टिप्पणीबिहीबार, आश्विन ३०, २०७१
हस्तमैथुनको भ्रम
२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालको कूल जनसंख्याको करीब ३३ प्रतिशत १०–२४ वर्ष उमेर समूहका छन्। किशारावस्था शुरु हुने दश वर्षे उमेर उत्कट जिज्ञासु समय हो भने २४ वर्षे वय लक्का जवानीको। किशोरावस्थामा हुने अङ्ग–अवयवहरूको परिवर्तन, संवेगात्मक उतार–चढाव र त्यसप्रतिको उत्सुकतामा यौन सम्बन्धी जिज्ञासा रहस्यात्मक खुल्दुली बन्न पुग्छ।
उमेरको यो चरणमा तीब्र शारीरिक विकाससँगै शुरु हुने स्वप्न दोष, रजस्वला (बोलचालको भाषामा नछुने) जस्ता शारीरिक प्रतिक्रियाले यौन सम्बन्धी जिज्ञासालाई बढाइदिन्छ। यही क्रममा किशोर–किशोरीहरू हस्तमैथुनबाट यौन आनन्द लिन थाल्छन्।
हस्तमैथुनसँगै कतिपय युवक–युवती लिङ्गको आकार, स्तनको आकार, कौमार्य जस्ता रहस्यको चक्करमा पर्छन्। हुँदा–हुँदा यो रहस्य शीघ्र पतन, वीर्य स्खलन नहुने, लिङ्ग उत्तेजित नहुने, योनी सुख्खा हुने, यौनेच्छामा कमी लगायतका समस्यासँग जोडिन पुग्छ।
अति भए खती
संस्कृत भाषामा हस्तको अर्थ हात र मैथुनको अर्थ यौनकार्य भन्ने बुझिन्छ। विश्वका करीब ९० प्रतिशत युवक र ६० प्रतिशत युवतीले हस्तमैथुन गर्ने अनुमान छ। नेपालमा हस्तमैथुन सम्बन्धी प्रष्ट तथ्यांक नभए पनि वस्तुस्थिति खासै फरक छैन।
युवतीको दाँजोमा युवकले बढी हस्तमैथुन गर्ने भएर हुनसक्छ, नेपाली समाजमा यसको परिणामको पिरोलोमा उनीहरू नै परेको देखिन्छ।
हस्तमैथुन गर्नाले दुब्लाउने, मुखमा डण्डीफोर आउने, आँखा कमजोर हुने, उचाइ नबढ्ने, लिङ्ग बाङ्गो हुने, शीघ्र पतन हुने, वीर्य निखि्रने, भविष्यमा नपुंसक हुने, विवाहपछि यौन सन्तुष्टि नमिल्ने आदि भ्रम छन्।
पुरुषमा वीर्य उत्पादन एउटा निरन्तर प्रक्रिया हो। यसैगरी युवावस्थामा डण्डीफोर आउनु पनि सामान्य शरीरिक प्रक्रिया हो।
यसैगरी अन्य अङ्गजस्तै व्यक्तिपिच्छे लिङ्गको आकार पनि फरक हुन्छ। पुरुष र महिलामा नपुसंकताका आ–आफ्नै कारण हुन्छन्।
नपुसंकताका आफ्नै उपचार विधि पनि छन्। अर्थात् हस्तमैथुन र नपुसंकता एक अर्कामा सम्बन्धित भएको अप्रमाणित कुरा हो।
युवाहरूले जीवनमा पहिलो पटक यौन आनन्द लिने माध्यम नै हस्तमैथुन हो भन्दा फरक पर्दैन।
हस्तमैथुन यति पटक गर्न मिल्छ वा त्यति पटकभन्दा बढी गर्नु हुँदैन भन्ने निश्चित मापन छैन। यो व्यक्ति विशेषको यौनेच्छामा भर पर्छ।
त्यसैले यसलाई व्यक्ति विशेषले आफ्नो यौनेच्छामाथि नियन्त्रण गर्नसक्ने क्षमतामा भर पर्ने विषय मान्न सकिन्छ।
जसले जति पटक हस्तमैथुन गरे पनि विवाहपछि स्वभाविक रूपमा यो बानीमा कमी आउँछ। विवाहित दम्पतिहरूले पनि लामो समय टाढा भएको बेला हस्तमैथुनबाटै आफ्नो यौनेच्छ पूरा गर्छन्।
मानिसलाई शारीरिक आवश्यकता पूरा गर्ने यो विकल्प उपलब्ध नभएको भए यौनजन्य अपराधले समाजलाई बिकराल बनाउँथ्यो होला भन्न सकिन्छ।
हस्तमैथुन गरेर पछुताउनुभन्दा यस्तो बानीलाई नियन्त्रण गर्नु राम्रो हो। एक्लै बसेको अवस्थामा, यौनजन्य पत्रपत्रिका, सिनेमा हेर्दा, यौनको कुरा सोच्दा हस्तमैथुनको अवस्था आउने हुनाले यौनजन्य साहित्य नपढ्ने, सिनेमा वा भिडिओ नहेर्ने, मनमा यौनका कुरा खेल्ने अवस्थालाई छल्न हल्का घुमघाममा निस्कन तथा मानिसहरूको चहलपहल भएको ठाउँतिर जानु राम्रो उपाय हो।
यसरी हस्तमैथुनबाट जोगिदा सञ्चित हुने वीर्य स्वप्नदोषका रूपमा शरीरबाट बाहिरिन्छ। यसले मानिसको यौन क्षमता वा स्वास्थ्यमा कुनै असर पार्दैन।
हस्तमैथुन प्रायः सबैले गर्ने एक प्राकृतिक अभ्यास नै हो। यद्यपि, अरु कुरामा जस्तै हस्तमैथुनले पनि अति भएको अवस्थामा भने खती नै गर्न सक्छ। ‘धेरै खाए गुँढ पनि तीतो’ भन्ने त उखानै छ।