर सुर्जा चमारमाथि ठालुहरुले थोपरेको अन्यायको शब्दचित्र छ। अर्को कथा ‘मन्त्रीकी प्रेमिका’ ले मधेश आन्दोलनको सह–उत्पादनको रुपमा रातारात नेता बनेकाहरूको वास्तविकता देखाउँछ। ‘म मरेपछि’ कथामा मानिसको अस्तित्वको खोजी छ।

मधेशमा जन्मेहुर्केका कथाकारको कृतिमा मधेशी परिवेशको प्राधान्य हुनु अस्वाभाविक होइन। द्वन्द्वकालमा विद्रोही पक्षबाट पनि थुप्रै हत्या, बलात्कार, कुटपीट, बेपत्ता जस्ता अपराध भएका थिए, तर धेरैजसो कथामा सरकार पक्षकालाई बढी खलपात्र बनाइएको छ।

यसलाई कथाकारको कमजोरी भन्न सकिन्छ। यद्यपि, पहिलो कृतिमै यति सशक्त कथाहरु दिन सक्नु श्यामको खुबी हो। यसले पाठकको अपेक्षा पक्कै बढाएको छ। कथाकारको लागि यो पनि एउटा चुनौती हो।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>