टिप्पणीशुक्रबार, आश्विन ३१, २०७१
इतिहासको भीडभाड
नेपालको सांस्कृतिक परम्परा नामक पुस्तकमा बाबुराम आचार्यले लेखेका छन्, ‘मान्छेले आश्रयस्थल र उपासनास्थलको निर्माण सँगसँगै गर्दै आइरहेको छ। तापनि सौन्दर्यचेत साधनामा प्रवृत्त रहने मानवीय प्रवृत्तिअनुसार आफूले निर्माण गरेका भवन वा मन्दिरहरूलाई आफूमा रहेका विशेष कौशलहरूको प्रयोग गरी कलात्मक रूप दिएर तिनलाई सुन्दर बनाउने प्रयास पनि ऊ स्वभाभिक रूपमा नै गर्छ।’
इतिहास शिरोमणिको यो भनाइ सानो संरचनामा मात्र नभएर सिङ्गो शहर र वस्तीका अवयव निर्माणमा पनि लागू हुन्छ। पूर्खाको चिनोको रूपमा रहेका प्राचीन वस्ती, चोक, दरबार, मठ–मन्दिर र अरु अनेक सम्पदा सूविचारित नेपाली वास्तुशैलीको जीवन्त प्रमाण हुन्। नेपाल सरकार भने नगरपालिका थप्न मरिहत्ते गरिरहेको छ।
केही महीनाअघि ७२ नगरपालिका बनाइसकेको सरकारलाई नगरक्षेत्र निर्धारण समितिले अरु ६६ नगरपालिका थप्न सिफारिश गरेको छ– असोज दोस्रो साता। काठमाडौं उपत्यकालाई गाविसविहीन बनाउने समितिको सुझाव छ। त्यति गरेपछि काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर र थिमी नगरपालिकाको छाता संगठनको रूपमा ‘मेट्रो सीटी’ बनाउने रे।
गाविसहरूलाई नगरपालिका बनाउँदैमा सम्पदा समाप्त हुन्छ भन्ने हैन। चिन्ता ऐतिहासिक सम्पदा र आफ्नो वास्तु पहिचान जोगिने गरी शहरको विकास होस् भन्नेमात्रै हो।
शाहकालीन कला र वास्तुकला नामक पुस्तकमा डा.जगदीशचन्द्र रेग्मी लेख्छन्, ‘इतिहासको यति भीडभाड अन्त कतै होला जस्तो लागेन। …भादगाउँको जस्तो सुषुप्त र रहस्यात्मक शान्ति र कान्तिपुरको जस्तो मान्छेको भीडभाडबाट बेग्लिएको पाटनमा इतिहासको भीडभाड छ।’
समृद्ध सम्पदाको संगम
प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार, कम्तीमा १०० वर्ष पुरानो इतिहास बोध गराउने कुनै पनि हस्तलिखित वंशावली, हस्तलिखित ग्रन्थ, स्वर्णपत्र, शिलापत्र, ताम्रपत्र, कठपत्र, भोजपत्र, ताडपत्र, मुद्रा, ऐतिहासिक घटना भएको ठाउँ वा ऐतिहासिक व्यक्ति बसेको घर तथा त्यस्ता महापुरुषले उपयोग गरेको वस्तु, प्रागऐतिहासिककालको मानव निर्मित वा मानिसले उपयोग गरेको वस्तु, ढुङ्गा, काठ, माटो, हाड, काँच, कपडा, कागज, धातु आदिमा बेलबुट्टा भरी आर्कषक ढंगले बनाएको घर या घरको महत्वपूर्ण भाग, त्यस्ता घरमा उपयोग गरिएका वस्तु, बेलबुट्टा भरी या नभरी बनाएको मूर्ति, देवी―देवताको मन्दिर, चैत्य, शालिक, पौभाचित्र, राजप्रासादमा उपयोग गरिएका ऐतिहासिक, कलात्मक वस्तु आदि सम्पदा हुन्।
यो चिनारीले काठमाडौं उपत्यका सम्पदैसम्पदाको संगमस्थल रहेको बताउँछ। तिनको जतन–जगेडा हामी उपत्यकावासीको कर्तव्य हो। आफ्ना आजका सिर्जना भोलिको सम्पदा बनेर बाँचून भन्ने चेत पनि राख्नुपर्छ। वास्तुकलाका प्राध्यापक डा. मोहनमूर्ति पन्तका अनुसार, धेरै वर्ष खाएरमात्र कुनै चिज ‘सम्पदा’ बन्दैन, त्यो समय र संस्कृतिको परिचायक या मार्गनिर्देशक पनि बन्न सक्नुपर्छ। प्राचीन स्मारक संरक्षण ऐनले राष्ट्रिय सम्पदा हुनलाई के–के विषेशता चाहिन्छ भनेर बताएकै छ।
थपमा, युनेस्कोको ‘वर्ल्ड हेरिटेज कन्भेन्सन १९७२’ भन्छ, ‘कुनै पनि स्मारकहरू, वास्तुकलाका कृतिहरू, मूर्ति या चित्रहरू, पुरातात्विक ढंगका बनावटहरू या भग्नावशेषहरू, शिलालेखहरू, गुफा जीवनसम्बन्धी वस्तुहरू– जुन ऐतिहासिक कलात्मक र विज्ञानका कोणले अति उच्चकोटीका अन्तर्राष्ट्रिय महत्वका भवनहरूको समूह, भवनहरूको अलग्गै वा बेग्लै जोडिएको समूह जुन वास्तुकलाको दृष्टिले वा तिनीहरूको एकरूपताले गर्दा वा प्राकृतिक दृश्य या भूखण्डमा तिनीहरूको विशेष स्थानले गर्दा ऐतिहासिक, कलात्मक तथा विज्ञान सम्बन्धी दृष्टिकोणले उच्चकोटीको अन्तर्राष्ट्रिय महत्वका छन् वा मानवनिर्मित वा मानव तथा प्रकृति मिलेर निर्माण गरेका तथा पुरातात्विक स्थलहरू समेत जुन ऐतिहासिक सौन्दर्यबोधता, जातित्व वा नेतृत्व दृष्टिकोणले अति उच्चकोटीका छन्, ती स्थल सांस्कृतिक सम्पदा हुन्।’
हामीलाई पूर्खाले ‘अति उच्चकोटीका’ थुप्रै भवन र भवन समूह दिएका छन्। काठमाडौं, भक्तपुर र पाटन दरबार परिसर, बौद्धनाथ, पशुपतिनाथ, स्वयम्भू र चाँगुनारायण क्षेत्र विश्व सम्पदा सूचीमा छन्। बरु स्याहार्ने–जोगाउने ढंग नपुगेर बेलाबेलामा खतराको सूचीमा पनि पर्ने गरेका छन्। आफ्नो पहिचान बचाउने कामलाई अनुत्पादक मान्ने हो भने एकदिन यिनीहरू बिलाउने छन्।
‘ढुंगा ढुंगामा, थुम्का थुम्कामा देउताको बास छ’ भनेर गुन्गुनाउँछौ हामी ‘देवता को बास’ जोगाउने र तदनुरूपका नयाँ बासहरू सिर्जना गर्ने जिम्मेवारीबाट भाग्न खोज्छौं– विकासको तामझ्ममा संस्कृतिलाई भुलेर। यो तथ्यलाई मनन गर्दै इतिहासको ‘सुन्दर र सुविचारित भीडभाड’ जोगाउनेको जय होस्!