थप समाचारबिहीबार, आश्विन ३०, २०७१

सानो निहुँ, ठूलो संहार

हिमालखबर

विवादको मुख्य जरो बनेको जमीनको टुक्रो।

– कल्पना भट्टराई, नवलपरासी

केही कट्ठा जमीन लेनदेनको सामान्य विवाद ३५ वर्षसम्म लम्बिंदा हिंसाको ज्वालामा परेको नवलपरासीको वर्गदवा गाउँ उजाडिएको एक दशक भइसक्यो। तत्कालीन माओवादी र सत्ताले बनाएको प्रतिकार समितिले जमीनको व्यक्तिगत विवादमा हिंस्रक राजनीति गर्दा सर्वस्व गुमाएका गाउँका निमुखाहरूले क्षतिपूर्ति त के सामान्य राहत समेत पाएका छैनन्।

कलहको बिजारोपण

२०३० सालमा नवलपरासीको सोमनी– ७ वर्गदवा गाउँका नन्दकुमार चौधरीको घरमा सपरिवार हरूवा बस्न आएका गोलही चमारले रु.३०० मा चौधरीसँग सात कट्ठा जमीन पनि किनेका थिए। २१ बिघा जमीनका मालिक चौधरीको घरमा गोलहीपछि २०४० सालमा हरूवा बस्न आएका गर्भी धोवीले पनि चौधरीबाट रु.१४ हजारमा १४ कट्ठा जग्गा किने। ती दुवै जग्गाको रजिष्ट्रेशन पास भने गरिएको थिएन। चौधरीले गाउँका बोधही हरिजन, जयसिंह हरिजन र सतन हजामलाई पनि यसैगरी जग्गा बेचेका थिए।

२०४४ सालमा चौधरीको मृत्युपछि दुई ‘हरूवा’सहित पाँच जनालाई बेचेको जमीन पनि तीनभाइ छोरा भागवत, सत्यनारायण र भरतमणिले अंशबण्डा गरे। बोधही, जयसिंह र सतनको जग्गा सत्यनारायण र भरतमणिको भागमा पर्‍यो, जुन उनीहरूले थप रकम लिएर पास गरिदिए। गोलही र गर्भीले किनेको जमीन भागवत चौधरीको भागमा पर्‍यो। भागवतले पनि अरू भाइहरूले जस्तै रकम थप्न भने, तर गोलही र गर्भीले मानेनन्। “एक त हामीले पहिल्यै पूरा मूल्य तिरेर जग्गा भोगचलन गरिरहेका थियौं”, गर्भी भन्छन्, “त्यसमाथि हामी हरूवासँग थप्ने रकम पनि थिएन।”

भागवतले चल्तीको मूल्य अनुसार पैसा नथप्ने भए त्योभन्दा कमसल जग्गा पास गरिदिने प्रस्ताव पनि राखे, तर गोलही र गर्भीले मानेनन्। २०४५ सालमा पञ्चायत गुहार्न पुगेका उनीहरूलाई तत्कालीन प्रधानपञ्च देवेन्द्र त्रिपाठी र उप–प्रधानपञ्च मोहन चौधरीले भागवतको प्रस्ताव जायजै भएको बताएर फर्काइदिए। २०५८ मा गाविसले पनि ‘चलेको मूल्य अनुसार लेनदेन गर्ने’ सल्लाह दियो। “त्यसपछि मूल्य मिलान गरी कुरा सल्टाउने सहमति पनि भएको थियो”, स्थानीय शान्ति समितिका संयोजक भानुप्रसाद चौधरी भन्छन्, “तर, राजनीतिले विवादलाई हिंसामा परिणत गरिदियो।”

द्वन्द्वको हिंस्रक राजनीतीकरण

द्वन्द्वको एक पक्ष गर्भी धोवीको परिवार ।

करीब तीन दशकअघि आफूले पूरा पैसा तिरेको जमीनलाई कानूनी रूपमा आफ्नो बनाउने प्रयास गर्दागर्दै माघ २०६८ घमा गोलही चमारको मृत्यु भयो। २०५८ सालमा उनका छोरा रामकिशुन हरिजनले माओवादीका जिल्ला जनसरकार प्रमुख चिनक कुर्मीलाई ‘न्याय पाउँ’ भन्दै निवेदन दिएपछि विवादमा राजनीति मिसियो।

भागवतले आफ्नो निर्देशन नमानेपछि माओवादीले २०६१ कात्तिकमा भागवतका कान्छा छोरा प्रदीप चौधरीलाई अपहरण गर्‍यो। त्यसरी भागवत १० मंसीर २०६१ मा जग्गा पास गरिदिन बाध्य भए।

त्यो इवी बोकेर हिंडेका भागवत चौधरी परिवारले २५ मंसीरमा गर्भी धोवीलाई कुटपिट गर्नुका साथै उनको घर तोडफोड गरिदिए। त्यसको बदलामा माओवादीहरूले चौधरी परिवारमाथि १७ पुसमा आक्रमण गर्‍यो।

उनीहरूले साँझ् ८ बजेतिर खाना खान बसेका भागवतका जेठा छोरा सञ्जयलाई घरदेखि ३०० मीटर उत्तरमा रहेको स्कूलमा लगेर गोली हानी हत्या गरे। भागवत घरमा नभएकोले जोगिए। त्यसपछि चौधरी परिवार जिल्लामा माओवादी विरुद्ध सक्रिय प्रतिकार समितिको शरण पुग्यो।

भागवतले रामकिशुन हरिजन र गर्भी धोवीले माओवादी लगाएर आफ्नो छोरा मारेको भन्दै प्रतिकार समिति परिचालन गरेर ५ फागुन २०६१ मा रामकिशुनलाई अपहरण गराए। त्यसको तीन दिनपछि रामकिशुनको हत्या भयो। त्यतिबेला गोपीगञ्जका व्यापारीकहाँ काम गरेर परिवार पालिरहेका रामकिशुनकी बुहारी शान्ति हरिजन ससुराको लास पनि नपाएको बताउँछिन्।

रामकिशुनको हत्याको बदलामा माओवादीहरुले २ वैशाख २०६२ को बेलुका नौ बजे वर्गदवा गाउँ घेरेर ११ जनाको ज्यान लिए। उनीहरूले ‘प्रतिकार समितिका सदस्यहरू लुकेर बसेको’ भन्दै गाउँमा बम र गोली बर्साएका थिए। उनीहरूले सुतिरहेका कमल धोवी (४१) लाई घरबाहिर निकालेर गोली हानेका थिए। कमलका कान्छा भाइ चन्द्रभानलाई पनि त्यही रात मारे।

कमल र चन्द्रभानका दुई दाजुभाइ भने भारत गएकाले बाँचे। माओवादीहरूले रामसुरज यादवका छोरा हृदयेश (१४)लाई आमाको आँखै अगाडि गोली हानी मारे। “उनीहरूले मेरा भतिजहरू कमलेश (१२) र भरत (१८) लाई पनि त्यही रात मारे”, रामसुरज भन्छन्, “त्यसपछि दाजु रामप्रितको परिवार भारत र मेरो परिवार छिमेकी जहदाको मझौनी गाउँतिर भाग्यौं।”

रामप्रित अहिले उत्तर प्रदेशको महाराजगञ्ज जिल्ला, ठुठीबारीमा ससुरालीको जग्गामा छाप्रो बनाएर बसेका छन्। उनले नेपालको गाउँ र आफन्त सम्झयो कि रुन मन लाग्ने बताए। पञ्जाबमा मजदूरी गरेर परिवार पाल्दै आएका उनको वर्गदवामा १४ कट्ठा जमीन छँदैछ। “विस्थापित भएको ११ वर्षमा पनि फर्कंन सकेका छैनौं”, रामप्रित भन्छन्, “बिना कसुर दुई खाले बन्दुकको पेलाइमा परेको हामीलाई न नेपाल सरकारले वास्ता गर्‍यो न त अरु कसैले।”

त्यो रात वशिष्ठप्रसाद चौधरीका पनि भाइहरू दीपेन्द्र (१९) र दिनेश (१६) मारिए। माओवादीहरूले दीपेन्द्र र दिनेशलाई घरभित्रै गोली हानेर मारेका थिए। वशिष्ठप्रसाद भने त्यसबेला खाडी मुलुकमा भएकाले बाँचे। घरमै सुतिरहेका शिक्षक विजय चौधरी र उनका छोरा अभिमन्यूलाई पनि माओवादीहरूले ओछ्यानबाटै थुतेर कञ्चटमा गोली हानी मारे। छोरा र श्रीमान्लाई त्यसरी मारेको हेर्नुपरेको प्रेमनीदेवी चौधरी (४८)ले अर्का छोरा र छोरीलाई भगाएर बचाइन्। “हामी बाँच्यौं र दिन–दिनै मर्दै बाँचिरहेका छौं”, प्रेमनीदेवी भन्छिन्, “हाम्रो पीडाबारे कसैले एक शब्द सोधेको पनि छैन।”

२ वैशाखको आक्रमणमा माओवादीहरूले छिमेकी जहदाको मदानपुरबाट हरिश्चन्द्र लोनियाको घरमा पाहुना आएका राजेन्द्र लोनिया पनि मारिए। त्यो आक्रमणमा मारिएका ११ जनामा १४ वर्षीय दिनेश कोहर पनि परे। “भाइलाई मारे, घर पनि ध्वस्त पारिदिए”, दिनेशका दाजु मुन्नर कोहर भन्छन्, “कसैले क्षतिपूर्ति, सहानुभूति केही दिएनन्।”

‘द्वन्द्वकालीन हत्या भएकाले’ यो घटना विरुद्ध हालसम्म कतै कुनै उजुरी लिने/दिने काम भएको छैन। मानव अधिकारवादी संघ–संस्थाहरू पनि मौन छन्।

द्वन्द्वको अर्को पक्ष भागवत चौधरी । तस्वीरहरुः कल्पना भट्टराई

विस्थापितको पीडा
सामान्य जग्गा विवादलाई लिएर माओवादी र प्रतिकार समितिले फैलाएको हिंसामा वर्गदवा गाउँमा १३ जनाको हत्या भयो। नरसंहारपछिको आतंकमा विस्थापित भएका ३९ परिवारमध्ये १४ परिवार भारत र बाँकी नेपालकै छिमेकी गाउँहरूमा छरिएका छन्।

विवादको एउटा पक्ष भागवत चौधरी समेत १४ जनाको परिवार लिएर उत्तरप्रदेशको महाराजगञ्ज जिल्लाको बेलैहा गाँउ गए। नवलपरासी जिल्ला सदरमुकाम परासी बजारबाट १३ किलोमिटर पूर्वमा पर्ने वर्गदवा गाउँबाट उत्तरप्रदेशको बेलैहा ७ किलोमिटर दक्षिणमा छ। नेपालमा छँदा बेलाटारीको त्रिभुवन उच्चमाविमा प्राथमिक शिक्षक रहेका भागवत मासिक रु.१२ हजार तलब बुझथे।

गाउँको सात बिघा जमीनबाट पनि राम्रै आम्दानी हुन्थ्यो। अहिले उनी निजी प्राविले दिने मासिक नेरु.४८ सय तलबबाट गुजरा गरिरहेका छन्। “मैले जमीन पास गरेर दिएकै थिएँ, माओवादी लगाएर मेरो छोराको हत्या गर्नुपर्ने थिएन”, उनी भन्छन्, “मेरो त सब बर्बाद भयो, सुरक्षाको ग्यारेन्टी भए गाउँ फर्कने थिएँ।”

झ्गडाको अर्को पक्ष रहेका गर्भी धोवी पनि महाराजगञ्ज जिल्लाकै वर्गदवामा छन्। बसोबासको हिसाबले उनको परिवार भागवतको छिमेकमै छ, तर बोलचाल छैन। भागवतले गाउँ छाडेपछि प्रतिकार समितिले माओवादी समर्थक भनिएका गर्भीको घरमा २०६१ मंसीरमा बम विस्फोट गराएको थियो।

त्यसबेला नेपाल प्रहरीमा रहेका उनका छोरा चन्द्रघोषले घर ध्वस्त भएलगत्तै जागीर छाडेपछि धोवी परिवार भारत पसेको थियो। उनीहरूले १० धूर जमीन किनेर बनाएको घरमा परिवारका आठ सदस्यलाई सुत्न पुग्ने ठाउँ छैन। “गाउँलेले पनि तेरो कारणले यो सब भयो भनेपछि मैले गाउँ छाडें” गर्भी भन्छन्, “अब त फर्कन पनि सक्दिनँ।”

चन्द्रभान धोवीकी श्रीमती कमला तीन छोराछोरीसहित महाराजगञ्जकै झ्ुलनीपुरमा छिन्। आफ्नै आँखा अगाडि श्रीमान् चन्द्रभान मारिएको देखेकी कमला घटना सम्झिएर रोइरहन्छिन्। उनकी जेठानी अलैंची धोवीले भनिन्, “गाउँ फर्क, यहाँभन्दा नेपालमै राम्रो हुन्छ भन्छौं, तर मान्दिनन्।”

द्वन्द्व बढ्दै गएपछि वर्गदवा गाउँवासीलाई प्रतिकार समितिले माओवादी र माओवादीले समिति समर्थक देख्थ्यो। प्रतिकार समितिले कुटपिट र लूटपाटपछि घरमा बम पड्काइदिएपछि परिवार लिएर परासीको मन्झ्रिया भागेका जयप्रकाश हरिजन अहिले अर्काको खेत अदिया गरेर जीविका चलाइरहेका छन्। आफूहरू जस्ता विस्थापित परिवारका बालबालिकाको पढाइ पनि बीचैमा रोकिएको उनले बताए।

(खोज पत्रकारिता केन्द्र)


‘हाम्रा लागि कोही भएनन्’

रामप्रित चमार

प्रतिकार समितिले गाउँका दलितजति सबै माओवादी हुन् भन्दै चमार र हरिजनका घरघरमा पसेर कुटपिट र लूटपाट मच्चाएको थियो।

तीनैमध्येका एक रामप्रित चमारको घरबाट कुखुरा, बाख्रा, अन्नपात, लत्ताकपडा सबै लुटियो। रामप्रितको कोखामा भाला रोपियो। बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा नभएपछि भैंसालोटनको अस्पतालमा ५२ दिन उपचार गर्दा उनले तीन कट्ठा जग्गा बन्धकी राखेर रु.४० हजार खर्च गरे।

त्यो पैसा तिर्न नसकेपछि जमीन छाडेर ऋणमुक्त भएको बताउँदै रामप्रित भन्छन्, “कतैबाट एक रुपैयाँ सहयोग पाइनँ।”

 


नवलपरासीको प्रतिकार समिति

तत्कालीन शाही नेपाली सेना र जिल्ला प्रशासनको संरक्षणमा दक्षिणी नवलपरासीको १६ गाविसमा माओवादी विरुद्ध प्रतिकार समिति गठन गरियो। समितिमा आबद्ध करीब ४०० सदस्यमध्ये २०० भन्दा बढी फरार भारतीय अपराधी थिए।

तिनीहरूलाई शाही नेपाली सेनाले बज्रदल गण मातहतको त्रिवेणीस्थित सीमा सुरक्षा गुल्ममा १५ दिनसम्म तालीम दिएर कमसल खालका हतियार थमाएको थियो। फरार भारतीय मुरारी कुशवाह, मुन्ना खाँ, राधे मुखिया लगायतले प्रतिकार समितिको अगुवाइ गरेका थिए। भारतीय प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका तीमध्ये राधे मुखिया अहिले चोरी–डकैती, अपहरण, कर्तव्य ज्यान लगायतका एक दर्जन अपराधका लागि तेतियाको बगाहा जेलमा सजाय काटिरहेका छन्।


हिंसाको मार महिलामा

९ पुस २०६१ को राति माओवादीले मुन्ना खाँको घरमा बम विस्फोट गराउँदा बाटोमा हिंडिरहेका पक्लिहवा रतनगञ्जका मैनुदिन मियाँको ज्यान गयो। मैनुदिन नरहेपछि उनकी श्रीमति ऐसा नेसा (३७) लाई सासू–ससुराले घरबाट निकाल्ने भए। दुई छोरीको बिचल्ली हुने भएपछि ऐसाले देवरसँग बिहे गरिन्। तर, रोजगारीमा मलेसिया गएका देवरले तीन वर्षमा फर्किएलगत्तै अर्को विवाह गरे। “अहिले अंशमुद्दा लडिरहेकी छु”, ऐसा भन्छिन्, “श्रीमान् र सासू–ससुरा मुद्दा फिर्ता लिन दबाब दिइरहेका छन्।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...