रमझमआइतबार, आश्विन २१, २०६९
सम्बन्धको नालीबेली
नेपाल–चीन सम्बन्ध
(ऐतिहासिक विवेचना)
लेखकः सुरेश कार्की
प्रकाशकः नेपाल चाइना पिपुल्स फोरम
मूल्यः रु.३००, पृष्ठः २००
यसअघि कार्कीले बदलिंदो सन्दर्भमा नेपाल चीन सम्बन्ध र भारत तथा तिब्बतः यथार्थ र चुनौती शीर्षकका दुई पुस्तक लेखिसकेका छन्। प्रतिनिधिसभा परराष्ट्र तथा मानवअधिकार समिति सदस्य र एमालेका केन्द्रीय सदस्यको अनुभव हासिल गरिसकेका कार्की ‘नेपाल चाइना पिपुल्स् फोरम’ का अध्यक्ष पनि हुन्। यिनै अनुभव, जिम्मेवारी र चासोले कार्कीलाई नेपाल–चीन सम्बन्धको जानकार बनाएको छ।
कार्कीले पुस्तकमा मञ्जुश्री, भृकुटी, बुद्धभद्र, अरनिको आदि विभूतिले मजबुत बनाएको र १ अगस्ट १९५५ मा औपचारिकता पाएको नेपाल–चीन सम्बन्धका विविध पाटोहरू खोतलेका छन्। गत पुसमा भएको चिनियाँ प्रधानमन्त्री वेन च्यापाओको नेपाल भ्रमणसम्मका विषयवस्तु समेटिएको पुस्तकमा नेपाल–चीन सम्बन्धमा कहिले, क–कसले, के–कस्ता भूमिका निर्वाह गरे, के–कस्ता उतारचढावहरू आए–गए जस्ता विषयका महत्वपूर्ण प्रसङ्ग, उच्चस्तरीय भ्रमणमा भएका सहमति, सम्झौता, संयुक्त वक्तव्य र द्विपक्षीय निर्णयका महत्वपूर्ण दस्तावेजहरू छन्। नेपाल–चीन ऐतिहासिक सम्बन्धको विवेचना गर्दै बदलिंदो परिवेशमा बाटो पहिल्याउने सुझावहरू प्रस्तुत गर्नु पुस्तकको सशक्त पाटो हो।
पुस्तकले नेपालको संस्थापनमा जो आए पनि ऊसँग मात्रै सम्बन्ध राख्ने चीनले विश्व महाशक्ति बन्ने क्रममा ‘मौन कूटनीति’ तोड्दै काठमाडौंमा ‘सक्रियता’ देखाउन थाल्नुको कारण अमेरिकी–युरोपेली चलखेल भएको विश्लेषण गरे पनि त्यसका अन्तरवस्तु केलाएको छैन। नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण सहयोग गर्दै आएको चीन पछिल्लो समय लुम्बिनी विकासलगायतका विवादमा तानिएका विषयमा पनि पुस्तक मौन छ। नेपालका राजनीतिक दल र चीनबीच विकसित सम्बन्धका कतिपय विषयमा लेखकले एकांकी व्याख्या गरेका छन्। विषयवस्तुहरू छरिएका छन्, असान्दर्भिक लाग्ने थुप्रै प्रसंग छन् र प्रस्तुति फितलो छ। यस्ता कमी–कमजोरी हुँदाहुँदै पनि पुस्तक नेपाल–चीन सम्बन्धका विद्यार्थी र अध्येताहरूका निम्ति गतिलो सन्दर्भ सामग्री बनेको छ।
रामेश्वर बोहरा