अन्तर्वार्ता/विचारशनिबार, आश्विन २५, २०७१

‘कमल थापालाई संविधानले चिन्दैन’

हिमालखबर

-हृदेश त्रिपाठीtrrrr

अन्तरिम संविधानको कार्यभार संविधानसभाबाट संघीयता, गणतन्त्र, समावेशी समाज, धर्म निरपेक्षतालाई संस्थागत गर्नु थियो, र मुलुक सोही गतितिर गइरहेको छ ।

तर, अहिले यो कार्यभार बोक्ने आमाहरु छायाँमा परेका छौं । र त्यो कार्यभार धाईआमाको कोटमा पुगेको छ । धाईआमा (कांग्रेस एमाले)ले कार्यभारलाई बदल्न खोज्दैछन् । जसको लागि हामी अहिले संघर्ष गर्नु परिरहेको छ ।

उपलब्धी संस्थागत गर्नैपर्ने कार्यभार हाम्रो हो । सरकार निर्माणका सन्दर्भमा एमालेले राखेको ८ माघको डेटलाइनलाई ठूलो विषय बनाएर परिवर्तनकारी शक्तिलाई छायाँमा पार्न खोजिदैछ । यो अवैधानिक कुरो हो ।

किनभने जनक्रान्तिहरुको जनादेश उपलब्धी संस्थागत गर्नु हो । दोस्रो संविधानसभाको चुनावमा परिवर्तनकारी शक्तिहरु कमजोर बनेको छ । तर, आकार घट्दैमा बहुमतबाट पेलेर संविधान जारी गरियो, त्यो दुर्भाग्य हुन जान्छ ।

अल्पमतमा परेका शक्तिहरुलाई पनि संविधान नमान्ने वैधता प्राप्त हुन्छ । त्यस्तो प्रकृतिको वैधताले राज्यलाई नै नोक्सान पु¥याउँछ । किनभने संविधान राज्यलाई चाहिने हो, देशलाई होइन । देशका एउटा पाटोलाई संविधान नमान्ने वैधता दिएपछि राजनीतिक अस्थिरता बढेर जान्छ ।

यसर्थ, सहमतिबाट संविधान जारी गर्नु नै अहिलेको कार्यभार हो । बहुमतबाट सरकार बन्छ, तर संविधान बन्दैन । हामीले सरकार पनि सहमतिबाटै बनाऔं भन्दा तत्कालीन कांग्रेस सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नमान्दा अहिलेको अवस्था आएको हो ।

अव, प्रश्न उठ्छ, के कमल थापाले असहमति जनाए भने पनि संविधान जारी नगर्ने ? त्यसो होइन । कमल थापाले एउटा चुनावमा थोरै उचाई बढाए । तर, उनलाई संविधानले चिन्दैन । उनको मागहरु वैधता प्राप्त होइन ।

अन्तरिम संविधानले नचिन्ने, जनक्रान्तिबाट वैधता नपाएको शक्तिको असहमतिले ठूलो असर राख्दैन । अर्थात, राजनीतिक कार्यभार होइन ।

कमल थापाले राजनितिक वैधता प्राप्त गर्नै नसक्ने भन्ने होइन । तर, उनले विगतका जनआन्दोलनहरु भन्दा ठूलो क्रान्ति गरेर देखाउन सक्नुपर्छ । त्यसपछि राजनीतिक वैधता थापातिर जान्छ, हामीतिर होइन ।

परिवर्तनकारी शक्तिहरु एक हुँदा पनि संविधान बन्न नसक्नुमा हाम्रै पनि गल्ति भयो । हामी पहिचान पक्षधरले भएका सबै मुद्दाहरु बाहिर राखिहाल्यौं । बार्गेनिङका लागि केही बाँकी रहेन । कांग्रेस एमालेले आफ्नो अडानलाई सञ्चित गरिरहे । जुन अहिले प्रयोग गरिरहेका छन् ।

(तराई–मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष त्रिपाठीसँगको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...