Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अर्थहीन सल्लाहकार - Himalkhabar.com

रिपोर्टसोमबार, आश्विन २७, २०७१

अर्थहीन सल्लाहकार

हिमालखबर

-रमेश कुमार

ff३० भदौ अपराह्न प्रधानमन्त्री कार्यालयको भुईंतलाको लबीमा प्रधानमन्त्रीकी जनसम्पर्क सल्लाहकार मृदुला कोइराला आधा दर्जन कार्यकर्ताबाट घेरिएकी थिइन् । मेडिकल कलेजको कोटा तथा भर्नाबारे कार्यकर्ताहरूलाई उनी त्यहाँ आश्वासन दिंदै थिइन् ।

कुनै विषयको विज्ञ नभए पनि कोइराला परिवारकी सदस्य तथा जुझरु कार्यकर्ता रहेकी उनको खटनपटन अहिले बालुवाटारदेखि सिंहदरबारसम्म चल्ने गरेको बताइन्छ । प्रधानमन्त्रीका अरू सल्लाहकारहरू पनि नीतिगत विषयमा प्रधानमन्त्रीलाई सुझव दिनेभन्दा भनसुन गरिदिने तथा ‘कनेक्सन मिलाउने’ भूमिकामा ज्यादा देखिन्छन् ।

प्रधानमन्त्रीलाई निर्णय लिन सजिलो पार्न सम्भावित विकल्प र परिणामबारे सुझउनुपर्ने सल्लाहकारहरूको भूमिका अहिले त्यस्तो छैन भने वर्तमान प्रधानमन्त्री सुशील कोइरालाले पनि सल्लाहकारहरूसँग नीतिगत सल्लाह माग्ने गरेको पाइँदैन ।

यस्तोमा सल्लाहकारहरू पनि सल्लाह माग्ने र सल्लाह दिने पद्धति बस्न नसकेकोमा असन्तुष्ट देखिन्छन् । प्रधानमन्त्रीका सामाजिक सेवा र विकास सल्लाहकार डा. विजन पन्त भन्छन्, “प्रधानमन्त्रीले सल्लाहकारहरूसँग नीतिगत सल्लाह गर्ने पद्धति र संस्थागत संरचना अहिलेसम्म बन्न सकेको छैन ।”

सल्लाह हुँदैन

प्रधानमन्त्री कोइराला सत्तासीन भएको आधा वर्ष नाघ्दा संविधान निर्माणमा राजनीतिक सहमति जुटाउन वा विकास निर्माणबारे निर्णय लिन सरकार चुस्त देखिएको छैन । दैनिक प्रशासनिक काम सञ्चालनको अवस्था पनि उस्तै छ ।

प्रधानमन्त्रीले सक्रियता देखाउन नसकेकाले उनका सल्लाहकारहरू पनि फुर्सदिला छन् । मनखुशीले सिंहदरबार जाने तथा फर्कने उनीहरूले प्रधानमन्त्रीलाई भेट्ने अवसर पनि कमै पाउँछन् । प्रधानमन्त्रीले आर्थिकमा डा. चिरञ्जीवी नेपाल, परराष्ट्रमा डा. दिनेश भट्टराई, प्रशासनिकमा बाबुराम आचार्य, सामाजिक सेवा र विकासमा डा. विजन पन्त र जनसम्पर्कमा मृदुला कोइरालालाई सल्लाहकार राखेका छन् ।

जसमध्ये पन्त र कोइराला अवैतनिक हुन् भने डा. नेपाल अर्थशास्त्री तथा भट्टराई परराष्ट्र सेवाको सहसचिवबाट अवकाशप्राप्त हुन् । आचार्य नेपाल सरकारका पूर्व सचिव हुन् भने डा. पन्तले अमेरिकामा विद्यावारिधि गरेका छन् ।

कोइराला पनि अमेरिकाको बसाइँ छोडेर फर्किएकी हुन् । तर, राजनीतिक र संविधान निर्माणबारे सल्लाह दिन प्रधानमन्त्रीले अहिलेसम्म राजनीतिक  सल्लाहकार नियुक्त गरेका छैनन् । संविधान बनाउने बेला राजनीतिक दलहरूसँग समन्वय गर्न सक्ने सल्लाहकार नबनाउनुलाई राजनीतिक विश्लेषक पुरञ्जन आचार्य आश्चर्य मान्छन् ।

आचार्य भन्छन्, “प्रधानमन्त्रीलाई अहिले परिपक्व सल्लाहकार र विज्ञ समूह चाहिन्छ ।”
तर, नियुक्ति पाएका सल्लाहकारसँग पनि प्रधानमन्त्रीले सल्लाह नलिएको प्रधानमन्त्रीका एक सल्लाहकारको भनाइ छ ।

कहिलेकाहीं प्रधानमन्त्रीसँग भेट हुँदा पनि नीतिगत विषयमा छलफल नहुने उनी बताउँछन् । “कहिलेकाहीं दैनन्दिन विषयमा सुझव भने मागिएको छ” सल्लाहकार पन्तको भनाइ छ । उनका अनुसार सल्लाहकारहरूको संयुक्त बैठक पनि अहिलेसम्म गरिएको छैन ।

परराष्ट्र मामला सल्लाहकार भट्टराई आफैं राजदूत बन्ने प्रयासमा लाग्नुले सल्लाहकारहरू लाभ लिने ध्याउन्नमा लागेको देखाउँछ । आर्थिक सल्लाहकार डा. नेपाल पनि चैतबाट खालि हुने राष्ट्र ब्याङ्कको गभर्नर पदमा जान प्रयासरत रहेको बताइन्छ ।

कोइराला पनि पार्टीको पद लिन प्रयासरत देखिन्छिन् ।

प्रधानमन्त्रीले भूमिका र काम प्रभावकारी बनाउन सल्लाहकार राख्ने चलन नयाँ होइन । प्रधानमन्त्रीलाई सूचना र ज्ञान दिएर निर्णय गर्न सजिलो पार्नु सल्लाहकारको काम हो । राजनीतिशास्त्री डा. कृष्ण खनाल प्रधानमन्त्रीको कार्य सम्पादनलाई परिणाममुखी बनाउन सल्लाहकारको भूमिका महŒवपूर्ण हुने तथा सल्लाहकारको सघन र महŒवपूर्ण सुझवले प्रधानमन्त्रीको निर्णय क्षमता बढाउने बताउँछन् ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सल्लाहकार रहेका उनी सल्लाहकारले प्रधानमन्त्रीलाई दबाब दिनेभन्दा उत्तम विकल्पहरू बताउनुपर्ने धारणा राख्छन् । “सल्लाहकारले प्रधानमन्त्रीलाई प्रत्येक विकल्पको सम्भाव्य परिणामसहित बताइदिनुपर्छ”, खनाल भन्छन् ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाका आर्थिक सल्लाहकार रामेश्वर खनाल सल्लाह लिने र दिनेबीचको गतिशीलताले प्रधानमन्त्रीको सक्रियता र भूमिका निर्धारण गर्ने बताउँछन् । सल्लाहकारबाट राय÷परामर्श लिन सक्नु प्रधानमन्त्रीको खुबी हुने पनि उनको भनाइ छ ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदाका प्रमुख सल्लाहकार पुरञ्जन आचार्य प्रधानमन्त्री र सल्लाहकारहरूबीच अहिले बलियो सम्बन्ध रहेको देख्दैनन् । अहिले प्रधानमन्त्रीलाई सल्लाह लिनु नपरेको तथा सल्लाहकारलाई पनि दिनु नपरेको उनको भनाइ छ । माधवकुमार नेपाल प्रधानमन्त्री हुँदाका राजनीतिक सल्लाहकार रघु पन्त समस्या समाधानमा भूमिका निर्वाह गर्नुपर्ने सल्लाहकारको भूमिका अहिले नदेखिएको बताउँछन् ।

विश्वास आवश्यक

भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार नियुक्त भएका पीसी अलेक्जेण्डरलाई शुरूमै गान्धीले कामको योजनाबारे सोधेकी थिइन् । जसको उत्तरमा उनले ‘प्रधानमन्त्रीको इच्छा अनुसारको काम गर्ने’ भन्दा गान्धी असन्तुष्ट बनेको उनैले सार्वजनिक गरेका छन् ।

नेपालमा, २०४६ पछि प्रधानमन्त्रीले सल्लाहकार राख्ने चलन बढेकोमा २०५२ मा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले स्वकीय सचिवालय र सल्लाहकार गरी झ्ण्डै चार दर्जनलाई नियुक्त गरेका थिए । गणतन्त्रका प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईले पनि ठूलै संख्यामा सल्लाहकार राखे । तर, कतिपय बेला इच्छाले भन्दा पनि प्रधानमन्त्रीले नाता, राजनीतिक दबाब वा सन्तुलन मिलाउन सल्लाहकार राख्नुपरेको पुरञ्जन आचार्यको भनाइ छ ।

कतिपय बेला त्यस्ता सल्लाहकारलाई प्रधानमन्त्रीले नै नचिनेको घटना पनि छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सल्लाहकार मोहन लाखेलाई नचिनेको घटनाले देखाउँछ । लाखे सुशील कोइरालाको सिफारिशमा सल्लाहकार नियुक्त भएका थिए । अहिले पनि प्रधानमन्त्रीले आफ्नै सल्लाहकारमध्ये सबै चिन्दैनन् ।

आचार्य भने आफू सल्लाहकार रहँदा दिनको चार–पाँच घण्टा प्रधानमन्त्रीसँग रहने गरेको र अनेकौं विषयमा खुल्ला छलफल गर्ने गरेको सम्झ्न्छन् । तर, त्यो बेला पनि अरू सल्लाहकारसँग प्रधानमन्त्रीको खासै छलफल हुने नगरेको उनको भनाइ छ ।

प्रधानमन्त्रीका सल्लाहकार पन्त पनि सल्लाह दिनेले कति दिन्छ र लिनेले कति लिन्छ भन्ने आधारमा सल्लाहकारको भूमिका निर्धारण हुने बताउँछन् । उनको विचारमा प्रधानमन्त्रीले नमागे पनि सल्लाहकारले सल्लाह दिनुपर्छ ।

यसरी हेर्दा, प्रधानमन्त्री र सल्लाहकारबीच विश्वासिलो सम्बन्ध हुँदा मात्र सल्लाहकार प्रभावकारी बन्ने देखिन्छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले रामेश्वर खनालको नेतृत्वमा हरि रोका, वीरेन्द्रबहादुर बस्नेतसहितको आर्थिक सल्लाहकार परिषद् बनाए पनि परिषद्को सुझव नसुनेको बताइन्थ्यो ।

रामेश्वर खनाल चाहिं सल्लाहकारभन्दा प्रधानमन्त्रीको किचेन क्याबिनेट हावी हुँदा त्यस्तो भएको बताउँछन् ।
प्राध्यापक खनालको विचारमा सल्लाह लिने÷दिने प्रणाली नबस्नु दुःखलाग्दो हो । उनले पनि त्यस्तो पद्धति र संरचना निर्माण नभएकाले चार महीनामै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सल्लाहकारबाट राजीनामा दिएका थिए ।

सल्लाहकारको रायसुझवलाई कतिपय बेला प्रधानमन्त्रीले बाध्यताका कारण लिन नसकेको उनको अनुभव छ ।

भारतमा भने प्रधानमन्त्रीको सल्लाहकारको भूमिकालाई निकै महŒवपूर्ण मानिन्छ । सल्लाहकार कार्यालयमा सचिवालय समेत हुन्छ । पूर्व भारतीय प्रधानमन्त्री मनमोहन सिंहका प्रेस सल्लाहकार रहेका सञ्जय बारुको केही महीनाअघि प्रकाशित संस्मरणले पनि यो देखाउँछ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईको भनाइमा भारतसहितका कतिपय देशमा सल्लाहकारलाई कार्यकारी शक्ति पनि दिइएको हुन्छ । “फाइलहरू  सल्लाहकारले अध्ययन गरेर सुझव दिन पाउँछन्” भट्टराई भन्छन् । माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सल्लाहकार रहेका रघु पन्त भने सल्लाहकारलाई रायसुझव दिनमै सीमित राख्नुपर्ने बताउँछन् ।

मापदण्ड आवश्यक

प्रधानमन्त्रीका सल्लाहकार कस्तालाई बनाउने भन्ने अहिलेसम्म मापदण्ड बनेको छैन । यही कारण पारिवारिक सदस्य, कार्यकर्ता वा स्वार्थ पूरा गर्न सक्ने आसेपासेले यो पद पाएको देखिन्छ । पूर्व अर्थसचिव रामेश्वर खनाल मापदण्ड नभएकाले सल्लाह नचाहिंदा पनि आफ्नो मान्छेलाई यो पदमा राखिने गरेको बताउँछन् ।

प्राध्यापक कृष्ण खनालको विचारमा स्वार्थका कारण नियुक्त हुने सल्लाहकारले देशभन्दा निहीत स्वार्थलाई ध्यान दिन्छन् । प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदी प्रधानमन्त्रीका सल्लाहकारको काम, कर्तव्य, योग्यता, सुविधा, पारिश्रमिकबारे कार्यविधि वा नियमावली बनाउने चर्चा भए पनि नबनेको बताउँछन् । “आवश्यकता र औचित्यका आधारमा विशेषज्ञ सल्लाहकार राख्न मापदण्ड निर्माण अनिवार्य छ”, सुवेदी भन्छन् ।

मापदण्ड नभएकाले प्रधानमन्त्रीको तजबिज र मन्त्रिपरिषद्को निर्णयको आधारमा सल्लाहकारहरूको हैसियत फरक हुने गरेको छ । कतिपय सल्लाहकार राज्यमन्त्री सरहका हुन्छन् भने कतिपय पूर्ण मन्त्री सरहका । हालका प्रधानमन्त्रीका सल्लाहकारहरू भने राज्यमन्त्रीसरहका मात्रै छन् । माधवकुमार नेपाल प्रधानमन्त्री हुँदाका प्रमुख सल्लाहकार रघुजी पन्त पूर्ण मन्त्री बराबर थिए ।

पूर्ण मन्त्रीसरह हुन नपाउनु पनि अहिलेका सल्लाहकार असन्तुष्ट हुनुको एउटा कारण देखिन्छ । परराष्ट्र मामिला र आर्थिक सल्लाहकारको कार्यालयमा सुब्बास्तरका कर्मचारीले सचिवालय धानेको र आवश्यक लजिस्टिक समेत नभएको सल्लाहकार भट्टराईको भनाइ छ ।

प्रधानमन्त्री बाहेक मन्त्रालयहरूले गर्ने सल्लाहकार नियुक्तिको पनि मापदण्ड देखिंदैन । पञ्चायतकालमा डा. प्रकाशचन्द्र लोहनी अर्थमन्त्री हुँदा पृथ्वीराज लिगललाई अर्थ सल्लाहकार बनाइएको थियो । पूर्व अर्थसचिव खनाल मन्त्रीको तजबिजमा नियुक्त हुने त्यस्ता सल्लाहकारहरूले मन्त्रालयको फाइलसमेत हेर्ने गरेको बताउँछन् ।

भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा सल्लाहकार बनेका डा. गोविन्दबहादुर थापाले फाइल हेर्न थालेपछि विवाद भएको थियो । सञ्चार र परराष्ट्र मन्त्रालयसँगै अहिले गृहमन्त्रालयमा पनि सल्लाहकार राख्ने चलन गृहमन्त्री वामदेव गौतमले शुरू गरेका छन् ।

तीन पटक मन्त्री भइसकेका एमाले नेता प्रदीप नेपाल अहिले गौतमको सल्लाहकार बनेका छन् । मन्त्रालयहरूमा विशेषज्ञ सेवाका लागि पद सिर्जना गरेर करारमा विज्ञ नियुक्त गर्न निजामती सेवा ऐनमा व्यवस्था भए पनि त्यसको कार्यान्वयन भने अहिलेसम्म भएको छैन ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>