Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आँधीपछिको अन्नपूर्ण - Himalkhabar.com

रिपोर्टआइतबार, कार्तिक २, २०७१

आँधीपछिको अन्नपूर्ण

कुन्द दीक्षित

अन्नपूर्ण क्षेत्रमा गत साता आएको हिमआँधी र हिमपहिरोबाट भएको ठूलो मानवीय क्षतिले हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई मौसमबारे पूर्वसूचना दिने सबल संयन्त्र स्थापनाका लागि ढिलो भइसकेको देखाएको छ ।

हिमपातमा परेर मनाङ र मुस्ताङमा कम्तीमा पनि ३२ जनाको ज्यान गएको पुष्टि भएको छ । २८ असोजमा मनास्लु सर्किटको लाक्र्या–ला पार गर्ने तयारीमा रहेका र डोल्पो यात्रामा गएका दर्जनौं यात्रीहरूको अझै अत्तोपत्तो छैन ।

Mustang_KD.inddठूलो हिमआँधी र हिमपहिरोले मानवीय क्षति पुर्‍याएको यो पहिलो पटक होइन । २०५२ सालको शरदमा आएको हिमआँधीमा परेर १३ जना जापानी ट्रेकर र ११ जना नेपाली गाइडको गोक्योमा मृत्यु भएको थियो भने २०६२ सालको यस्तै मौसममा १८ नेपाली र फ्रान्सेली पर्वतारोहीले मनाङको काङ गुरुमा हिमपहिरोमा ज्यान गुमाएका थिए ।

शरद ऋतुमा ठूलो वर्षा नहुने भए पनि हिमआँधी र बाढीका कारण हुने हताहती अन्य यामभन्दा बढी हुन्छ । यस याममा बंगालको खाडीबाट आँधीबेहरी आउने हुँदा पर्वतारोहण र ट्रेकिङमा जानेहरू बढी सावधान हुनुपर्ने मौसमविद्हरू बताउँछन् ।

अन्नपूर्ण सर्किटमा मोबाइल फोन र इन्टरनेटको सहज पहुँच भएकाले मौसमलाई मात्रै दोष दिएर पन्छिन नमिल्ने जलवायु विश्लेषक ङमिन्द्र दाहाल बताउँछन् । “यो अप्रत्याशित रूपमा आएको आँधी होइन । मौसम खराब हुने थाहा हुँदाहुँदै पनि यात्रीहरूलाई समयमै किन सूचना दिइएन भन्ने मुख्य प्रश्न हो”, दाहाल भन्छन् ।

वास्तवमा भारत र नेपालका मौसम पूर्वानुमान निकायहरूले हुदहुद आँधी उत्तरतर्फ मोडिएकाले ठूलो वर्षा हुने चेतावनी दिइरहेका थिए ।

अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरूले पनि पश्चिम र मध्य नेपालमा ठूलो वर्षा हुने सूचना दिएका थिए । नेपालमा आँधीको प्रभाव आइपुग्नु दुई दिनअघि नै नेपाली मिडियाले पनि किसानलाई धानबाली जोगाउन आग्रह गरेका थिए ।

हामीसँग सूचना त थियो, तर अन्नपूर्ण क्षेत्रतर्फ उक्लिएका ट्रेकरहरूसम्म त्यो सूचना पुग्न सकेन । यहाँनिर प्रश्न उठ्छ किन पुगेन त ?
पहिलो कारण, हाम्रा मौसम पूर्वानुमान गर्ने निकायहरूको अनुमान विश्वसनीय बन्न सकेको छैन ।

त्यसैले यसपटकको सूचनाको पनि बेवास्ता गरिएको हुनुपर्छ । दोस्रो कारण, पर्वतारोहण र ट्रेकिङमा निर्भर मुलुकमा मौसमबारे हिमाली क्षेत्रका मानिसलाई पूर्व–जानकारी दिने आधिकारिक र भरपर्दो प्रणाली पनि छैन ।

Mustang_KD.inddउसो त जलवायु परिवर्तनले गर्दा मौसम परिवर्तन अप्रत्याशित हुँदै गएको छ । यस्तोमा विभिन्न कारणले हुने प्राकृतिक प्रकोपबाट बच्न बेग्लै विशेष प्रणालीको स्थापना गरिनु जरूरी छ ।

जुनबेला चामे र मनाङमा रहेका यात्रीले मौसमको रिपोर्ट टेलिभिजन र मोबाइल इन्टरनेटमा हेरिरहेका हुन्छन्, त्यसबेला माथिल्लो भेगका लजहरूमा भने विद्युत् वा फोन सिग्नल हुँदैन । थोरङ फेदी र काङशारमा ट्रेकरहरूका लागि स्याटलाइट फोन बाहेक सञ्चारका अन्य साधनको विकल्प छैन ।

२६ असोजमा घमाइलो र चहकिलो रहेको अन्नपूर्ण क्षेत्रको शारदीय मौसम रातभरमा खराब भयो । त्यसपछि, २८ असोजमा आएको हिमआँधीले ट्रेकिङमा गएका सयौं पर्यटक र गाइडहरू हिमाली क्षेत्रमा अड्किए ।

पूर्व ब्रिटिश गोर्खा अफिसर एवम् ट्रेकिङका सौखिन जनरल स्याम कोवनका अनुसार थोरङ र लाक्र्या पास पार गर्नु झ्ण्डै पर्वतारोहण गरे जस्तै हो । जहाँ यात्रा गर्दा उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा हुने जोखिमबारे जानकारी हुनुपर्छ । साथै मौसम छिनछिनमै बिग्रने हुनाले यात्रामा हतार गर्नु हुँदैन ।

“मौसम खराब होलाजस्तो देखियो भने खराबै हुन्छ भन्ने बुझनुपर्छ”, कोवन भन्छन्, “त्यस्तो बेला सुरक्षित ठाउँमा टेन्ट लगाएर एक दुई दिन पर्खनु नै उचित हुन्छ ।” उनी थप्छन्, “गत साता पनि खराब मौसमका बेला यात्रीहरूले थोरङ–ला पार गर्ने दुस्साहस गर्न हुँदैनथ्यो र गाइडले पनि त्यसो गर्नबाट रोक्नुपर्दथ्यो ।”

अर्को महत्वपूर्ण पक्ष भनेको विपत्बाट बच्ने उचित योजना र मौसम बारेको सही पूर्व सूचना सम्बन्धितसम्म पुर्‍याउनु हो । भूउपग्रहबाट प्राप्त हुने मौसमको सूचना मात्रै प्रकोपबाट बच्नका लागि पर्याप्त हुँदैन; खराब मौसमले प्रभावित हुने सम्भावित क्षेत्रका मानिससम्म तत्कालै सूचना पुगेन भने ।

नेपालमा मिडिया साथै ट्रेकिङ एजेन्सी एसोसिएसन, पर्वतारोहण संघ, हिमालयन उद्धार संघका सञ्जालबाट यस्तो सूचना सम्बन्धित क्षेत्र र व्यक्तिसम्म पु¥याउन सकिन्छ । त्यसैगरी टेलिकम कम्पनीहरूले ‘मास टेक्सिटिङ’ बाट यस्तो जोखिमको जानकारी दिन सक्छन् ।

तर, नेपालमा हिमाली क्षेत्रका कैयौं स्थानमा टेलिकमको नेटवर्क पुगेको छैन । त्यसैले तिनीहरूको सूचना यात्रीले पाउने सम्भावना रहँदैन ।

यस्तो समस्या समाधानका लागि थोरङ फेदी वा लार्क्यामा सीडीएमए फोनको व्यवस्था गर्नु जरूरी छ वा पाँच हजार मीटरभन्दा माथि पुग्ने यात्रीहरूका लागि स्याटालाइट फोन लैजान अनिवार्य बनाइनुपर्छ । नभए टेलिकम कम्पनीहरूलाई दुर्गम हिमाली पासहरूमा टावर राख्न लगाउनु पर्छ ।

कोवन भन्छन्, “अफशोच ! यति स्पष्ट हुँदहुँदै पनि मानिसहरू ट्रेकिङ त हो भन्दै जोखिम मोल्छन्, जुन छिनछिनमै मौसम परिवर्तन भइरहने हिमाली क्षेत्रमा गर्नै हुँदैन ।”
–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––

मुश्किलले बचेकाहरू
२९ असोजमा पहिलो खेपमा इजरायल, हङकङ र जर्मनीका पदयात्रीहरूलाई मुस्ताङतर्फको थोरङ लाबाट उद्धार गरियो । घाम र हिउँले डढेका उनीहरूको आर्मी अस्पतालमा उपचार भइरहेको छ । रातभरको भारी हिमपात र आँधीपछि उदाएको घामसँगै उनीहरूमध्ये केही तल ओर्लिने प्रयासमा थिए ।

Mustang_KD.indd“पहिले त आँधीबाट बच्न चिया पसलसम्म पुग्ने हाम्रो योजना थियो तर, मौसममा सुधार आएको देखेपछि हामी ओह्रालो लाग्यौं”, याकोभ मग्रेलीले पत्रकार सम्मेलनमा भने । तर छातीसम्म हिउँमा डुबेका उनीहरूले बाटो पहिल्याउन सकेनन् । करीब ८ घण्टापछि मोबाइलबाट फोन गर्न भने उनीहरू सफल भए ।

“हामीले ट्राभल एजेन्सी र दूतावासमा फोन गरेर हेलिकप्टर मगायौं । त्यसबेलासम्म भरियाले हामीलाई हिउँबाट निकाले र हेलिकप्टर आएपछि हामी मुक्तिनाथहुँदै काठमाडौं ल्याइयौं” माया ओराले भनिन् ।

गाइडले चिया पसलबाट बाहिर ननिस्कन चेतावनी दिएर आफ्नो ज्यान बचाएको इजरायली पदयात्रीले बताए । तर, इजरायलकै अन्य दुई पदयात्री भने भाग्यमानी भएनन् । दुई पोल्याण्डका र नौ जना नेपालीसँगै उनीहरू थोरङ ला भन्दा केही तल गएको हिमपहिरोमा पुरिए । कैयौं अरू ट्रेकरहरू आँधीमा बाटो हराएर हिउँमा पुरिएको अनुमान छ । त्यस्तै फुमा चार क्यानाडाली, तीन भारतीय र तीन नेपालीको मृत्यु भएको छ ।

धौलागिरि आधार शिविरमा हिउँमा पुरिएर ११ सदस्यीय टोलीका दुई स्लोभाकियाली र उनीहरूका तीन जना शेर्पा गाइडको मृत्यु भयो ।

मनाङको थोरङ ला (५४१६ मीटर) पार गरेर दैनिक सयौं पर्यटक मुस्ताङ पुग्छन्, जुन यो पदयात्रा सर्किटको सबैभन्दा खतरनाक ठाउँ सावित भएको छ । २८ असोजमा याक खर्क र थोरङ फेदीको रुटमा अघिबढेका ३४५ यात्रीहरू एक्यापको चेकप्वाइन्टमा दर्ता भएकोमा त्यसपछिको चेकप्वाइन्टमा ८५ जनाको नाम छैन ।

स्याटालाइट फोनबाट जर्मनीमा सम्पर्क गरेका पदयात्रीले आफूहरूको ‘ठूलो समूह’ उद्धारका लागि पर्खिरहेको बताएका थिए । जुन सूचना पाएपछि नेपाली सेना र निजी कम्पनीका तीन हेलिकप्टर ३० असोजमा उद्धारका लागि खटिए । सेनाले त्यस क्षेत्रबाट चारवटा शव भेट्टाएर काठमाडौं ल्याएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले फु उपत्यकामा १० जना पदयात्री हिउँमा पुरिएको जनाएको छ ।
–सुनिर पाण्डे

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>