ब्लगबुधबार, आश्विन २९, २०७१
जागिरे भूत
अनेक भाकल गरेर धुँइपत्ताल खोज्दा’नि एकथान जागिर भेट्न सकिएन। अब त औकातका तीन सुकेहरू समेत ‘लेखन्तमै नभए बेग्लै कुरो, नत्र भीरबाट लडेको ढुंगाले पनि अडिने ठाउँ पाउँछ’ भन्दै सहानुभूतिको नुनचुक छर्छन्।
उता जानिफकार भनाउँदाहरू अर्ति दिन्छन्, ‘जागिर भनेको त ‘जा’ अनि ‘गीर’ हो, त्यस्तो डुब्ती मार्गमा फाल हान्यौ भने जिन्दगीभर तैरदैनौ। स्वदेशमा हुन् वा विदेशमा, अह्राएको गर्ने र दिएको खाने जागिरे मतिकै कारण नेपालीहरू कहिल्यै उँभो लाग्न नसकेका हुन्।’
अघाएर उग्राएकाहरूको सल्लाह भाँडमै जाओस्, सदा पर्ती बस्नुभन्दा नोकरी खोज्न नै कन्दनी कसें, मैले। तर, गफाष्टीकै भरमा मन्त्रीको जागिर बजाउनेहरूको चिनारु भएर पनि मलाई एउटा नोकरी भेट्टाउन महाभारत भइरहेछ।
हुनलाई म पनि कम्ताको बतौरे कहाँ हुँ र? फेरि पनि, बात बनिरहेको छैन। ओबामाको नागरिकता विवाद होस् वा पुटिनको पाइन्, ब्रिक्स ब्याङ्कको भविष्यको कुरा होस वा विश्व ब्याङ्क र आइएमएफको धन्दा, भटटट भट्याइदिन सक्छु। र पनि, त्यसका खप्पर, के नमिलेर हो, आफ्ना लागि एउटा जागिरको जुगाड भएको छैन!
“कटाक्ष कलामा त तिमी बिच्छी नै छौ…”, कसैले हावा भर्यो, “यसो कुनै एफएम कार्यक्रम चलाए चाँदी कटनी हुन्थ्यो कि!”
त्यसको केही घन्टामै एकजना स्टेशन म्यानेजर समक्ष पुगें। चिनारु मुस्कानका साथ उनले भने, “पहिला आफ्नो कला देखाऊ, अनि विचार गरम्ला।” मजाक मजाकमै मजाकिया जागिर मिल्ने छाँट देखेर हौसिंदै मैले कुरा थालें, “बुढेसकालमा भित्र्याउनुभएको कनिष्ठ श्रीमतीपट्टिको ज्येष्ठ सुपुत्रको अनुहार तपाईंको ड्राइभरसँग काटिकुटी मिल्ने है, कस्तो संजोग!”
धानको बाला झुल्ने सिजनमा कताबाट हराभरा तोरीको फूल देखियो भनेर गम्दै गर्दा म्यानेजरका स्टाफहरूले पानी छम्कंदै गरेको भेउ पाएँ। अर्काको बाँकटे ‘एक्सन’को उच्च मूल्यांकन गर्दा त्यस्तो ‘रियाक्सन’को शिकार भएपछि म श्रीकृष्णका सुदामा झैं एक समय लगौंटी रहेका मन्त्रीजीकहाँ लम्पसार पर्न पुगें। तर, कुसाइत परेछ। झोक्राएका मन्त्रीले आफ्नै गथासो पोखे, “असत्तीहरूले ठाडो पजनीमा पारेको भर्खरै टेलिभिजनको फ्ल्यास न्यूजबाट थाहा पाउँदैछु। आफू त महादेउ, कल्ले देला बर, उत्तानो पर, अब तिमी खाउला जागिर!” “त्यस्तो घोक्रेसुत्ती खानेगरी के नकाम गर्नुभो?”
“भकाभक काम गर्ने मान्छेलाई बित्थामा फत्तुर कसे।”
“त्यस्तो के–के लछार्नु भयो त, मन्त्रीज्यू?”
“नहुने जान्दा–जान्दै माइबापको मर्जी मुताविक वायुसेवा निगमको हाकिम नियुक्त गरें, संगीत–नाट्य प्रतिष्ठानमा सदस्यसचिव र ललितकला प्रतिष्ठानमा उपकुलपति पनि बनाएँ।”
“बिछट्टको आज्ञाकारी हुनुहुँदो रहेछ! कसको मर्जी शिरोधार्य गर्नुभो?” “मलाई मन्त्री बनाउने गडफादरको”, भर्खरै भूपू भएका उनी रुन–रुन खोजे, “हाइकमानको आदेश बमोजिम गरेका अरु कतिपय कुरा त अहिले नभन्दै बेस्।” “भन्न पनि शरम लाग्नेगरी के बित्यास पार्नुभो? अह्राएको मात्र तामेल गर्ने तपाईं अर्दली कि मन्त्री?”
उनी एकाएक सुकेको मुढोझैं अबोला भए, हाइकमानको उर्दी अनुरूप खुरुखुरु हस्ते बजाउने मन्त्रीजीले देश र जनताका लागि विमानस्थल निजी कम्पनीलाई दिन नहुने विन्दुमा खुट्टो थिगार्न कसरी सफल भए भन्ने पहेली खोलेनन्। अचानक त्यत्रो पावर उब्जाउने झोल कुन कम्पनीको कस्तो खोलमा थियो, त्यो पनि गोप्य नै राख्न चाहेको मैले बुझें।
एउटो जागिरको लागि बाउन्न लात, त्रीपन्न मुड्की मुसारिसकेको मैले के पनि बुझे भनें, बरा विकासको भुलभुले मूल फुटाइ रोजगारीको खोलो बगाउने जागिर पाएकाहरूलाई पनि यस्तो भुर्नहत्ते आइपर्दोरहेछ। र पनि, मन्त्री बेगारी हुँदा म जस्तो हल्लन तिवारीलाई बालै भएन। मूर्तिवत् भूपू मन्त्रीलाई यथामुद्रामा छाडेर आफ्नै बारेमा सोच्दै बाटो तताएँ।
कार्यकारी ओहदामा बसेर ठालुहरूको आदेशमा ठप्पा लगाई भ्याउन्जेल जिम्दारी चलाउने अनि र्याङठ्याङ नमिल्दा खुस्के’सी जिम्मेवारी अर्काको थाप्लामा फ्यात्त थोपर्न मिल्ने जागिर जाँदाको यस्तो भुर्नहत्तेको अवसर मैले पाए कसो होला?