थप समाचारआइतबार, कार्तिक ९, २०७१
विश्वमै चर्चित भए डा. कुमुद धिताल, ‘मृत मुटु’ प्रत्यारोपणमा पहिलो सफलता
अष्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालका कार्डियोथोरासिक सर्जन कुमुद धितालले मुटु प्रत्यारोपणमा गरेको यो ‘चमत्कार’ ले उनलाई विश्व चिकित्सा क्षेत्रमै ‘हिरो’ बनाएको छ भने मुटुका गम्भीर विरामीहरुका लागि उनी आशाको केन्द्र बनेका छन् ।
सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत एशोसियट प्रोफेसर धितालले मृत्यु भइसेको व्यक्तिको मुटु अर्को व्यक्तिमा सफल प्रत्यारोपण गर्ने काम तेस्रो पटक सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । पछिल्लो प्रत्यारोपण गत बुधबार मात्रै भएको थियो भने पहिलो प्रत्यारोपण दुई महिना अघि । पहिलो प्रत्यारोपण गरिएका व्यक्ति स्वस्थ्य भैसकेपछि मात्रै अस्प्तालले यो कुरा सार्वजनिक गरेको हो ।
मृत व्यक्तिको ‘मृत मुटु’ निकालेर त्यसलाई विशेष मेशिनमा राखी पुनजिर्वित पारेपछि विरामी व्यक्तिमा प्रत्यारोपण गर्ने डा. कुमुद धिताल पहिलो चिकित्सक हुन् भने विश्वमै यो पहिलो घटना हो ।
यसअघि ‘ब्रेन डेथ’ भइसकेका तर, मुटु चल्न बन्द नभएका व्यक्तिको मुटुलाई मात्र विरामी व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्थ्यो । तर, मुटु चल्न समेत बन्द भइसकेका मृतकको मुटुलाई पुनः धड्किन सक्ने बनाएर प्रत्यारोपण गर्ने यो नयाँ प्रविधिले मुटुमा गम्भीर रोग भएको विरामीहरुको जीवन सहज बनाउने र आयु लम्बाउने सम्भावना बढेको अस्पतालले जनाएको छ ।
सेन्ट भिन्सेन्ट अस्पतालले भिक्टर चाङ कार्डियाक रिसर्च इन्स्टिच्यूटको सहयोगमा यो प्रत्यारोपण गरेको हो ।
अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा धितालले पहिलो सर्जरी सफल भएपछि आफूले नयाँ सफलता हात पारेको बताए । उनले नयाँ प्रविधिले गर्दा यो सम्भव भएको वताए ।
अस्पतालको ट्रान्सप्लान्ट युनिट प्रमुख पिटर म्याकडोनाल्डले ‘मृत मुटु’ को सफल प्रत्यारोपणले नयाँ युग शुरु भएको बताए ।
“यसअघि ब्रेनडेथ भएका (मस्तिस्क मरिसके पनि मुटु भने चलिरहेका) व्यक्तिको मात्रै मुटु प्रत्यारोपण गर्न सकिएको हुँदा प्रत्यारोपणका लागि त्यस्ता मानिसहरु भेट्टाउनै गाह्रो हुन्थ्यो, फेरि मुटु दिने र लिने व्यक्ति जोडिएका अपरेशन थियटरमा हुनु जरुरी थियो तर, अब त्यसो भइरहनु जरुरी छैन,” म्याकडोनाल्डले भने ।
अहिले ‘हर्ट इन अ बक्स’ भनिने एक्स भिभो अर्गान केयर सिस्टमको विकास भएपछि मृत्यु भइसकेका व्यक्तिको मुटु ‘हर्ट इन अ बक्स’ मा राखेर प्रत्यारोपण गरिने व्यक्तिसम्म पुर्याउन सकिने भएको छ । यो सिस्टमको विकासका लागि भिक्टर चाङ कार्डियाक रिसर्च इन्स्टिच्यूटले अस्पताललाई सघाएको थियो ।
‘कन्जेन्सियल हर्ट फेलियोर’ भएपछि दुई महिनाअघि डा धितालले मुटु प्रत्यारोपण गरेर नयाँ जीवन पाएकी ग्रिविलासले अहिले आफू अर्कै व्यक्ति भएको महशुस गरिरहेको बताइन् । “म ४० वर्षकी भएकी छु, म निकै भाग्यमानी रहिछु” ५७ वर्षीया उनले भनिन् ।
करिब दुई साताअघि मुटु प्रत्यारोपण गरिएका अर्का विरामी डामेन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् । “मलाई अचम्म लागिरहेकोछ, यो अस्प्तालमा आउनु मेरो अहोभाग्य भएको छ ।”
प्रोफेसर म्याकडोनाल्डले आफूहरुले पछिल्लो चार वर्ष ‘मृत मुटु’ प्रत्यारोपणका लागि सघन रुपमा अनुसन्धान गरेर यो सफलता हासिल गरेको बताए । “हामीले ‘हर्ट इन अ बक्स’ भनिने यन्त्र बनाउन सक्नुले ठूलो उपलब्धी हासिल भएको छ,” उनले भने, “यो यन्त्रले मृतकको मुटु निकालेर ‘हर्ट इन अ बक्स’ मा राखेर त्यसलाई विशेष प्रणालीमा जोडी पुनः चलायमान बनाइन्छ ।”
अहिलेसम्म मृत्यु भएको ३० मिनेटभित्र मुटु निकालेर चलायमान बनाइएको भए पनि यो अवधि अझै लामो बनाउन सकिने चिकित्सकले बताएका छन् ।
-एजेन्सीहरु
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
