थप समाचारशनिबार, कार्तिक १, २०७१
दोहोरो सास्ती
सन् १९७९ मा विश्व सम्पदा सूचीमा परेका काठमाडौं उपत्यकाका सात सांस्कृतिक सम्पदा वरिपरिका घर परम्परागत शैलीमा हुनुपर्ने नियमले ती क्षेत्रमा घर बनाउनेहरू दोहोरो मारमा परेका छन्। स्मारक वरिपरि नयाँ घर बनाउने तथा जीर्ण घर भत्काएर नयाँ बनाउनेहरूले उक्त मापदण्ड अनुसरण गर्नै पर्छ। तर, त्यो क्षेत्र नगरपालिकाभित्र परेमा उनीहरूले नगरपालिकाको पनि मापदण्ड पूरा गर्नुपर्छ। हनुमानढोका, पाटन दरबार, भक्तपुर दरबार, बौद्ध, पशुपति, चाँगुनारायण र स्वयम्भू क्षेत्र विश्व सम्पदा सूची अन्तर्गतका स्थान हुन्।
प्रक्रियाको झ्न्झ्ट
ललितपुरको मंगलबजार―१६ धलायाचामा परम्परागत शैलीको घर बनाएका शुसन गोविन्द जोशी, कवीन्द्र गोविन्द जोशी र राजन शाक्यले त्यसक्रममा धेरै झ्न्झ्ट बेहोर्नुपर्यो। पुरानो घर जीर्ण बनेपछि डेढ वर्षअघि घर बनाउने स्वीकृति लिन पुगेका उनीहरूलाई ललितपुर उप―महानगरपालिकाले पुरातत्व विभागको अनुमति लिन पठायो। घर बन्ने चार आना जग्गाको स्वामित्व संयुक्त रहेकाले पुरातत्वले पुरानै आकारको घर बनाउनुपर्ने बतायो। छिमेकीसँगको सम्बन्ध सधैं उस्तै नहुने भएकाले उनीहरू छुट्टाछुट्टै घर बनाउने पक्षमा थिए। त्यहाँ शुसन र कवीन्द्रको पुर्ख्यौली घर थियो भने राजन १५ वर्षअघि आएका थिए।
त्यस्ता ठाउँमा घरको नक्शा पास गर्न १५ दिन लाग्नुपर्नेमा ६ महीनाभन्दा बढी लाग्ने गरेको छ। काठको झयाल राख्नै पर्ने, बाहिर देखिने गरेर पिलर उठाउन नपाइने, सटर राख्न नपाइने, सुर्की चुना प्रयोग गर्नुपर्ने, तेलीया इँटा प्रयोग गर्न नपाइने, डाचिया इँटा प्रयोग गर्नुपर्ने जस्ता नियम रहेको शुसन बताउँछन्।
त्यस्ता ठाउँका घर पुरानै आकार र ढाँचामा बनाउनुपर्ने पुरातत्वको भनाइ हुन्छ भने नगरपालिकाले भूकम्प प्रतिरोधी बनाउन जोड दिन्छ। दुवै निकायले भने अनुसार जोशीद्वय र शाक्यले पुरानो जस्तै देखिने गरेर घर बनाए, पिलर नदेखिने गरी। आठ फीट लम्बाइका ४२ वटा झयाल रहेको उक्त तीनतले घर बनाउन डेढ करोड रुपैयाँ लागेकोले घर धितो राखी ब्याङ्कबाट ऋण लिएर व्यवहार मिलाउने उनीहरूको योजना छ।
घर बनाउने अनुमति लिन काठमाडाै―२३ झोछेका इरोश बज्राचार्य चार महीनादेखि महानगरपालिका धाइरहेका छन्। दुई आना दुई पैसा जमीनमा घर बनाउन खोजेका उनलाई पनि पुरातत्व र महानगरपालिकाको नियम पूरा गर्न कठिन भएको छ। वरिपरि पाँचतले घर भए पनि ३५ फीटको चार तलेभन्दा अग्लो घर बनाउन नपाउने पुरातत्वको नियमले उनलाई समस्या पारेको छ। घरको आकार र बाहिरी रूप तथा घर बनाउने कच्चा पदार्थ भने अनुसारकै हुनुपर्ने नियमले समस्या पारेको उनी बताउँछन्। माटोको गारो र काठका झयाल–ढोका राख्दा भूकम्प प्रतिरोधी घर नबन्ला कि भन्ने पनि उनलाई चिन्ता छ।
महँगो पनि
पाटन दरबार स्क्वायर नजिकै घर बनाएकी रञ्जना राजभण्डारी पुरातात्विक घर बनाउनेलाई सरकारले सहुलियत दिनुपर्नेमा सास्ती दिने गरेको बताउँछिन्। नक्शा पास गर्न सात महीनादेखि उपमहानगरपालिका धाइरहेकी उनी काम हुनासाथ ब्याङ्कमा घर धितो राखेर ऋण लिने र व्यवहार मिलाउने योजनामा छिन्। घर बनाउन रु.४५ लाख खर्च भएको उनको भनाइ छ। तर, उपमहानगरपालिका र पुरातत्व विभागको मापदण्ड पूरा गर्न उनलाई गाह्रो परिरहेको छ।
चार वर्षअघि ललितपुरको मंगलबजार―१६ क्वाल्खुमा घर बनाएका राजेन्द्र बज्राचार्यलाई पनि नयाँ र पुरानो नक्शाले समस्या पारेको छ। पुरातत्व विभागबाट घरको नक्शा पास गराएका राजेन्द्रलाई उपमहानगरपालिकाले नयाँ नक्शा अनुसार घर बनाउनुपर्ने बताएपछि तीन महीना नक्शा फाँट धाउनुपर्यो। काठ, डाचिया इँटा, गिट्टी, सुर्की चुना प्रयोग गरेर एक आना एक पैसा जमीनमा तीनतले घर बनाउँदा रु.४० लाख खर्च भएको उनी बताउँछन्।
पुरातत्व विभागका इन्जिनियर शोभा महर्जनका अनुसार नगरपालिकाले नक्शा दर्ता गरेपछि मात्र विभागले हेर्ने गर्छ। भूकम्प प्रतिरोधी घर बनाउन बाहिर नदेखिने गरेर पिलर राख्नुपर्ने जस्ता प्रावधानको प्रक्रिया केही झ्न्झ्टिलो भएको तथा नगरपालिका र पुरातत्व विभागका भिन्न मापदण्डले सर्वसाधारणलाई समस्या पारेको उनी स्वीकार्छिन्। पुरातत्व विभागको साढे तीन फीट जग्गा छाड्नुपर्ने तथा नगरपालिकाको पाँच फीट छोड्नुपर्ने मापदण्डले पनि समस्या पारेको उनको भनाइ छ। पुरातत्वका अर्का एक अधिकृत भने विश्व सम्पदा सूचीमा परेका ठाउँमा बन्ने घरहरू पुरानै शैलीका नहुँदा सम्पदा नै खतराको सूचीमा पर्ने भएकाले झ्न्झ्टिलो प्रक्रिया अपनाउनु परेको बताउँछन्। विश्व सम्पदा सूचीमा परेका ठाउँलाई बचाउन सर्वसाधारणले पनि झ्न्झ्ट सहन तयार रहनुपर्ने उनको भनाइ छ।
काठमाडौं महानगरपालिकाको बसन्तपुर दरबार संरक्षण समितिका प्रमुख हरिकुमार श्रेष्ठ मल्लकालीन र लिच्छविकालीन घरहरू बचाउन सरकारी तहबाटै पहल हुनुपर्ने खाँचो औंल्याउँछन्। पछिल्लो समयमा व्यापारिक प्रयोजनका लागि धेरै घर बन्न लागेकाले सरकारको पहल आवश्यक भएको उनको भनाइ छ। पुरातात्विक घरलाई भूकम्प प्रतिरोधी बनाउन अनुदानको व्यवस्था गर्नुपर्ने बताउने उनी परम्परागत घरमा पनि मोटो गारो लगाउनुभन्दा पिलर प्रयोग गर्नु उपयुक्त देख्छन्।
पुरातात्विक घरमा के चाहिन्छ
काठको कलात्मक वा साधारण चौकोस र खापा तथा काठको जाली प्रयोग गरिएका एक, तीन, पाँच र सातमुखे आँखीझ्याल हुनुपर्दछ। घरको पेटी, कार्नेस, बलेनो, पाखा, छाना राख्नुपर्छ। इँटाको गारो, काठको डण्डी भएका लामा ठाडा झ्यालहरू र आँखीझ्याल, झिंगटीको छाना, काठसँग मिल्ने रङ लगाउनुपर्दछ। इँटाको गारोमा सिमेन्टको प्लास्टर हुनुहुँदैन। सुर्की चुनाले प्लास्टर गर्नुपर्छ। घरको अधिकतम उचाइ ३५ फीट हुनुपर्दछ। भूकम्पीय सुरक्षा प्रविधि अपनाई भारवहन गर्न सक्ने संरचना आर.सी.सी. र स्टील फ्रेम स्ट्रक्चर राखे पनि कुनै मोहडामा बाहिरबाट देखिनुहुँदैन। तिनलाई स्थानीय चिम्नी इँटा वा काठले छोप्नुपर्छ। चाइनिज इँटा वा इँटा रङका टायल प्रयोग गर्नुहुँदैन।
पुरातात्विक घर बनाउन अनुमति पाएका क्षेत्र
२५४ २०४४ देखि २०७१ सम्म हनुमानढोका संरक्षित क्षेत्र
३६१ २०४४–२०७१ पाटन दरबार संरक्षित
३८६ २०४५–२०७१ भक्तपुर दरबार संरक्षित
५१ २०५३–२०७१ बौद्ध संरक्षित
१०१ २०५६–२०७१ पशुपति संरक्षित
१० २०५७–२०७१ चाँगुनारायण संरक्षित
१५१ २०५१–२०७१ स्वयम्भू संरक्षित
साप्ताहिक खबरपत्रिका हिमालाबाट