ब्लगशनिबार, कार्तिक १, २०७१

एउटा इमानदार आम बयान

दीपक अर्याल

पुस्तक प्रारब्ध र पुरूषार्थ (आत्मकथा) लेखक हृषीकेश शाह सम्पादक हरि अधिकारी प्रकाशक हिमाल किताब पृष्ठ २३६+१२, मूल्य ३७५

पुस्तक प्रारब्ध र पुरूषार्थ (आत्मकथा) लेखक हृषीकेश शाह
सम्पादक हरि अधिकारी
प्रकाशक हिमाल किताब
पृष्ठ २३६+१२,
मूल्य ३७५

ह्षीकेश शाहको आत्मकथा प्रारब्ध र पुरूषार्थ का विषयमा केही कुरा लेख्न खोज्दा दुईवटा सीमाभित्र बसेर चर्चा गर्नु उपयुक्त हुन्छ। पहिलो– पुस्तकका लेखक बितिसकेका छन् त्यसैले लेखकीय मान्यता अनुसार जहाँ जवाफ वा प्रष्टताको अपेक्षा गर्न सकिन्थ्यो त्यस ठाउँमा प्रश्न गर्न मिल्दैन र सकिंदैन।

दोस्रो– प्रकाशक र सम्पादक दुवैले आफ्नो बारेमा बोल्ने क्रममा शाहलाई वार्धक्यले समात्दै लगेकोले उनको स्मृतिको तीक्ष्णतालाई सँगाल्न ढिला भएको अनुभूति गरेका छन्। त्यसैले पुस्तकका कतिपय कमी कमजोरीलाई उनको स्वास्थ्य र उमेरले प्रभावित गरेको बुझ्न जरूरी हुन्छ।

२०५७ र २०५८ सालमा शाहले बोलेको रेकर्डलाई पुस्तकको पहिलो खण्ड तथा उनकै लेखनीको अनुवादित सामग्रीका रूपमा आएको संयुक्त राष्ट्र संघमा कूटनीतिक सेवाको अनुभवलाई दोस्रो खण्डमा राखेर पुस्तक तयार भएको छ।

पुस्तकले स्याङ्जा आँधीखोलाका ठकुरीहरूको इतिहास, सोही ठाउँमा जन्मिएको एक युवकको बाल्यकालदेखि उनले राणाकाल, पञ्चायत र बहुदलीय शासन व्यवस्थामा राजनीतिक, शैक्षिक, कूटनीतिक, मानवाधिकार आदि क्षेत्रमा खेलेको भूमिका तथा तत्कालीन समयको राजदरबार, राणादरबार, राजनीतिक तथा सामाजिक आन्दोलन र परिवर्तनका विषयलाई समेटेको छ।

शाहले आफ्ना कुराहरू राख्दा धेरै पटक, धेरै सन्दर्भहरू दोहोर्‍याएको र शिलशिलासँग नभनेको कुरा प्रकाशकीय र सम्पादकीयमा उल्लेख छ। शायद सोही कुरा बुझाउन होला पुस्तकमा त्यस्ता कैयौं दोहोरिएका प्रसंगहरू जस्ताको तस्तै राखिएको छ। कम महत्वका प्रसङ्गलाई हटाएर शिलशिला मिलाउने प्रयास पनि गरिएको छैन। त्यसले गर्दा नेपालको राजनीतिक घटनाक्रमलाई राम्ररी ननियालेका वा नपढेका पाठकहरूलाई यो पुस्तकले दुई/चारवटा रमाइला प्रसङ्ग भन्ने बाहेक तत्कालीन राजनीतिक घटनाक्रम बुझाउनेभन्दा धेरै अल्मल्याउन सक्छ।

पुस्तक पढ्दा रेकर्ड गरिएका कुराकानीहरू दोहोरिएका, समय, स्थान वा प्रसङ्ग नमिलेका, शिलशिला भद्रगोल भएको सहजै थाहा पाइन्छ। त्यसलाई पुस्तकाकार दिनका लागि सम्पादकले कति टाउको दुःखाए होलान् र कति समय खर्चे होलान् भन्ने अनुमान पनि गर्न सकिन्छ। त्यही परिश्रमका कारणले पहिले नसुनिएका र नपढिएका कैयौं ऐतिहासिक घटनाक्रम र जानकारीहरू पाठक समक्ष पुगेको छ।

शाहले आफ्नो पुरूषार्थ र प्रारब्ध दुवैको चर्चा गरेका छन्। उनले धेरै नेपाली आत्मकथा वा जीवनीमा देखापर्ने पुरूषार्थको मात्र बखान नगरी तत्कालीन समयको राजनीतिक घटनाक्रमबारे सन्तुलित भएर बोलेका छन्। उनले आफूले गरेको चाकडीको कथा, पारिवारिक कारणले पाएको फाइदा र सहयोगलाई पनि खुला तरीकाले राखेका छन्। दुःख पाएको गन्थन नगरेका शाह आफ्ना कारणले मात्र कुनै कुरा भएको, आफूले मात्र सोचेको, देखेको वा निर्णय गरेको भनेर आत्मप्रशंसाबाट पनि जोगिएका छन्। उनले आफ्ना प्रारब्धका कारण हासिल गरेको पढाइ, पद, सुविधा र उचाइलाई पुरूषार्थका रूपमा व्याख्या गरेका छैनन्।

शाहले यथास्थानमा, यथासम्भव नेपाली राजनीतिका सबै पात्रहरूको प्रशंसा र आलोचना दुवै गरेका छन् र आन्दोलन, परिवर्तन वा योगदान सबै आफ्नै कारणले भएको वा आफूले गरेको भनेर दावी गरिने जीवनी वा आत्मकथामा देखापर्ने दावी र दम्भबाट धेरै हदसम्म बचेका छन्। यसरी पुस्तक बढी विश्वसनीय बनेको छ। नेपालको सन्दर्भमा पुस्तकको विषयवस्तु, यसमा हुने सत्य र असत्य दावी, मिति वा घटनाकेन्द्रित बहसलाई छोडिदिने हो भने यस पुस्तकले बहसका लागि केही नयाँ ठाउँ दिएको छ।

आत्मकथा, जीवनी र संस्मरण फरक विधा हुन् तर पुस्तकले आत्मकथा र संस्मरण दुवैलाई समेटेको छ र सम्पादकीय निर्णयका आधारमा पुस्तकलाई आत्मकथा भनिएको छ। अर्कोतर्फ स्मृति लोप हुँदै गएका व्यक्तित्वहरूले बोलेका वा लेखेका सामग्रीलाई कसरी पाठक समक्ष पुर्‍याउने भन्नेे विषयमा पनि ध्यान दिनुपर्ने समय भएको छ। एकातिर पुस्तक आत्मकथा हो भने अर्कोतर्फ लेखकमा स्मृतिभ्रम भएकोले समय, घटना, प्रसङ्ग, पात्र आदिलाई सम्पादकीय दृष्टिकोणले सच्याउनुपर्ने देखिन्छ। जसले आत्मकथामा सम्पादकको थप जानकारी वा ज्ञानमात्र होइन, सम्पादकीय दृष्टिकोण पनि हावी हुने सम्भावना रहन्छ।

 साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>