थप समाचारमंगलबार, आश्विन २८, २०७१

यौनका लागि अपराध

हिमालखबर

38-401उल्लेखित घटना नेपाली समाजमा किशोर–बालापनमै डरलाग्दो ढंगले मौलाउन थालेको हिंसान्मुख मनोवृत्तिका केही उदाहरणमात्र हुन्। काभ्रे, उग्रताराको हत्या बलात्कार खुल्ने डरले भएको देखिन्छ भने झापाको घटना २ वर्षअघि भारतको दिल्लीमा भएको सामूहिक बलात्कार जस्तै कहालीलाग्दो छ।

बलात्कारपछि यौनाङ्गमा लौरो घुसार्नुले किशोरहरूमा बढ्दै गएको पाशविकताको पराकाष्टा देखाउँछ। दिल्ली घटनामा पनि बलात्कारपछि फलामको रडले यौनाङ्ग क्षतविक्षत बनाइएको थियो।

काठमाडौं जिल्ला अदालतको बाल इजलासले आर्थिक वर्ष २०७०/७१ मा १९ वटा बालअपराध सम्बन्धी मुद्दा फर्स्योट गरेकोमा ११ मुद्दा यौन अपराध सम्बन्धी छन्, जसमध्ये जबर्जस्ती करणी ९, अप्राकृतिक मैथुन १ र जबर्जस्ती करणी उद्योगको १ मुद्दा छन्।

अपराध प्रमाणित भएका त्यस्ता बालबालिकालाई सरकारले २०५७ देखि सुधार गर्न बाल सुधार गृहमा पठाउने गरेको छ। भक्तपुरको थिमीमा १००, पोखराको सराङकोटमा ५० र विराटनगरमा ५० जना राख्न सकिने क्षमताका सुधारगृहमा अहिले १७५ किशोर/बालक र ६ बालिका छन्।

सुधार गृहका संयोजक रजित सैंजु बालबालिकाहरू दुर्घटनावश हत्या र बलात्कारमा संलग्न देखिएकाले उनीहरूलाई समाजले स्वीकार गर्नुपर्ने बताउँछन्। समाजले त्यसरी स्वीकारेमा उनीहरूलाई समाजमा पुनर्स्थापित हुन सजिलो हुने उनको भनाइ छ।

प्रहरीसम्म कमै पुग्ने हुनाले समाजमा यस्ता घटना यो भन्दा धेरै हुने सहजै अनुमान गर्न सकिन्छ। यसै पनि नेपाली समाजले यौन सम्बन्धी घटना खुलाएरभन्दा लुकाएर हल गर्न रुचाउँछ। तर, लुकाए पनि वा खुलाए पनि बलात्कारका घटनामा संलग्न बालबालिका मानसिक रुपमा कमजोर बन्छन् र उनीहरूलाई समाजमा घुलमिल हुन गाह्रो हुने गर्छ।

काठमाडौं जिल्ला अदालतमा परेका यस्ता दर्जंनौ मुद्दा अध्ययन गरेकी मनोविद् सुचिता सुवेदी कयौ किशोरहरूले बलात्कार घटनामा आफूलाई फसाइएको बताउने गरेको बताउँछिन्। संयोजक सैंजु पनि सहमतिले यौनसम्बन्ध राखेको घटनालाई पनि बलात्कार भनेर फसाइएको गुनासो सुधारगृहमा रहेका केही किशोरहरूले गरेको बताउँछन्।

rrrrr

तस्वीरः बिक्रम राई, मोडलः प्रनिशा सिलवाल

अधिक चासो पनि कारक

बझाङ माझीगाउँ गाविस–८ की १८ वर्षीया एक अपाङ्ग युवतीले नजिकको नाता पर्ने १७ वर्षीय किशोरको गर्भ बोकिन्। कान दुखेको उपचार गर्न जाँदा डाक्टरले शंका लागि परीक्षण गर्दा उनको गर्भ देखिएको थियो। यौन सम्बन्ध राख्दा गर्भ रहने जानकारी आफूलाई नभएको उनको भनाइ थियो। रुकुमस्थित राप्ती ज्ञानोदय उच्च माविमा गत वर्षको एसएलसी परीक्षा दिंदै गर्दा एक अविवाहित किशोरीले छोरी जन्माइन्।

विभिन्न अध्ययनहरूले यौन सम्बन्धी बढी चासोका कारण किशोरकिशोरी यस्ता घटनामा पर्ने गरेको देखाएका छन्। सन् २०१०/११ मा स्वास्थ्य मन्त्रालयले १५ देखि १९ वर्षका २,२९८ किशोर र ३,५३१ किशोरीमा गरेको अध्ययनले अधिकांशलाई यौनजन्य गतिविधि, यौनसर्म्पक तथा पैसा तिरेर राखिने यौन सम्बन्धबारे धेरथोर जानकारी रहेको तथा त्यस्ता गतिविधिमा संलग्न रहेको पनि देखाएको थियो।

पहिलोपटक यौनसम्बन्ध राख्ने ९१६ मध्ये १० प्रतिशतले १५ वर्ष पुग्नुअघि नै यौनसम्बन्ध राखेको बताएका थिए। ५७ प्रतिशतले पति–पत्नीसँग, ३६ प्रतिशतले केटा साथी वा केटी साथीसँग र बाँकीले अरु चिनेकासँग तथा परिवारको सदस्य र नातेदारसँग यौनसम्बन्ध राखेको बताएका थिए।

सहमतिमा ८० प्रतिशत, अन्जानमा १४ प्रतिशत र ६ प्रतिशतले बाध्यतावश यौन सम्बन्ध राखेको बताए, बाध्यतावश यौनसम्बन्ध राख्नेमा किशोरीको संख्या अत्याधिक देखिन्छ। मन्त्रालयले नै १० देखि २४ वर्षका १४,७५४ जनामा गरेको अर्काे अध्ययनमा ७,६४४ महिला र ७,१०९ पुरुष सहभागी थिए।

ग्रामीण भेगका ८० प्रतिशत र शहरी क्षेत्रका २० प्रतिशतमा गरिएको सो अध्ययनमा सहभागीमध्ये ९५ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला साक्षर थिए। सो अध्ययनले उमेर बढ्दै जाँदा किशोरकिशोरीको पढाइमा रुचि कम हुँदै गएको देखाएको छ। यौन क्रियाकलापमा सक्रिय रहेका ७६ प्रतिशत युवा र ८० प्रतिशत युवतीले विवाहअघि कुमार नै रहनुपर्ने अनौठो मान्यता राखेका थिए।

नेपाली किशोरकिशोरीमा यौन सक्रियता बढेसँगै गर्भपतन र बालविवाहका घटनामा पनि बृद्धि भएका छन्। केही जिल्लाका बालक्लबले बालविवाह नियन्त्रणमा काम गरेको देखिए पनि कलिलो उमेरमा यौनजन्य क्रियाकलाप वा विवाह गर्दा हुने बेफाइदाबारे धेरैले बुझेको देखिंदैन।

समाजले विवाहेत्तर यौनसम्बन्ध रोक्न विवाहलाई जोड दिने हुँदा पनि सानो उमेरमा विवाह हुनेगरेको देखिन्छ। कानूनले महिला २० र पुरुष २१ वर्ष भएपछि मात्र विवाहका लागि परिपक्क हुने भने पनि ग्रामीण समाजले १६ वर्ष भएपछि परिपक्व मान्छ। अपरिपक्व उमेरमा गरिएका विवाह दिगो नहुने अर्को यथार्थ छँदैछ।

विकृति बन्दै संस्कृति

rrसमाजले किशोरले किशोरीलाई जिस्क्याउनु ‘प्राकृतिक’ मान्छ तर, त्यसले ल्याउने परिणामलाई भने वास्ता गर्दैन। त्यस्तो चलनले यौनाङ्गको राम्रोसँग विकास नभए पनि किशोरकिशोरीमा यौन कार्यप्रति आकर्षण बढाउँछ। मनोविद् सुचिता सुवेदी बालबालिका देखासिखी र किशोरकिशोरी उत्सुकताले यौन सम्बन्धी घटनामा संलग्न देखिएको बताउँछिन् (हे.बक्स)।

यौनका मामिलामा खुलापनको आनन्द उठाउने एउटा जमात पनि तयार भएको छ, जसले समाजको सबै क्षेत्रमा विकृति बढाएको छ। यद्यपि, नेपाली समाजले न यौन सम्बन्धी पुराना मान्यता उखेल्न सकेको छ, न त पश्चिमा मान्यता नै अंगाल्न सकेको छ। तर समाजमा बढ्दो यौन विकृति, बाबुआमाको खराब सम्बन्ध र विवाहेत्तर सम्बन्धले बालबालिकालाई प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव भने पारेको देखिन्छ।

यौनबारे समाज उदार बन्दै गएकाले यौन सम्बन्धी सामग्री पनि सहजै उपलब्ध हुन थालेका छन्, जसमा बालबालिकादेखि किशोरकिशोरीको सहज पहुँच पुगेको देखिन्छ। मोबाइल, इन्टरनेट जस्ता प्रविधिको सहज उपलब्धता पनि यौनजन्य सामाग्री सहज रूपमा उपलब्ध हुनुको अर्को कारण हो। यस्तोमा सञ्चारमाध्यमले मोबाइलमार्फत् मन लाग्दा जोसँग पनि सम्बन्ध बनाउन सकिने प्रचार गरिरहेका छन्। विदेशी फिल्मले त यौनलाई माया―प्रेमको नाममा जीवनको एकमात्र लक्ष्यका रूपमा प्रस्तुत गर्ने गरेका छन्।

यस्तो अवस्थामा अभिभावक र शिक्षक बालबालिका र किशोरकिशोरीका यौन सम्बन्धी जिज्ञासा मेटाउनुको साटो मौन रहने वा उम्किने गर्छन्। शिक्षित अभिभावकहरू समेत छोराछोरीलाई केटाकेटी भन्दै त्यस्ता प्रश्नको उत्तर दिन आवश्यक ठान्दैनन्।

जसले, उनीहरूलाई आफैं जिज्ञासा मेट्ने बाटो अपनाउन बाध्य बनाउँछ। शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्छन्, “बालकबालिकाको जिज्ञासा नबोलेर टारिन्छ भने किशोर–किशोरीको जिज्ञासालाई ठट्टा गरेर पन्छाइन्छ। यसले यौनबारे खुलेर कुरा गर्न नहुने रहेछ भन्ने मानसिकता सानैदेखि विकास गराउँछ।”

यौनशिक्षा आवश्यक

गत वर्षदेखि स्वास्थ्य तथा शारीरिक विषय अर्न्तगत कक्षा ६ मा यौनशिक्षा सम्बन्धी पाठ पढाउन थालिएको छ। तर, यो पाठ पश्चिमा शैलीको भएकोले व्यावहारिक नभएको तथा पढ्ने र पढाउने दुवैका लागि असहज देखिएको शिक्षाविद् कोइराला बताउँछन्।

“पश्चिमा शैलीको यौन शिक्षाले भर्जिनिटीको ज्ञान दिंदैन, यौन जिज्ञासा र चाहनामात्र बताउँछ। हाम्रो समाज भने ठूला बच्चालाई अर्को कोठामा सुत् भन्न समेत नसक्ने छ। जवकि, पश्चिमाहरू किशोरकिशोरीलाई सुरक्षित यौनकार्य गर्न सुझाव दिन्छन्।”

योग्य शिक्षक नहुँदा पाठमा भनिएका सबै विषय विद्यार्थीहरूले बुझ्न सकेका छैनन्। तर, पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक गणेशप्रसाद भट्टराई विज्ञहरूको सल्लाह अनुसार नै पाठ्यक्रम तयार पारिएको बताउँछन्। “पाठ्यक्रम तयार पार्दा विषयलाई कति भार पर्छ भनेर हिसाब गरिन्छ। अहिले दश प्रतिशत भार पर्नेगरी यौनशिक्षाको पाठ तयार पारेका छौं।

शिक्षकका लागि निर्देशिका पनि तयार पारिएको छ। यसको व्यावहारिकता भने स्कूलहरूले मूल्यांकन गर्नेछन्,” उनको भनाइ छ। यो वर्ष कक्षा ७ र अर्को वर्ष कक्षा ८ मा यौन सम्बन्धी पाठ राखिने तथा ९ र १० कक्षामा राखिएको पाठ पनि परिमार्जित गरिने उनी बताउँछन्।

१०–१४ वर्ष र १५–१९ को उमेरलाई संवेदनशील मान्दै त्यो उमेरमा सिकेअनुसार भावी जीवन निर्देशित हुने विश्वव्यापी मान्यता छ। त्यो उमेरमा हर्मोनहरूको उतारचढाव हुने हुँदा विपरीत लिङ्गीतर्फ आर्कषण बढ्नुलाई पनि स्वभाविक मानिन्छ। यौनशिक्षाले यौन व्यवहार ठम्याउन, यौनिकताको पहिचान गर्न, संयमित रहन, जोडीबीच सन्तुलित सम्बन्ध निर्माण गर्न र व्यक्तित्व विकास गर्न सहयोग पुग्ने विश्वास गरिन्छ।

सबै किशोरकिशोरीमा उस्तै शारीरिक परिवर्तन हुने भए पनि मानसिक परिवर्तन भने फरक हुने गर्छ। तर, यसलाई कमैले मात्र विषय मान्ने गरेको मनोविद् सुवेदी बताउँछिन्। यौनशिक्षालाई यौनसम्बन्ध सम्बन्धी शिक्षा मात्र मान्ने मानसिकता पनि अर्काे समस्या देखिन्छ।

कण्डम भए यौनसम्बन्ध राख्न हुन्छ भनेर सरकारी संयन्त्रले नै प्रचार गर्ने गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘किशोरकिशोरी स्वास्थ्य सेवा परार्मश’ बारे शिक्षा मन्त्रालयलाई थाहा छैन। सुधारगृहका संयोजक सैंजु परिवार, स्कूल, संघसंस्था र सरकारी संयन्त्रले समन्वय गरेर किशोरकिशोरीलाई शिक्षा दिंदा मात्र सही नतिजा आउने बताउँछन्।

सन् २००९ मा नेपालका विद्यालयमा यौन तथा यौन स्वास्थ्य शिक्षाबारे गरिएको एक अध्ययनले विद्यायलयमा यौनशिक्षा प्रदान गर्न विभिन्न कठिनाइहरू रहेको निष्कर्ष निकालेको थियो।

ती कठिनाइहरूलाई पार गर्न यौन स्वास्थ्यलाई सरल तरीकाले अध्यापन गराउनुपर्ने, साथी शिक्षा कार्यक्रम लागू गर्नुपर्ने, अभिभावकसँग सहकार्य गर्दै संघसंस्था र स्वास्थ्य संस्थाहरूलाई संलग्न गराउनुपर्ने, शिक्षकहरूको क्षमता वृद्धि गर्नुपर्ने, विद्यार्थीहरूको सहयोगी र सेवामूलक संस्थाहरूमा पहुँच हुनुपर्ने र यौन शिक्षाको अध्ययन र समीक्षा हुनुपर्ने जस्ता उपाय पनि सुझाइएको थियो।


‘शिक्षकले नै रोक्न सक्छन्’

बालबालिकाहरूलाई यौन सम्बन्धी जानकारी दिने हिसाबले पाठ्यक्रमका विषयहरू ठीकै छन्। तर, त्यसलाई व्यावहारिक रूपमा बुझाउन सम्भव छैन। पुस्तकमार्फत् बुझाउन गाह्रो पर्ने भएकाले हामीले आफ्नै हिसाबले पढाउने गरेका छौं। बालबालिकाले यौनबारे हामीले नपढाइ थाहा पाएका हुन्छन्। तर पनि हामीले बताएको उनीहरू चाख मानेर सुन्छन्। पढाउँदा कोही हाँस्छन्, आपसमा खासखुस गर्छन्, तर हामी त्यसलाई वास्ता गर्दैनौं। धेरैजसो किशोरहरूमा किशोरीहरूको महीनावारीको उपचार हुन्छ कि हुँदैन भन्ने जिज्ञासा हुनेगर्छ। कतिपय स्कूलमा शिक्षकहरू नै पाठ पढाउन लाज मान्छन्, जसले विद्यार्थीलाई पनि लज्जाबोध हुन्छ। शिक्षकले सही तरीकाले पढाउन सके बालबालिकाहरू गलत बाटोमा लाग्नबाट जोगिन्छन्। यस्तो पाठ पढाउनेलाई तालिम दिंदा पढाइ प्रभावकारी हुन्छ।

(भानुभक्त मेमोरियल स्कूलमा निमावि तहका चार शिक्षकहरूले विद्यालयमा पाठ्यक्रममा राखिएको किशोरावस्था यौन तथा प्रजनन् स्वास्थ्य पाठको औचित्यबारे दिएको प्रतिक्रिया )


 

यौनशिक्षा व्यावहारिक हुनुपर्‍यो

सुचिता सुवेदी, बालमनोविद्

बच्चाले देखेअनुसार गर्न खोज्दा अपराधहरू भएका छन्। धेरैजसो किशोरकिशोरी मोबाइल वा इन्टरनेटका यौन सामग्रीले उत्सुकता जगाएको बताउँछन् भने कतिपयले आफ्नै बाबुआमा वा अरुको यौनालाप देखेर सिको गर्न खोजेको देखिन्छ। महिलालाई चक्कु देखाएर लुगा खोल्न लगाउने किशोर पनि भेटियो।

यस्तो प्रबृत्ति नियन्त्रण गर्न बालबालिकाका लागि चेतनामूलक कार्यक्रम तथा मानसिक स्वास्थ्य कार्यक्रम ल्याउनुपर्छ। सबै अवस्थामा रहेका बालबालिकालाई ती कार्यक्रममा समेट्नु पर्छ। अपराध बढी हुने क्षेत्रहरू जस्तै काठमाडौंको नयाँ बसपार्क, कलंकी जस्ता क्षेत्रमा बस्ने बालबालिका तथा किशोरकिशोरीलाई त्यस्तो शिक्षा अरु बढी आवश्यक छ।

यौनशिक्षा पाठमा राखेर मात्रै हुँदैन, शिक्षकहरूले त्यसलाई पढाउनु पनि पर्छ। कतिपय शिक्षकले महीनावारीबारे के पढाउनु भनेको पनि मैले सुनेकी छु। सरकारीभन्दा निजी विद्यालयका विद्यार्थीमा केही बढी चेतना देखिन्छ। विद्यार्थीलाई यौन स्वास्थ्यसँगै त्यससम्बन्धी कानूनबारे पनि पढाउनु तथा परामर्श दिनु आवश्यक छ।

अपराधी भनिएका बालकहरू धेरैजसो घरको वातावरण राम्रो नभएका, नपढेका, बाबुआमाको ठेगान नभएका तथा न्यून आयस्रोत भएकाहरू देखिन्छन्। अपराध गरेपछि बालसुधार गृहमा राखेर वा कम सजाय दिएर मात्र समस्या समाधान हुँदैन। सुधारगृह अहिले समय काट्ने ठाउँमात्र भएकाले त्यहाँबाट निस्केका बालकहरू खुंखार अपराधी बन्ने खतरा पनि छ। मेरो अनुभवमा त्यहाँ रहेका बालकहरूले यौनलाई अत्यन्त हलुकासँग लिएका छन्। महिलाको यौनाङ्गबारे पढाउँदा उनीहरू हाँसेको देखिन्थ्यो। यस्ता बालबालिकालाई मुद्दापिच्छे छुट्याएर राख्ने, मनोचिकित्सकको निरन्तर निगरानी र परामर्शमा राख्ने तथा पढ्न अनिवार्य गर्नुभन्दा अरु विकल्पहरू दिनसके उनीहरू सुधारगृहबाट निस्केपछि गरिखान सक्षम हुन्थे।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...